‘गृह मन्त्रालयले प्रहरीको समस्या बुझेन’

५ मंसिर २०८२

‘गृह मन्त्रालयले प्रहरीको समस्या बुझेन’

काठमाडौं । भीड नियन्त्रण गर्ने प्रहरीको क्षमतामा अहिले गम्भीर ह्रास आएको छ । विशेष गरी भदौ २३ पछि सुरक्षाकर्मीको मनोबलमा ह्रास आएको देखिन्छ । बारामा पनि अहिले यस्तै अवस्था दोहोरिएको छ । आखिर हाम्रो सुरक्षा संयन्त्र किन यस्तो कमजोर बनेको होला ? अनि, नेपाली समाजमा किन द्वन्द्व बढिरहेको होला ? जस नेपालले यो प्रश्न अपराधशास्त्रका विज्ञ प्राध्यापक अधिवक्ता रवीन्द्र भट्टराईलाई सोधेको छ । जवाफ उहाँकै शब्दमा–

हामीले संविधान बनायौं तर संविधानले सम्वोधन गर्नुपर्ने विषयहरु सम्वोधन गर्‍यौं कि गरेनौं भन्ने प्रश्न मुख्य हो । संविधानले सुरक्षा व्यवस्थाबारे प्रहरी र सेना रहन्छ भनेर बोल्यो तर हामीसँग प्रहरी ऐन कहिलेको छ ? हामीले २०१२ सालको प्रहरी ऐनलाई अहिलेको सापेक्ष बनाएनौं । यहाँनेर ठूलो त्रुटि भएको छ ।

अर्को, संविधानले संकटकालीन अवस्थालाई सामान्य हुलदंगा र भीड नियन्त्रण गर्ने विषयका रुपमा हेर्ने गरी कहीँ ठाउँ दिएको मैले देखिनँ । मैले पढ्दा संविधानमा कहीँ पनि यो पाइनँ । हामी यसलाई (भदौ २३ वा बाराको घटनालाई) नागरिक विग्रह भन्छौं । अंग्रेजीमा सिभिल स्ट्राईक (Civil Strike) भनिन्छ । त्यो सिभिल स्ट्राईकलाई सम्वोधन गर्ने गरी संविधानमा कहीँ लेखिएको छैन । कानूनमा पनि छैन ।

पञ्चायतले २०४५ सालमा सुरक्षासँग सम्बन्धित कानून बनायो । उसले अन्तराष्ट्रिय कानूनद्वारा निर्देशित एवं भीड नियन्त्रण गर्दा बलको प्रयोग कसरी गर्नुपर्छ भन्ने अन्तरराष्ट्रियरुपमा स्थापित मानवअधिकार कानूनले तोकेको प्रतिमानका आधारमा कानून बनाएको हो ।

जस्तो– गोली ठोक्ने आदेश कतिखेर दिने ? त्यो ऐनमा रबरको गोली र अर्को गोली भन्ने त छुट्याइएन । किनभने, रबरको गोलीको विकास त्यसबेला प्रयोगमा आएको थिएन । तर, ०४५ सालमा तोकिएको त्यो कानूनको जुन ढाँचा छ, त्यसभित्र बसेर न नेपाल प्रहरी काम गर्छ, न सिडियो साहेबहरु आदेश गर्नुहुन्छ ।

कर्फ्युको आदेश भनेको के हो ? कुनै घटना हुन लाग्यो भने त्यो ठाउँलाई संरक्षित गर्नका निमित्त पूर्वसूचना दिएर मान्छेहरुलाई त्यहाँ नजाऊ भन्ने हो । तर, अहिले कर्फ्युको आदेश कसरी जारी भयो ? भदौ २३ गते कर्फ्युको आदेश आन्दोलन भइराखेका बेला जारी भयो । आन्दोलन गरिराखेका मानिसले त्यो आदेश थाहै पाएनन् । अहिले बारामा भएको कर्फ्युको आदेशको पनि हैसियत त्यही हो ।

भदौ २४ मा पनि त कर्फ्युको आदेश जारी भएको थिएन र ? काठमाडौं रिङरोडभित्रै कर्फ्युको आदेश जारी गरिएको थियो । तर, त्यही दिनचाहिँ सबैभन्दा बढी उत्पात भयो ।

त्यसकारण, नागरिक विग्रहलाई सम्वोधन गर्ने गरी सरकारले कुनै पहल गरेको अवस्था छैन । सरकारको प्राथमिकता हुनुपर्ने चाहिँ के हो भने कहाँनेर सुरक्षाको समस्या भयो ? सरकारले यसको छानविन गर्ने जाँचबुझ आयोगलाई जिम्मा दिएको छ, जाँचबुझ आयोगले गर्ला, त्यो अलग कुरा हो । तर, अहिलेको सरकारले हेर्ने भनेको कहाँनेर हाम्रो सुरक्षा कानूनसँग सम्बन्धित विषयमा संविधानप्रदत्त नागरिकको मौलिक हक र सुरक्षा कानूनको सामञ्जस्य नहुने ठाउँ छ ? योचाहिँ नयाँ विषयवस्तु बन्नुपर्छ । २०१२ साल र २०४५ सालको ऐनलाई अन्तरराष्ट्रिय कानूनअनुसार अद्यावधिक गरेर प्रहरीलाई प्रशिक्षित गर्नुपर्छ ।

तर, यहाँ त कस्तो भयो भने सेन्ट्रीमा बसेको पुलिस, जसलाई बन्दूक दिएको छ, उसमाथि ढुंगा हान्नेलाई गोली नहानेर के गर्छ त ? सेन्ट्री माथिपट्टि बसेको छ, तल ओर्लेर हिर्काउन सक्दैन, उसले के गर्ने त भन्दा ढुंगा हान्नेलाई गोली हान्ने हो, ढाल्दिने हो ! केपी ओलीजीको पनि यही मत आएको छ, अस्ति खापुङजी (आईजीपी) को पनि यही मत आएको छ । भनेपछि, योभन्दा अमानवीय र निर्मानवीय सोच त अर्को केही हुँदै हुँदैन । राज्य नागरिकलाई बचाउनका लागि हो क्या ।

तपाईहरु तुलना गरेर हेर्नु न । हमासले अपहरण गरेर लगेको एउटा नागरिकलाई बचाउनका लागि राज्यले कति शक्ति लगायो ? उनको मृत्युको खबर आएको दुई दिन नबित्दै यहाँ के भयो ? कयौं मान्छेलाई राज्यले मारेको छ नि त ।

मानवअधिकारको दृष्टिले हेर्दाखेरि जो मान्छे त्यहाँ चोर्न भनेर गएको थियो, तलबाट आगो लगाइदिएको कारणले मरेछ, त्यसकारण त्यो ठिकै भयो भन्न हुँदैन । मानवअधिकारको दृष्टिले हेर्ने हो भने राज्यले त्यहाँ सुरक्षा व्यवस्था गर्न नसकेका कारणले गर्दा ऊ मरेको हो । आगो लाग्ने परिस्थितिबाट जोगाउन नसक्दाखेरि मरेको हो । त्यसकारण यसको पनि जिम्मा राज्यले लिनुपर्छ । त्यहाँ सुरक्षा व्यवस्था छ भन्ने भएको भए त ऊ चोर्न पनि जाँदैनथ्यो नि । त्यसैले उसको पनि जिम्मा राज्यले नै लिने हो ।

हिले हाम्रो मानवअधिकार भन्ने जिनिस सबैभन्दा विवादास्पद भएर निस्कियो । प्रहरीले बुझ्ने मानवअधिकार अर्कै भयो, राष्ट्रिय मानवअधिकार आयोगले बुझ्ने मानवअधिकार अर्कै छ । हाम्रो आयोग के भन्छ भने मानवअधिकारकर्मीहरु त्यहाँ नगएको कारणले आक्रमण भयो । कसलाई भन्न खोजेको यो ? अहिले बाराको अवस्था पनि त्यही हो । गोली चलिराखेका ठाउँमा, ढुंगा हानिरहेका ठाउँमा म मानवअधिकारकर्मी हुँ भन्दै जान गाह्रो हुन्छ ।

मेरो विचारमा अहिलेको सरकारले सम्वोधन गर्नुपर्ने पहिलो चिज भनेको संकटकालीन अवस्थाहरुमा प्रयोग हुने कानून, मानवअधिकारका अन्तरराष्ट्रिय मापदण्डहरु, अधिकारप्राप्त अधिकारीहरुले प्रयोग गर्ने अधिकार र नागरिकहरुको सुरक्षाका लागि अपनाउनुपर्ने विधिहरुका बारेमा २०४५ सालमा बनेको कानूनलाई अहिलेको सन्दर्भमा अद्यावधिक गर्नुपर्छ । यो अद्यावधिक नगर्नेवित्तिकै समस्या हुन्छ ।

हुलदंगा गर्नेहरुलाई रोक्ने प्रयोजनका लागि २४ घण्टासम्म हिरासतमा राख्न सकिन्छ भन्ने व्यवस्था गर्नुपर्ने हो कि ? संविधानले निवारक नजरबन्द विरुद्धको हकको मात्रै व्यवस्था गरेको छ । कानूनमा कहीँ, केही व्यवस्था छैन । अनि, प्रहरीले के गर्नु त ? प्रहरीले भीड नियन्त्रण गर्नका निमित्त प्रयोग गर्ने शक्ति के हो ? दुई–चारजनालाई समातेर थुन्दिउँ न त भन्यो, बन्दीप्रत्यक्षीकरणको मुद्दा परिहाल्छ । अदालतले तुरुन्त छोड्दे भनिहाल्छ । पूर्जीविना समाउनै मिलेन ।

तलको निकायमा काम गर्ने मान्छे (प्रहरी) हरुको यो जुन समस्या छ नि, त्यो हाम्रो नेतृत्वले बुझेन । हाम्रो मन्त्रिपरिषदले यो कुरालाई गहनतापूर्वक लिएन । गृहमन्त्रालयले सुरक्षाकर्मीको समस्यालाई सम्वोधन गरेन । सोधेकै छैन होला । सोधे त सुरक्षाकर्मीले भन्छन् होला नि त । उनीहरुबाट रिपोर्ट लिएर गृह मन्त्रालयको कानून हेर्ने सहसचिवलाई ‘ल यो तुरुन्तै फुकाउनोस् त’ भनेर गृहमन्त्रीले भन्ने हो भने यो बाटो फुक्थ्यो होला ।

त्यसैले यस्ता घटना हुनुका पछाडि कानूनको अभाव छ । प्रशिक्षणको अभाव छ । प्रहरीले संयमता कतिसम्म धारण गर्ने ? यसको मनोवैज्ञानिक पक्ष पनि छ । नेपाल प्रहरीमा दंगामा काम गर्ने प्रहरीको मनस्थिति कस्तो हुन्छ ? सर्वेक्षण गर्ने हो भने मलाई लाग्छ, दंगामा परेका प्रहरी र उनीहरुका परिवारमा मानसिक समस्या कति जमेर बसेको होला ? सर्वेक्षण गरौं न एउटा । अहिलेको सरकारमा त पढेलेखेका मान्छेहरु पुग्नुभएको छ । उहाँहरुले त अनुसन्धानलाई प्राथमिकता दिएर अनुसन्धानका आधारमा पो कानूनमा संशोधन गर्नुपर्ने हो त । त्यसैका आधारमा यो अध्यादेशचाहिँ नभई भएन भनेर राष्ट्रपतिसमक्ष माग गर्ने हो । तर, उहाँहरु अहिले संक्रमणकालीन न्यायलाई सम्वोधन गर्ने, आयोगका पदाधिकारीहरुलाई आफूखुशी कसरी नियुक्ति गर्ने, संसदीय सुनुवाइविनै नियुक्ति कसरी गर्ने भन्ने आनन्दको खोजीमा लाग्नुभएको छ । देशको समस्या समाधान गरौं भन्ने उहाँहरुको अन्तर्यमै छैन कि ?

जेनजीको परिभाषासँग असहमति

म नवपुस्ताको जुन परिभाषा छ, यो परिभाषासँग सहमत छैन । जसले यो नवपुस्तालाई आन्दोलन गर्नका निमित्त प्रेरित गर्नुभयो– यद्यपि सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्दविरुद्ध उहाँहरुले आवाज उठाउनु मनासिव थियो । त्यसका उपभोक्ताहरु १२ देखि २८ वर्षका मात्रै थिएनन्, सबै उमेर समूहका थिए– उहाँहरुले जेन–जी वा जेन– जेड भनेर जुन वर्गीकरण गर्नुभएको छ, यो कुनै वैज्ञानिक वर्गीकरण होइन ।

मानवअधिकारकर्मीको हिसाबले म के देख्छु भने १८ वर्षभन्दा तलको मान्छे आन्दोलनमा जाँदैन । यदि कसैले लग्छ भने त्यो लाने वयस्क मान्छेचाहिँ अपराधी हो । वालवालिकालाई उसले दुरुपयोग गर्‍यो नि त । यहाँ त २३ र २४ को घटना नै विद्यालयको पोशाकमा बोलाइएको छ, त्यहाँनेर गल्ती भयो ।

भदौ २३ र २४ मा त भयो नै, त्यसपछाडि पनि नवपुस्ता भन्नेहरुले हामीले अब १८ वर्षभन्दा कम उमेरकालाई सहभागी गराउँदैनौं भन्नुपर्‍यो नि । उहाँहरुले मानवअधिकारको उल्लंघन गरिरहनुभएको छ । यसमा न हाम्रो सञ्चार माध्यमले कुनै टिप्पणी गर्छ, न मानवअधिकार आयोगले बोल्छ । यसरी सबैले जागिर खाने र आफ्नो जागिर जोगाउने मानसिकतामा चलेको राज्यबाट नयाँ पुस्ताका समस्याको सम्वोधन हुन सक्दैन ।

समस्या कहाँनेर भएको छ भने उनीहरुको समाजिकीकरण नै समाजसँग छैन । अहिलेको नवपुस्ताका हामी बाबुआमा जो छौं, हामीले पनि त्यो पुस्तालाई के भन्ने गरेका छैनौं भने तिमी मलामी जाऊ । आज तिमी एक्लै जन्ती गएर आऊ । जन्ती गयो भने पनि ऊ अरुसँग घुलमिल हुँदैन, मोबाइल हेरेर बस्छ ।

भनेपछि, नवपुस्ताको सामाजिकीकरण नै यो भूगोल र यो समाजका परम्परागत मूल्य–मान्यताभन्दा बाहिर गइसकेको छ । उसको सामाजिकीकरण यो देशभित्रकै छैन । त्यो मान्छेलाई देशभित्रको सामाजिकीकरणमा कसरी लिएर आउने भन्नेबारेमा पो राज्यले चिन्ता गर्नुपर्ने हो ।

ठीक छ, १८ वर्षभन्दा माथिकाले चुनावमा उठ्न पाउने योग्यता उसको हो । अन्तरराष्ट्रिय कानूनले स्वीकार गरेपछि हाम्रो कानूनले के खान रोक्नुपर्‍यो ? २५ वर्ष किन पुर्‍याउनुपर्‍यो ? १८ वर्षमा उठ्न पाउने व्यवस्था गरौं । तर, उसको सामाजिकीकरण के छ भन्ने पनि त सँगै अनुशिक्षण गर्नुपर्‍यो नि । त्यो अनुशिक्षण नभएको परिणति हो यो ।

अर्को, हाम्रो परम्परागत दलका युवालाई परिचालन गर्ने शक्तिको नेतृत्व लिनेहरुले पनि ‘नवयुवालाई ठीक लगाउनुपर्छ’ भन्ने ढंगले लडाकू एवं हिंसाको मनोविज्ञानमा आधारित भई उत्प्रेरित गरिरहनुभएको छ । यस्तो अवस्थामा द्वन्द्व फस्टाउने बाहेक के नै उपज आउँछ र ?

त्यसकारण, मैले यस्ता घटनाहरुलाई शक्तिहरुका वीचमा रहेको असहिष्णुता, संयमताको अभाव र विवेकको गुमाइको परिणाम ठानेको छु ।

 

3 thoughts on “‘गृह मन्त्रालयले प्रहरीको समस्या बुझेन’

  1. जिन्जी परिचालक नाबालक होइनन। अब बुढाबुढीहरु ले प्रहरीको रक्षा समुह बनाएर आउनुपर्छ। गुल्मी को जिन्जी गृह प्रहरी प्रशासनले तल्लो तहको प्रहरीको मनोबल बाच्न दिदैन। घोषणा गरेर आउने राजनीतिक पार्टीको अब भबिष्य छ आबश्यकता पनि छ। अब पनि समाज बाद साम्यबाद को गुप्तचर गीत गाएर समय खेर फाल्नु भन्दा तल्लो तहको प्रहरीको रक्षा गर्न प्रोउढ समुह खडा हौ।

    1. पुरै पढेँ र दुई पटक सुने । बडो घत लाग्यो। नमन गरेँ 🙏

  2. पुरै पढेँ र दुई पटक सुने । बडो घत लाग्यो। नमन गरेँ 🙏

Leave a Reply to गङ्गा भण्डारी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

डिजिटल युगमा पुरानो भयो प्रमाण ऐन २०३१

डिजिटल युगमा पुरानो भयो प्रमाण ऐन २०३१

काठमाडौं ।  नेपालको कानुनी प्रणाली पछिल्लो चार दशकमा विस्तारै तर गहिरो गरी बदलिएको छ...

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा पुनः हेर्दाहेर्दैमा

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा पुनः हेर्दाहेर्दैमा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्ध दायर रिटमा शुक्रबार पनि...

१६ दिने अभियान : ३३ वर्ष बित्यो, महिला हिंसा उस्तै 

१६ दिने अभियान : ३३ वर्ष बित्यो, महिला हिंसा उस्तै 

काठमाडौं ।   विश्वभर ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ (16 Days of Activism Against...

प्रेस काउन्सिलको ‘कारवाही’ मा परेका यी ४८ सोसल मिडिया

प्रेस काउन्सिलको ‘कारवाही’ मा परेका यी ४८ सोसल मिडिया

काठमाडौं । प्रेस काउन्सिल नेपाल पत्रकारहरुको आचारसंहिता पालनासम्बन्धी अनुगमन र खबरदारी गर्ने नियामक निकाय...