काठमाडौँ । सरकारले २५ सेवा क्षेत्रमा हड्ताल निषेध गर्नेगरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको छ ।
गृह मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ क्षेत्रबाट हुने आवश्यक सेवाप्रवाहमा हड्ताल गर्न नपाइने गरी आदेश जारी गरेको हो ।
राजपत्रमा उल्लेख भएअनुसार; सञ्चार तथा प्रविधि क्षेत्रअन्तर्गत डाँक, तार तथा टेलिफोन सेवा, छापाखाना तथा सरकारी मुद्रण सेवा, सञ्चार सेवा र इन्टरनेट सेवा आवश्यक सेवामा समेटिएको छ । राहदानी तथा कन्सुलर सेवा विभागबाट प्रवाह हुने सेवा पनि आवश्यक सेवामा समेटिएको छ ।
यातायात तथा ढुवानी सेवातर्फ जल, स्थल तथा हवाई मार्गबाट यात्रु र मालसामान ओसारपसार गर्ने सेवा, हवाई अड्डा तथा हवाई जहाजको सञ्चालन, हेरचाह र मर्मतसम्बन्धी कार्य, रेलवे स्टेशन तथा सरकारी गोदाममा मालसामानको लोडिङ, अनलोडिङ र भण्डारणसम्बन्धी सेवामा अब हड्ताल गर्न पाइने छैन ।
यसैगरी; स्वास्थ्य तथा सुरक्षासम्बन्धी सेवा अन्तर्गत अस्पताल, स्वास्थ्य केन्द्र, एम्बुलेन्स सेवा, औषधि उत्पादन तथा वितरण, मास्क र ह्यान्ड सेनिटाइजर उत्पादन तथा आपूर्तिसम्बन्धी सेवाहरू, आन्तरिक सुरक्षा, हातहतियार तथा सैनिक सामग्री उत्पादन र वितरणसम्बन्धी रक्षा सेवामा पनि हड्ताल निषेध गरिएको छ ।
वित्तीय तथा अन्य सेवाअन्तर्गत बैंकिङ सेवा, बीमा सेवा, पर्यटन आवास, होटल, मोटेल, रेस्टुरेन्ट तथा रिसोर्ट सेवा, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा र भेटेरिनरी (पशु चिकित्सा) सेवामा पनि हड्ताल गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ ।
दैनिक उपभोग्य वस्तु तथा ऊर्जा क्षेत्रमा पेट्रोलियम पदार्थ (एलपी ग्याससहित)को आयात, ढुवानी, भण्डारण र वितरण, दाल, चामल, नुन, तेल लगायतका खाद्यान्नको आपूर्ति तथा वितरण, खानेपानी सेवा, विद्युत सेवा र फोहोरमैला संकलन, ढुवानी तथा व्यवस्थापन सेवालाई आवश्यक सेवामा समावेश गरिएको छ ।
राजपत्र :

