‘एसिड’ आक्रमणबारे जान्नुपर्ने केही महत्त्वपूर्ण कानूनी प्रावधान, यस्तो छ सजायको व्यवस्था

जस नेपाल

२६ जेठ २०८३

‘एसिड’ आक्रमणबारे जान्नुपर्ने केही महत्त्वपूर्ण कानूनी प्रावधान, यस्तो छ सजायको व्यवस्था

काठमाडौँ । एउटा अस्वीकृत प्रेम प्रस्ताव, घरेलु झगडा, सम्पत्तिको विवाद वा सामान्य रिसको आवेश जस्ता  कारणले मुख्यतया युवतीहरूको अनुहारमा तेजाब खन्याउने घटनाहरू पटक-पटक समाचारमा आउँछन् । एक क्षणको क्रोधले पीडितको जीवनभर जल्ने घाउ मात्र होइन, सामाजिक बहिष्कार, मानसिक यातना र आर्थिक संकट निम्त्याउँछ । 

बर्न भायलेन्स सर्भाइभर्स नेपाल  जस्ता संस्थाहरूका अनुसार विगतका वर्षहरूमा औसत वार्षिक ४० वटा तेजाब (एसिड) आक्रमणका घटनाहरू रिपोर्ट हुने गरेका थिए, तर वास्तविक संख्या धेरै बढी हुन सक्छ किनकि धेरै घटना रिपोर्ट नै हुँदैनन् । 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार २०१६ पछिका केही वर्षमा दर्जनौं घटना दर्ता भए पनि २०२३ मा जम्मा १ वटा औपचारिक केस दर्ता भएको थियो जसले कार्यान्वयनको कमजोरी पनि उजागर गर्छ ।

यी घटनाहरू प्रायः महिलालाई लक्षित हुन्छन्, तर पुरुष पीडित पनि छन् । प्रेममा असफलता, ईर्ष्या वा बदला लिने नियत मुख्य कारणका रूपमा देखिन्छन् । 

यस्ता क्रूर आक्रमण रोक्न र पीडितलाई न्याय दिलाउन मुलुकी अपराध संहिता २०७४ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ ले  कानूनी व्यवस्था गरेका छन् । यद्यपि कानुनी व्यवस्था बलियो भए पनि यसको प्रभावकारी कार्यान्वयन, निगरानी र पीडितमैत्री न्याय सुनिश्चित गर्ने पक्ष अझै कमजोर देखिन्छ ।

यी हुन् एसिड आक्रमणबारे  जान्नुपर्ने केहि महत्वपूर्ण कानूनी प्रावधान : 

मुलुकी अपराध संहिता २०७४ को प्रावधान

  • तेजाब वा अन्य रासायनिक पदार्थ प्रयोग गरी कुरूप पार्न नहुने

मुलुकी अपराध संहिता २०७४ को धारा १९३ ले तेजाब आक्रमणलाई स्पष्ट रूपमा परिभाषित गर्दै कानुनी व्यवस्था गरेको छ । 

धारा १९३ (१) मा स्पष्ट रूपमा भनिएको छ : कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी, छर्की, पोखी, डामी, दली वा घसी जिउमा पीडा पुर्‍याउने वा अनुहार तथा शरीरको कुनै अङ्ग कुरूप पार्ने काम गर्नु वा गराउनु हुँदैन । 

यो प्रावधानले तेजाब आक्रमणको उद्देश्य र तरिका दुवैलाई समेट्छ;चाहे प्रत्यक्ष छर्किनु होस् वा अप्रत्यक्ष रूपमा प्रयोग गर्न लगाउनु होस् ।

सजायको व्यवस्था (उपदफा २) 

यो कसूर गर्ने व्यक्तिलाई आक्रमणको प्रकृति हेरेर फरक-फरक सजाय तोकिएको छ :

– अनुहार कुरूप पारेमा: पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना ।

– शरीरको अन्य अङ्ग कुरूप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा : तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना ।

त्यसैगरी उपदफा ३ अनुसार  जरिवाना बापत प्राप्त सम्पूर्ण रकम पीडितलाई क्षतिपूर्तिका रूपमा दिनुपर्ने अनिवार्य व्यवस्था हो । 

अन्य सम्बन्धित प्रावधानहरू

मुलुकी अपराध संहिताको धारा १९३ ले तेजाब आक्रमणलाई मुख्य रूपमा सम्बोधन गरे पनि कानूनले यस्ता हिंसात्मक घटनासँग जोडिएका अन्य परिस्थितिलाई पनि ध्यान दिएको छ । विशेष गरी भावनात्मक उत्तेजना, लापरवाही र क्षतिपूर्तिको व्यवस्था महत्वपूर्ण छन् ।

  • गम्भीर उत्तेजना वा रीसको आवेशमा भएको आक्रमण

मुलुकी अपराध संहिता २०७४ को धारा १९४ ले तेजाब आक्रमण जस्ता हिंसात्मक घटनामा देखिने तत्कालको गम्भीर उत्तेजना वा रीसको आवेशलाई केही हदसम्म सम्बोधन गरेको छ । 

यस दफा अनुसार  यदि कसैले अर्को व्यक्तिको तत्काल गम्भीर उत्तेजना दिने कामबाट आफ्नो आत्मसंयम गुमाएर त्यही व्यक्तिलाई वा भ्रमवश अरु कसैलाई कुटपिट गरेमा वा संयोगवश चोट पुर्‍याएमा सजाय कम हुन सक्छ । 

अङ्गभङ्ग भएको अवस्थामा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ भने अन्य कुनै किसिमले चोट पुर्‍याएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

तर यो लचिलो व्यवस्था सबै अवस्थामा लागू हुँदैन । 

कानूनको पालन गर्दा, निजी रक्षाको अधिकार प्रयोग गर्दा, राष्ट्रसेवकले पदीय कर्तव्य पालना गर्दा वा त्यस्तो कामबाट उत्तेजित भएर कुटपिट भएकोमा यो खण्ड लागू हुँदैन । त्यसैगरी, कसैलाई क्षति पुर्‍याउने नियतले स्वयं उत्तेजित बनाएर आक्रमण गरेको अवस्थामा पनि यो प्रावधान लागू हुँदैन ।

धारा १९४ को खण्ड (ख) अनुसार निजी रक्षाको लागि आवश्यकभन्दा बढी बल प्रयोग गरेमा र खण्ड (ग) अनुसार एकाएक उठेको झगडाको रीसको आवेशमा तत्काल चोट पुर्‍याएमा पनि यो लचिलो सजाय लागू हुन सक्छ । 

तर यस्तो काम गर्दा पीडकले अनुचित लाभ लिएको वा क्रूर तथा अस्वाभाविक तरिकाले काम गरेको भए यो व्यवस्था लागू हुँदैन ।

उपदफा (२) मा स्पष्ट पारिएको छ कि उपदफा (१) को खण्ड (ख) र (ग) मा जे लेखिएको भए पनि यदि कसूरदारले इभी राखेर वा सोचविचार गरेर कुटपिट वा अङ्गभङ्ग गरेको हो भने यो धाराको लचिलो सजाय लागू हुँदैन ।

  • लापरवाही वा हेलचेक्र्याइँबाट भएको चोट

लापरवाहीबाट अङ्गभङ्ग भएमा २ वर्षसम्म कैद वा २० हजार जरिवाना हुन सक्छ भने अन्य किसिमको चोट पुर्याएमा  १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ सम्म  जरिवाना हुन सक्छ । 

त्यसैगरी सामान्य हेलचेक्र्याइँबाट चोट पुर्‍याएमा ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना हुन सक्छ ।  

यो प्रावधानले चिकित्सकीय लापरवाही वा अन्य दैनिक काममा भएको हेलचेक्र्याइँलाई पनि समेट्छ, जसले तेजाब आक्रमणसँग जोडिएका केसमा थप कानूनी आधार दिन्छ ।

फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७/२०७८ मार्फत मुलुकी अपराध संहिता २०७४ मा भएको संशोधन

२०७८ मा जारी भएको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशले मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्दै तेजाब आक्रमणसम्बन्धी कानूनलाई थप स्पष्ट र कडा बनाएको छ। यो संशोधनले तेजाब प्रयोगलाई अलग्गै गम्भीर कसूरको रूपमा परिभाषित गरेको छ ।

अध्यादेशले मुलुकी अपराध संहिता २०७४ मा दफा १२६ पछि नयाँ दफा १२६ (क)थप गरेको छ। यस दफा १२६(क) अनुसार कसूर पीडितको नाममा सहयोग लिन नहुने व्यवस्था गरिएको छ । 

कसैले कुनै व्यक्ति कसूर पीडित भएको कारण देखाई निजको तस्वीर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जाल मार्फत आव्हान गरी वा नगरी निजलाई औषधी उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन ।

उपदफा (२) बमोजिम यो कसूर गर्ने वा गराउने व्यक्तिलाई:तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ । 

उपदफा (३) मा स्पष्ट गरिएको छ कि यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसूर पीडित वा निजका परिवारका सदस्यले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट कुनै सहयोग वा कुनै सुविधा प्राप्त गरेकोमा वा कुनै सामाजिक संस्था वा कुनै व्यक्तिले आफूखुसी दिएको सहयोग प्राप्त गरेकोमा यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।

त्यसैगरी अध्यादेशले दफा १९२ पछि नयाँ दफा १९२(क) थप गरेको छ जसअनुसार  तेजाब प्रयोग गरी अङ्गभङ्ग गर्न नहुने सम्बन्धी छ। यसको उपदफा (१) अनुसार कसैले कसैलाई तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग गर्नु वा गराउनु वा शारीरिक क्षति पुर्‍याउनु हुँदैन ।

यस संहिताको प्रयोजनका लागि “तेजाब” भन्नाले मानव अङ्ग, जीवजन्तु वा अन्य जैविक वा गैरजैविक वस्तुलाई जलाउने (बर्न), घातक क्षति पुर्‍याउने (कोरोसिभ) वा अन्य कुनै किसिमले गम्भीर असर पुर्‍याउने अकारबोनिक (इनअर्गानिक) एसिडजन्य रासायनिक पदार्थ सम्झनु पर्छ र सो शब्दले नाइट्रिक एसिड, सल्फरिक एसिड र हाइड्रोक्लोरिक एसिड तथा अन्य घातक तथा ज्वलनशील रासायनिक पदार्थलाई समेत जनाउँछ ।

सजायको व्यवस्था

कसैले कसैको दुवै आँखा जली वा क्षति भई पूर्णरुपमा दृष्टि नष्ट भएमा, नाक जली वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुवै स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई :बीस वर्ष कैद र दश लाख रुपैयाँ जरिवाना हुनेछ ।

कुनै कार्य गरी वा त्यसको परिणाम स्वरुप कसैको एउटा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्णरुपमा जली काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भएमा : पन्ध्र वर्ष देखि बीस वर्षसम्म कैद र सात लाख रुपैयाँ देखि दश लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

कुनै कार्य गर्दा वा त्यसको परिणाम स्वरुप कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम:सात वर्षदेखि दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँ देखि सात लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

कसूरबाट पीडित व्यक्तिको तत्काल मृत्यू नभई सोही कार्यको परिणाम स्वरुप त्यस्तो कसूर भएको मितिले एक वर्षभित्र मृत्यू भएमा ज्यान मारेको कसूर  भएको मानिनेछ ।

त्यसैगरी उपदफा (६) अनुसार कसैले उपदफा (१) बमोजिमको कार्य गर्न खोज्दा सम्बन्धित व्यक्तिलाई नलागेमा वा कोही त्यसबाट छलिएमा वा उम्किएमा त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिले यस दफा बमोजिम कसूर गर्न उद्योग गरेको मानिनेछ र सो वापत : पाँच वर्ष देखि सात वर्षसम्म कैद र एक लाख रुपैयाँ देखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

उपदफा (७) अनुसार उपदफा (२), (३) वा (४) बमोजिम जरिवाना वापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति वापत दिनु पर्नेछ ।

त्यसैगरी उपदफा (८) ले पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अङ्गभङ्गको गम्भीरता तथा जरिवाना रकम समेत विचार गरी सजाय निर्धारण गर्दा मनासिव क्षतिपूर्ति भराउनु पर्नेछ भन्ने व्यवस्था गरेको छ ।

२०७८ को अध्यादेश 

२०७८ को तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशले पुरानो कानूनलाई थप सशक्त बनायो । 

यसअन्तर्गत अध्यादेशको दफा ३ अनुसार तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा विक्री वितरण गर्न चाहने व्यक्तिले यस अध्यादेश बमोजिम अनुमतिपत्र लिनु पर्नेछ ।

दफा ११ अनुसार  अनुमतिपत्र प्राप्त व्यक्तिले अठार वर्ष उमेर पूरा नभएको व्यक्तिलाई तेजाब वा अन्य घातक रासायनिक पदार्थ विक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क वितरण गर्न वा गर्न लगाउन हुँदैन ।

त्यसैगरी दफा १२ अनुसार तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले मात्र तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्न सक्नेछ ।

दफा २४ अनुसार सजायको व्यवस्था

दफा २४ अनुसार दफा २३ बमोजिमका विभिन्न कसूर गरेमा निम्नानुसार सजाय हुनेछ :

– अनुमतिपत्र नलिई तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा विक्री वितरण गरेमा वा दफा १४ बमोजिम स्वीकृति नलिई तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी  गरेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद ।

– अनुमतिपत्र प्राप्त व्यक्तिले दफा ८ बमोजिमका शर्तको पालना नगरेमा दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय।

-अनुमतिपत्र प्राप्त व्यक्तिले दफा ९ बमोजिम बट्टा, प्याकेट वा बोतलको प्याकेजिङ्ग गर्दा लेबलको बाहिरी भागमा उल्लेख गर्नु पर्ने चेतावनीमूलक सन्देश र खतरा जनाउने चित्र उल्लेख नगरेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय।

-तेजाव वा अन्य घातक रासायनिक पदार्थ विक्री वितरण वा प्रदर्शन गरेमा,तेजाब वा अन्य घातक रासायनिक पदार्थ विसर्जन वा नष्ट गरेमा वा यो अध्यादेश वा यस अध्यादेश अन्तर्गत बनेको नियम विपरीत हुने गरी अन्य कुनै काम गरेमा दश हजार रुपैयाँदेखि चालीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

क्षतिपूर्ति सम्बन्धी व्यवस्था 

दफा २५ अनुसार यस अध्यादेश विपरीत तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसार पसार, बिक्री वितरण, नष्ट वा विसर्जन गरेको वा यस अध्यादेश बमोजिम पालना गर्नुपर्ने शर्त पालना नगरेको कारणबाट कुनै दुर्घटना भई कसैको जीउ, ज्यान वा शारीरिक अङ्ग वा सम्पत्तिमा हानि, नोक्सानी वा क्षति भएमा सम्बन्धित व्यक्तिले त्यसबाट पीडितलाई वा निजको मृत्यु भएमा निजको एकासगोलको पति वा पत्नी, छोरा, छोरी, बाबु वा आमालाई मनासिब क्षतिपूर्ति दिनु पर्नेछ ।

उपदफा (२) अनुसार यो क्षतिपूर्ति पीडित वा निजको मृत्यु भएमा हकवालाको उजुरी बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीले भराइ दिनेछन्। उपदफा (३) मा स्पष्ट गरिएको छ कि अदालतमा दायर भएको मुद्दाको क्षतिपूर्तिको हकमा भने सोही अदालतको फैसला बमोजिम हुनेछ ।

धरौटी र जफत सम्बन्धी व्यवस्था

दफा २६ ले अनुसन्धानको क्रममा कब्जा गरिएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको व्यवस्थापनबारे व्यवस्था गरेको छ। मुद्दा हेर्ने अधिक अधिकारीको आदेश बमोजिम यस्ता पदार्थलाई अन्य अनुमतिपत्र प्राप्त व्यक्तिलाई प्रचलित बजार मूल्यमा बिक्री गरी प्राप्त रकमलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म धरौटीमा राख्न  सकिनेछ । यदि बिक्री हुन सकेन भने सुरक्षित रूपमा भण्डारण गर्नुपर्नेछ र भण्डारण गर्न नसकिने अवस्थामा तोकिए बमोजिम अभिलेख राखी नष्ट वा विसर्जन गर्नुपर्नेछ ।

दफा २७ अनुसार कसूर ठहर भएमा सम्बन्धित तेजाब वा अन्य घातक रासायनिक पदार्थ तथा धरौटी रकम जफत हुनेछ । जफत भएको पदार्थलाई तोकिए बमोजिम अभिलेख राखी दफा १५ बमोजिम नष्ट वा विसर्जन गर्नुपर्नेछ ।

यो व्यवस्थाले तेजाबको अवैध कारोबार र दुरुपयोगलाई रोक्न तथा पीडितलाई क्षतिपूर्ति दिलाउन कानूनी आधार प्रदान गरेको छ ।

सम्बन्धित खवर

यी हुन्‌ हड्ताल गर्न नपाइने २५ क्षेत्र (राजपत्रसहित)

यी हुन्‌ हड्ताल गर्न नपाइने २५ क्षेत्र (राजपत्रसहित)

काठमाडौँ । सरकारले २५ सेवा क्षेत्रमा हड्ताल निषेध गर्नेगरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको छ...