काठमाडौँ। गत भदौमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय नागरिक रणबीर सिंह गोलाले श्रीमतीको शव पशुपति आर्यघाटमै जलाएर फर्कनुपर्ला भन्ने सोचेका थिएनन् । तर, भदौ २३ र २४ मा काठमाडौंमा भएको जेनजी विरोध प्रदर्शनका क्रममा गोलाले जीवन संगिनी सधैँका लागि गुमाउनु पर्यो ।
जेनजी आन्दोलनमा पत्नीको मृत्यु भएको ६ महिनापछि उनले १०० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गर्दै आफ्नै देशको अदालतमा निवेदन दिएका छन् ।
रिट निवेदनमा भारत सरकारको विदेश मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र काठमाडौंको हायात रिजेन्सी होटललाई विपक्षी बनाइएको छ ।
निवेदनमा जनाइएअनुसार गोला दम्पती ७ सेप्टेम्बर २०२५ मा पशुपतिनाथ मन्दिर दर्शनका लागि नेपाल आएका थिए । ९ सेप्टेम्बरका दिन प्रदर्शनकारीहरूले होटलमा आगजनी तथा आक्रमण गरेका थिए ।
होटल प्रशासनले अतिथिहरूलाई सुरक्षाको आश्वासन दिँदै बाहिर ननिस्कन आग्रह गरेको थियो ।
होटलमा आपतकालीन व्यवस्थापन प्रभावकारी नभएकाले आफ्नी पत्नीको मृत्यु भएको रिट निवेदनमा दाबी गरिएको छ।
निवेदनमा भनिएको छ,‘भदौ २४ गते प्रदर्शनकारीहरूले होटलमा आगो लगाए र आक्रमण गरे। होटल प्रशासनले पाहुनाहरूलाई सुरक्षा दिने आश्वासन दियो र चेकआउट गर्न रोकेर माथिल्लो तलामा पठायो ।तर, आपतकालीन अवस्थामा कुनै उचित व्यवस्था गरेन। होटलमा आगो लाग्यो । ज्यान जोगाउन भाग्ने क्रममा पत्नी चौथो तलाबाट खसिन् । भारतीय दूतावास र विदेश मन्त्रालयलाई बारम्बार सम्पर्क गरे पनि सहयोग पाइएन।’
भारतीय पर्यटक ५७ वर्षीया राजेश सिंह गोलाको मृत्यु हायात होटलमा भएको पुष्टि यस अघि नै नेपाल प्रहरीले गरिसकेको छ । प्रहरीका अनुसार आन्दोलनका क्रममा सय–डेढ सय जनाको समूहले बौद्धस्थित हायात रिजेन्सीमा तोडफोड तथा आगजनी गरेको थियो । होटलमा आगजनी सुरु भएपछि ती भारतीय पर्यटक झ्यालबाट हामफालेकी थिइन् । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
यस रिटमाथि सुनुवाई गर्दै सोमबार दिल्ली उच्च न्यायालयका न्यायाधीश पुरुषेन्द्र कुमार कौरवको एकल इजलासले नेपालमा भएको घटनामाथि दिल्ली हाई कोर्टको क्षेत्राधिकार कसरी लागू हुन्छ भन्ने प्रश्न उठाएको छ। अदालतले हयात होटललाई विपक्षी बनाउने विषयमा पनि प्रश्न उठाउँदै रिट संशोधन आवश्यक रहेको जनाएको छ ।
दिल्ली हाईकोर्टले निवेदनमाथि सुनुवाइ गर्ने आफ्नो क्षेत्राधिकारबारे चासो राख्दै निवेदकलाई रिट परिमार्जन गर्न समय दिएको छ ।
सोमबारको सुनुवाईमा न्यायाधीश पुरुषेन्द्र कुमार कौरवले नेपालमा भएको घटनाको सन्दर्भमा रिट निवेदन संशोधन नगरी कारवाही अघि बढ्न नसक्ने बताएका छन् । रिटलाई संशोधन गरेर भारतीय अदालतको अधिकारक्षेत्र अन्तर्गत हुने गरी पेश गर्न दिल्ली उच्च न्यायालयले २६ फेब्रअरीसम्मको समय दिएको हो ।
मुद्दाको अर्को सुनुवाई आगामी २६ फेब्रुअरीपछि हुने भारतीय पत्रिका अमर उजालामा जनाइएको छ ।
श्रीमतीको मृत्युबारे दिल्ली हाईकोर्टमा न्याय माग्न पुगेका रामवीर सिंह गोला गाजियाबाद निवासी व्यवसायी हुन् ।
आफ्नो निवेदनमा गोलाले भारतको केन्द्र सरकारद्वारा लापरवाही गरिएको भन्दै ७५ करोड रुपैयाँका क्षतिपूर्ति मागेका छन् ।
थप २५ करोड रुपैयाँ काठमाडाैँको हायात होटलले तिर्नुपर्ने उनको मागदाबी छ।

