वैकल्पिक विवाद समाधान : प्रभावकारी विकल्प, तर बेवास्ता !

जस नेपाल

१० चैत २०८२

वैकल्पिक विवाद समाधान : प्रभावकारी विकल्प, तर बेवास्ता !

काठमाडौँ । लामो कानूनी प्रक्रिया, उच्च वकील शुल्क र समय खर्चिने डरका कारण धेरै सर्वसाधारणले अन्याय हुँदा पनि आफ्नो अधिकार दाबी नगर्ने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थामा अदालत बाहिरै विवाद समाधान गर्ने वैकल्पिक विवाद समाधान प्रणाली प्रभावकारी विकल्प हुन सक्ने भए पनि यसबारे जनचेतना सीमित रहेको पाइएको छ ।

धेरै व्यक्तिहरू अदालतमा मुद्दा दायर गर्दा प्रक्रिया जटिल हुने, मुद्दा लामो समयसम्म लम्बिने, खर्च अत्यधिक हुने भन्ने धारणा राख्छन् । यसकै कारण साना तथा मध्यम प्रकृतिका विवादमा समेत मानिसहरू न्याय खोज्नुभन्दा सम्झौता गरेर बस्न बाध्य हुने अवस्था देखिएको छ ।

वैकल्पिक विवाद समाधान (एडीआर) के हो र कहाँ प्रयोग हुन्छ ?

वैकल्पिक विवाद समाधान भनेको अदालत बाहिर बसेर विवाद समाधान गर्ने प्रक्रिया हो, जुन मुख्यतया नागरिक प्रकृतिका विवादहरूमा प्रयोग गरिन्छ ।

यसअन्तर्गत; करारसम्बन्धी विवाद, व्यापारिक लेनदेन, पारिवारिक विवादजस्ता विषयहरू समाधान गर्न सकिन्छ ।

कसरी समाधान हुन्छ विवाद ?

वैकल्पिक विवाद समाधान प्रणाली अन्तर्गत विभिन्न विधिहरू प्रयोगमा छन्, जसले विवादको प्रकृति र पक्षहरूको सहमतिअनुसार फरक-फरक ढंगले काम गर्छन् । जस्तै :

१. वार्ता (Negotiation) मा सम्बन्धित पक्षहरू आफैँ प्रत्यक्ष रूपमा बस्छन् र आपसी सहमतिबाट समाधान खोज्ने प्रयास गर्छन् । यसमा तेस्रो पक्षको संलग्नता हुँदैन र प्रक्रिया पूर्ण रूपमा लचिलो हुन्छ, जसले छिटो समझदारीमा पुग्न सहयोग गर्छ ।

२. मध्यस्थता (Mediation) मा एक निष्पक्ष तेस्रो व्यक्ति (मध्यस्थ) को भूमिका महत्वपूर्ण हुन्छ । मध्यस्थले दुवै पक्षबीच संवाद सहज बनाउने, गलतफहमी हटाउने र सहमतिको वातावरण तयार गर्ने काम गर्छ । तर अन्तिम निर्णय भने पक्षहरूले नै लिन्छन्, जसले समाधानलाई दुवैका लागि स्वीकार्य बनाउँछ ।

३. मध्यस्थ न्याय (Arbitration) मा भने प्रक्रिया केही औपचारिक हुन्छ । यसमा तेस्रो पक्ष (arbitrator) ले दुवै पक्षको कुरा सुनेर निर्णय दिन्छ, जुन प्रायः बाध्यकारी हुन्छ । यसलाई अदालतको विकल्पका रूपमा लिइन्छ, किनकि यसले समय र प्रक्रिया छोट्याउँदै विवाद समाधान गर्ने अवसर दिन्छ ।

वैकल्पिक विवाद समाधान किन प्रभावकारी मानिन्छ ?

वैकल्पिक विवाद समाधान छिटो, कम खर्चिलो, कम औपचारिक, गोप्य प्रकृतिको हुने भएकाले विशेषगरी निजी तथा व्यापारिक विवादमा उपयोगी मानिन्छ ।

नेपालमा कानूनी रूपमा वैकल्पिक विवाद समाधानको व्यवस्था भए पनि, यसबारे पर्याप्त जानकारीको अभावका कारण यसको प्रयोग सीमित देखिएको छ । धेरै सर्वसाधारणलाईस् वैकल्पिक विवाद समाधान कहाँ उपलब्ध छ, कसरी प्रक्रिया सुरु गर्ने, कुन विवादमा प्रयोग हुन्छ भन्ने विषय स्पष्ट नहुँदा, उनीहरू न्याय खोज्नै नजाने प्रवृत्ति देखिन्छ ।

अदालत मात्र न्यायको एकमात्र माध्यम नभएको अवस्थामा, वैकल्पिक विवाद समाधानजस्ता वैकल्पिक प्रणालीबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक देखिएको छ । अन्याय हुँदा चुप लागेर बस्ने प्रवृत्तिलाई कम गर्न छिटो, सुलभ र व्यवहारिक विकल्पका रूपमा वैकल्पिक विवाद समाधानको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

सम्बन्धित खवर

सामाजिक सुरक्षा कोषमा नगएको कम्पनीका कर्मचारीले सञ्चित रकम र उपदान पाउँछन्‌ ?

सामाजिक सुरक्षा कोषमा नगएको कम्पनीका कर्मचारीले सञ्चित रकम र उपदान पाउँछन्‌ ?

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको कारण देखाउँदै निजी क्षेत्रका केही कम्पनीहरूले श्रमिक/कर्मचारीलाई...

मतगणनापछि सरकार गठन : यस्तो छ संविधान र कानूनले तोकेको चरणबद्ध प्रक्रिया

मतगणनापछि सरकार गठन : यस्तो छ संविधान र कानूनले तोकेको चरणबद्ध प्रक्रिया

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सम्पन्न भइसकेको छ र अब...

कसरी बाँडिन्छ समानुपातिक सिट ?

कसरी बाँडिन्छ समानुपातिक सिट ?

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि देशभर समानुपातिकतर्फको मतगणना तीव्र गतिमा...

अदालतमा प्रयोग हुने केही प्रचलित शब्दावली

अदालतमा प्रयोग हुने केही प्रचलित शब्दावली

काठमाडौँ । आठ अर्ब ३० करोड मानिस बसोबास गरिरहेको पृथ्वीमा यतिखेर कम्तिमा सात हजार...