काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलाससम्बन्धी नयाँ पोर्टल सार्वजनिक गरेको छ ।
शुक्रबार रामशाह पथ स्थित सर्वोच्च अदालतको एनेक्स भवनमा आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलाससम्बन्धी बेग्लै वेब पोर्टलको उदघाटन गरिन् ।
नयाँ पोर्टलमा संवैधानिक इजलासमा थाती रहेका मुद्दाहरु र पेशीसम्बन्धी विवरण हेर्न सकिन्छ ।
साथै पोर्टलमा संवैधानिक इजलासले गरेका पुराना फैसलाहरुको अर्काइभसमेत राखिएको छ । जसबाट कानूनका विद्यार्थी एवं सरोकारवालाहरुले सजिलैसँग सामग्रीहरु प्राप्त गर्न सक्नेछन् ।
सर्वोच्च अदालतको साबिककै वेबसाइटमा गएर ‘संवैधानिक इजलास’ मा क्लिक गरेपछि नयाँ पोर्टलमा जान सकिन्छ ।
अन्य मुद्दाहरुमा जस्तो मुद्दा नम्बरका आधारमा नभएर सोझै पुराना फैसलाहरु खोज्न सकिने गरी पोर्टल निर्माण गरिएको सर्वोच्च अदालतको आइटी शाखाले जानकारी दियो ।
पोर्टलमा संवैधानिक इजलासमा रहेका मुद्दाको लगतसम्बन्धी विवरणसमेत देखिन्छ । जसमा शुक्रबारको तथ्यांक अनुसार ९१३ कुल मुद्दामध्ये २७५ वटा फर्छ्यौट हुन बाँकी रहेको देखिन्छ ।
नेपालको संविधानअनुसार सर्वोच्च अदालतमा ५ जना न्यायाधीहरु रहेको संवैधानिक इजलास रहन्छ, जसले संवैधानिक विवादसम्बन्धी मुद्दाहरुको सुनुवाई गर्दछ । साथै, तीन तहका सरकारहरुको विवाद पनि यही इजलासमा हेर्ने गरिन्छ ।
संवैधानिक इजलासको नयाँ वेब पोर्टल उदघाटन कार्यक्रममा सर्वोच्चका न्यायाधीशहरु र कर्मचारीहरुको उपस्थिति थियो ।
संवैधानिक इजलाससम्बन्धी नयाँ पोर्टल हेर्न तलको लिंकमा जानुहोस्–


