काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सविता गौतम र सुनिल लम्साल रहेका छन् ।
सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको दर्ता क्रमानुसार आजै अपराह्न २ः३० बजे सार्वजनिक गरिने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
अब आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।
यता विपक्षी दलले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने टुङ्गो लगाएको छैन । नेपाली कांग्रेसले उक्त पदका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ भने नेकपा एमालेले प्रतिनिधि सभा सदस्य गुरु बरालको नाममा छलफल गरिरहेको छ ।
यदि एमालेका तर्फबाट गुरु बरालको मनोनयन दर्ता भएका सभामुख पदका लागि निर्वाचन हुनेछ भने । अरू कुनै उम्मेदवार नभएको खण्डमा रास्वपाका अर्याल सर्वसम्मत सभामुख बन्नेछन् ।
यद्यपि अन्य कसैको उम्मेदवारी परे पनि संसद्मा बहुमत रहेका कारण डीपी अर्याल नै सभामुख बन्ने लगभग पक्का भएको हो ।

