यसरी चुनिनेछन्‌ नयाँ सभामुख र उपसभामुख

जस नेपाल

१० चैत २०८२

यसरी चुनिनेछन्‌ नयाँ सभामुख र उपसभामुख

काठमाडौँ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभा गठनको संवैधानिक प्रक्रियाले गति लिएको छ । यही संक्रमणकालीन चरणमा सभामुख र उपसभामुखको चयन नै संसद्भित्रको शक्ति सन्तुलन निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण संवैधानिक निर्णय हो ।

फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत हासिल गरेको छ । सभामुख र उपसभामुख बहुमतप्राप्त दलको प्रभाव निर्णायक हुने भए पनि, यी पदहरू दलगत नेतृत्वभन्दा माथि उठेर सदन सञ्चालन गर्ने संवैधानिक निकायका रूपमा स्थापित छन् ।

बेलायतजस्तो औपचारिक सदनको अध्यक्ष सभामुख हुने प्रावधान छ भने नेपालको सन्दर्भमा सदनको नेता सरकार गठन निम्ति बहुमत प्राप्त दलको संसदीय नेता अर्थात्‌ प्रधानमन्त्री हुन्‌ । जसले सदनमा सरकारी एजेण्डा प्रस्तुत गर्छन्‌ र संसद्‌को दैनिक कार्य सञ्चालनमा सभामुखलाई सहयोग गर्दछन्‌ ।

को हुन् सभामुख र उपसभामुख ?

सभामुखले प्रतिनिधि सभाको अध्यक्षको भूमिका निर्वाह गर्दै संसद्को बैठक सञ्चालन, अनुशासन कायम राख्ने र संसदीय प्रक्रियाको नेतृत्व गर्छन् । उपसभामुखले सभामुखको अनुपस्थितिमा उही अधिकार प्रयोग गर्दै बैठक सञ्चालन गर्ने अधिकार प्राप्त गर्छन् ।

नेपालको संविधानको धारा ९१(१) अनुसार प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुख निर्वाचन गर्छन् ।

नेपालको संविधानको धारा ९१(२) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार; प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्छ ।

विशेष व्यवस्था

नेपालको संविधानको धारा ९१(३) मा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने व्यवस्था छ ।

धारा ९१(५) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ ।

सभामुखको निर्वाचन

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ७ अनुसार :

– प्रतिनिधि सभाको निर्वाचन पश्चात हुने सभामुखको निर्वाचन ज्येष्ठ सदस्यले तोकेको दिन र समयमा हुनेछ र त्यसको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रकाशन गर्नेछ ।

– यदि प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गर्न चाहेमा अनुसूची-१ बमोजिमको ढाँचामा प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्नेछ,

– सो प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि बढीमा तीन जना समर्थक सदस्यहरूले समर्थन गर्न सक्नेछन् ।

– त्यस्तो प्रस्तावको एक मात्र सूचना प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।

– एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भएमा दर्ताक्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ र त्यसपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछ ।

– एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भई उपनियम (४) बमोजिम निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन्छ सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन ।

– उपनियम (५) बमोजिमको प्रस्तावमाथि सभाको निर्णय दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ ।

– उपनियम (५) बमोजिमको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा पुनः निर्वाचन गर्नु पर्नेछ ।

– बैठकको अध्यक्षता गर्ने सदस्य सभामुख पदमा प्रस्तावित भएमा सभामुख पदमा प्रस्तावित नभएको त्यसपछिको ज्येष्ठ सदस्यले सो दिनको बैठकको अध्यक्षता गर्नेछ ।

– सभामुखको पद कुनै कारणले रिक्त भएमा उपसभामुखले उपनियम (१) बमोजिम अधिवेशन चालु रहेकोमा रिक्त भएको मितिले र अधिवेशन चालु नरहेकोमा अधिवेशन प्रारम्भभएको मितिले पन्ध्र दिनभित्र निर्वाचन हुने गरी दिन र समय तोक्नेछ ।

– उपसभामुखको पद समेत रिक्त रहेको अवस्थामा ज्येष्ठ सदस्यले त्यस्तो दिन र समय तोक्नेछ ।

उपसभामुखको निर्वाचन

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ८ अनुसार :

– उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ र सो सम्बन्धी सूचना सचिवले प्रकाशन गर्नेछ ।

– उपसभामुखको निर्वाचन सम्बन्धी प्रक्रिया सभामुखको निर्वाचनको लागि निर्धारित प्रक्रिया वमोजिम नै हुनेछ ।

– उपसभामुखको निर्वाचन सम्बन्धी प्रक्रिया सभामुखको निर्वाचनको लागि निर्धारित प्रक्रिया बमोजिम नै हुनेछ ।

शपथ

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ९ अनुसार आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखले राष्ट्रपति समक्ष र उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुख समक्ष अनुसूची-२ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

सभामुख र उपसभामुखका काम, कर्तव्य र अधिकार

संघीय संसद सचिवालय सम्बन्धी ऐन , २०६४ को दफा ८ अनुसार स्

– सङ्घीय संसद्को आन्तरिक तथा वैदेशिक प्रतिनिधिमण्डल सम्बन्धी कार्य गर्ने,

– सङ्घीय संसद्का पदाधिकारी, सदस्य र महासचिवको आन्तरिक तथा वैदेशिक भ्रमण र भ्रमण खर्च स्वीकृत गर्ने,

– मित्र राष्ट्रका सङ्घीय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय व्यवस्थापिकीय सङ्घ र मैत्री समूहबीच सम्पर्क र सम्बन्ध कायम गर्ने,

– समितिको निर्णय कार्यान्वयनका सम्बन्धमा नेपाल सरकार तथा अन्य सम्बन्धित निकायलाई आवश्यकता अनुसार निर्देशन दिने ।

अन्य भूमिका

संघीय संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ६ अनुसार सङ्घीय संसद् र सचिवालयलाई सुचारु रुपले सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने तथा रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने काम समेतका लागि सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहन्छ जसको सभापति सभामुख र उपसभामुख सदस्य रहने प्रावधान छ ।

त्यस्तै संविधानको धारा २८४ अनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्नका निमित्त गठन हुने संवैधानिक परिषद्को सदस्यका रुपमा पनि उपसभामुख रहने व्यवस्था गरिएको छ ।

सभामुख र उपसभामुखको पद रिक्त हुने अवस्था

संविधानको धारा ९१ अनुसार देहायको कुनै अवस्थामा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ :

– निज प्रतिनिधि सभाको सदस्य नरहेमा तर प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।

– निजले लिखित राजीनामा दिएमा,

– निजले निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।

– प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधि सभाको उपसभामुखले गर्नेछ । त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधि सभाको सभामुखले भाग लिन र मत दिन पाउनेछ ।

सम्बन्धित खवर

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको...

जब सुशीलालाई नै अदालत सम्झँदा बैराग लाग्छ…

जब सुशीलालाई नै अदालत सम्झँदा बैराग लाग्छ…

काठमाडौँ । यतिबेला न्यायालयको नेतृत्व बहसमा तानिएको छ । न्यायालयको सर्वोच्च नेतृत्व मानिने प्रधानन्यायाधीशको...

रवि लामिछानेको मुद्दा आज पनि हेर्दा हेर्दैमा

रवि लामिछानेको मुद्दा आज पनि हेर्दा हेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी रिटमाथिको सुनुवाई मंगलबार...

पालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि नेकपाका चार संगठनबाट विरोध

पालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि नेकपाका चार संगठनबाट विरोध

काठमाडौँ । उपत्यकाका स्थानीय पालिकाले डोजर लगाएर सुकुम्बासी बस्ती हटाउन थालेपछि नेपाली कम्युनिष्ट पार्टी...