काठमाडौं । नेपालको जिल्ला अदालत न्यायिक प्रणालीको आधारस्तम्भ हो, जहाँ नागरिकको न्यायमा पहिलो औपचारिक पहुँच सुनिश्चित हुन्छ । मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मका सम्पूर्ण प्रक्रिया विभिन्न प्रशासनिक र न्यायिक फाँट तथा शाखामार्फत सञ्चालन हुने गर्दछ । जिल्ला अदालतको संरचनाले न्यायिक कामलाई व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउने उद्देश्य राखेको देखिन्छ ।
अदालतको प्रारम्भिक सेवा बिन्दुका रूपमा दर्ता–चलानी फाँट र सहायता कक्ष रहेका छन् । दर्ता–चलानी फाँटले निवेदन, उजुरी र फिरादपत्र दर्ता गर्नुका साथै अदालतबाट बाहिरिने सम्पूर्ण पत्रहरूको अभिलेख सुरक्षित राख्ने कार्य गर्दछ । त्यस्तै, सहायता कक्षले सेवाग्राहीलाई मुद्दा प्रक्रियाबारे जानकारी दिने, निवेदनका ढाँचा उपलब्ध गराउने र सम्बन्धित फाँटमा मार्गदर्शन गर्ने महत्वपूर्ण भूमिका खेल्छ ।
मुद्दाको औपचारिक सुरुवात मुद्दा तथा पुनरावेदन दर्ता शाखा र फिरादपत्र दर्ता शाखाबाट हुन्छ । पुनरावेदन दर्ता शाखाले तल्लो अदालतका फैसलाविरुद्ध परेका पुनरावेदनहरू कानूनी प्रावधानअनुसार अभिलेख गरी कारबाही अघि बढाउँछ । फौजदारी, देवानी तथा दुनियाँवादी कसुरसँग सम्बन्धित उजुरी तथा अभियोगपत्र भने फिरादपत्र दर्ता शाखामार्फत दर्ता भई न्यायिक प्रक्रियामा प्रवेश गर्छन् ।
फैसला भइसकेपछि त्यसको कार्यान्वयन तहसिल शाखाले गर्छ । कैद, जरिवाना, क्षतिपूर्ति, व्यक्ति बिगो, सरकारी बिगो तथा सम्पत्तिसम्बन्धी आदेशहरूको कार्यान्वयन यही शाखाबाट हुन्छ, जसले न्यायिक निर्णयलाई व्यवहारमा उतार्ने काम गर्दछ ।
अदालतको वित्तीय र सहयोगी संरचनामा बैंक काउन्टर, लेखा शाखा, कानूनी सहायता शाखा र सरकारी अधिवक्ता कार्यालय पर्दछन् । बैंक काउन्टरले राजस्व, जरिवाना, धरौटी र दस्तुर संकलन गर्छ भने लेखा शाखाले बजेट, तलब र प्रशासनिक खर्चको व्यवस्थापन गर्दछ । कानूनी सहायता शाखाले गरिब, असहाय र कमजोर वर्गलाई निःशुल्क कानूनी सहयोग प्रदान गरी न्यायमा पहुँच सुनिश्चित गर्छ । यता, सरकारी अधिवक्ताले सरकारको तर्फबाट मुद्दा लड्ने, अभियोगपत्र दर्ता गर्ने र फौजदारी न्याय प्रशासनमा राज्यको प्रतिनिधित्व गर्ने जिम्मेवारी वहन गर्छन् ।
मुद्दा प्रक्रियालाई अगाडि बढाउन म्याद तामेली फाँट, निवेदन/प्रतिवेदन शाखा र मिलापत्र शाखा सक्रिय छन् । म्याद तामेली फाँटले पक्ष र साक्षीलाई अदालतका आदेश तथा सूचनाहरू तोकिएको समयमा पुर्याउने काम गर्छ । निवेदन/प्रतिवेदन शाखाले विविध औपचारिक निवेदन र प्रतिवेदनको दर्ता गर्दछ भने मिलापत्र शाखाले मेलमिलापकर्ताको सहयोगमा विवादलाई आपसी सहमतिमा समाधान गर्न प्रोत्साहन गर्छ ।
अदालतको सुरक्षात्मक र अभिलेख संरचनामा थुनुवा कक्ष, पीडितरसाक्षी संरक्षण कक्ष र अभिलेख शाखा रहेका छन् । थुनुवा कक्षमा मुद्दाको कारबाहीका क्रममा उपस्थित गराइएका थुनुवालाई राखिन्छ । साक्षी संरक्षण कक्षले साक्षीको सुरक्षा, गोपनीयता र मनोबल कायम राख्न सहयोग पुर्याउँछ । त्यस्तै, अभिलेख शाखाले किनारा लागेका मुद्दाका मिसिल सुरक्षित र व्यवस्थित रूपमा राख्ने काम गर्दछ ।
मुद्दा व्यवस्थापनलाई प्रभावकारी बनाउन अदालतले मार्ग फाँट प्रणाली अपनाएको छ । यस अन्तर्गत सरल, विशेष र अभियान मार्ग फाँट सञ्चालनमा छन् । सरल मार्ग फाँटले सामान्य र छिटो टुङ्गिइने मुद्दा हेर्छ, विशेष मार्ग फाँटले जटिल र संवेदनशील मुद्दा व्यवस्थापन गर्छ भने अभियान मार्ग फाँटले पुराना मुद्दा छिटो फस्र्योट गर्ने लक्ष्य लिएको छ ।
न्यायिक निर्णयको केन्द्र भनेको इजलास हो, जहाँ न्यायाधीशले बहस सुनी कानूनी मूल्याङ्कनपछि फैसला सुनाउँछन् । इजलासको दैनिक कार्य व्यवस्थापनमा सुपरिवेक्षक इजलास अधिकृतले महत्वपूर्ण सहयोग पुर्याउँछन् ।
अदालतमा मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मका स्पष्ट चरण, शाखागत जिम्मेवारी र नागरिक–केन्द्रित सेवाले न्यायलाई प्रभावकारी र पहुँचयोग्य बनाएको देखिन्छ । यस्तो संरचनाले न्यायप्रति नागरिकको विश्वास बलियो बनाउनुका साथै विधिको शासनलाई संस्थागत रूपमा सुदृढ पार्ने आधार प्रदान गर्दछ ।
ताजा अपडेट
निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…
१७ फागुन २०८२
