काठमाडौँ । भ्रष्टाचार मुद्दा तहकीकात क्रममा सरकारी साक्षी बनेर बयान दिएकाहरूले नै अदालतमा प्रतिकूल बकपत्र गरेपछि कैद र बिगो बराबरकै मुद्दा लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादव भएको घुसररिसवत मुद्दामा वयान फेर्ने सरकारी साक्षीहरू प्रेमसिंह ठगुन्ना र किसनसिंह साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कैलालीका वरिष्ठ वन अधिकृत यादवलाई अख्तियारको टोलीले सात लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत साउन ५ गते रङ्गेहात नियन्त्रणमा लिएको थियो । निजले कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दीमा रहेको काठको बिमर्का र छोडपूर्जी उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको थियो ।
त्यतिखेर यादवलाई रकम उपलब्ध गराउने कैलालीको चुरे-६ का ठगुन्ना र गोदावरी नगरपालिका-२ का साउद सरकारी साक्षीका रूपमा अदालतमा पेश भएका थिए । तर निज ठगुन्ना र साउदले मङ्सिर २५ गते विशेष अदालतसमक्ष वकपत्र गर्दा आयोगमा गरेको बयान भन्दा व्यहोरा तथा तथ्यसमेत फरक हुने गरी प्रतिकूल बकपत्र गरेको आयोगले जनाएको छ ।
प्रतिकूल बकपत्र गरेसँगै ठगुन्ना र साउदले वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई घुस/रिसवत दिएको कार्य कसुर पुष्टि भएको आयोगको दाबी छ । ‘निजहरुले विशेष अदालत, काठमाडौँमा बकपत्र गर्दा उनीहरूबीच गैरकानूनी स्वार्थ तथा लाभ लिने दिने उद्देश्यले पछिबाट सम्बन्ध सम्पर्क भएकै कारण समेतबाट मुद्दाको अनुसन्धानका क्रममा दिएको उजुरी बयान र कसूर तथा सजायमा छुट सुविधा प्राप्ति भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको उक्त सुविधा तथा छुटको शर्त विपरीत हुने गरी फरक तथा झुट्टा व्यहोरा लेखाई प्रतिकूल बकपत्र गरेको हुँदा आयोगले दायर गरेको आरोपपत्रमा लेखिएको छ ।प्रतिवादीहरूको
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ को उपदफा (३) बमोजिमको कसुर भएकोले निजहरूलाई दफा घ को उपदफा (१) बमोजिम बिगो सात लाख ३१ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना हुन साथै दफा घ को उपदफा (१क) बमोजिम घुस/रिसवत जफत हुन मागदाबी लिइ विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको हो ।

