काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा अधिवेशन आह्वान लगायत विभिन्न ६ निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएको जानकारी अनुसार; सरकारले वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३-२०८६/८७) पनि स्वीकृत गरेको छ । यसैगरी अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले सन् २०२४ मा बुझाउनुपर्ने वार्षिक योगदान बापतको दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिएको छ ।
२०२५ मार्चमा चलेको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध प्यागोडाको अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनःनिर्माण निम्ति तीन लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
बैठकले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गर्ने र गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

