काठमाडौँ । कतिपय राजनीतिक दलले आफूहरु जेनजीको असली प्रतिनिधि रहेको बताइरहँदा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने भदौ २३ का जेनजीहरु अहिले पनि सडकमै रहेको बताएका छन् ।
भदौ २३ का जेनजीहरुसँग अहिले कुनै राजनीतिक दल पनि नभएको र उनीहरुले चुनावमा पनि भाग नलिएको श्रेष्ठको विश्लेषण छ । तर, भदौ २४ को डरलाग्दो घटनाबाट अगाडि आएको शक्ति सरकारमा गएको र चुनावमा पनि भाग लिएको उनको टिप्पणी छ ।
दरबारमार्गमा गत बुधबार इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको छलफल कार्यक्रमा प्रमुख अतिथि बनेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेनजीको आधिकारिक प्रतिनिधित्व गर्ने दल नरहेको र उनीहरु अहिले पनि सडकमै रहेको दाबी गरेका हुन् ।
‘हामी छौँ कता ? वास्तवमा हामी चुनाव हुनै लाग्दा पनि पनि चौरास्तामा उभिइरहेका छौँ जस्तो लाग्छ मलाई । यो हामीबीचको गम्भीर परिस्थिति हो’ श्रेष्ठले भनेका छन्, ‘हरेक नेपालीले आफ्नो अन्तरआत्मालाई बोल्न सक्ने हिम्मत भगवानले दिउन् भन्ने मलाई लाग्छ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भदौ २३ र २४ को घटनालाई अलग गरेर हेर्नुपर्ने बताए । भदौ २४ गते डरलाग्दो घटना भएको र त्यो शक्ति अहिले सरकारमा र चुनावमा पनि देखिएको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले अगाडि भनेका छन्, ‘जेनजी आन्दोलनको सन्दर्भमा कुरा गर्दा भदौ २३ गतेको ३ बजेसम्म युवा पुस्ताको सुधार र सुशासनको भावान सशक्तरूपमा थियो । त्यसपछि घटना भयो, त्यसको जिम्मेवारी लिनेले लिनुपर्छ । फेरि २४ गतेको घटना डरलाग्दो छ ।’
उनी थप्छन्, ‘अहिले भदौ २३ गतेका आन्दोलनकारी सडकमा नै छन् । त्यो पक्ष चुनावमा पनि छैन, त्यो सरकारमा पनि छैन, त्यो सडकमै छ । त्यसलाई सडकमै छाडेर भदौ २४ गतेको सेरोफेरो सरकारमा पनि पुग्यो, चुनावमा पनि छ, सबैतिर डर पनि छ ।’
श्रेष्ठ अगाडि भन्छन्, ‘जेनजीवाला न चुनावमा भाग लिँदैछन्, न राजनीतिक दल छन्, उनको प्रतिनिधित्व ग¥यो कसले ? जेनजीको सरकार भन्छ, जेनजीको कोही देखिँदैन । यस्तो विरोधाभाषपूर्ण अवस्थामा हामीले देशलाई कता लैजाँदै छौँ ?’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कार्यक्रममा भने, ‘भदौ २३ र २४ बीचमा बुदियादी अन्तर छ ।…भदौ २३ र २४ को बीचमा के–के घटना भए, त्यसको जुन क्रिमिनल पार्ट छ, त्यो पार्ट असम्बोधित भएको अवस्थामा छ । त्यसलाई यथावत राख्न खोजेको कारण के हो ? निर्वाचनलाई मार्गप्रशस्त गर्न खोजेको हो ? त्यसकारण भदौ २३ र २४ को बीचमा धेरै ठूलो अन्तर परेको छ ।’
उनले भनेका छन्, ‘कसैले जितेर राष्ट्र हराउन हुँदैन । प्रजातन्त्रमा कसैले जित्ने र कसैले हार्ने त हुन्छ तर, राष्ट्रका लागि त्यो हार र जित पर्याप्त छैन । राष्ट्र जोगिनका लागि सबैको ‘सेन्स अफ बिलोङ्स’ चाहिन्छ, सबैले ‘एकोमोडेट’ गर्नपर्छ । सबैको सम्मानजनक उपस्थितिलाई हामीले स्वीकार गर्नुपर्छ । त्यो परिस्थिति निर्माण गर्नुपर्ने अवस्थामा हामी छौँ ।
उनी थप्छन्, ‘हामी त्यस्तो परिस्थितिमा छौँ कि हाम्रो आत्मविश्वास घटेको र आत्मविश्वास गुमेको छ अवस्था छ ।’
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बोलेको भिडियो खबरहबको युट्युब च्यानलमा हेर्न सकिन्छ –

