अदालतमा प्रयोग हुने केही प्रचलित शब्दावली

जस नेपाल

१२ फागुन २०८२

अदालतमा प्रयोग हुने केही प्रचलित शब्दावली

काठमाडौँ । आठ अर्ब ३० करोड मानिस बसोबास गरिरहेको पृथ्वीमा यतिखेर कम्तिमा सात हजार भाषा प्रयोगमा छन्‌ । यिनै भाषाको प्रयोगमार्फत् मानिसहरूले आफ्नो दैनन्दिन जीवनमा सञ्चार गरिरहेका हुन्छन्‌ ।

कुनै एक भाषाको प्रयोग पनि स्थानविशेष अनुसार फरक हुन सक्छ । परिवारका सदस्य, साथीभाई वा निकटका मानिससँग प्रयोग गरिने भाषा प्रायः अनौपचारिक नै हुन्छ । तर, अड्डाअदालत लगायतमा मुद्दा मामिला गर्दा कानूनी वा वैधानिक भाषा प्रयोग भइरहेको हुन्छ ।

अदालतमा प्रयोग हुने औपचारिक भाषामा केही शब्दावलीहरू छन्‌, जसको प्रयोग आम जनजीवनमा अक्सर भएको हुँदैन । यो सामग्रीमा अदालतमा प्रयोग हुने तिनै केही शब्दावलीबारे उल्लेख गरिन्छ :

अवहेलना : अदालतको इज्जत, प्रतिष्ठा, नियम, आदेश वा कारवाहीको अवज्ञा वा असम्मान गर्ने कार्य

अदालती बन्दोवस्त :  अदालतको कार्यविधि व्यवस्थित गर्नका निमित्त मुलुकी ऐनमा व्यवस्था भएको एक परिच्छेद

अभियुक्त : अभियोग लागेको व्यक्ति, सरकारी वादी फौजदारी मुद्दामा मुद्दा फैसला हुनु पूर्वावस्थाको प्रतिवादी

अभियोजन : कसैका उपर दोप लगाई फौजदारी मुद्दा लगाउने काम

आसमी : ऋण दिएको व्यक्ति

इतलायनामा : देवानी मुद्दामा प्रतिवादीलाई प्रतिवाद गर्न आउनु भनी अदालतबाट दिइने लिखित सूचना

इजलास : मुद्दाको सुनुवाई हुँदा न्यायाधीश, पक्षहरु र कानून व्यवसायीहरु बस्ने ठाउँ

उजुरी : अधिकार प्राप्त अधिकारी समक्ष पीर मर्का पोख्ने काम, उजुर गर्ने काम

कसूरदार : कसूर गर्ने मानिस

कानून : राज्य संरचनालाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न बनाएको  ऐन नियमहरुको संगालो

कोर्ट फी : देवानी मुद्दा दर्ता गर्दा अदालतमा कानून अनुसार लाग्ने दस्तुर

घा  जांच : कुटपिट गरेका अवस्थामा चिकित्सक ९डाक्टर० द्वारा घाउचोटको रुप र अवस्था जांच गराउने काम

जमानत : धरौटी राखी छुट्ने काम

जमानी : कुनै व्यक्तिले दायित्व पूरा नगरे आफु गर्छु भनी जिम्मा लिने व्यक्ति वा त्यसका लागि तोकिएको सम्पत्ति

जरिवाना : नगद रुपैयाँ दण्ड तिर्नुपर्ने गरी अपराधीलाई गरिएको सजाय

जाहेरवाला : जाहेर गर्ने, उजुर गर्ने, उजुरवाला, अवगत गराउने

जाहेरी : सरकारवादी फौजदारी मुद्दामा अपराध भएको विषयमा प्रहरी कार्यालयमा दिने उजुरी

जिरह : विपक्षी पक्षले साक्षीलाई सोधपुछ गर्ने काम

जेथा जमानी : कुनै व्यक्तिले गलत गरेमा आफ्नो कुनै निश्चित जेथावाट बेहोरौला भनी सहीछाप गरिएको जमानी कागज

ततिम्वा : पहिलेको भएको बयान नपुगेर थप्दै  गाँस्तै दोहोरी तेहेरो सोधपुछ गरेर लिइने बयान

तहकीकात : कुनै मामिलामा हुने प्रारम्भिक जांच पडताल, अनुसन्धान

तारीख : बड़ा अदालतबाट मुद्दाको पक्ष विपक्ष वा निजको वारिसलाई एक पटक हाजिर हुन आएपछि पुनः हाजिर हुन आउनु भनी तोकिदिएको कागज

तामेली : मुद्दाको कारवाहीको सिलसिलामा अर्को आदेश नभएसम्म मुद्दाको कारवाही स्थगित गर्न गरिने आदेश

थुनछेक : थुन्ने र छेक्ने काम, वाधा, बन्देज, व्यवधान, छेकधुन

दण्ड सजाय : कुनै कसूर गरेवापत कानूनद्वारा निर्धारित सजाय

देवानी : चल अचल सम्पत्ति र पदसंग सम्बन्धित विवाद भएको मुद्दा

थुनुवा पूर्जी  : कुनै पनि मानिसलाई मुद्दाको पुर्पक्षका निमित्त थुनामा राख्नुपर्दा कारण देखाई दिइने पुर्जी

दरपीठ : अड्डा  अदालतमा दर्ता गर्न लगिएका कागजपत्र दर्ता  गर्न नमिल्ने भए अस्वीकार गरी सोही लिखतको पीठमा कारण लेखिने काम

दसी : अपराध तथा घटना स्थलमा भेटिएको प्रमाण लाग्ने माल सामान

धनजमानी : आसामीले बुझाउनु पर्ने रकम वा गर्नुपर्ने कामकुरा नगरेमा आफूले सो रकम बुझाउँला भनी गर्ने कबुल

नजीर : कुनै मुद्दाको सन्दर्भमा देशको सर्वोच्च अदालतले दिएको अनुसरण गर्न लायक सिद्धान्त

पक्राउ पूर्जी : मानिसलाई पक्राउ गरी पक्राउ गर्नुपरेको कारण लेखिएको पूर्जी

पुर्पक्ष : अदालतमा आएको मुद्दाको कारवाही

पैरवी : मुद्दा मामिलाको कुनै एक पक्षको तर्फबाट अदालतमा अदालती कार्यमा सहयोग गर्ने काम

प्रतिउत्तर : फिरादपत्रमा लिइएका दावीचाट फुर्सद पाउनका निम्ति प्रतिवादी पक्षले अदालतमा दिइने जवाफी कागज

प्रतिवादी : मुद्दा मामिलामा दावीका कुराको विरोधमा जवाफ फिराउने व्यक्ति वा संस्था

प्रमाण : कुनै विवादित वस्तुलाई ठीक हो भन्नका लागि पेश गरिएको वस्तु वा माधन

फांट : कार्यालयको खण्ड हिस्सा वा विभाग

फाँटवाला : कार्यालयको विभिन्न फॉटमध्ये कुनै एक फाँटको जिम्मा लिएको व्यक्ति

फिरादपत्र : देवानी मुद्दामा मर्का परेको कुरा लेखी अदालतमा कानूनी कारवाहीका निम्ति पेश गरिने कागज, नालिस, वा नालिस सरहको उजुरी

फुकुवा : छुटकारा पाएको

फुकुवा पूर्जी : कुनै काम गर्न लागेको रोक्का फुकाउन जारी भएको पत्र

फैसला : अदालतले मुद्दाको विवादमा गरेको निर्णय

बदर : अस्वीस्कृत भएको

बकपत्र : मुद्दामा वादी वा प्रतिवादीका साक्षीले बोलेको कुरा लेखिएको कागज

बयान : अभियुक्त वा साक्षीले कसुर वा विवादका सम्बन्धमा अदालतमा लेखाई दिएको व्यहोरा कागज

बरामद : चोरिएको वा लुकाइएको मालसामान फेला पर्ने काम

बिगो :  कसैले कसुर वा नोक्सान गरेको धनमाल वा सो धनमालमा नोक्सान गरे वापत दाबी गरिएको निश्चित रकम

वेरीत : रीत वा तरिका, काइदा नपुगेको

मतियार : अपराध गर्न सहयोग गर्ने व्यक्ति

मिसिल : मुद्दा मामिला सम्बन्धी कागजपत्र एकसाथ नत्थी गरी राखिएको अवस्था

मिनाहा : असुर उपर गर्नुपर्ने रकम छुट वा माफ दिने काम

मिलापत्र : अड्डा अदालतमा मुद्दा परिसकेपछि मुद्दाका पक्षहरुले परस्पर मिली आएमा लेखिदिएको सम्झौताको कागज

मुचुल्का : कुनै घटना या ठेकिएको कामको सम्बन्धमा अड़ा अदालतबाट भएको काम कारवाहीको विवरण व्यहोरा लेखिएको कागज

मुलतवी : मुद्दाको कारवाही केही समयका लागि स्थगित वा रोक्का गर्ने काम

मौका तहकिकात : मौका वा समयमै घटनास्थलमा गई गरिने खोजतलास वा जे जो

देखिन्छ सो सम्बन्धी मौकाको कागज व्यहोरा

म्याद : कुनै काम कुराका निम्ति तोकिएको समयावधि, अन्तिम मिति, हद, सीमा

म्यादपूर्जी : वारेण्ट जारी हुँदा फेला नपरेका अभियुक्तका हकमा हाजिर हुन भनी अदालतबाट जारी भएको पक्राउ पुर्जी

राजस्व : राज्यको आम्दानी, दै दस्तुर, जरिवाना समेतको दाखिला

रोहबर : कुनै काम कुराको मुचुल्का आदि गर्दा जसको सामुन्ने त्यस्तो कागज काम भएको हो उ साक्षी वस्ने काम

रोक्का पूर्जी : कुनै भइरहेको कामकारवाई नगर्ने भनी सम्बन्धित सरकारी कार्यालयबाट लेखिने पूर्जी

रिट : अदालतद्वारा कसैलाई कुनै काम गर्न वा नगर्नका लागि असाधारण आदेश पाउन दिएको निवेदन

लिखत : मानिसहरु बीच लेनदेन व्यवहार गर्दा प्रमाणको लागि लेखिने कागज तमसुक राजीनामा बकसपत्र वा अड्डा अदालतको विभिन्न लिखित कागजहरु

लासजाच मुचुल्का : लास जाँच गरी तत्काल देखिएको मृत्युको कारण र अन्य विवरणसमेत लेखिएको कागज

लिखत बदर : सम्बद्ध प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने काम वा अवस्ठा

लिलाम : कुनै डाक बोलेर सबभन्दा बढी मोल दिनेलाई माल सामान विक्री गर्ने काम

वकालतनामा : मुद्दामा वहस पैरवी गर्न कानून व्यवसायीलाई पक्षबाट दिइने अधिकारनामा वा मन्जुरनामा

बादी : मुद्दा दायर गर्ने वा नालिस दिने व्यक्ति

वारेस : मुद्दामामिलामा कुनै पक्षका तर्फबाट अदालतमा हाजिर हुन अधिकार पाएको मानिस

वारिसनामा : कुनै कामकुराको लागि वा मुद्दामामिलाको पैरवी गर्नका लागि वारिस  पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागजपत्र वा लिखत

सजाय : कुनै अभियोग प्रमाणित भएपछि दोषीलाई दिइने दण्ड

सनाखत : अपराधको अनुसन्धान गर्दा वा दुर्घटनामा बस्तु वा मानिस चिनाउने काम

सवुद : प्रमाण

समाश्वान : फौजदारी मुद्दाको कारवाही चल्दै जाँदा प्रतिवादीलाई हाजिर हुन आउनु भनी अदालतवाट पठाइने पुर्जी

सरजमीन : कुनै घटना वा मुद्दा मामिलाको सम्वन्धित्त विषयमा साँध संधियार छर छिमेकबाट यथार्थ कुरा बुझ्ने काम

सर्वस्व : सारा सम्पत्ति, भए भरको सम्पत्ति राज्यले लिने काम

साबिती : कुनै घटना वा अपराध मैले नै गरेको हो भनी स्वीकार गर्ने काम

साधक : आफूले छिन्न नॉमल्ने मुद्दामामिलामा आफ्नो राय लेखी निर्णय निम्ति माथिल्लो तहको तालुकवाला अधिकारी वा अड्डामा पठाइने जाहेरी अथवा  जन्म कैद हुने फैसला माथिल्लो अदालतमा जाहेर गर्ने काम

साक्षी : राम्रो वा नराम्रो कुनै घटना, काम वा व्यवहार आफ्नो आंखाले देख्ने व्यक्ति, घटनास्थलमा उपस्थित भएको व्यक्ति

साक्षी परीक्षण : सुनवाई हुने मुद्दा मामिलाको विषयमा इजलास समक्ष सम्बन्धीत साक्षीले आफ्नो कुरा राख्ने काम

हकदैया : मुद्दा गर्नका लागि सो विषयमा आफ्नो हक भएको छ भनी देखाउने अवस्था

हकवाला : कुनै सम्पत्तिमा स्वामित्ववालाको मृत्यु वा शेष पछि हक वा स्वामित्व पाउने सबभन्दा नजिकको नातेदार मानिस

हदम्याद : अड्डा अदालतमा मुद्दा दर्ता गर्न किटानीसाय लेखिएको समय अवधि

हाजिर जमानी :  खोजेको बखत हाजिर हुन जाउला भनी लेखिदिने कागज

हिरासत : अनुसन्धानका लागि थुनामा राखिएको अवस्था

हुलिया : मानिस वा सरसामानको चिनारी गराउने रूप, आकृति, बनोट, स्वभाव वा चिन्हको विवरण

क्षतिपूर्ति : हानि-नोक्सानी भएको बस्तु पूरा गरिदिने वा नोक्सानी भराई दिने काम

सम्बन्धित खवर

बालेनको थर लेखाइमा विवाद : कानूनले के भन्छ ?

बालेनको थर लेखाइमा विवाद : कानूनले के भन्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख नेता बालेन (बालेन्द्र साह) पछिल्लो समय...

अभिव्यक्ति स्वतन्त्रताको ‘ग्रे एरिया’ : संविधान, अन्तर्राष्ट्रिय कानून र व्यवहारबीचको द्वन्द्व

अभिव्यक्ति स्वतन्त्रताको ‘ग्रे एरिया’ : संविधान, अन्तर्राष्ट्रिय कानून र व्यवहारबीचको द्वन्द्व

काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारस्तम्भ हो । विचार व्यक्त गर्ने, प्रश्न उठाउने...

न्यायिक प्रतिष्ठान : न्यायाधीशलाई पढाउने घर

न्यायिक प्रतिष्ठान : न्यायाधीशलाई पढाउने घर

काठमाडौँको मनमैजुमा एउटा भव्य सरकारी भवन छ । यो भवनमा देशैभरिका न्यायाधीश, सरकारी वकील...

करार गर्दै हुनुहुन्छ ? लिनुहोस्‌ कानूनबारे अत्यावश्यक जानकारी

करार गर्दै हुनुहुन्छ ? लिनुहोस्‌ कानूनबारे अत्यावश्यक जानकारी

काठमाडौँ । असनका व्यस्त गल्लीमा घरसटर भाडामा लिनेदेखि कर्पोरेट बोर्डरूममा करोडौँ रुपैयाँका व्यावसायिक सम्झौतासम्म;...