सट्टेबाजी एप बन्द, सूचना प्रविधि विभाग खारेज, विद्युतीय शासन कार्यालय खोलिने

जस नेपाल

१५ चैत २०८२

सट्टेबाजी एप बन्द, सूचना प्रविधि विभाग खारेज, विद्युतीय शासन कार्यालय खोलिने

काठमाडौँ । सरकारले सट्टेबाजी सम्बन्धी एप (Betting App) र त्यससम्बन्धी वेबसाइटहरु बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी सूचना प्रविधि विभाग खारेज गरेर सरकारले प्रधानमन्त्री कार्यालयको मातहतमा रहने गरी विद्युतीय शासन कार्यालय खोल्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको  शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूचीको ४२ नम्बर बुँदामा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप (Betting App) र त्यससम्बन्धी वेवसाइट २४ घन्टाभित्र बन्द गर्ने।’

सरकारले ल्याएको १०० बुँदे कार्यसूचीको २८ नम्बरदेखि ४२ नम्बरसम्म डिजिटल शासन र डेटा गभर्नेन्स तथा सञ्चारविषयहरु समेटिएका छन् ।

हेर्नुहोस् सरकारले गरेको डिजिटल शासन र डेटा गभर्नेन्स तथा सञ्चार सम्बन्धी निर्णय

डिजिटल शासन र डेटा गभर्नेन्स तथा सञ्चार

२८. सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित तथा अन्तरआवद्ध बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायहरूमा १०० दिनभित्र विद्यमान GIOMS प्रणालीलाई सुदृढ र प्रयोगकर्तामैत्री बनाउने।

२९. सरकारसँग पहिले नै भएको नागरिकको वैयक्तिक विवरण (जस्तैः नागरिकता नम्बर हाल्दा नाम/ठेगाना) पुनः सोध्नुको सट्टा Auto-fill हुने व्यवस्था सम्बन्धित कार्यालयहरूले आफ्ना प्रणालीहरूमा ६० दिनभित्र गर्ने। नागरिकले आफ्नो विवरण (जस्तैः नागरिकता नम्बर) सरकारलाई एक पटक दिएपछि, अन्य सरकारी निकायले सोही डेटा प्रयोग गर्ने वातावरण मिलाउने ।

३०. सरकारी एप वा पोर्टलहरू अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने कार्य १०० दिनमा सम्पन्न गर्ने।

३१. अनलाइन आवेदन प्रणालीलाई सहज बनाउन नागरिक एप मार्फत आवेदन दिने व्यवस्था मिलाउने। यसरी नागरिक एप मार्फत आवेदन दिदाँ व्यक्तिले आफ्नो फोनमा रहेको एपले Locally Store गरेको विवरण वा अन्य प्रणालीबाट प्राप्त विवरणको आधारमा Form Fill-up गर्ने व्यवस्था मिलाउने। तर नागरिक एपले Centrally Data Store गर्न भने नमिल्ने बनाउने । यस्तो व्यवस्थाबाट प्रहरी प्रतिवेदन, राहदानी र सवारीचालक अनुमति पत्रका लागि आवेदन गर्न सकिने व्यवस्था ४५ दिनभित्र मिलाउने ।

३२. आवेदन दिएको सेवा प्राप्त गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था भएमा उपलब्ध मिति र समय मध्ये नागरिकलाई आफनो सुविधाको दिन र समयको Appointment लिन सक्ने व्यवस्था गरी सोही अनुसार नागरिक सेवा केन्द्र वा सरकारी निकाय मार्फत् सेवा प्रवाह गर्ने व्यवस्था गर्ने तीन महिनाभित्र मिलाउने ।

३३. Digital Signature हाल Certificate को माध्यवाट हुने गरेकोमा NID Card, Biometric वा OTP को प्रयोग गरी e-signature गरी नागरिकले आफ्नो विवरण बुझाउन सक्ने व्यवस्था गर्ने। यसको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भौतिक तथा साङ्गठनिक सुदृढीकरण गर्ने। राष्ट्रिय परिचयपत्र (NID) नम्बरलाई आधार बनाई नागरिकका सबै सेवाहरूमा डिजिटल हस्ताक्षरद्वारा प्रमाणीकरण प्रणाली लागू गर्न गृह मन्त्रालयको संयोजकत्वमा अध्ययन गरी एक महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्रतिवेदन दिने ।

३४. फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्रयाकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई ‘अलर्ट’ जाने प्रणालीको उपयोग विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ३० दिनभित्र गर्ने।

३५. प्रमाणपत्रहरू नागरिकले आधिकारिक मोबाइल एप/नागरिक एप वा इमेलमा ‘डाउनलोड’ गर्न मिल्ने व्यवस्था १५ दिनभित्र मिलाउने।

३६. सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल, एकद्वार र अन्तरआवद्ध प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले “राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म” स्थापना गरी डिजिटल गभर्नेन्स ब्लुप्रिन्ट कार्यान्वयन गर्ने। यस अन्तर्गत ‘एउटा विवरण एकपटकमात्र बुझाउने’ सिद्धान्त अवलम्वन गर्दै सबै तहका सरकारका सेवा, डाटा र प्रणालीहरूलाई एकीकृत गरी डिजिटल सार्वजनिक पूर्वाधारमा आधारित राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्म स्थापना तथा सञ्चालनको कार्य १०० दिनभित्र प्रारम्भ गर्ने।

३७. नागरिकले एउटै डिजिटल प्लेटफर्ममार्फत सबै सेवा सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन, सेवा प्रवाहमा दोहोरोपनको अन्त्य गर्न, पारदर्शिता अभिवृद्धि तथा समय र लागत उल्लेख्य रूपले घटाउन डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षणसम्बन्धी नीति तथा कानूनको तर्जुमा ६० दिनभित्र गर्ने।

३८. सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स सम्बन्धी नियम बनाउने र नियमन गर्ने स्वतन्त्र नियामक निकाय (Independent Regulatory Authority) को स्थापनाका लागि आवश्यक कानूनी तथा संस्थागत प्रवन्ध ६० दिनभित्र गर्ने।

३९. नेपालको सूचना प्रविधि तथा विद्युतीय शासन प्रणालीमा विद्यमान खण्डीकृत संरचना, अन्तरआवद्धताको अभाव, मापदण्ड तथा संस्थागत समन्वयको कमजोरी, दक्ष जनशक्ति र प्राविधिक क्षमताको कमी तथा सेवा प्रवाहमा देखिएको अप्रभावकारिता समाधान गरी एकीकृत, सुरक्षित, दक्ष र परिणाममुखी डिजिटल शासन प्रणाली स्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहत रहने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्ने कार्य तीन महिनाभित्र सम्पन्न गर्ने। हालको सूचना प्रविधि विभाग खारेज गर्ने  । तथा सूचना प्रविधिसम्बन्धी सबै सार्वजनिक निकायहरूलाई यस कार्यालय अन्तर्गत सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

४०. सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक ६० दिनभित्र तर्जुमा गर्ने।

४१. National Enterprise Architecture Framework ६० दिनभित्र तयार गर्ने।

४२. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप (Betting App) र त्यससम्बन्धी वेवसाइट २४ घन्टाभित्र बन्द गर्ने।

सम्बन्धित खवर

गोली चलाउने सुरक्षाकर्मीलाई पनि पक्राउ गर्न जेनजी मुभमेन्टको माग

गोली चलाउने सुरक्षाकर्मीलाई पनि पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री...

ओलीको गिरफ्तारीविरुद्ध एमाले सर्वोच्च जाने

ओलीको गिरफ्तारीविरुद्ध एमाले सर्वोच्च जाने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध नेकपा एमाले सर्वोच्च...

केपी ओली र रमेश लेखक पक्राउ, ज्यानमुद्दा चलाइने

केपी ओली र रमेश लेखक पक्राउ, ज्यानमुद्दा चलाइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस...

क्याबिनेटमा जेनेरेसन शिफ्ट : बालेन टिममा युवा हाबी

क्याबिनेटमा जेनेरेसन शिफ्ट : बालेन टिममा युवा हाबी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा युवाको वर्चस्व देखिएको छ । शुक्रवार विस्तार गरिएको...