कांग्रेसले दिएन संवैधानिक परिषदको सदस्य, प्रधानन्यायाधीशको नियुक्ति अझै अन्योलमा

प्रधानन्यायाधीशको नियुक्तिमा रास्वपाले एकलौटी निर्णय गर्न नसक्ने

जस नेपाल

१९ चैत २०८२

कांग्रेसले दिएन संवैधानिक परिषदको सदस्य, प्रधानन्यायाधीशको नियुक्ति अझै अन्योलमा

काठमाडौँ । सर्वोच्च अदालतको नेतृत्व गर्ने प्रधानन्यायाधीश पद चैत १८ देखि खाली भएको छ । संविधानको धारा २८४ (३) अनुसार एक महिना अगाडि नै संवैधानिक परिषदले राष्ट्रपतिसमक्ष नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिसक्नुपर्नेमा अहिलेसम्म सरकारले यसमा चासो देखाएन ।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने अधिकार पाएको संवैधानिक परिषदले पूर्णता पाउन अझै बाँकी छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहन्छन् । सदस्यमा प्रधानन्यायाधीश, राष्ट्रियसभाको सभामुख, प्रतितिनिसभाको सभामुख, विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश छान्ने बैठकमा कानूनमन्त्रीले सदस्यका रुपमा सहभागी हुन पाउने संविधानको धारा २८४(२) मा लेखिएको छ ।

संविधानको यो प्रावधानअनुसार अहिले प्रधानन्यायाधीश छान्ने हो भने प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र कानूनमन्त्री सोविता गौतम पदमा बहाल रहेको देखिन्छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मंगलबारदेखि उमेर हदका कारण पदमुक्त भइसकेका छन् ।

प्रतिनिधिसभाको सभामुखका लागि आइतबारसम्म कुर्नुपर्ने भएको छ । आइतबार प्रतिनिधिसभाको सभामुख चयन गर्ने कार्यसूची तोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल सभामुख बन्ने चर्चा छ । जो चुनिए पनि सभामुख रास्वपाबाटै आउने पक्कापक्की छ ।

संवैधानिक परिषदको सदस्य बन्ने विपक्षी दलको नेतामा भने नेपाली कांग्रेस संसदीय दलको नेता रहने निश्चित छ । तर, कांग्रेसले अहिलेसम्म दलको नेता छानेको छैन । चाँडो प्रधानन्यायाधीशको चयन गर्ने हो भने नेपाली कांग्रेसले छिट्टै संसदीय दलको नेता चयन गरेर संवैधानिक परिषदलाई पूर्णता दिनुपर्ने देखिन्छ ।

कांग्रेसमा ज्येष्ठ सदस्यको नाताले संसद बैठकको अध्यक्षता गरिरहेका सांसद अर्जुन नरसिंह केसीले नै संसदीय दलको नेता बन्न इच्छा गरेको हुँदा सभामुख चयनपछि मात्रै कांग्रेसले दलको नेता छान्ने बुझिएको छ ।

सभामुखको निर्वाचन सकिएर कांग्रेसले पनि संसदीय नेता छानिसकेपछि पनि संवैधानिक परिषदको बैठकका लागि गणपूरक संख्या पुग्न सक्छ । त्यो स्थितिमा बैठकमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र कानूनमन्त्री समेत गरी ५ जना हुनेछन् । उपसभामुखको चुनाव हुनका लागि भने थप १५ दिन लाग्न सक्छ । उपसभामुख पद रास्वपाबाहेक अन्य विपक्षी दलले पाउने संवैधानिक सीमा छ ।

रास्वपाले एकलौटी निर्णय गर्न नसक्ने

कानून मन्त्री सोविता गौतम

प्रधानन्यायाधीशको छनोटका लागि बस्ने कुल ६ सदस्यीय संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री, सभामुख, कानूनमन्त्री र विपक्षी दलको नेता मात्रै रहने अवस्था आयो भने रास्वपाको बहुमत पुग्छ । त्यहाँ रास्वपाबाट ३ र विपक्षीबाट एकजना मात्र हुनेछन् । आफैंलाई छान्ने बैठकमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नैतिकरुपमा रहने छैनन् । तर, बैठकले बहुमतका आधारमा नभएर सर्वसम्मतिमा निर्णय गर्नुपर्ने हुँदा कांग्रेसको सहमति बेगर प्रधानन्यायाधीश छान्न मिल्दैन ।

उपसभामुख पनि चयन गरिसकेर बैठक बस्ने हो भने रास्वपाको ३ (प्रधानमन्त्री, सभामुख र कानूनमन्त्री) र विपक्षीको पनि ३ ( राष्ट्रिसभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख) हुनेछ । र, त्यहाँ पनि विपक्षी सदस्यको सहमतिविना रास्वपाले मात्रै प्रधानन्यायाधीश छान्न सक्दैन ।

अध्यक्षसहित कम्तिमा चारजना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुग्ने संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ को दफा ६ को उपदफा (३) मा व्यवस्था छ । तर, निर्णय गर्दा भने सर्वसम्मतिमा हुनुपर्ने उपदफा (५) व्यवस्था गरिएको छ । यसको अर्थ कुल सदस्यको बहुमत भएपछि मात्रै संवैधानिक अंगका पदाधिकारी छान्न सकिन्छ ।

विगतमा केपी ओली नेतृत्वको सरकारले संवैधानिक अंगका पदाधिकारीहरुको नियुक्ति बहुमतका आधारमा गर्न पाउने गरी अध्ययादेश मार्फत् ऐन संशोधन गरेका थिए । ओलीले ल्याएको उक्त अध्यादेशको चर्को विरोध भएको थियो ।
संवैधानिक पदाधिकारीहरुको नियुक्तिमा सत्तापक्षले एकलौटी गर्न नपाओस् र विपक्षीको समेत सहमति होस् भन्ने संवैधानिक आशय रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

आशा गरौं, नेपाली कांग्रेसको आन्तरिक किचलोको कारण संवैधानिक परिषदले पूर्णता पाउन ढिलाइ नहोस् । देशले चाँडै सर्वोच्च अदालतको नयाँ नेतृत्व पाओस् ।

अब सकेसम्म चाँडै उपसभामुखकोसमेत निर्वाचन सकेर ६ सदस्यीय संवैधानिक परिषदलाई पूर्णता दिई प्रधानन्यायाधीशको छनोट गर्नु उपयुक्त होला कि ?

यो पनि-

सर्वोच्चको अस्थिरता सकिँदै : आगामी १० वर्षसम्म तीनजना प्रधानन्यायाधीश बन्ने

सम्बन्धित खवर

रास्वपा सरकार गठनपछि ९६ अङ्कले किन घट्यो नेप्से ? नीतिगत असर कि अविश्वास ?

रास्वपा सरकार गठनपछि ९६ अङ्कले किन घट्यो नेप्से ? नीतिगत असर कि अविश्वास ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकदलीय नयाँ सरकार गठनसँगै अपेक्षित सुधारको बहस...

आर्थिक सुधार सुझाव आयोगको आडमा अर्थमन्त्री वाग्लेको तजबिजी !

आर्थिक सुधार सुझाव आयोगको आडमा अर्थमन्त्री वाग्लेको तजबिजी !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान एकल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले चैत...