काठमाडौँ । शनिबार कपनको बालुवाखानीबाट पक्राउ परेका हास्यकलाकार सागर लम्साल ‘बले’लाई जिल्ला प्रशासनले अभद्र व्यवहार कसुरमा पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । अमेरिकामा बस्ने एक युवतीले फेसबुक स्टाटस लेख्दै बलेले एक वर्षअघि आफूलाई बलात्कार गरेको आरोप लगाएपछि प्रहरीले तत्कालै उनीमाथि कारबाही अघि बढाएको हो ।
तर, रोचक कुरा के छ भने बलेले बलात्कार गरेको भनी प्रहरीमा औपचारिक जाहेरी परेको छैन । एउटा सामाजिक सञ्जालको पोस्टलाई मात्र आधार बनाएर प्रहरीले पक्राउ गरेको छ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शान्ति सुरक्षा कसुरमा अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थप दिएका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा यसबारे स्पष्ट व्यवस्था गरेको छ । बलात्कारजस्तो अनुसूची-१ को कसुरमा पीडितले लिखित/मौखिक/विद्युतीय जाहेरी दिनुपर्छ । तर सो ऐनको दफा ४ को उपदफा (४) मा प्रहरीले अन्य कुनै स्रोतबाट सूचना पाएमा पनि प्रतिवेदन खडा गरेर अनुसन्धान गर्न सक्छ भनी उल्लेख छ ।
युवतीको फेसबुक पोस्टलाई प्रहरीले ‘विद्युतीय सूचना’ मानेर सोही आधारमा मुद्दा दर्ता गरेको हो । अनि बलात्कार मुद्दा नखोलेर ‘अभद्र व्यवहार’ (शान्ति सुरक्षा विरुद्धको कसुर) मा मात्र अनुसन्धान अघि बढाएको छ । यो कसुरमा जाहेरी अनिवार्य नहुने र प्रहरीले सूचनाकै भरमा पक्राउ गर्न सक्ने कानूनी छिद्र प्रयोग भएको देखिन्छ ।
उक्त ऐनको दफा ९ अनुसार ‘मनासिब कारण’ देखाएर (जस्तै : प्रमाण नष्ट हुने, भाग्ने, वा अनुसन्धानमा बाधा पुग्ने अवस्थामा) तत्काल पक्राउ गर्न सकिन्छ । २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गर्नुपर्ने नियम छ । त्यसपछि दफा १४ अनुसार सरकारी वकिलमार्फत् मुद्दा हेर्ने अधिकारीसँग थप हिरासत माग्न सकिन्छ ।
जाहेरी नभए पनि ‘सूचना’ को नाममा प्रहरी स्वतः सक्रिय हुन सक्छ र प्रमुख जिल्ला अधिकारीले पाँच दिन (एकै पटक वा पटकपटक)सम्म हिरासतमा राख्न अनुमति दिन सक्छ । यो प्रावधान सामान्यतयाः प्रमाण लोप हुन सक्ने अवस्थामा प्रयोग हुन्छ ।
अहिलेसम्म प्रहरीले युवतीसँग समन्वय गरिरहेको दाबी गरेको छ, तर जाहेरी नआएको स्पष्ट छ । बलेलाई हिरासतमा राखेर सोधपुछ भइरहेको छ । यदि युवतीले जाहेरी दिएर प्रमाण पेश गरिन् भने मात्र बलात्कार मुद्दा अघि बढ्न सक्छ, नत्र अभद्र व्यवहारको यो ‘सानो’ मुद्दामा बले छिट्टै छुट्ने सम्भावना छ ।
बले दोषी हुन् कि निर्दोष भन्ने कुरा अदालतले केही समयपछि मात्र फैसला गर्नेछ । तर आम मानिसले हत्कडीको फोटो र भिडियो शेयर गर्दै ‘एक स्टाटसले जीवन प्रभावित भयो’ भन्दै प्रमाणबिना नै एकतर्फी राय बनाउँदैछन् ।
जाहेरीबिना नै अभद्र व्यवहार मुद्दामा पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको यो घटनाले नेपालमा सोशल मिडिया ट्रायल कति छिटो र प्रभावशाली हुन सक्छ भन्ने देखाएको छ ।

