रवि दाइ ! खै जीबी राई ?

जस नेपाल

२३ चैत २०८२

रवि दाइ ! खै जीबी राई ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका समर्थकहरू ‘रवि दाइ’ भन्छन् । हालैको चुनावमा रास्वपाले करिब बहुमत ल्याएपछि रवि लामिछाने यतिखेर नेपाली राजनीतिको मियो बनेका छन् ।

टेलिभिजन कर्मबाट उदाएका उनै रवि दाइलाई गोर्खा मिडियाका तत्कालीन साझेदार जीबी राई २०८१ कात्तिक २ गतेदेखि भारी परिरहेका छन् । पार्टीले बहुमत ल्याएर दर्जनौँ नेताले सत्ताभोग गरिरहँदा रवि भने जिल्ला अदालतमा तारेख धाइरहेका छन् ।

जिबी समेतको संलग्नतामा कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा रवि गत वर्ष कात्तिकमा पक्राउ परेका थिए । सोही मुद्दामा यसबीच रविले देशका विभिन्न जेलमा महिनौँ गुजार्नुपर्‍यो ।

हाल धरौटी बुझाएर कारागारमुक्त भएका रविमाथि जीबीसँगको ‘साझेदारीको ग्रहण’ हटिसकेको छैन । तर जीबी राई भने २०८० भदौदेखि फरार छन् । सूर्यदर्शन, स्वर्णलक्ष्मी र सहारा लगायतका पाँचवटा सहकारीको अर्बौँ रुपैयाँ हिनामिना र गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा रकम स्थानान्तरण गरेको आरोपमा मुछिएपछि उनको पछिल्लो अवस्थाबारे सहकारी पीडित र आम नागरिक बेखबर छन्‌ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ को अंश ।

रविको त्यो दाबी; तर न जीबी, न निक्षेप !

आफू उपप्रधान तथा गृहमन्त्री हुँदा २०८० चैत १० गते लामिछानेले फरार जीबीलाई पक्राउ गरेरै छाड्ने बताएका थिए । पार्टीले आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए, ‘‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं, जीबी राई जीबी राई म रवि लामिछाने हो, जीबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग टेभिजिनमा काम गरेको हुँ, टेलिभिजनमै मेरो नाता सकिएको हो, त्योभन्दा बाहेक कहिँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ ।’

तर रविले जीबीलाई आकाश या पाताल कतैबाट पनि समातेर ल्याएनन् । आफू गृहमन्त्री हुनुअघि पूर्ववर्ती नारायणकाजी श्रेष्ठलाई जीबी राई समात्न नचाहेको आरोप लगाएका रवि काँग्रेस(एमाले गठबन्धन बनेसँगै सरकारबाट जब बाहिरिए, तब एकपछि अर्को गरी उनैमाथि पाँच जिल्लामा सहकारी ठगी मुद्दा चल्यो । यसरी मुद्दा चल्नुका पछाडि उनै जीबी राईसँगको साझेदारी प्रमुख कारण थियो ।

रवि लामिछानेलाई हिरासतमा पठाउन सबै उपाय अपनाएका तत्कालीन सत्तारुढ दलहरूले पनि जीबीलाई समातेनन् । आम नागरिकले गाँस कटाएर सहकारीमा राखेको १० अर्ब रुपैयाँभन्दा बढी निक्षेप पनि फिर्ता नै भएन ।

जेन-जी विद्रोहपछि बनेको चुनावी सरकारी महान्यायाधिवक्ता सविता भण्डारीले सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिएपछि लामिछानेलाई राहत मिल्यो । उनी चुनावमा उम्मेदवार बने, जिते र पार्टीलाई पनि आँधीमय जीत दिलाए । परम्परागत दलबाट आजित ४९ मतदाताले मत दिए ।

यो पनि –

जब रविको मुद्दामा सविता आफैं ‘न्यायाधीश’ बनिन्…

चुनावअघि रास्वपाले सार्वजनिक गरेको वाचापत्रमा ‘आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौं’ लेख्यो । सार्वजनिक मञ्चहरूबाट पनि रास्वपाले सहकारी पीडितलाई रकम फिर्ता दिने वाचा गरिरह्यो ।

रास्वपाले गरेको वाचाअनुसार, सहकारी पीडितले बचत फिर्ता पाउन अब ९० दिन बाँकी छ । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

सहकारी अपचलनमा आफैँ मुद्दा खेपिरहेका, तर सरकारी ठगी गरेका र फरार अभियुक्त पक्राउ गरी बचत फिर्ता गराउन सक्ने देशको सरकारलाई नै दिशानिर्देश गरिरहेका रविसामु यतिखेर एउटा यक्ष प्रश्न तेर्सिएको छ – ‘निर्धारित समयमै सहकारी पीडितले बचत फिर्ता पाउँछन्‌ ?’

अनि रास्वपाकै लयमा रविलाई लोकले सोधिरहेको छ – ‘रवि दाइ ! खै जीबी राई ?’

पछिल्लो सन्देह

चुनावी वाचापत्रमा सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने बताएपनि, रास्वपाले अर्बौँ रुपैयाँ बराबरको सहकारी ठगीका नाइके जीबी राईबारे अर्को सन्देह खडा गरिदिएको छ ।

रास्वपाका सांसद्‌ पुकार बमले कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँसँग गरेका पछिल्लो संवादमा सहकारीको रकम फिर्ता र जीबी राईको अवस्थाबारे सन्देहास्पद अभिव्यक्ति दिएका हुन्‌ ।

नेपाललिडमा प्रकाशित उक्त अन्तर्वातामा रास्वपा सांसद्‌ बमले भनेका छन्‌ – ‘जीबी राई जीवित छन्‌ भने ल्याउँछौँ ।’ जीबी नेपाल आए २०४६ पछिका शीर्षस्थ नेताहरूको उठिबास हुने तर्क गर्दै सांसद्‌ बमले त्यसकारण उनी जीवित रहेकोमा शङ्का व्यक्त गरेका छन्‌ ।

सांसद्‌ बमले यस्तो अभिव्यक्ति दिइरहँदा रास्वपा नेतृत्वको एकल सरकारले हालसम्म सहकारी पीडितले रकम फिर्ता पाउने सुनिश्चितता गर्न सकेको छैन । बरु, सहकारी पीडितको खातामा १०० दिनभित्र रकम फिर्ता गर्ने आश्वासन बाँडेर चुनावमा भोट मागेको रास्वपाले सरकारमार्फत्‌ यस्तो समयसीमा सार्ने मेसो मिलाएको छ ।

गठनको भोलिपल्ट चैत १४ गते सार्वजनिक ‘शासकीय सुधारका सय कार्यसूची’को बुँदा नम्बर ९९ मा सरकारले ‘सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने’ लेखेको छ । यस हिसाबले अब सहकारी पीडितहरूले १०० दिनभित्र रकम पाउने सम्भावना टरेको छ । १०० दिनसम्म प्रक्रिया सुरु गर्ने बताएर सरकारले साना बचतकर्ताले भोगिएको पीडा थप बल्झाइदिएको छ ।

चुनावमा एउटा आश्वासन दिएर सरकारमा आएको भोलिपल्टै भाका फेरेको रास्वपाका सभापति रवि अदालत त धाउँदैछन्‌ नै ! सहकारी ठगी र पीडितलाई न्याय दिनेबारे उनीमाथि एकपछि अर्को प्रश्न थपिएका छन् ।

आफू सत्तामा छँदा जीबी राई नसमातेका र आफ्नै सांसद्ले जीबीको अवस्थाबारे सन्देहास्पद अभिव्यक्ति दिइरहँदा रविमाथि उठेको सबैभन्दा पेचिलो प्रश्न चाहिँ यही हो – रवि दाइ ! खै जीबी राई ?’

सम्बन्धित खवर

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जबसम्म हामी “कानुन के हो ?” भन्ने प्रश्नको सामना गर्छौं, तबसम्म विधिशास्त्रलाई बेवास्ता गर्न...

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब...

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...