काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सप्तरी कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्रकुमार दास एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
दासले चार्जिङ स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाड्न सेवाग्राहीसँग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले दासलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
उल्लेखित कामका लागि दासले सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना र उजुरी अख्तियारमा परेको थियो । अख्तियारले दासलाई पक्राउ गर्न टोली नै खटाएको थियो ।
अख्तियारका सहायक प्रवक्तक गणेशबहादुर अधिकारीले दासलाई घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ बाट सोमबार नियन्त्रणमा लिइएको जानकारी दिए ।

