रविका वकीललाई महान्यायाधिवक्ताको पगरी ! विद्वान तर पक्षधरतामा प्रश्न

जस नेपाल

२२ चैत २०८२

रविका वकीललाई महान्यायाधिवक्ताको पगरी ! विद्वान तर पक्षधरतामा प्रश्न

काठमाडौं । बेलायतमा कानून पढेका विद्वान अधिवक्ता डा. नारायणदत्त कँडेललाई सरकारले महान्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गर्‍यो । राष्ट्रपतिबाट नियुक्ति पाएलगत्तै कँडेलले आइतबार नै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट पद तथा गोपनीयताको सपथ लिए । र, कार्यभारसमेत सम्हाले ।

बागलुङको बिहुँमा जन्मिएका पूर्वपत्रकार एवं अधिवक्ता कँडेल बरिष्ठ अधिवक्ता नभए पनि विदेशमा पीएचडी गरेर आएका विद्वान कानून व्यवसायी हुन् । विगतमा वैचारिक हिसाबले नेपाली कांग्रेससँग नजिक रहेका उनी पछिल्लो समय रवि लामिछानेको निजी कानूनी सल्लाहकारको भूमिकामा थिए ।

रविविरुद्ध अदालतमा चलिरहेका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कँडेलले खुलेर वकालत गर्दै आएका थिए । अब भने रविका वकीललाई नेपाल सरकारकै कानूनी सल्लाहकारको भूमिका दिइएको छ ।

पूर्ववर्ती सरकारहरुले आफ्ना आसपासेलाई राजनीतिक नियुक्ति दिएको तर आफूहरुले मेरिटका आधारमा नियुक्ति दिने भन्दै आएको रास्वपा सरकारले अन्तत: पक्षधरतालाई नै प्राथमिकता दिएर महान्यायाधिवक्ता नियुक्त गरेको छ । यो नियुक्तिसँगै उनी नेपाल सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा पुगेका हुन् ।

को हुन् महान्यायाधिवक्ता कँडेल ?

डा. कँडेलले ०४९ सालदेखि पत्रकारिता सुरु गरे र करिब एक दशक विभिन्न सञ्चार माध्यममा काम गरे । रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिकमा उनले सम्वाददाताको भूमिका निभाए ।

यस क्रममा उनी ०५८ सालमा नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति बने । कानूननमा स्नातक गरेपछि उनले ०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएर औपचारिक रूपमा कानुनी पेशा सुरु गरे।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उत्तीर्ण गरेका कँडेल उच्च शिक्षा पढ्न विदेश गए । सन् २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति विषय पढे । सन् २००९ मा बेलायतको अलस्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरे । बेलायतकै क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि (PhD) गरे । उनको PhD शोधप्रबन्ध ‘Freedom of Expression in Context of Nepal’ रहेको छ ।

कानुनी पेशामा प्रवेश गरेपछि डा. कँडेलले मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनका क्षेत्रमा वकालत गरे । उनी Freedom Forum, Amnesty International र Human Rights and Peace Society जस्ता संस्थासँग पनि जोडिए ।

महान्यायाधिवक्ता बन्नुअघिसम्म उनले रास्वपा सभापति रवि लामिछानेको निजी वकीलका रुपमा बहस गरेका थिए ।

बेलायतमा पढेर नेपाल आएका कँडेलका छोराछोरी समेत विदेशमै छन् ।

बेलायतमा रहँदा उनी गैरआवासीय नेपाली संघको कांग्रेसनिकट टिमसँग आवद्ध थिए । उनी नआरएनए यूकेका उपाध्यक्षसमेत बनेका थिए।

कँडेलको चुनौती : महान्यायाधिवक्ता जस्तो देखिने कि रविकै वकालत गर्ने ?

विदेशमा पढेको व्यक्तिलाई नेपालमा निकै जान्ने ठानिन्छ र महत्वका साथ हेर्ने गरिन्छ । यस अर्थमा पीएचडी गरेका डा. कँडेलको विद्वतामाथि पनि शंका गर्ने ठाउँ छैन । तर, यसअघि उनले रवि लामिछानेको मुद्दामा उनले गरेका बहस र तर्कहरु हेर्दा महान्यायाधिवक्ता पदले कति न्याय पाउला भन्ने प्रश्न महत्वपूर्ण देखिन्छ ।

अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता सविता भण्डारीले गरेका केही निर्णयहरु विवादमा छन् । जीवी राईको मुद्दा फिर्ता लिने सरकारी निर्णयबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

होप फर्टिलिटीको डिम्ब प्रकरणसम्बन्धी मुद्दा नचलाउने निर्णय भएको अवस्था छ । यी सबै विषयमा फौजदारी अभियोजनमा कडाइ गर्नुपर्नेमा कँडेलका यसअघिका तर्कहरु सुन्दा उनी सविता भण्डारीकै निर्णयप्रति प्रतिवद्ध देखिन्छन् ।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले रविको अभियोजन फिर्ता लिने निर्णय गरेपछि कँडेलले फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रतिक्रया दिएका थिए-

‘म प्रष्ट छु । केपी ओली सहकारी पीडित हुनु भएको भए उहाँले पनि महान्यायाधिवक्ताको निर्णय ठीक भन्नुहुन्थ्यो । पीडित बचतकर्ताहरूले बैंकमा जस्तै सुरक्षित होला भनेर सहकारीमा पैसा जम्मा गराए । सहकारी सञ्चालकहरूले त्यसको दुरुपयोग गरे । कानुनले दुरुपयोग गर्नेहरूबाटै दुरुपयोग भएको रकम सहकारीमा फर्काई पीडितले सहकारीबाट पैसा फिर्ता पाउने अवस्थाको सिर्जना गर्नु पर्नेमा उल्टो भयो । सहकारीमा नजोडिएका रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने नाममा पीडितको सहकारीमा रहेको सम्पत्ति रोक्का भयो । यसले त पीडितलाई सजाय भयो । महान्यायाधिवक्ताको निर्णयले पीडितको पक्षमा सकारात्मक बाटो समातेको छ ।’

यसबारे नयाँ पत्रिका दैनिकमा छापिएको कँडेलको प्रतिक्रिया यस्तो थियो, ‘महान्यायाधिवक्ता कार्यालयको निर्णयले सहकारीका सञ्चालकले पीडितलाई पैसा फिर्ता दिन पाउने अवस्था सिर्जना भएको छ । संसारभरको फौजदारी न्याय प्रणाली पीडितमैत्री हुन्छ र पीडकलाई मात्र सजाय हुनुपर्छ । एक व्यक्तिप्रति राजनीतिक पूर्वाग्रहप्रेरित मुद्दा लगाइँदा देशभरका पीडितले न्याय नपाउने अवस्था सिर्जना भएकोमा अहिले त्यसको अन्त्य भएको छ ।’

महान्यायाधिवक्ता कँडेलको फेसबुक स्टाटस हेर्दा उनले माओवादीलाई ‘युद्ध सरदार’ को संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘अयोग्य लडाकु भनेका लड्न योग्य नहुँदै अर्थात् उमेर नपुगेका पढ्ने उमेरमा युद्धमा होमिएका नावालकहरु हुन् । उनीहरुलाई जनही २ लाख दिएर न्याय हुँदैन । बरु उनीहरुलाई कक्षाकोठाबाट निकालेर किताव बोक्ने हातमा बन्दुक भिराइदिने युद्ध सरदारहरुलाई सजाय दिँदा उनीहरुलाई न्याय हुनेछ ।’

उता, अघिल्लो कांग्रेस महाधिवेशनका बेला कँडेलले डा. कोइरालालाई समर्थन गरेका थिए । त्यसबेला उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नेपाली काँग्रेस नेपालको राजनीतिक वर्णमालाको पहिलो अक्षर हो । यसको गौरवपूर्ण इतिहासमा पूर्णविराम नलागोस् भन्नका निम्ति एउटा चलायमान नेतृत्व चाहिएको छ । त्यसको सम्भावना देखाएका छन् नेता शेखर कोइरालाले । कांग्रेसलाई पद, पैसा, प्रलोभन, सुरा, सुन्दरी आदिको टिकडममा माहिर विचारहीन हरिलठ्ठकहरुको जमातबाट मुक्ति दिलाउन शेखरको टिमलाई सफलता मिलोस् शुभकामना छ ।’

विगतमा ओली सरकारले नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउँदा देखिएको विवादका विषयमा पनि कँडेलले सामाजिक सञ्जालमा लेखेका छन् । उनले भनेका छन्-

‘राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्ने प्रक्रियामा निम्न कारणले संवैधानिकता र लोकतान्त्रिक मूल्यमान्यताको अभाव छ ।

१. सभामुखले पेश गरेको वा पेश गरेबमोजिमको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्नेछन् भन्ने हो । संविधानअनुसार यस प्रक्रियामा सरकार वा प्रधानमन्त्रीको कुनै भूमिका रहनु हुँदैन । तर सभामुखको नभई प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिले यो प्रक्रिया अघि बढाएको देखियो ।

२. लोकतन्त्र भनेको अद्यावधिक र ताजा प्रतिनिधित्वद्वारा शासित हुनु हो। शायद त्यही भएर दोस्रोपटक प्रमाणीकरण प्रक्रियाका लागि राष्ट्रपतिलाई १५ दिन मात्रै दिइएको हो । अहिले हामीसँग नयाँ निर्वाचित जनप्रतिनिधि छन्, यो तथ्यलाई बेवास्ता गरेर सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको अवमूल्यन गरेको छ ।

३. नतिजा कसैले यो प्रक्रिया रद्द गर्न अदालत गयो भने नागरिकतासम्बन्धी कानूनको संशोधन वर्षौं पछाडि धकेलिन सक्छ। घर भित्रभन्दा छिमेकमा दीपावली मनाउने प्रधानमन्त्रीको मनसाय स्वागतयोग्य छैन ।

त्यहीबेला उनले तत्कालीन प्रधानमन्त्री र राष्ट्रपतिलाई लक्षित गर्दै लेखेका थिए, ‘अब नेपालको संविधान भनेको केवल उनी र उनकै हिहिको कागजी खेलौना ।’

बालेन सरकारका महान्यायाधिवक्ता बने डा. नारायणदत्त कँडेल

 

सम्बन्धित खवर

सर्वोच्च अदालतले दियो गगन थापा समूहलाई बैधानिकता, देउवाको रिट खारेज

सर्वोच्च अदालतले दियो गगन थापा समूहलाई बैधानिकता, देउवाको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगन कुमार थापा समूहलाई बैधानिकता दिएको छ...

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

काठमाडौँ । बालेन नेतृत्वको सरकारले २०६२/०६३ पछिका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुको सम्पत्ति छानविन...

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । गत चैत...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...