काठमाडौँ । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन् । मन्त्रिपरिषद्ले उनीमाथि लागेको आरोपबारे अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन ग्रहण गर्दै कुनै आरोप पुष्टि नभएको निष्कर्ष स्वीकार गरेपछि उनको पुनरागमनको बाटो खुलेको हो ।
यससँगै उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ ।
सरकारले गठन गरेको छानबिन समितिले गत शुक्रबार बुझाएको ४५ पृष्ठीय प्रतिवेदनमा गुरुङविरुद्ध सार्वजनिक रूपमा उठाइएका आरोपहरू पुष्टि हुने आधार नभेटिएको उल्लेख गरेको थियो । सोही प्रतिवेदनका आधारमा उनकाे उनबहाली हुन लागेकाे हाे ।
गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । विवादित व्यापारी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध र शेयर लगानीसम्बन्धी प्रश्न उठेपछि उनले छानबिनलाई सहज बनाउन भन्दै पद त्याग गरेका थिए । त्यसपछि सरकारले वैशाख २८ गते अध्ययन तथा छानबिन समिति गठन गरेको थियो ।
छानबिन प्रक्रियाबाट सफाइ पाएसँगै गुरुङ करिब डेढ महिनापछि पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किन लागेका हुन् ।
छुटाउनुभयाे कि ? – सरकारका कानुनी निर्णय : निजामती सेवा नियमावली संशोधन स्वीकृत र सुधन गुरुङसम्बन्धी प्रतिवेदन ग्रहण

