कानून व्यवसायीहरू (वकील) न्याय प्रणालीका प्रमुख आधारस्तम्भ हुन् । उनीहरूले कानूनी प्रतिनिधित्व, सल्लाह र सेवामार्फत जनताको कानूनी हक–अधिकारको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
यस भूमिकालाई मर्यादित, प्रभावकारी र उत्तरदायी बनाउन कानून व्यवसायीको पेसागत आचरण शुद्ध व्यवसायिक बनाउनु जरुरी हुन्छ । न्याय सम्पादन कार्यमा कानून व्यवसायीहरूको विशिष्ठ भूमिका हुन्छ । कानून व्यवसायीलाई अदालतका सहयोगी मित्रको रूपमा मात्र होइन “अफिसर अफ द कोर्ट” को रूपमा मान्यता प्राप्त छ ।
अदालतले कानून व्यवसायीको भनाइमा विश्वास गरेर कतिपय कुराहरू गर्दछ, अनि त्यसमा भर गरेर न्याय निरूपण गर्दछ । न्यायलाई अझ चम्किलो पार्न कानून व्यवसायीको सकारात्मक योगदान हुन्छ । यस अर्थमा कानून व्यवसायी अदालतको अभिन्न अङ्गको रूपमा रहेको हुन्छ । मुद्दाको जन्म कानून व्यवसायीको चेम्बरबाट हुने गर्दछ र न्याय सम्पादनको समग्र प्रक्रियामा कानून व्यवसायीको उच्चतम बिशिष्टीकृत भूमिका रहन्छ ।
बोकाहा जस्ता शब्दावलीबाट सुरुवात भएको नेपालको कानून व्यवसाय समयान्तरमा कानून पेसागत प्रतिष्ठामा वृद्धि भइ समाजका प्रतिष्ठित पेसाहरू डाक्टर इन्जियर सरहको पेसाको रूपमा दर्ज हुँदै आएको छ ।
सर्वोच्च अदालत नियमावली २०१३ ले कानून व्यवसायीलाई मान्यता प्रदान गर्नुको अतिरिक्त वकीलहरूको वर्गीकरण गरी प्रमाणपत्र दिने व्यवस्था गरेको थियो । कानून व्यवसायी परिषद ऐन, २०२५ दफा १९ बमोजिम सर्वोच्च अदालतले बनाएको कानून व्यवसायी नियमावली, २०२५ ले सर्वप्रथम कानून व्यवसायीहरूको आचरणको व्यवस्था गरेको थियो ।
अष्ट्रेलियन कानून व्यवसायी मार्गारेट बाट्टीले अन्य देशमा कानून व्यवसायीको भूमिकालाई यसरी व्याख्या गरेकी छिन् :
प्रस्तुत अनुच्छेदको नेपाली अनुवाद तल दिइएको छ:
‘धेरैजसो देशहरूमा, विशेष गरी देवानी कानून (civil law) प्रणाली भएका देशहरूमा, विभिन्न प्रकारका देवानी कानूनका नोटेरीहरू (notaries), कर्मचारीहरू (clerks) र लेखन्दासहरू (scriveners) लाई धेरै कानूनी कार्यहरू सुम्पने परम्परा रहेको छ। यी देशहरूमा अमेरिकी अर्थमा “कानून व्यवसायी” (lawyers) हुँदैनन्, जहाँ यो शब्दले एकल प्रकारको बहुउद्देश्यीय कानूनी सेवा प्रदायकलाई बुझाउँछ; बरु, त्यहाँका कानूनी पेशाहरूमा कानूनमा प्रशिक्षित धेरै प्रकारका व्यक्तिहरू हुन्छन्, जसलाई विधिशास्त्री (jurists) भनिन्छ। तीमध्ये केही मात्र अदालतमा बहस पैरवी गर्न अनुमति प्राप्त अधिवक्ताहरू (advocates) हुन्छन्। बहुविध कानूनी पेशाहरू भएका सबै देशहरूलाई समेट्ने गरी सटीक सामान्यीकरण गर्न कठिन छ, किनकि प्रत्येक देशको परम्परागत रूपमा आफ्ना विभिन्न प्रकारका कानूनी पेशेवरहरूबीच कानूनी कार्य विभाजन गर्ने आफ्नै विशिष्ट विधि रहेको छ।
विशेष गरी, सामान्य कानून (common law) प्रणालीको जननी मानिने इङ्गल्याण्ड पनि अन्धकार युग (Dark Ages) बाट बाहिर निस्कँदा यसको कानूनी पेशामा यस्तै जटिलता थियो, तर १९औं शताब्दीसम्म आइपुग्दा यो ‘ब्यारिस्टर’ (barristers) र ‘सोलिसिटर’ (solicitors) बीचको एउटा स्पष्ट द्विभाजनमा विकसित भयो। केही देवानी कानून प्रणाली भएका देशहरूमा पनि अधिवक्ता (advocates) र प्रतिनिधि (procurators) बीच यस्तै समतुल्य द्विभाजन विकसित भयो, यद्यपि यी दुई प्रकारका पेशेवरहरूले ब्यारिस्टर र सोलिसिटरले जस्तो कानूनी अभ्यासमा सधैं एकाधिकार जमाउन सकेनन्, किनभने उनीहरू सधैं देवानी कानूनका नोटेरीहरूसँगै सह-अस्तित्वमा रहेका थिए।’
१. कानून व्यवसायीको कर्तव्य र दायित्व
कानून व्यवसायीले आफ्नो कार्यमा स्वतन्त्र, निष्पक्ष र मर्यादित ढङ्गले प्रस्तुत हुनुपर्ने उल्लेख छ । व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव वा अनुचित सम्झौताबाट मुक्त रहनु र सत्य, प्रमाण र कानूनी आधारमा मात्र काम गर्नु अनिवार्य छ ।
विद्वानको उपाधि प्राप्त यस व्यवसायले समाजका हरेक जसो विषयमा आफ्नो ज्ञान राख्नु जरुरी रहेको छ । नेपाल जस्तो देशमा कुनै एउटा क्षेत्रमा मात्र बिज्ञता हाशिल गरेर कानून व्यवसायीहरू व्यवसायिक रूपमा टिकाउ हुन कठिन समेत रहेको छ । परिवर्तित समाजमा कार्यबिधि कानूनका अतिरिक्त सारवान कानून विधिशास्त्र र विषयगत ज्ञानका अतिरिक्त प्रबिधिबाट कानून व्यवसायीले आफूलाई टाढा राख्न सक्ने अवस्था रहेको छैन ।
वैधानिक एवं कानूनी विषयमा अदालत पक्ष र अन्य सरोकारवालाहरूलाई कानूनी राय सल्लाह प्रदान गर्ने पक्षको हक, हित र सरोकार निहित रहेको मुद्दामा प्रतिनिधित्व गर्ने अदालत वा न्यायिक अधिकारीका समक्ष पक्षको तर्फबाट मुद्दामा प्रतिरक्षा गर्ने र पक्षलाई सही राय दिने कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्तको व्याख्या बिश्लेषण गर्ने दायित्व समेत कानून व्यवसायीमा रहेको हुन्छ ।
संविधान र अन्य कानून बमोजिम अदालतमा उपस्थित भई बहस पैरवी गर्ने दायित्व कानून व्यवसायीमा रहेको हुन्छ । कानून व्यवसाय स्वतन्त्र पेसा भए पनि सीमाहिन छैन । तसर्थ स्व-अनुशासनमा बाँधिनु जरुरी हुन्छ ।
२. व्यवसायिक अनुशासन र आचरण
सम्मान माग्ने हैन, कमाउने विषय हो । मानिसको जीवनमा आइपर्ने सम्पूर्ण आवश्यकता पूरा गर्ने एक सशक्त माध्यम अनुशासन हो । अनुशासनले हामीले गर्न लागको कार्यलाई सम्पन्न गर्न सहयोग पुर्याउँछ । कामको नतिजा राम्रो हुन्छ । थप काम गर्नको लागि हौसला र प्रशंसा प्राप्त गर्छौँ ।
अनुशासनमा रही काम गर्ने मानिस अरूको लागि प्रिय र अनुकरणीय हुन्छ । अनुशासनले कुनै पनि पेशा, व्यवसायमा सफल बनाउँछ । यदि हामीमा अनशासन भएन भने हामी आलोचनाको पात्र बन्छौँ । फलतः हाम्रो जोश, जाँगर, सीप, हौसला क्षय हुन पुग्छ र हाम्रो प्रतिभा, कार्यक्षमता, उत्साह नष्ट हुन्छ ।
हामी घर, परिवार, समाज, संस्थाको अङ्गबाट अलग्गिन पुग्छौँ । तसर्थ, मानव जीवनको सफलतामा अनुशासन एक महत्वपूर्ण पक्ष हो । कानून व्यवसायीलाई समाजको इन्जिनियरको रूपमा चिनिन्छ । समाजका हरेक पक्ष कानून व्यवसायसँग सम्बद्ध रहेको हुन्छ । जसले गर्दा पनि कानून व्यवसाय र व्यवसायीको पेसागत अनुशासन र शुद्ध आचरण हुनैपर्छ ।
मूलतः कानून व्यवसायीले व्यवसायिक अनुशासन र आचरणका लागि निम्न कुरामा ध्यान दिनैपर्दछ । कानून व्यवसायीहरूको आचरण सम्बन्धी नियमावली, २०७९ ले मुख्य कुरामा जोड दिएको छ :
– अन्य वकीलसँग विवाद भएमा आपसी छलफलबाट समाधान गर्नुपर्ने ।
– सहकर्मी र नयाँ वकीलप्रति सद्भावपूर्ण व्यवहार गर्नुपर्ने ।
– सेवा शुल्क यथासम्भव बैंकमार्फत् लिने र कर चुक्ता गर्ने ।
– सामाजिक सञ्जाल तथा मिडिया प्रयोगमा सावधानी अपनाउने, न्यायाधीश वा न्यायालयप्रति नकारात्मक टिप्पणी गर्न नपाइने ।
– कानून व्यवसायीले नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै कार्य गर्न हुँदैन ।
– झूठा मुद्दा चलाउन पक्षलाई प्रेरणा दिन हुँदैन ।
– कसैलाई दुःख दिने वा प्रतिशोध लिने उद्देश्यले मुद्दा सिर्जना गर्न हुँदैन ।
– मिसिलमा नभएको तथ्य जानीजानी बहसमा प्रस्तुत गर्न हुँदैन ।
– आफू साक्षी रहेको लिखतसँग सम्बन्धित मुद्दामा कानून व्यवसायीका रूपमा संलग्न हुनु हुँदैन ।
– व्यवसायिक प्रचारका उद्देश्यबाट कुनै पनि किसिमको नारा, परिपत्र, समाचार प्रकाशन, विज्ञापन र पत्राचारजस्ता काम गर्न हुँदैन ।
– मुद्दाको हारजीतको आधारमा आफ्नो पारिश्रमिक तय गर्नुहुँदैन ।
– परिषद्ले मागेको विवरण दिँदा झूठो विवरण दिन हुँदैन ।
– आफूले वा आफ्नो प्रत्यक्ष निर्देशन र निगरानीमा आफ्नो फर्म वा चेम्बरको कानून व्यवसायी वा आफूसँग काम गर्ने लेखन्दासबाहेक अन्य व्यक्तिले तयार गरेको मस्यौदा प्रमाणित गरिदिने उद्देश्यले सही गर्न हुँदैन ।
– मुद्दा प्राप्त गर्न दलाल नियुक्त गर्न वा मुद्दा उपलब्ध गराइदिए बापत कसैलाई दलाली दस्तूर (कमिशन) दिन हुँदैन ।
३. कानून व्यवसायीको पोसाक
व्यक्तिको पहिचान तथा पेसागत मर्यादाको लागि पनि निश्चित् प्रकारको पोसाक निर्धारण गरिएको हुन्छ । नेपाल कानून व्यवसायी परिषदले निर्धारण गरिएको पोसाकलाई सबै कानून व्यवसायीहरूका लागि अनिवार्य रुपले लगाउनु पर्ने हुन्छ । पुरुष तथा महिला वकीलले अदालतमा उपस्थित हुँदा कालो कोट, सेतो सर्ट, गाढा रंगको मोजा र औपचारिक जुत्ता लगाउनुपर्छ । ढाका वा भादगाउँले टोपी तथा बारको ब्याच अनिवार्य छ ।
कानून व्यवसायीको पोसाक पेशागत पहिचान, अनुशासन, र न्यायिक गरिमासँग जोडिएको हुन्छ । विश्वका विभिन्न देशमा यसको अभ्यास ऐतिहासिक, सांस्कृतिक र न्यायिक परम्पराअनुसार फरक–फरक देखिन्छ । अधिकाँश देशमा कानून व्यवसायीहरूको पोसाक कानूनतः नै निर्धारण गरिएको हुन्छ । अधिकाँश देशमा कालोकोट र सेतोशर्टलाई कानून व्यवसायीहरूको पोसाक कायम गरेको पाइन्छ । कालो कोट औपचारिकता र गम्भीरताको प्रतीकको रूपमा लिइन्छ भने सेतो सर्ट – शुद्धता र निष्पक्षताको संकेतको रूपमा लिइन्छ ।
बेलायतमा अदालती अभ्यासलाई सबैभन्दा पुरानो र प्रभावशाली परम्परा मानिन्छ । जहाँ वकील र न्यायाधीशले कालो गाउन र सेतो विग लगाउँछन् । विग प्रयोग विशेषतः उच्च अदालतहरूमा अझै कायम छ भने यो परम्परालाई औपचारिकता र निरपेक्षताको प्रतीक मानिन्छ । अमेरिकामा वकीलहरूले प्रायः औपचारिक सूट लगाउँछन् गाउन लगाउने प्रचलन सामान्यतया छैन । भारतमा Bar Council of India ले पोसाक निर्धारण गरेको छ ।
४. अदालत र न्यायाधीशप्रतिको उत्तरदायित्व
वकीलहरूले अदालतलाई सहयोग गर्न, मिसिल वा बयानमा झुटो विवरण नदिन, इजलासको मर्यादा कायम राख्न र न्यायाधीशसँग अनुचित सम्पर्क नगर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । मुद्दा टुंग्याउने प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्षरूपले अदालतलाई असहयोग गर्नु हुँदैन । न्यायिक प्रक्रियालाई दुरूपयोग गर्न वा गराउनु हुँदैन ।
सत्य कुराको बयान वा बकपत्र गर्न गराउनबाट पक्षलाई रोक्न हुँदैन । न्याय प्रशासनसँग सम्बन्धित काम कारवाहीका सिलसिलामा अदालत वा न्यायाधीश वा कानून व्यवसायीप्रति अनास्था पैदा हुने किसिमका झूठा प्रचार प्रसार गर्न हुदैन । अदालतमा यथासमयमा उपस्थित हुने, कालो कोटसहितको पूर्ण पोसाकमा उपस्थित हुने, इजलास तथा विपक्षीका कानून व्यवसायीप्रति सम्मानजनक व्यवहार गर्ने, एक अर्काप्रति लाञ्छना नलगाउने, रीस राग द्वेष नराख्ने, अदालतका कर्मचारीप्रति सौहार्दपूर्ण व्यवहार गर्ने, शिष्टतापूर्वक बोल्ने र आफ्नो पालोमा उचित ढङ्गले बोल्ने जस्ता अनुशासनका नियम तोड्न हुँदैन ।
५. सेवाग्राही (पक्ष) प्रतिको जिम्मेवारी
कानून व्यवसायीको सबैभन्दा मुख्य जिम्मेवारीको रूपमा सेवाग्राहीप्रतिको उत्तरदायित्व रहन्छ । आफ्ना सेवाग्राहीको उच्चतम हित संरक्षण गर्दै कानूनसम्मत, इमान्दार र पेशागत रूपमा सेवा प्रदान गर्ने दायित्वलाई जनाउँछ ।
जुन दायित्वहरूमा निष्ठा र विश्वास (Duty of Loyalty), गोपनीयता कायम गर्ने दायित्व (Confidentiality), दक्षता र पेशागत क्षमता (Competence), इमान्दारिता (Honesty). सूचना दिने दायित्व (Duty to Inform) र उचित शुल्क निर्धारण (Fair Fees) आदि रहेको हुन्छ । जुन दायित्वलाई नेपाल कानून व्यवसायी आचार संहिताले समेत कानूनी आधार दिएको छ । जुन यसप्रकार छन् :
– मुद्दा लम्ब्याउने नियत नराख्ने ।
– राय र सल्लाह तर्कसंगत र प्रमाणयुक्त दिनुपर्ने ।
– गोपनीयता कायम राख्ने ।
– झूटा मुद्दाको प्रोत्साहन नगर्ने ।
– आफूले गर्न नभ्याउने वा नसक्ने अवस्था परी मुद्दा फिर्ता गर्नुपर्दा सामान्यतया अर्को कानून व्यवसायी मुकरर गर्न नभ्याउने किसिमबाट फिर्ता गर्न हुँदैन ।
– पक्षले मुद्दामा उपलब्ध गराएको जानकारीको गोपनीयता भंग गर्न हुँदैन
– पक्षसँग प्रतिशतमा पारिश्रमिक लिने वा ठेक्का पट्टा बोल कबोल गरी मुद्दा लिन हुँदैन ।
– पक्षले दिएको लिफामा तमसुक, करारनामा आदि खडा गरी आफूलाई फाइदा वा पक्षलाई बेफाईदा हुने काम गर्न हुँदैन ।
– पक्षले दिएको सद्दे लिखत विपक्षीसँग मिली बिगारी प्रमाण नलाग्ने वा काम नलाग्ने तुल्याई दिन हुँदैन ।
– पक्षले दिएको लिखत समेत अन्य प्रमाण विपक्षलाई फाइदा पुर्याउने उद्देश्यले उपलब्ध गराउनु हुँदैन ।
भारतीय न्यायमुर्ति सेनले Relation between the advocate and his client is purely personal involving a highest personal trust and confidence ( V.C. Rangadurai VS D. Gopalan AIR 1979 SC 281) भनी उल्लेख गरेका छन् ।
६. उजुरी र अनुशासन प्रक्रिया
यदि कुनै वकीलले नियम उल्लङ्घन गरेमा सम्बन्धित पक्ष वा परिषद्ले उजुरी दिन सक्छन् । अनुशासन समितिले आवश्यक अनुसन्धान गरी कारबाही गर्न सक्छ । उजुरी गोप्य राख्नुपर्छ र झूटा उजुरी गर्नेविरुद्ध कानूनी कारबाही पनि हुन सक्छ ।
७. विशेष व्यवस्था
वरिष्ठ अधिवक्ताले अर्धन्यायिक निकायमा बहस गर्न नपाउने, नयाँ वकीललाई प्रशिक्षित गर्नुपर्ने र सहकर्मीलाई व्यावसायिक रूपमा सहभागी गराउनुपर्ने व्यवस्था रहेको छ ।
८. आचारसंहिता उल्लङ्घन नमानिने अवस्थाहरू
पूर्व काम गरिएका मुद्दाहरू, परिवार वा छिमेकीसँगको विवाद वा बौद्धिक बहसमा आधारित धारणा सार्वजनिक गर्दा नियम उल्लङ्घन भएको मानिने छैन ।
निष्कर्ष :
यस नियमावलीले नेपालमा कानून व्यवसायीको भूमिकालाई नैतिक, पेशागत र उत्तरदायी बनाउने दिशामा ठूलो योगदान पुर्याउनेछ । वकीलहरू मात्र होइन, सेवा प्राप्त गर्ने सर्वसाधारणले समेत कानूनी प्रणालीप्रतिको विश्वास बलियो बनाउनका लागि यस नियमावलीलाई गम्भीरतापूर्वक पालना गर्नु अपरिहार्य छ ।

