काठमाडौं । नेपाल बार एशोसिएसनले नयाँ कानून व्यवसायी (वकील)हरुका लागि तालिम आयोजना गर्ने भएको छ ।
ललितपुरको जावलाखेलस्थित प्रशिक्षण प्रतिष्ठानमा बिहीबार बिहान साढे सात बजेदेखि बेलुका साढे ५ बजेसम्म नयाँ वकिलहरुलाई तालिम दिइने बार एशोसिएसनले जनाएको छ ।
बार एशोसिएसनका महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार नवोदित कानून व्यवसायीहरुको व्यावसायिक तथा व्यवहारिक ज्ञान क्षमता विकास गरी महिला, दलित, आदिबासी, आदिबासीरजनजाती, मधेशी, मुस्लिम, थारु, उत्पीडित वर्ग, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, आर्थिकरुपले विपन्न खस आर्य समुदाय लगायतको न्यायमा पहुँचको अभिवृद्धि गर्ने कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ ।
नेपाल बार एशोसिएशनले तत्कालीन Strengthening the Rule of Law and Human Rights Protection System in Nepal Programme- RoLHR/UNDP र पछिल्लो समयमा Enhancing Access to Justice through Institutional Reform Project (A2J Project-/UNDP) सँगको सहकार्यमा विगत लामो समयदेखि महिला तथा सीमान्तकृत वर्गका नवोदित कानून व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम (Legal Internship/Externship Program) सञ्चालन गर्दै आएको कोइरालाको भनाइ छ ।
कार्यक्रममा अभ्यासवृति कार्यक्रममा सहभागी रहनु भएका कानून व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ ।
विगतमा यस कार्यक्रमबाट करिब ३४५ जना नवोदित कानून व्यवसायीहरु लाभान्वित भइसकेका बारले जनाएको छ ।

