उम्मेदवार जाँच्‍ने ‘चेकलिस्ट’

१२ माघ २०८२

उम्मेदवार जाँच्‍ने ‘चेकलिस्ट’

काठमाडौँ । फागुन २१ को आम निर्वाचन आउन लगभग पाँच हप्ता बाँकी छ । नयाँ र पुराना सबै राजनीतिक दल र व्यक्तिहरु चुनावी मैदानमा होमिएका छन् । उनीहरुले जनतासँग आफ्ना घोषणापत्र र प्रतिवद्धताहरु भन्दा पनि ‘कस्मेटिक’ व्यवहार प्रदर्शन गरिरहेका छन् । आशा गरौं– अबको पाँच साताभित्र उनीहरुले देश कस्तो बनाउने भन्ने बाचा र प्रतिवद्धता मतदातालाई अवश्यै सुनाउलान् । दलले आफ्ना घोषणापत्र ल्याउलान्, उम्मेद्वारहरुले प्रतिनिधिसभामा गएर के–के काम गर्छु भन्ने ‘रेसिपी’ जनसमक्ष पक्कै पेस गर्लान् ।

तर, आम निर्वाचनमा भोट माग्न हिँडेका उम्मेदवारहरु गाउँमा बाटो, बिजुली, खानेपानी, पुल–पुलेसा इत्यादि बनाइदिने आश्वासन बाँडिरहेका भेटिन्छन् । कोही खेतमा पसेर काम गर्दै जनता रिझाउन खोजिरहेका छन् त कोही आफ्नो दलका नेतालाई एकचोटि गाउँमा ल्याउने ‘बाचा’ गरिरहेका छन् । कोही दौरा सुरुवाल लगाएर नमस्कार गर्दै हिँडेका छन् त कोही चश्मा ढल्काएर कसैसँग नबोली दौडिरहेका छन् ।

कोहीचाहिँ पुरानै शैलीमा विपक्षीलाई तथानाम गाली गरेर दन्तबझान गरेकै भरमा चुनाव जितिन्छ भन्ने ठानिरहेका छन् । कोही समर्थक भेला पारेर छमछमी नाचेकै भरमा भोट पाउने आशामा देखिन्छन् ।

तर, चुनावमा भोट माग्नेहरुले संसदमा गएर यस्तो कानून बनाउँछु, यस्तो नीति निर्माण गर्छु, कानून निर्माण प्रक्रियामा सुधार ल्याउँछु इत्यादि भनेको कतै सुनिँदैन । सांसदको काम कानून बनाउने हो, पुल बनाउने होइन भन्ने सुद्धि उम्मेदवारहरुमा आएको देखिँदैन । सांसदको काम के हो भन्नेमै उनीहरुमा भ्रम देखिन्छ । उम्मेदवारहरुलाई मतदाताले नै सम्झाउनुपर्ने भएको छ कि तिमीहरुले प्रतिनिधिसभामा गएर गर्नुपर्ने काम के हो ?

जुन समाज पूर्णतः लोकतान्त्रीकरण हुन बाँकी छ, जुन देशका नेताहरु नैतिकवान्, दुरदर्शी र लोकतान्त्रिक चरित्रका छैनन् अनि जुन समाजको चेतनास्तर पछाडि परेको छ, त्यस्तो देशमा हुने आम निर्वाचनले सही जनप्रतिनिधि छनोट गर्न सक्दैन । त्यस्तो अवस्थामा धनबल, बाहुबल र हाहाहुहु गर्ने चटकेहरु नै चुनाव जितेर आउँछन् र त्यसले देशलाई सही निकास दिन सक्दैन ।

आगामी फागुन २१ गते हुने चुनावले पनि सही मानिसहरु छनोट नगर्ने र देशले फेरि पनि दुःख पाइरहने खतरा देखिएको छ । त्यसर्थ, योबेला सचेत मतदाताले विशेष सतर्कता अपनाउन र देशलाई निकास दिनेखालका सांसदहरु छान्नुपर्ने स्थिति छ । तर, त्यो सम्भावना निकै कम छ । खराब–खराबकै बीचमा प्रतिस्पर्धा हुँदा जनता सकसमा पर्नु स्वाभाविकै हो ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजनीतिक निकास खोज्ने क्रममा प्रतिनिधिसभाको चुनाव हुन लागेको हो । जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीद परिवार, घाइते योद्धाहरु अनि किशोर पुस्ताले आन्दोलनमार्फत राखेका चाहनाहरु पूरा गर्ने गरी यो चुनावले नतिजा दिनुपर्ने हुन्छ ।

जेनजी आन्दोलनको मूल चाहना के थियो ? देशमा भ्रष्टाचारको अन्त्य भई सुशासन कायम होस्, सरकारी सेवा लिन जाँदा घुस खुवाउनु नपरोस्, काममा ढिलासुस्ती नहोस् । युवाहरु विदेशिनुपर्ने बाध्यताको अन्त्य होस्, देशमा छिटो विकास होस्, रोजगारी सिर्जना होस्, सरकारको आलोचना गर्न पाइयोस्, अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुश नलागोस् । भ्रष्टाचारीहरुमाथि छानविन र कारवाही होस्, शासन प्रणालीमा सुधार गरियोस् र नेपालजस्तो सुन्दर देशलाई बस्न लायक बनाइयोस् । जेनजी आन्दोलनमार्फत युवा पुस्ताले चाहेको यही थियो । जेनजी आन्दोलनकै रापतापमा संसद विघटन भयो । अब पुरानो संसदको ठाउँमा नयाँ संसद आउँछ र त्यसले जेनजीका मागहरुलाई पूरा गर्छ भनेरै यो निर्वाचन हुन लागेको हो । आन्दोलनका क्रममा ट्रयाकबाट अलिकति बाहिर गएको संविधानलाई ट्रयाकमा फर्काउन सकिने छ र देशलाई अगाडि बढाउन सकिने छ भन्ने दाबीका साथ यो चुनाव हुन गइरहेको छ भन्नेमा कसैको विवाद छैन ।

तर, आगामी चुनावबाट जितेर आउने सांसदहरु कस्ता होलान् ? के उनीहरुले जेनजीको भावनालाई आत्मसाथ गर्लान् ? हामी सबैलाई थाहा छ, दलहरुले समानुपातिक उम्मेदवारहरु तय गर्दा कस्तो चरित्र देखाए ? त्यसैबाट दलहरु अझै सुध्रिएका छैनन् भन्ने स्पष्ट हुन्छ । अझ, फौजदारी अभियोग लागेका व्यक्तिसमेत कतिपय दलबाट चुनावमा उठेको स्थिति छ । हामीले पुरानै निर्वाचन कानूनअनुसार चुनावमा जानु परेको छ । दागी एवं विवादित व्यक्तिहरुलाई चुनावमा भाग लिन दिनुहुँदैन भन्ने जेनजीको माग यसपालि साकार हुन पाएन ।

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने र मतपत्रमा ‘नो भोट’ विकल्प दिनुपर्ने जेनजीको माग पनि पूरा नगरी चुनाव हुन लागेको छ । यो स्थितिमा संसदमा चुनिएर आउने पुरानै अनुहार र चरित्रहरुको हालीमुहाली हुने सम्भावना बढ्दो छ । जेनजीको चाहना यस्तो होस् भन्ने विल्कुलै थिएन ।

आफूलाई जेनजीको असली प्रतिनिधि दाबी गर्ने कतिपय दलका नेताहरुले पनि पुरानै पार्टीको चरित्र देखाइरहेका छन् । जसले गर्दा आगामी निर्वाचनले जेनजी पुस्ताले चाहेजस्ता नेताहरुलाई संसदमा पुर्‍याउने स्थिति ज्यादै नै कम देखिएको छ । फलतः फागुन २१ पछिको संसद पनि पुरानै संसदजस्तो निकम्बा हुने सम्भावना देखिन्छ ।

विगतमा सांसदहरु आफ्नो दलको गोटी बनिदिँदा संसदबाट कयौं खराब कानूनहरु बनेका छन् । ‘केही नेपाल ऐन संशोधन’का नाममा स्वार्थ समूहको हितमा कानून बनाउने काम संसदले गरेको छ । सार्वभौम संसद सधैँ सरकारको लाचार छायाँजस्तै बनेको छ । अब बन्ने संसदले दलीय घेरा तोडेर जनताको हितमा काम गर्ला र जनपक्षीय कानूनहरु बनाउला भन्ने जेनजी पुस्ताको अपेक्षा छ । तर, यसका लागि बढी भन्दा बढी गैरदलीय सांसदहरु छान्नुपर्ने हुन्छ । तर, विडम्बनाचाहिँ के छ भने विगतमा स्वतन्त्र उम्मेदवारको छवि बनाएका व्यक्तिहरु पनि अहिले भटाभट दलको झोला बोकेर, दल खोलेर चुनावमा होमिएका छन् । यसले आगामी संसद पनि दलहरुकै गोटी बन्ने सम्भावना नै बढी देखिन्छ ।

आफूलाई जेनजीको सम्वाहक दाबी गर्ने नयाँ भनिएकाहरुले पनि पनि पुराना दलकै पारामा विवादास्पद स्वार्थ समूहका बिचौलिया र घरानियाँहरुलाई उम्मेदवार बनाउनेदेखि लिएर उनीहरुबाटै ‘मालपानी’ उपहार लिनेसम्मका कार्यहरु गर्दा जेनजीको भावनामाथि चोट लागेको अवस्था छ । यसले ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानलाई चरितार्थ बनाएको छ । र, नयाँ भनिएकाहरुको यस्तो हर्कतका कारण आगामी चुनावमा पुरानै राजनीतिक शक्तिहरुको हात माथि पर्ने सम्भावना पनि बढ्दो छ ।

अहिले प्रष्टसँग देख्न सकिन्छ कि विचौलियाहरु कुन उम्मदेवारलाई जिताउने र कसलाई हराउने भनेर मैदानमा खटिइसकेका छन् । त्यस्ता बिचौलियाले नयाँ भनिएकाहरुलाई पनि आफ्नो ‘एजेन्ट’ बनाइसकेका छन् ।

यस्तो जटिल अवस्थामा हुन लागेको आम निर्वाचनमा दलहरुलाई सकेसम्म पारदर्शी बनाउनका लागि मतदाताहरुले मतदान गर्नुअघि उम्मेद्वारहरुलाई सोध्ने प्रश्नहरुको केही ‘चेकलिष्ट’ बनाउन जरुरी देखिन्छ ।

संविधान, लोकतन्त्र, स्वातन्त्र न्यायालय र अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मान्यताप्रति उम्मेदवारको प्रतिवद्धता जाँच्न जरुरी छ । आर्थिक पारदर्शिता, सादगीपन र स्वच्छ छविको व्यक्ति हो कि हैन भनेर जाँच गर्न जरुरी छ । र, आफूले मतदान गर्ने उम्मेदवार जनताको साथी बन्न सक्छन् कि सक्दैनन्, आफूले खोजेका बेला भेट्न सकिन्छ कि सकिँदैन, यस्ता विषयमा मतदाताले जाँच–परख गर्न आवश्यक छ ।

आम निर्वाचनमा जनता वास्तविक रुपमै सार्वभौम हुन्छन् । अरुबेला सिंहदरबारबाट शासन गर्नेहरुमाथि जनताले शासन गर्न पाउने भनेकै यही मतदानको दिन हो । त्यसर्थ, एकचोटि सबैले गम्भीर भएर सोचौं । फेरि पनि झुक्किएर वा प्रलोभनमा परेर खराब तत्वहरुलाई निर्वाचन जिताएर सिंहदरबार नपठाऔं । मतदाताले अहिले नै राम्रोसँग नसोच्ने हो भने आगामी पाँच वर्षसम्म देश र जनताले दुःख पाइरहन सक्छन् । वा, फेरि अर्को आन्दोलन गर्नुपर्ने दुःखद परिस्थिति आउन सक्छ । कामना गरौं, त्यस्तो स्थिति नआओस् । फागुन २१ को चुनावमार्फत् जनताले देशलाई उचित निकास दिन सकुन् । खराब व्यक्तिहरु निर्वाचनबाटै रोकिउन्, संसदमा छिर्र्नै नपाउन् ।

जसले विगतमा पटक–पटक अवसर पाउँदा पनि राम्रो काम गर्न सकेन, जसले पार्टीको कार्यक्रममा खटिँदा प्रयोग गर्ने सम्पत्तिको स्रोत खुलाउँदैन, जुन दलले अदालतमा मुद्दा खेपिरहेको व्यक्तिलाई उम्मेदवार बनाउँछ, जो जनतासँग खुल्ला सम्वाद गर्न चाहँदैन र तर्केर हिँड्छ, जसले समानुपातिकमा राम्रालाई भन्दा हाम्रालाई रोज्छ, जसले आलोचना पटक्कै सहँदैन र विपक्षीमाथि पूर्वाग्रही व्यवहार गर्छ, जो देशमा सबैलाई मिलाएर अघि बढ्न चाहँदैन र सधैँ नकारात्मकता अनि घृणात्मक अभिव्यक्तिको कुम्लो बोकेर हिँड्छ, त्यसले देशमा सुशासन  ल्याउला, राष्ट्रिय एकता कायम गर्ला, लोकतन्त्र सुदृढ बनाउला, देशको छवि विश्वमा उच्च पार्ला भनेर कसरी पत्याउने ?

त्यसर्थ, उम्मेदवारहरुलाई प्रश्न गरौं । प्रश्न गर्न पाउनु मतदाताको सार्वभौम अधिकार हो ।

सम्बन्धित खवर

अब कसलाई भोट दिने होला ?

अब कसलाई भोट दिने होला ?

जसले नेपालको संविधानलाई आत्मसात गरेको छ, SDGs का लक्ष्यहरू, १६औं पञ्चवर्षीय योजना (Periodic Plan)...

‘सेन्ट्रल एशिया’ मा समृद्धि, नेपालमा गफ !

‘सेन्ट्रल एशिया’ मा समृद्धि, नेपालमा गफ !

काठमाडौँ । कहिलेकाहिँ नेपालको तुलना दक्षिण कोरिया, मलेसिया र सिंगापुरजस्ता देशहरुसँग गर्ने गरिन्छ ।...

कानुन बनाउने कारखानामै खोट, तैपनि माग्दैछन् भोट !

कानुन बनाउने कारखानामै खोट, तैपनि माग्दैछन् भोट !

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको काम के हो ? सांसदले गाउँमा कुलो, बाटो, पुल बनाउने...

‘फेक डकुमेन्ट’का आधारमा पाथीभराको वन फाँडेको प्रमाण भेटियो

‘फेक डकुमेन्ट’का आधारमा पाथीभराको वन फाँडेको प्रमाण भेटियो

प्रहरीले गत बैशाख १७ गते रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकृत...