राष्ट्रिय झण्डा दुरुपयोग गर्ने व्यक्ति ३ वर्ष जेल पर्न सक्‍ने !

‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन् । तत्काल बन्द हुनु पर्‍यो । राष्ट्रिय झण्डा ओढ्ने कपडा होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।’ यो भनाइ संविधानविद डा. भीमार्जुन आचार्यको हो ।

१४ माघ २०८२

राष्ट्रिय झण्डा दुरुपयोग गर्ने व्यक्ति ३ वर्ष जेल पर्न सक्‍ने !

काठमाडौँ । ‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन् । तत्काल बन्द हुनु पर्‍यो । राष्ट्रिय झण्डा ओढ्ने कपडा होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।’

यो भनाइ संविधानविद डा. भीमार्जुन आचार्यको हो । अघिल्लो साता आचार्यले यस्तो चिन्ता प्रकट गरेपछि गृह मन्त्रालयले तत्कालै त्यसको ‘रेस्पोन्स’ गर्दै राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न सूचना जारी गरिसकेको छ ।

माघ ११ गते गृह मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्नुहुन अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानून वमोजिम कारवाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ।’

गृह मन्त्रालयले राष्ट्रिय झण्डाको दुरुपयोगप्रति सचेत रहन सबै पक्षलाई अनुरोध गरेको छ।

हेर्नुहोस् विज्ञप्ति-

निर्वाचनको चर्किंदो माहोल र राष्ट्रिय झण्डाको प्रश्न

निर्वाचन नजिकिँदै जाँदा मुलुकभर राजनीतिक गतिविधि तीव्र हुँदै गएको छ। सहरदेखि गाउँसम्म जुलुस, आमसभा, घरदैलो कार्यक्रमले सडक भरिँदा सवारी साधन, मञ्च, झोला, टोपी र प्रचार सामग्रीमै राष्ट्रिय झण्डा देखिन थालेका छन्।

यहिँ चुनावी उत्साहबीच राष्ट्रको सार्वभौमसत्ता, स्वाभिमान र एक्यबद्धताको प्रतीक मानिने नेपालको राष्ट्रिय झण्डा कतिपय स्थानमा कानुनले तोकेको मर्यादा र सीमाभन्दा बाहिर प्रयोग भइरहेको भन्दै चासो र असन्तुष्टि बढ्दै गएको छ।

झण्डालाई दलगत प्रचारको प्रतीकझैँ प्रयोग गर्ने प्रवृत्तिले संवैधानिक मूल्य र कानुनी सीमामाथि प्रश्न उठाइरहेका बेला संविधानविद् भीमार्जुनआचार्यले`राष्ट्रिय झण्डा ओढ्ने “कपडा” होइन` भन्दै चिन्ता प्रकट गरेका हुन् ।

चुनाबमा १० भन्दा बढी राष्ट्रिय झण्डा बोक्न नपाइने

निर्वाचनको संवेदनशील सन्दर्भलाई ध्यानमा राख्दै निर्वाचन आचारसंहिता, २०८२ ले राष्ट्रिय झण्डाको प्रयोगबारे बोलेको छ । आचारसंहिताको परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न सक्ने भनेको छ । त्यसबाहेक निर्वाचन प्रचार-प्रसारका क्रममा राष्ट्रिय झण्डा प्रयोग गर्न वा गराउन नपाइने आचारसंहितामा व्यवस्था गरिएको छ।

उक्त व्यवस्था उल्लङ्घन भएमा कानुनी कारबाही हुने प्रावधानसमेत आचारसंहिताले सुनिश्चित गरेको छ। व्यवहारमा भने दल वा उम्मेदवारका झण्डा र पोस्टरहरूसँगै राष्ट्रिय झण्डा मिसाएर प्रयोग गर्ने, सवारी साधनमा अव्यवस्थित रूपमा झुण्ड्याउने तथा प्रचार सामग्रीकै रूपमा प्रयोग गर्ने प्रवृत्ति देखिनु चिन्ताको विषय बनेको छ ।

कानूनमा के छ ?

अब राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी कानूनी व्यवस्था के छ, त्यसको चर्चा गरौं ।

नेपालको संविधान, २०७२ को अनुसूची-१ मा नेपालको राष्ट्रिय झण्डाको स्पष्ट स्वरूप, बनावट र पहिचान सुनिश्चित गरिएको छ। दुईवटा त्रिकोणयुक्त झण्डा, गाढा सिम्रिक रंगको रातो पृष्ठभूमि, निलो किनार र चन्द्र-सूर्यको चिन्हले नेपालको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक पहिचान बोकेको छ।

संविधानको यहिँ मान्यताका आधारमा राष्ट्रिय झण्डाको प्रयोग सामान्य प्रतीकात्मक विषय नभई संवैधानिक गरिमा र राज्यको प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको विषय हो।

राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९

नेपालको राष्ट्रिय गौरव, स्वाभिमान र सार्वभौमसत्ताको प्रतीकका रूपमा रहेको राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन नेपाल सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ जारी गरी कार्यान्वयनमा ल्याएको छ।

उक्त कार्यविधि संविधानको अनुसूची-१ मा परिभाषित राष्ट्रिय झण्डाको स्वरूप र गरिमालाई व्यवहारमा सुनिश्चित गर्ने उद्देश्यले तयार गरिएको हो । यो हालसम्म पूर्ण रूपमा प्रचलनमा छ।

कार्यविधिको परिच्छेद-२ (राष्ट्रिय झण्डासम्बन्धी व्यवस्था) ले राष्ट्रिय झण्डाको आकार, स्वरूप, प्रयोग हुने स्थान, फहराउने विधि तथा प्रयोग गर्न नहुने अवस्थाहरूलाई विस्तृत रूपमा परिभाषित गरेको छ।

कार्यविधिको दफा ११ (राष्ट्रिय झण्डाको प्रयोगमा निषेध) अनुसार राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न वा गराउन स्पष्ट रूपमा निषेध गरिएको छ। यस अन्तर्गत राष्ट्रिय झण्डा उल्टो राख्ने (चन्द्रमा तल पर्ने गरी), झण्डा च्यात्ने, जलाउने, फ्याँक्ने वा कुनै वस्तु पोको पार्न प्रयोग गर्ने कार्यलाई गैरकानुनी मानिएको छ।

त्यसैगरी, दफा ११(घ) ले व्यापारिक प्रयोजन वा विज्ञापनका उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न निषेध गरेको छ। यसले राष्ट्रिय झण्डालाई नाफामूलक गतिविधि, प्रचार सामग्री वा ब्रान्डिङका साधनका रूपमा प्रयोग गर्न नपाइने स्पष्ट सन्देश दिन्छ।

कार्यविधिको दफा ११(ङ) र (च) ले व्यक्तिगत प्रयोगसम्बन्धी सीमा निर्धारण गरेको छ। कुनै व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागमा मात्र प्रयोग गर्नुपर्ने र प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी झण्डा वा प्रतीक नपर्ने व्यवस्था गरिएको छ।

कार्यविधि अनुसार फहराउने प्रकृतिको कार्य बाहेक अन्य प्रयोजनमा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। झण्डा ओहालेर राख्ने अवस्था बाहेक, सजावट, प्रदर्शन वा अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्नु कानुनविपरीत ठहरिन्छ।

त्यस्तै, छातीभन्दा तल लगाइने भित्री वा बाहिरी कुनै पनि कपडामा राष्ट्रिय झण्डाको प्रतीक वा चित्र राख्न निषेध गरिएको छ, जसले राष्ट्रिय झण्डाको गरिमालाई व्यक्तिगत पोशाकसँग असंगतरूपमा जोडिन नदिन खोजेको देखिन्छ।

महत्त्वपूर्ण रूपमा, कार्यविधिको दफा १७ (अनुगमन सम्बन्धी व्यवस्था) ले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई आफ्नो क्षेत्रभित्र राष्ट्रिय झण्डा तथा राष्ट्रिय गानको प्रयोग कार्यविधिबमोजिम भए/नभएको विषयमा नियमित अनुगमन गर्ने जिम्मेवारी तोकेको छ। यसले राष्ट्रिय झण्डाको मर्यादा कायम राख्ने दायित्व केवल नागरिक वा राजनीतिक दलमा मात्र नभई राज्यका प्रशासनिक संयन्त्रमा समेत निहित रहेको देखाउँछ।

यसरी, राष्ट्रिय झण्डाको प्रयोगलाई व्यक्तिगत चाहना, राजनीतिक उत्साह वा प्रचारको विषयभन्दा माथि राख्दै, कानुनी मर्यादा, संवैधानिक गरिमा र राष्ट्रिय सम्मान का आधारमा नियमन गर्ने स्पष्ट ढाँचा कार्यविधि, २०६९ ले स्थापित गरेको छ।

मुलुकी अपराध संहिता, २०७४ को व्यवस्था

राष्ट्रिय झण्डाको अपमानलाई केवल नैतिक विषयमा सीमित नराखी आपराधिक कसूरका रूपमा मुलुकी अपराध संहिता, २०७४ ले दण्डनीय बनाएको छ। संहिताको दफा १५१ मा भनिएको छ-

नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले राष्ट्रिय गानको अपमान गर्न, राष्ट्रिय झण्डा जलाउन, जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा राष्ट्रिय झण्डा प्रयोग गर्न हुँदैन ।

यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था मुलुकी संहितामा छ।

यस दफाले नेपालसँग मैत्री सम्बन्ध भएका मुलुकका झण्डा तथा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाका झण्डा र निशान छापको दुरुपयोगलाई पनि दण्डनीय मानेको छ, जसले राष्ट्रिय झण्डाको विषयलाई अन्तर्राष्ट्रिय मर्यादासँग समेत जोडेको देखिन्छ।

यही पृष्ठभूमिमा गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न सबैमा हार्दिक अनुरोध गरेको छ। अन्यथा दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने स्पष्ट चेतावनीसमेत दिइएको छ।

राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा होइन; यो नेपालको इतिहास, संघर्ष, सार्वभौमसत्ता र राष्ट्रिय एकताको प्रतीक हो।

निर्वाचनजस्तो संवेदनशील समयमा यसप्रतिको कानुनी मर्यादा झनै गम्भीर रूपमा पालना हुनुपर्छ। प्रचलित कानुनले स्पष्ट रूपमा निर्धारण गरेका सीमा र निषेधलाई बेवास्ता गर्दै गरिएको कुनै पनि प्रयोग अभिव्यक्ति स्वतन्त्रताको अभ्यास नभई कानुनी उल्लङ्घन र राष्ट्रिय प्रतीकको अवमूल्यन हो।

लोकतन्त्रको परिपक्वता देखाउने माध्यम नै कानुनको सम्मान र राष्ट्रिय प्रतीकप्रतिको जिम्मेवार व्यवहार हो।

 

सम्बन्धित खवर

न्यायिक समितिको संरचना, अधिकार र व्यवहारिक अभ्यास

न्यायिक समितिको संरचना, अधिकार र व्यवहारिक अभ्यास

नेपालको संविधानले राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहमा बाँड्दै न्यायलाई नागरिकको दैनिकीसँग जोड्ने...

ऋण असुली न्यायाधिकरण : बैंकको ऋण नतिर्नेलाई कसरी हुन्छ कारबाही ?

ऋण असुली न्यायाधिकरण : बैंकको ऋण नतिर्नेलाई कसरी हुन्छ कारबाही ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण फिर्ता नआउने समस्या बढ्दै जाँदा...

नेपालमा चिकित्सकीय लापरवाही : कानुनी व्यवस्था, प्रक्रिया र अदालती अभ्यास

नेपालमा चिकित्सकीय लापरवाही : कानुनी व्यवस्था, प्रक्रिया र अदालती अभ्यास

काठमाडौँ । नेपालमा चिकित्सकीय लापरवाहीका घटना बढ्दै गएपछि बिरामीका अधिकार र चिकित्सकको पेशागत मर्यादाबीच...

नेपालमा चेक बाउन्स : दुई फरक कानूनी बाटो

नेपालमा चेक बाउन्स : दुई फरक कानूनी बाटो

काठमाडौँ । पछिल्लो समय नेपालमा चेक बाउन्स केवल बैङ्किङ त्रुटिको विषय मात्र नभएर यो...