चलचित्र हक (२०२५) कुनै चम्किलो सिनेमेटिक तडक भडकमा रमाउने कोर्टरूम ड्रामा होइन। यहाँ दर्शकलाई लोभ्याउने स्लो–मो सर्ट, भारी ब्याकग्राउन्ड म्युजिक वा बनावटी भावनात्मक उतारचढाव भेटिँदैन। यसको सट्टा, फिल्मले अदालतको भुइँबाटै उठेको यथार्थलाई शान्त तर गहिरो दृष्टिले प्रस्तुत गर्छ।
फिल्मको मूल संरचना अदालतमा हुने बहस वरिपरि घुम्छ, तर हक केवल कानुनी मुद्दाको कथा मात्रै होइन। यसले न्यायालयलाई समाजको ऐना बनाउँदै, कागजमा लेखिएको कानून र व्यवहारमा लागू हुने न्यायबीचको दूरी देखाउँछ।
सबैभन्दा महत्वपूर्ण कुरा, हक विवाहभित्र, समाजभित्र र राज्यको दृष्टिभित्र बसेर महिलामाथि गरिने निर्णयहरूको कथा हो।
महिलाको जीवनबारे फैसला कसरी परिवार, सामाजिक संरचना र कानुनी संयन्त्रबाट गरिन्छ भन्ने प्रश्नलाई फिल्मले साहसिक रूपमा उठाएको छ- जुन प्रश्न अदालतको सीमाभन्दा बाहिर पनि गुञ्जिरहन्छ।
फिल्मको केन्द्रमा छिन्- शाजिया बानो। सुरुमा शाजियाको जीवन धेरैलाई आफ्नै जस्तो लाग्छ। पतिको पेशा वकिल, मध्यमवर्गीय घर, २ जना छोराछोरी, प्रेमिल जोडी यस्तै केही मुस्कान र खुसीको प्रतिक जसरी यस फिल्ममा उनीहरुको जीवन झल्केको देखिन्छ। मुस्कान, साना खुसी र आपसी समझदारीले उनीहरूको जीवनलाई सुखी परिवारको प्रतीकझैँ प्रस्तुत गरिएको छ।
तर बाहिरबाट हेर्दा जति सहज देखिए पनि त्यो केवल सतह हो। साधारण जीवन, सुखी परिवार र सुरक्षित अनुभूतिको आवरणभित्र लुकेको वास्तविकता फिल्मले बिस्तारै संकेत गर्न थाल्छ- जहाँ “सबै ठीक छ” भन्ने अनुभूति नै प्रश्नको घेरामा पर्न थाल्छ।
अब्बास, शाजियाका पति, पेशाले वकिल हुन्—बोलीचालीमा चतुर र मानिसलाई सजिलै प्रभावित गर्न सक्ने व्यक्तित्व। उनी आफूलाई आधुनिक, शिक्षित र बुझ्ने श्रीमान् रूपमा प्रस्तुत गर्छन्, जसले बाहिरबाट हेर्दा दाम्पत्य जीवनलाई आदर्शजस्तै देखाउँछ। तर यही “आधुनिकता”को छायाँमा शाजियाको जीवन अर्कै दिशामा बगिरहेको देखिन्छ। घर सम्हाल्ने, खाना बनाउने, बगैंचाको हेरचाह गर्ने—उनको दैनिकी घरायसी जिम्मेवारीमै सीमित छ। फिल्मले शब्दभन्दा दृश्यमार्फत प्रश्न उठाउँछ: समानता देखिने सम्बन्धभित्र भूमिकाहरू कति असमान छन्?
आज पनि धेरै ठाउँमा छोरी मान्छेलाई स्वतन्त्रता दिएको जस्तो देखाइन्छ, तर वास्तविकता त्यति सरल छैन। थाहा नपाईकनै धेरै महिला पितृसत्ताको अदृश्य घेराभित्र बाँधिएका छन्—जहाँ स्वतन्त्रता कागजमा छ, तर व्यवहारमा सीमित। महिलाले घरमै बस्नु, घर सम्हाल्नु वा परिवारको जिम्मेवारी लिनु यदि आफ्नै इच्छाले गरिएको हो भने त्यो पूर्ण रूपमा जायज हो। तर जब पढ्न नपाई, बाहिरी संसार देख्न नपाई, विकल्प नै नदिई यही घेराभित्र थुनिन्छन्, तब त्यो रोजाइ हुँदैन- त्यो परिबन्ध हो।
हकले यही सूक्ष्म तर गहिरो प्रश्न उठाउँछ: स्वतन्त्रता भनिएको कुरा वास्तवमै विकल्पको अधिकार हो कि समाजले सहजै स्वीकार गर्ने एउटा आवरण मात्र?
यही प्रश्नले फिल्मलाई सामान्य कथाभन्दा माथि उठाउँछ।
दाम्पत्य जीवनमा जतिसुकै प्रेम देखिए पनि यो सम्बन्ध बराबरीको हुँदैन। यहाँ निर्णय गर्ने शक्ति एउटै हातमा केन्द्रित छ—पुरुषको।
यस्तो संरचनामा प्रेम भन्नाले महिलाको सहनशीलता र पुरुषको फैसला बाहेक धेरै केही बाँकी रहँदैन। यही असन्तुलनलाई हामी दैनिकी जीवनमा अत्यन्तै सामान्य रूपमा स्वीकार गरिरहेका छौँ। हकमा पनि सुरुवातमा सबै कुरा सामान्यजस्तै अघि बढ्छ- प्रेम उस्तै देखिन्छ, खुसी उस्तै देखिन्छ, र जीवन शान्त गतिमा बगिरहेको अनुभूति हुन्छ।
तर यही “सामान्य”को आवरण एक दिन च्यातिन्छ। अब्बास कामको सिलसिलामा बाहिर गएको बेला आफ्नो पूर्व प्रेमिकासँग भेटेर दोस्रो विवाह गर्छन्। घर फर्किँदा उनी एक्ला फर्किँदैनन् संगै अर्की श्रीमती पनि ल्याउँछन्। यही क्षणबाट फिल्मले प्रेम, विवाह र अधिकारको वास्तविक अनुहार दर्शक सामु निर्वस्त्र राखिदिन्छ।
यो दृश्य हेर्दा मनभित्र अनेकौँ प्रश्न उब्जिन्छन्। पुरुषवादी समाज, महिलाप्रति राखिने दृष्टिकोण र शक्तिको असमान प्रयोग सम्झँदा रिस आफैँ उम्लिन थाल्छ। पुरुष भएकै कारण अब्बासलाई दोस्रो विवाह गर्ने “हिम्मत” मिल्छ- यो हिम्मत व्यक्तिगत साहस होइन, समाजले दिएको छुट हो।
यही ठाउँमा फिल्मले दर्शकलाई असजिलो तर आवश्यक प्रश्न सोध्छ। यदि यही परिवेशमा, यही समाजभित्र, शाजिया बानो कामको सिलसिलामा बाहिर गएर फर्किँदा अर्काे श्रीमान् लिएर आएको भए—के समाजले यसलाई यत्तिकै सहज रूपमा स्वीकार्थ्यो ?
खै……
अब्बासको यही कदमसँगै शाजियाको संसार भत्किन थाल्छ। विश्वास चकनाचुर हुन्छ, घरको शान्ति हराउँछ, र उनी भित्रैदेखि एक्लिँदै जान्छिन्। रिस, आक्रोश र पीडाले भरिएर उनी छोराछोरी लिएर माइत जान बाध्य हुन्छिन्। छोराछोरीको पालनपोषण, दुवैको सहमतिमा जन्मिएका बालबालिकाको हक र राम्रो परवरिसबारे कुरा गर्न खोज्दा पनि संवादको ढोका बन्द हुन्छ। जवाफमा अब्बासले उच्चारण गर्ने तीन शब्दले मात्र सम्बन्धको अन्तिम फैसला सुनाइन्छ-
“तलाक, तलाक, तलाक।”
ती तीन शब्दले शाजियाको जीवन उल्ट्याइदिन्छ। विवाह एकै झट्कामा समाप्त हुन्छ, आर्थिक सहाराको आधार भत्किन्छ, र समाजमा उनको हैसियत झनै कमजोर बन्छ। बच्चाहरूको खर्चसमेत रोकिन्छ, र अब शाजियासँग चुप लागेर बस्ने कुनै विकल्प बाँकी रहँदैन।
त्यसपछि उनी अदालतको ढोका ढकढकाउँछिन्। यो क्षणबाट हक केवल पारिवारिक विछोडको कथा रहँदैन, यो न्याय खोज्ने यात्रामा रूपान्तरण हुन्छ। यो धोका खाएकी एउटी महिलाको व्यक्तिगत पीडा मात्र होइन। यो त्यस्तो सामाजिक र कानुनी व्यवस्थाविरुद्धको लडाइँ हो, जहाँ महिलाले सहनु “सम्झदारी” मानिन्छ, तर बोल्नु अपराधझैँ प्रस्तुत गरिन्छ।
यहीँबाट चलचित्र अदालतको केन्द्रमा प्रवेश गर्छ- जहाँ शाजिया पैसाका लागि होइन, आफ्नो अस्तित्व, आत्मसम्मान र पहिचानका लागि लड्न उभिन्छिन्। घर छोड्नु केवल साहसिक कदम मात्र होइन, यो डरहरूसँगको प्रत्यक्ष सामना हो- समाजको कलंकको डर, आर्थिक असुरक्षाको डर, बच्चाहरूको भविष्यको चिन्ता, र सबैभन्दा ठूलो, एक्लोपनको डर।
शाजियाको मेन्टेनेन्सको लडाइँ सम्मानको बहस होइन; यो शुद्ध रूपमा बाँच्नको प्रश्न हो- खाना, छाना र बच्चाहरूको पालनपोषणका लागि।
फिल्मले यही व्यक्तिगत संघर्षलाई अदालतको मञ्चमा ल्याउँछ, जहाँ कानुनी तर्क र मानवीय भावनाहरू एकअर्कासँग ठोक्किन्छन्। कोर्टरूमका दृश्यहरू तीव्र र प्रभावशाली छन्।
शाजियाको भूमिकामा यामी गौतम आफ्नो पीडा र अधिकारलाई शब्दमा रूपान्तरण गर्दै उभिन्छिन्, भने अब्बास बनेका इमरान हाशमी आफ्नो पक्षलाई चतुर र रणनीतिक ढंगले प्रस्तुत गर्छन्। तर हकले स्पष्ट रूपमा देखाउँछ वास्तविक जीवन अदालतजस्तो सफा र निष्पक्ष हुँदैन। अदालत सबैका लागि समान ठाउँ होइन। विशेषतः मुस्लिम महिलाका लागि यो केवल कानुनी लडाइँ मात्र होइन; धर्म, लिङ्ग, वर्ग र सामाजिक पूर्वाग्रहसँग एकैचोटि जुध्नुपर्ने कठोर यथार्थ हो। न्यायको ढोका बाहिरबाट खुला देखिए पनि, भित्र प्रवेश गर्दा पूर्वाग्रहका अग्ला पर्खालहरू उभिएका भेटिन्छन्। हक यही असहज सत्यलाई नाङ्गो रूपमा अदालतभित्रै उभ्याउँछ।
फिल्मले ट्रिपल तलाकलाई अब्बासले जिम्मेवारीबाट पन्छिन प्रयोग गरेको क्रूर हतियारका रूपमा चित्रित गर्छ। ती तीन शब्दले शाजियाको विवाह मात्र तोड्दैनन्, उनको अस्तित्वमै सीधा चुनौती खडा गर्छन्।
यो कथा ऐतिहासिक शाह बानो केसबाट प्रेरित छ, जसले १९८० को दशकमा भारतभर तीव्र राष्ट्रिय बहस जन्माएको थियो। तर वास्तविक शाह बानो मुद्दा मुख्यतः मेन्टेनेन्स (भरणपोषण) सम्बन्धी थियो, ट्रिपल तलाकसँग प्रत्यक्ष रूपमा होइन। फिल्मले यही अन्तरलाई केही हदसम्म सनसनीखेज बनाउँदै व्यक्तिगत पीडालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउँछ जसले कथालाई अझ धारिलो र प्रभावशाली बनाउँछ।
यही रचनात्मक परिवर्तनले हकलाई घरेलु कथाको सीमाभन्दा बाहिर पुर्याउँछ। फिल्म राज्यको चयनात्मक ‘उद्धार’को नाटक, अल्पसंख्यक समुदायको पितृसत्तामात्र औंल्याइने दोहोरो मापदण्ड, र महिलाको अधिकारलाई राजनीतिक हतियार बनाइने यथार्थसँग जुध्छ। शाजियाको लडाइँले अन्ततः एउटा गहिरो सत्य उजागर गर्छ न्यायको लागि संघर्ष गर्नु भनेको केवल अदालतमा मुद्दा जित्नु होइन। यो समाज, धर्म र राज्यले बुनेको जटिल जालबाट आफूलाई मुक्त गराउने साहसिक यात्रा हो।
यहाँ फिल्म अलिकति चुक्छ वा अलिकति मात्र होइन, यो नै यसको सबैभन्दा ठूलो कमजोरी बन्छ। हकले मुस्लिम समुदायभित्रको पितृसत्तालाई अब्बासको चरित्र, ट्रिपल तलाकको क्रूर प्रयोग, र धार्मिक व्याख्यालाई पुरुषको हितमा मोड्ने तरिकामार्फत स्पष्ट रूपमा देखाउँछ। यो आलोचना सशक्त र आवश्यक छ, तर दुर्भाग्यवश एकतर्फी रहन्छ।
समाजको ठूलो, बहुसंख्यक पितृसत्तालाई फिल्मले नजरअन्दाज गर्छ—त्यो पितृसत्ता जसले राज्यको नीति, कानुन र सांस्कृतिक कथा निर्माणमा गहिरो प्रभाव पार्दछ। फिल्ममा राज्यलाई न्याय दिने र महिलालाई बचाउने शक्तिको रूपमा चित्रित गरिएको छ; कोर्टरूमको अन्तिम दृश्यमा शाजियाको विजयलाई लगभग पूर्ण सशक्तिकरण जस्तो देखाइएको छ।
तर वास्तविकता धेरै जटिल छ। राज्य कहिले महिलाको अधिकारको पक्षमा उभिन्छ (जस्तै ट्रिपल तलाक अपराधीकरण), कहिले नियन्त्रण गर्छ (जस्तै अन्य कानुन वा मुस्लिम महिलाको शरीरलाई ‘उद्धार’को प्रतीक बनाउने राजनीतिक दृष्टिकोण), र कहिले पूर्ण रूपमा बेवास्ता गर्छ।
यो विरोधाभास फिल्मले गहिरो रूपमा छुन सकेको छैन। आलोचना केवल अल्पसंख्यक समुदायको “पिछडापन”मा सीमित रहन्छ, जसले बहुसंख्यक समाजको पितृसत्तालाई लगभग सफा देखाउँछ। यसै कारण, शाजियाले जीत्नको लागि ‘सही’ हुनु अनिवार्य बनाइएको छ सत्यभन्दा बढी कथानकको सुविधा र दर्शकको सहज समझका लागि।
सही शब्दहरू बोल्नुपर्छ।
सही पीडा देखाउनुपर्छ।
सही सीमामा रहनुपर्छ- धेरै क्रोधित नहुने, धेरै धम्कीपूर्ण नदेखिने, तर पर्याप्त पीडित देखिने।
यसैले यो सशक्तिकरणभन्दा बढी, आफूलाई ‘स्वीकार्य’ बनाउने संघर्ष हो। शाजियाले आफ्नो आवाजलाई समाज, अदालत र दर्शकहरूबाट स्वीकृति पाउने हिसाबले ढाल्नुपर्छ। फिल्मले यो प्रदर्शनलाई ‘जीत’को रूपमा प्रस्तुत गर्छ, तर वास्तवमा यो महिलाको एजेन्सीको सीमितता हो—पूर्ण स्वतन्त्रता होइन, केवल अनुमति प्राप्त स्वतन्त्रता।
फिल्मले शाजियाको शिक्षा र ज्ञानलाई उनको सबैभन्दा ठूलो शक्ति रूपमा देखाउँछ- उनले कुरान पढ्छिन्, आफ्नो अधिकार बुझ्छिन्, र अदालतमा आफ्नै शब्दले लड्छिन्। यो पक्ष सुन्दर छ र सत्य पनि।
तर फिल्मले यो सत्य छोड्छ कि शिक्षा सबै महिलासम्म समान रूपमा पुगेको छैन। वर्ग, क्षेत्र, आर्थिक स्थिति र सामाजिक अवरोधले धेरै महिलालाई यो ‘हातहतियार’बाट वञ्चित राख्छ। साथै, धार्मिक व्याख्यामा महिलाको आवाजलाई मान्यता दिन अझै धेरै ढोका बन्द छन्। धेरै समुदायमा महिलालाई कुरानको प्रामाणिक व्याख्याकार मानिँदैन। फिल्मले यो जटिलतालाई छोएको छैन; शिक्षा र ज्ञानलाई लगभग जादुई समाधान जस्तो देखाउँछ, जसले वास्तविक संरचनात्मक असमानतालाई ढाक्ने काम गर्छ।
हकले महिलाको प्रतिरोधको सुन्दर कथा प्रस्तुत गर्छ, तर यो कथा पूर्ण हुँदैन। फिल्मले पितृसत्ताको सम्पूर्ण जाल धर्म, राज्य, समाज, र बहुसंख्यक–अल्पसंख्यकको दोहोरो मापदण्डलाई पूर्ण रूपमा उजागर गर्न सक्दैन। शाजियाको जीत व्यक्तिगत स्तरमा सशक्त देखिन्छ, तर लाखौं महिलाको लागि यो विजय अझै टाढा छ, किनकि उनीहरूको लडाइँ अदालतभन्दा ठूलो साम्राज्यसँग छ।
अब्बास जस्ता पात्रहरू खुला रूपमा चिच्याउने खलनायक होइनन्। उनी सभ्य, आकर्षक र बोल्दा पनि मिठा लाग्ने, आफूलाई ‘समझदार’ ठान्ने व्यक्तित्वका हुन्। यही नै पितृसत्ताको सबैभन्दा खतरनाक रूप हो जहाँ नियन्त्रण मुस्कानभित्र लुकेको हुन्छ, हिंसा शब्दमा ढाकिएको हुन्छ, र धोका ‘परिवारको हित’को नाममा सजिलै बेचिन्छ। फिल्मले अब्बासलाई अलिकति बढी सहानुभूतिपूर्ण देखाउँछ—उनको पीडा, ‘आधुनिकता’ र ‘जिम्मेवारी’लाई पनि प्रस्तुत गर्छ। यस चयनले दर्शकलाई सोच्न बाध्य पार्छ कि सायद अब्बास पनि ‘समाजको शिकार’ हुन्।
तर वास्तविकता यही हो कि अब्बास समाजको लाभार्थी हुन्। उनी पितृसत्ताका नियम प्रयोग गरेर महिलाको जीवनलाई आफ्नो इच्छाअनुसार मोड्ने क्षमता राख्छन्। यही चरित्रले फिल्ममा शक्ति र असमानताको जटिलतालाई स्पष्ट तर सावधानीपूर्वक देखाउँछ।
अर्को चुपचाप रहने प्रश्न यो हो—मुस्लिम महिलाको कथा फेरि अरूले नै भनिदिन्छन्। शाजिया बानोको भूमिका यामी गौतमले उत्कृष्ट रूपमा निभाएकी छन्, तर फिल्मले प्रतिनिधित्वको जटिल सवाललाई बेवास्ता गर्छ। मुस्लिम समुदायको वास्तविक अनुभव बोकेका अभिनेत्रीहरूको अभावले कथालाई अलिक टाढाको, ‘देखाइने’ बनाएको छ।
यो कथा भन्नु कसको अधिकार हो? कसले भन्न पाउँछ? फिल्मले यो महत्वपूर्ण प्रश्नलाई छोएको छैन, जसले यसको फेमिनिस्ट दावीमा शंका उत्पन्न गर्छ।
हक नराम्रो फिल्म होइन। यसमा संवेदना छ। ईमानदार प्रयास छ। शाजियाको पीडा, उनको संघर्ष र अदालतमा बोल्ने हिम्मत—यी सबैले मन छुन्छन्। तर यो पूर्ण रूपमा साहसी छैन। विवाहभित्रको अन्याय देखाउँछ, तर विवाहलाई संस्थाको रूपमा प्रश्न गर्दैन।
यो व्यक्तिगत प्रतिरोध देखाउँछ, तर राजनीतिले मुस्लिम महिलाको पीडालाई कसरी चुनावी हतियार बनाउँछ र ‘उद्धार’को नाटक खेल्छ भन्ने कुरा छोड्छ। यो अल्पसंख्यक समुदायको पितृसत्तालाई औंल्याउँछ, तर बहुसंख्यक समाजको पितृसत्तालाई चुपचाप स्वीकार्छ।
शाजियाको कथा आवश्यक छ। उनको आवाज सुन्नुपर्छ। तर उनीजस्ता हजारौं महिलाहरू छन्—जसको पीडा अदालतको ढोकासम्म पुग्दैन, जसको लडाइँ फिल्मको स्क्रिप्टमा लेखिँदैन। उनीहरूको पीडा समाजको अँध्यारो कुनामा हराउँछ, राज्यको नजरबाट लुक्छ र सिनेमाको रोशनीबाट टाढा रहन्छ।
जबसम्म यी संरचनाहरू—धर्मको नाममा, कानुनको नाममा, राष्ट्रको नाममा—परिवर्तन हुँदैनन्, कुनै कानुनी जीत, कुनै फिल्मी अन्त्य, कुनै कोर्टरूमको भाषण साँचो मुक्ति बन्न सक्दैन। हकले एउटा ढोका खोल्छ, तर त्यो ढोका पूरै खुल्दैन।
शाजियाको कथा सुन्दर छ, तर यो अझै अधुरो छ। यही अधुरोपन नै फिल्मको सबैभन्दा ठूलो सत्य हो।
यो पनि-
ताजा अपडेट
चलचित्र ‘हक’को सन्देश
२३ माघ २०८२न्याय परिषद् के हो ? कहिलेदेखि सञ्चालनमा आयो ?
२३ माघ २०८२
