काठमाडौँ । पेट्रोल पम्पलाई स्वीकृत अर्डरभन्दा बढी डिजेल पठाएर रकम घोटाला गरेको अभियोगमा विशेष अदालतले नेपाल आयल निगमका गण्डकी प्रादेशिक कार्यालय प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले दाससहित ट्याङ्कर चालक निर्मल थापा र पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेललाई जनही पाँच महिना कैद र ५६ हजार ६५ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । निजहरूलाई पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि अदालतले आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध रूपमा डिजेल कारोबार गरेको अभियोगमा दोषी ठहर भएकाहरू र अन्य गरी पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । प्रतिवादी बनाइएका गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटको हकमा बदनियत राखेको वा मिलेमतो गरेको वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ ।
उनीहरूमाथि अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । कुल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो ।
आयल निगमको डिपोबाट पश्चिमाञ्चल ट्रेडर्सले २०८० साउन २५ मा १२ हजार लिटर डिजेल खरिद गर्न अर्डर स्वीकृति पाएको थियो । ट्रेडर्सको ग २ ख ८३६ नम्बरको ट्याङ्करमा अर्डर बमोजिम १२ हजार लिटर डिजेल लोड गर्नुपर्नेमा १५ हजार ३८ लिटर लोड भएको थियो ।
यसरी; स्वीकृत अर्डरभन्दा बढी डिजेल लोड गरेको ट्याङ्करलाई सिल लगाएरै डिपोबाहिर पठाइएको थियो । तर, उक्त ट्याङ्करलाई प्रहरीले पोखरा महानगरपालिका-२७ स्थित डाँडाको नाकाबाट नियन्त्रणमा लिएको थियो ।
उक्त ट्याङ्कर चेकजाँच गर्दा बिलमा लेखिएभन्दा १५ हजार ३८ लिटरभन्दा बढी लिटर डिजेल भेटिएपछि प्रहरीले छानबिन थाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्र लेखेको थियो ।
स्वीकृत अर्डरभन्दा बढी लोड भएको परिमाण बराबरको डिजेलको मूल्य चार लाख ४८ हजार ५२५ रुपैयाँ बिगो कायम गरी निजहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरी मुद्दा चलाइएको थियो ।

