डिजेल घोटाला मुद्दामा निगमका प्रदेश प्रमुखसहित तीन जना दोषी ठहर

१ फागुन २०८२

डिजेल घोटाला मुद्दामा निगमका प्रदेश प्रमुखसहित तीन जना दोषी ठहर

काठमाडौँ । पेट्रोल पम्पलाई स्वीकृत अर्डरभन्दा बढी डिजेल पठाएर रकम घोटाला गरेको अभियोगमा विशेष अदालतले नेपाल आयल निगमका गण्डकी प्रादेशिक कार्यालय प्रमुख चित्तरञ्‍जन दाससहित तीन जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले दाससहित ट्याङ्कर चालक निर्मल थापा र पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेललाई जनही पाँच महिना कैद र ५६ हजार ६५ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । निजहरूलाई पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि अदालतले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध रूपमा डिजेल कारोबार गरेको अभियोगमा दोषी ठहर भएकाहरू र अन्य गरी पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । प्रतिवादी बनाइएका गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटको हकमा बदनियत राखेको वा मिलेमतो गरेको वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ ।

उनीहरूमाथि अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । कुल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो ।

आयल निगमको डिपोबाट पश्चिमाञ्चल ट्रेडर्सले २०८० साउन २५ मा १२ हजार लिटर डिजेल खरिद गर्न अर्डर स्वीकृति पाएको थियो । ट्रेडर्सको ग २ ख ८३६ नम्बरको ट्याङ्करमा अर्डर बमोजिम १२ हजार लिटर डिजेल लोड गर्नुपर्नेमा १५ हजार ३८ लिटर लोड भएको थियो ।

यसरी; स्वीकृत अर्डरभन्दा बढी डिजेल लोड गरेको ट्याङ्करलाई सिल लगाएरै डिपोबाहिर पठाइएको थियो । तर, उक्त ट्याङ्करलाई प्रहरीले पोखरा महानगरपालिका-२७ स्थित डाँडाको नाकाबाट नियन्त्रणमा लिएको थियो ।

उक्त ट्याङ्कर चेकजाँच गर्दा बिलमा लेखिएभन्दा १५ हजार ३८ लिटरभन्दा बढी लिटर डिजेल भेटिएपछि प्रहरीले छानबिन थाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्र लेखेको थियो ।

स्वीकृत अर्डरभन्दा बढी लोड भएको परिमाण बराबरको डिजेलको मूल्य चार लाख ४८ हजार ५२५ रुपैयाँ बिगो कायम गरी निजहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरी मुद्दा चलाइएको थियो ।

सम्बन्धित खवर

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

काठमाडौँ । अमेरिकी संसद अन्तर्गत कार्य गर्ने कंग्रेसनल रिसर्च सर्भिस (CRS) ले आफ्ना देशका...

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

काठमाडौँ । यतिबेला सुन र सरकारको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । प्रधानमन्त्री र...

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । गत चैत...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...