काठमाडौँ । फागुन २१ को चुनावसँगै देश परिवर्तन भएको, नयाँ सरकार आएको अब जनताले गरिखाने वातावरण बनेको चर्चा भइरहेको छ । यहीबेला हामीले धादिङकी ५९ वर्षीषा माइती तामाङलाई चियाले भरिएको थर्मस बोकेर काठमाडौँ जिल्ला अदालत धाइरहेको अवस्थामा भेट्यौँ । र, जस नेपालको स्टुडियोमा बोलाएर उनको कथा सुन्यौँ ।
काठमाडौँ, कुलेश्वरको व्यस्त सडकछेउमा बिहानदेखि बेलुकासम्म हातमा थर्मस बोकेर माइलीले दौडधूप गर्न थालेको २५ बसन्त बितिसकेको छ । समय र संघर्षले कोरेका गहिरा रेखाहरू अनुहारमा बोकेर हिँडिरहेकी उनको जीविकाको आधार नै सडकमा चिया बेच्ने हो । तर, चिया बेचेर कमाएको पैसा ठगले खाइदिएको चार वर्ष बितिसकेको उनी सुनाउँछिन् ।
हुन त प्रतिनिधिसभाको चुनाव र माइली तामाङको कथाबीच के तादाम्य छ ? सतहबाट हेर्दा यस्तो प्रश्न उठ्न सक्छ । तर, माइली तामाङको कथा एउटा यस्तो आँखीझ्याल हो, जहाँबाट भूईँ तहका जनताको जीवनको भोगाइ देखिन्छ । समाजमा ठगहरुले कसरी सोझा सिधा जनतालाई शोषण गरेका छन् भन्ने देखिन्छ । अनि माइलीजस्तै भूईँमान्छेहरुले सरकार वा सिंगै राज्यसत्ताबाट न्याय पाउन सकेका छन् कि छैनन् भन्ने पनि देखिन्छ ।
यसपालिको चुनावमा माइलीका नातेदारहरुको १२ भोट रास्वपाकी आशिका तामाङलाई गएको छ । यसबाट थप प्रष्ट हुन्छ- सडकमा चिया बेचेर जीवनभर कमाएको सम्पत्ति ठगले खाइदिएर बुढेसकालमा पनि सडकमै बस्न बाध्य माइली तामाङहरुको राज्यप्रतिको भरोसा अझै टुटिसकेको छैन । न्याय पाउने आशा अझै मरिसकेको छैन ।
स्थानीय न्यायिक समिति र प्रहरी प्रशासनले फास्ट ट्रयाकबाट न्याय दिलाउन नसकेपछि वकीलको पछि लाग्दा ठगीको ‘फौजदारी केस’ एकाएक ‘देवानी केस’ मा परिणत भयो । माइली तामाङको गुनासो छ- म वकीलबाट पनि ठगिएँ । तर, अझै आशा मरेको छैन – अदालतले मलाई पक्कै न्याय दिनेछ।
अहिले जिल्ला अदालतमा कानुनी प्रक्रिया अघि बढिरहेको छ। कागज, तारेख र कानुनी बहसहरू आफ्नो गतिअनुसार चलिरहेका होलान्। तर अदालतका ती कागजी प्रक्रियाभन्दा बाहिर एउटा जीवन अझै प्रतीक्षामा उभिएको छ; कुलेश्वरको सडकमा, हातमा चियाको थर्मस बोकेर। प्रश्न जहाँको त्यहीँ छ,के माइली तामाङ समयमै न्याय पाउलिन् ?
आज पनि उनी अझै ऋण तिर्दै, घुँडाको पीडासँग जुध्दै, कुलेश्वरको सडकमा चिया बेचिरहेकै छिन्।
सायद यही विश्वासले उनलाई हरेक तारेखमा अदालत पुर्याइरहेको छ।
अब माइली तामाङकै मुखबाट उनको कथा सुनौँ-
ताजा अपडेट
नयाँ संसदमा ११ वकील
३० फागुन २०८२माइली तामाङको कथा : म ठगिएँ हजुर !
३० फागुन २०८२
