माइली तामाङको कथा : म ठगिएँ हजुर !

जस नेपाल

३० फागुन २०८२

माइली तामाङको कथा : म ठगिएँ हजुर !

काठमाडौँ । फागुन २१ को चुनावसँगै देश परिवर्तन भएको, नयाँ सरकार आएको अब जनताले गरिखाने वातावरण बनेको चर्चा भइरहेको छ । यहीबेला हामीले धादिङकी ५९ वर्षीया माइली तामाङलाई चियाले भरिएको थर्मस बोकेर काठमाडौँ जिल्ला अदालत धाइरहेको अवस्थामा भेट्यौँ । र, जस नेपालको स्टुडियोमा बोलाएर उनको कथा सुन्यौँ ।

काठमाडौँ, कुलेश्वरको व्यस्त सडकछेउमा बिहानदेखि बेलुकासम्म हातमा थर्मस बोकेर माइलीले दौडधूप गर्न थालेको २५ बसन्त बितिसकेको छ । समय र संघर्षले कोरेका गहिरा रेखाहरू अनुहारमा बोकेर हिँडिरहेकी उनको जीविकाको आधार नै सडकमा चिया बेच्ने हो । तर, चिया बेचेर कमाएको पैसा ठगले खाइदिएको चार वर्ष बितिसकेको उनी सुनाउँछिन् ।

हुन त प्रतिनिधिसभाको चुनाव र माइली तामाङको कथाबीच के तादाम्य छ ? सतहबाट हेर्दा यस्तो प्रश्न उठ्न सक्छ । तर, माइली तामाङको कथा एउटा यस्तो आँखीझ्याल हो, जहाँबाट भूईँ तहका जनताको जीवनको भोगाइ देखिन्छ । समाजमा ठगहरुले कसरी सोझा सिधा जनतालाई शोषण गरेका छन् भन्ने देखिन्छ । अनि माइलीजस्तै भूईँमान्छेहरुले सरकार वा सिंगै राज्यसत्ताबाट न्याय पाउन सकेका छन् कि छैनन् भन्ने पनि देखिन्छ ।

यसपालिको चुनावमा माइलीका नातेदारहरुको १२ भोट रास्वपाकी आशिका तामाङलाई गएको छ । यसबाट थप प्रष्ट हुन्छ- सडकमा चिया बेचेर जीवनभर कमाएको सम्पत्ति ठगले खाइदिएर बुढेसकालमा पनि सडकमै बस्न बाध्य माइली तामाङहरुको राज्यप्रतिको भरोसा अझै टुटिसकेको छैन । न्याय पाउने आशा अझै मरिसकेको छैन ।

स्थानीय न्यायिक समिति र प्रहरी प्रशासनले फास्ट ट्रयाकबाट न्याय दिलाउन नसकेपछि वकीलको पछि लाग्दा ठगीको ‘फौजदारी केस’ एकाएक ‘देवानी केस’ मा परिणत भयो । माइली तामाङको गुनासो छ- म वकीलबाट पनि ठगिएँ । तर, अझै आशा मरेको छैन – अदालतले मलाई पक्कै न्याय दिनेछ।

अहिले जिल्ला अदालतमा कानुनी प्रक्रिया अघि बढिरहेको छ। कागज, तारेख र कानुनी बहसहरू आफ्नो गतिअनुसार चलिरहेका होलान्। तर अदालतका ती कागजी प्रक्रियाभन्दा बाहिर एउटा जीवन अझै प्रतीक्षामा उभिएको छ; कुलेश्वरको सडकमा, हातमा चियाको थर्मस बोकेर। प्रश्न जहाँको त्यहीँ छ,के माइली तामाङ समयमै न्याय पाउलिन् ?

आज पनि उनी अझै ऋण तिर्दै, घुँडाको पीडासँग जुध्दै, कुलेश्वरको सडकमा चिया बेचिरहेकै छिन्।

सायद यही विश्वासले उनलाई हरेक तारेखमा अदालत पुर्‍याइरहेको छ।

अब माइलीकै मुखबाट उनको कथा सुनौँ-

कहालीलाग्दा दु:खका ती दिन

मेरो नाम माइली तामाङ हो । घर धादिङको खनियाबास। अहिले ५९ वर्ष पुगेँ । कुलेश्वरमा चिया बेचेको लगभग २५ वर्ष भयो । दु:ख त के बताइसाध्य हुनु । यति दुख, यति दुख पाएँ भन्ने कुरा मलाई नै थाहा छ। रुन मन लाग्छ । धादिङमा बस्ने बास थिएन । खाने गाँस पनि थिएन । त्यहाँ अर्काको जग्गा कमाएर बसेँ। बरु काठमाडौँमा एउटा डेरा लिएर बस्छु, दु:ख गरेर खान्छु भनेर म निक्लेर आएँ।

एउटा छोरा, बुढा र म तीन जना २५ वर्षअघि काठमाडौँ आयौँ । घरि वीर हस्पिटल अगाडि चिया पकाएर बसेँ। त्यहाँबाट फेरि कुलेश्वर गएँ। कुलेश्वरमा देवर बस्नुहुन्थ्यो। देवरको कोठामा बसेर ज्यामी काम गर्न गयौँ। फेरि ज्यामी काम पाइनँ । अब के गरेर खाने ? त्यहाँबाट एकजनाले भन्यो, एकजनाको घरमा राख्दिन्छु, तपाईँलाई साह्रै दुख रहेछ, त्यहीँ बुढाबुढी मान्छेको सेवा गर्नु र सेवा त्यहीँ बस्नू ।

आफूलाई दु:ख परेका बेला खान पाइन्छ र एउटा डेरा दिन्छ भने त्यहीँ बस्छु भनेँ। त्यहाँ गएँ।

भजन कीर्तन लाउनुहुँदो रहेछ बुढाबुढीले। त्यहाँ सुन्न पनि पाइने भनेर हामी खुसी भएर बस्यौँ। कोठा पानीट्याङ्कीमाथि थियो। खाट पनि थिएन। सुकुल भैदिएको भए त हुन्थ्यो, मान्द्रो जस्तो ओछ्याएर सुत्यौँ । पानी भरिँदा फ्यालेर त्यही चिसो कोठामा सुत्नुपर्ने। त्यस्तो गरेर जीवन बित्यो।

बुढाबुढीलाई कति त्यहीँ सेवा गरेर बस्ने ? बुढाले पनि भन्नुभयो, अब हामी धेरै यसरी अर्काको मात्रै चाकरी गरेर नबसौँ। अब एउटा कोठा लिएर बसौँ। अनि तिमी स्कुलमा काम गर। म पनि केही गर्छु। अनि कोठा भाडा तिरेर बसौँला भन्नुभयो।

हामी कोठा लिएर बस्न थाल्यौँ ।

संघर्ष गरेपछि बाँच्न अलिकति सहज

मैले सुत्केरीलाई तेल लाउन जाने गरेँ । स्कुलमा पनि काम गर्दै गरेँ । स्कुलमा काम गर्दागर्दै म ५ बजे त्यहाँबाट तेल लाउन दौडिन्थेँ । घरमा आइपुग्न पाएको छैन, बच्चालाई खुवाउनै पर्‍यो । पकाई तुल्याई गरेर फेरि भोलिपल्ट स्कुल ।

स्कुलमा पनि थोरै तलब दिन्थ्यो, पुगेन। त्यहाँबाट अनि फेरि लौ भएन भनेर कलङ्कीमा एकजनाले मकै पोलेको हेरेँ। सडकमा कसरी पोल्दो रहेछ भनेर हेरिरहेँ । ओदान राखेको छ, चिम्टा रहेछ, कराइ राखेको रहेछ, मज्जाले पोल्यो। मैले पनि गरेर खानु त नहुने हैन होला नि त। त्यहाँबाट भोलिपल्टै मकै ल्याएँ र पोल्न थालेँ।

स्कुलको काम छँदाछँदै मकै ल्याएँ। राति नै गएर मकै लिएर आउँथेँ। मकै राखेर चिया पनि पकाउन थालेँ । चिया बेचेर तुरुन्तै पौने ९ मा स्कुल छिरिसक्थेँ। स्कुल ५ बजे छुट्थ्यो, त्यहाँबाट कुदेर आएर मकै पोल्थेँ। त्यहाँ दुनियाँ साराले देखेको छ । त्यस्तै गर्दै गएँ।

निरक्षर भएको हुनाले मैले हिसाब गर्न जानेकी थिइनँ। मकै पनि दिने, पैसा पनि दिने। एकजना सुशीला भन्ने थियो, त्यहीँ डेरा गरेर बसेकी, उसले हिसाब सिकाइदिई। यति दिने, यति फिर्ता गर्ने, यति आफूलाई राख्ने भनेर सिकाइन्। त्यहाँदेखि मैले बुझ्दै आएँ । अनि अलिकति सुख भनौँ न, खानलाई चाहिँ पुग्यो। स्कुलबाट आएको तलब मैले सिर्फ कोठा भाडा तिर्थेँ। न लाउनु छ, न खानु छ। त्यसै गरेर दौडी दौडी त्यस्तो दु:ख गरेको कुलेश्वरमा सबैले देखेकै छ।

यसरी गाउँमा पनि अर्कैको घरमा बसेर मैले अर्कैको बारी कमाएँ । अर्काको घरमा बसेँ । कुलेश्वर आइपुगेर पनि मैले अति दुख पाएँ । ज्यामी काम गरिनँ कि, अर्काको घरमा भाँडा माझिनँ कि, अर्काको घरमा लुगा धोइनँ कि।

अलिअलि कमाएको पैसा दियो फाइनान्समा जम्मा गर्न थालेँ । मैले काम गर्ने मित्र स्कुलकी मिसले सबै पैसा घरमा नलैजाऊ भन्नुहुन्थ्यो। मिता मिस अझै पनि जिउँदै हुनुहुन्छ। उहाँले ५ रुपैयाँ आए पनि त्यही खातामा, १ रुपैयाँ आए पनि त्यही खातामा। ‘तिम्रो बुढेसकालको लागि चाहिन्छ’ भन्नुभयो। त्यसरी जम्मा पार्दिनुभयो।

त्यसरी जम्मा पार्दिनुभएपछि मैले पनि अब केही गर्छु भन्ने भयो । भाइले दुई लाख रुपैयाँ हाल्दे भन्यो । दुई लाख रुपैयाँ हाल्दिएँ। भाइले थपेर बुझाइदियो। त्यसो गर्दैगर्दै अनि आफूले पनि अलिअलि जम्मा गर्दै गरेँ। त्यसरी २० वर्षमा अलिकति पैसा जम्मा भयो । भाइले जग्गामा लगानी गर्थ्यो । जग्गाबाट अलि बढी आएको पैसा उसले मलाई नै दियो। त्यसो गर्दैगर्दै १८-१९ लाख जति जम्मा भएको थियो।

ठगले खोलामा फसायो

एउटा मान्छे कुलेश्वरमा सधैँ चिया खान आउँथ्यो । त्यसलाई मैले चिनेको पनि त्यहीँ चिया खाना आउँदा नै हो । त्यो चिया खाना आएको चार वर्षजति भएको थियो । उसले भनिरहन्थ्यो, आज पनि जग्गा लिन्छौ कि भनेको । भोलि पनि आउने, जग्गा लिन्छौ कि भनेको। कस्तो राम्रो ठाउँमा जग्गा छ, तिमीले नलिएदेखि म लिन्थेँ, मेरो जग्गै बिकेन। माथितिर मेरो जग्गा छ भन्यो उसले।

उसले सधैँ त्यसो भनिरह्यो। मैले चुप लागिरहेँ। मेरो जग्गा लिने औकात नै थिएन।

उसले एकदिन भन्यो, तिमीलाई फाइदा गराइदिन्छु भनेकै हो। तिमीलाई जग्गा लिऊ भन्दाखेरि नलिने। के खालको तिमी ? तिमीले त्यो पैसा बैंकमा राखेर तिम्रो के बढ्छ ? जग्गामा हाल त, तिम्रो एक-डेढ करोड हुन्छ। त्यो बेचिसकेपछि सानो कोठा लिएर चिया पसल चलाउ, यस्तो दु:ख गरेर नबस।

मलाई पनि हो जस्तो लाग्यो । साँच्चै पत्याएँ मैले । हुन्छ नि त भाइ तैँले गर्दिन्छस् भने म पनि नाइँ भन्दिनँ भनेँ । बीचमा खुट्टा झिकिस् भने मैले मर्नुपर्छ, तेरो दैलामा आएर झुन्डिएर मर्छु भनेँ ।

तर, त्यसले मलाई फसाएको रहेछ। फसाएको भन्ने ठानेकी थिइनँ । मैले उसको विश्वासमा पैसा फसाएँ । जहाँ भएपनि, जसरी भएपनि मेरो आँसुले उसले बाटो नि पाउँदैन। मेरो पसिनाले….

उसले बुढानीलकण्ठमा जग्गा छ भनेर देखाउन लग्यो । बाटो भएको जग्गा देखायो। ल ठिकै छ नि त राम्रै छ भनेँ। छोराले पनि आमा जग्गा त ठिकै छ भन्यो । हामीले विश्वास गर्‍यौँ । पहिला उसले लालपुर्जा ल्याएर दियो। तिमीलाई विश्वास लाग्दैन भने लौ लालपुर्जा भनेर मलाई हातमा हाल्दियो। अब विश्वास नगर्ने कसरी ? लालपुर्जा हातमा हाल्दिसकेको छ। अब कहाँको हाल्दियो भन्ने कुरा बुझ्नुपर्ने, मैले पनि बुझ्न नजानेको। तारकेश्वरमा गएर मैले १० लाख रुपैयाँमा बैना गरेँ।

बैना गरिसकेपछि ल यो जग्गा त सस्तोमा पाएको, अरूलाई बेच्ला भन्ने डर भइसक्यो। छिटो पास गर भनेर कराउन थाल्यो। अनि मैले वल्लो घरकी मीरा भन्नेसँग १० लाख रुपैयाँ ऋण लिएँ। ५ लाख रुपैयाँ देवरसँग लिएँ। जम्मा २५ लाख तिरेर मैले जग्गा पास गरेँ।

मैले अहिलेसम्म त्यो ऋण तिर्न सकेकी छैन। मैले ब्याज हालिराखेको छु। बैंकको ब्याज कति चल्छ, त्यही दरले हालिराखेको छु । चिया पनि बेचिराखेकी छु। कहिले यताबाट ऋण गर्छु। कहिले उताबाट ऋण गर्छु। सुनको रिङ पनि बेचेँ । भएभरको सबै सिध्याइसकेपछि अब विकल्प मेरो केही पनि छैन।

चार वर्षपछि ठगिएको थाहा भयो

जग्गा किनेको लगभग चार वर्ष भयो । अहिले घुँडाको अप्रेसनका लागि जग्गा बेच्नुपर्ने भयो । तर, अस्ति मङ्सिरमा जग्गा बेच्नका लागि सरकारी नापी लिएर जाँदा मात्रै थाहा भयो, बाटोको जग्गा देखाएर खोलामा लगेर हाल्दिएको रहेछ। विष्णुमतीको खोलामा। जग्गा बाटोको देखायो, खोलाको जग्गा पास गर्दियो ।

झट्टै कता जाने के गर्ने मलाई केही थाहा थिएन। मैले उसलाई फोन गरेर भनेँ, तिम्रो जग्गा जस्ताको तस्तै छ, तिमी मेरो पैसा फिर्ता ल्याऊ। मेरो उपचार गर्नु पर्‍यो। तिम्रो जग्गा तिमीलाई फिर्ता गर्दिन्छु। मेरो उपचार गर्नुपर्‍यो ।

उसले मसँग पैसा छैन, सबै खर्च भइसक्यो, एक रुपैयाँ पनि छैन भन्यो। अब फोन गर्‍यो भने मरे पनि उठाउँदैन। जग्गाधनी मिजार हो, अहिले भागेको दलालचाहिँ लावट हो । यिनीहरूले मिलेरै यो बदमासी गरेका रहेछन् । एकजना मात्रै हैन, चार–पाँच जना मिलेको रहेछ।

न्याय माग्दै प्रहरी परिसरदेखि नगरपालिकासम्म

शुरुमा म प्रहरी परिसरमा गएँ। प्रहरीले उनीहरू दुईजनालाई बोलायो। परिसरले ‘यो बिचरा बुढीमान्छेको खानु हुँदैन, खुरुक्क पैसा फिर्ता गर’ भन्दाखेरि ‘छैन हजुर मेरो के फिर्ता गर्नु?’ भनेर उनीहरू त्यत्तिकै गए।

मैले निवेदन हालेँ। निवेदन हालेपछि हाकिमले ‘तपाईँको हदम्याद कटेछ, हामीलाई अलिकति अप्ठ्यारो हुन्छ, तपाईँ वडा कार्यालयमा जानु, वडाबाट सिफारिस लिएर आउनु’ भनेर पठाउनुभयो। बुढानीलकण्ठ नगरपालिकाबाट पनि नापेर हेरे ।

नगरपालिकाले बुढीआमाको यस्तो गर्नु हुँदैन देऊ, तिमीहरूले झुक्याएकै रहेछ खुरुक्क फिर्ता देउ भन्दाखेरि मसँग पैसा छैन भनेपछि उनीहरूले लेखेर अनि प्रहरी परिसरमा पठाइदियो।

आशिका तामाङसँग भेट भयो

एक दिन आशिका तामाङ गाडी लिएर आइराख्नुभएको रहेछ। मैले आफ्नो समस्या सुनाएपछि ल म भोलि आउँछु भन्नुभयो। भोलिपल्ट स्कुटरमा आउनुभयो। उहाँले चिया पनि खानुभयो । मेरो बयान पनि लिनुभयो। सकेसम्म म तपाईँलाई न्याय दिलाएरै छोड्छु भन्नुभएको छ, अब हेरौँ आशा बोकिराखेकी छु।

अहिले सांसद पनि हुनुभयो। हामीले धादिङ गएर भोट पनि हाल्यौँ। हाम्रो १२ भोट उहाँकै नाममा गएको छ। मैलेचाहिँ नामावलीमा नाम राखेको रहेनछ, पाइनँ । तर मेरो बुढो, ससुरा सबैजनाले १२ भोट उहाँलाई  दिए। आशा छ, अब उहाँले पनि केही न्याय दिनुहुन्छ कि ? अब सांसद भइसक्नुभयो, सांसद नभई भेट्नुभएको थियो । उहाँले भिडियो पनि बनाउनुभएको थियो । उहाँलाई धेरै धेरै धन्यवाद छ। धेरै धेरै प्रगति होस्। म बुढी आमाको आशिष लागोस्।

यो पनि-

अदालतका कर्मचारीले नै टेरेनन् न्यायाधीशलाई !

वकीलले पैसा मागेर बीचैमा धोका दिए

प्रहरी परिसरबाट म रुँदै निस्किएकी थिएँ, एकजना नचिनेको पुरी थरको वकीलले किन रुनुभएको आमा भनेर सोधे । उसले मुद्दा परेको मान्छे खोज्दै हिँडेको थियो होला। म रुँदै बाटोमा थिएँ।

उसले म वकील हुँ। तपाईँलाई म निशुल्क मुद्दा हेर्दिन्छु, एक पैसा दाम लाग्दैन भन्यो । तर, अहिले आएर २९ हजार लियो र फेरि ७० हजार दियौ भने तिम्रो मुद्दा दर्ता हुन्छ नभए हुँदैन भन्यो। मलाई यसरी बीचमा ल्याएर चटक्कै छाडिदियो । मैले न लेख्न जानेको छु न पढ्न । मलाई चटक्कै लाएर छोड्दियो। यस्ता पनि हुँदा रहेछन् मान्छेहरू। वकील पनि यस्तो भेटेँ मैले ।

अहिले काठमाडौँ जिल्ला अदालतमा मुद्दा छँदैछ । अहिलेसम्म तारिख धाइराखेकी छु । के गर्नु, दु:खीलाई दुखै मात्र हुँदोरहेछ । सबैले दुखै दिँदो रहेछ। यस्तो चाहिँ शत्रुलाई पनि नपरोस्। यसरी झुक्याएर चाहिँ कसैले नखाओस्। तिनीहरूले आज पो तिर्नु पर्दैन त, भोलि त तिर्नु पर्ला नि । यस्तो गरेर झुक्याएर खानु चाहिँ गुहु खाएको बराबर हो ।

डाक्टरले मेरो घुँडाको उपचारमा चार लाख रुपैयाँ लाग्छ भनेका छन्। अब त्यो चार लाख रुपैयाँ जुटाउनलाई मैले गरेको कमाइ फसेको जग्गा बेचेर उपचार गर्छु भन्दा पनि पाइएन ।

अलिकति छिटो न्याय भयो भनेदेखि मलाई केही सहज हुन्थ्यो कि भन्ने मलाई आशा लागिरहेको छ। मैले न्याय पाउँछु, जीवन जिउन पाउँछु भन्ने आशा लागिरहेको छ। यही भएर म अदालत धाइराखेकी छु।

भिडियो-

 

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी...

सप्राइज ट्राफिक चेकिङ : २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ७२२ सवारी चालक कारबाहीमा

सप्राइज ट्राफिक चेकिङ : २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ७२२ सवारी चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई...

फरार कैदी रुपन्देहीबाट पक्राउ

फरार कैदी रुपन्देहीबाट पक्राउ

भैरहवा । सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको...

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको...