भक्तपुर । नेपालभरिका अदालतहरुमा अभ्यारत् कानून व्यवसायी महिलाहरुको ३२ औं राष्ट्रिय सम्मेलन भक्तपुरमा शुक्रबारदेखि शुरु भएको छ ।
‘महिलाको समावेशी सहभागिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता’ मूल नारा रहेको राष्ट्रिय सम्मेलनको उदघाटन शुक्रबार बरिष्ठ न्यायाधीश सपना प्रधान मल्लबाट हुने आयोजकले बताउका छन् । सम्मेलनको समापन शनिबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गर्ने पूर्वनिर्धारित कार्यसूची छ ।
उदघाटन कार्यक्रम शुक्रबार भक्तपुरको नगरकोट रोड, भत्केको पाटीस्थित ख्वप बैंक्वेटमा हुनेछ भने समापन कार्यक्रम शनिबार भक्तपुर जिल्ला अदालतको सभाकक्षमा हुनेछ ।
राष्ट्रिय सम्मेलनमा नेपाल बार एशोसिएसनका तर्फबाट प्रतिवेदनहरु पेश हुने जनाइएको छ । सम्मेलनले विगतमा जस्तै समसामयिक विषयमा घोषणापत्र जारी गर्नेछ ।
सम्मेलनको उदघाटनको दिन विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा भेला भएका कानून व्यवसायीहरुले भक्तपुरमा प्रभातफेरी गरेका छन् ।



