मान्छे–मान्छेबीच विभेद गर्ने कानून

वि.सं. १९१० को मूलुकी ऐनमा जातीय विभेद र छुवाछुतले प्रोत्साहन पाएकोमा वि.सं. २०२० भदौ १ गते संशोधन गरी कानुनी रुपमा जातीय भेदभाव र छुवाछुतको अन्त्य भएको घोषणा गरिएको थियो । त्यसैले कतिपय दलित उत्पीडित समुदायले भदौ १ गतेलाई मुक्ति दिवसमा रुपमा पनि सम्झने गरेका छन् । तर, त्यतिबेला पनि अदलको १० नम्बरमा सनातनदेखि चलिआएको परम्परा र रितिस्थितिलाई भेदभाव मानिने छैन भनेर लेखिएको थियो । त्यसैले पञ्चायतकालभरि छुवाछुत गरेको अपराधमा एकैजना ब्यक्ति पक्राउ परेनन्।

१० चैत २०८२

मान्छे–मान्छेबीच विभेद गर्ने कानून

यतिखेर मेरो आँखा राजा राजेन्द्रविक्रम शाहको समयमा जारी एउटा रुक्कामाथि परेको छ । यो रुक्का तत्कालीन माझकिरात खण्डका बासिन्दाका नाममा जारी भएको हो । त्यो समय सरकारले सञ्चालन गरेको बारुद वा हतियार कारखानालाई प्रत्येक घरले अनिवार्यरुपमा जनावरको छाला बुझाउनु पथ्र्यो । यस्ता कारखानाहरुलाई म्यागेजिन अड्डा भनिन्थ्यो र त्यस्ता कारखानामा तिर्नुपर्ने करलाई म्यागेजिन कर भनिन्थ्यो ।

वि.सं.१८८८ कात्तिक सुदी १४ रोज ६ मा दुधकोशी र बहादुरा खोला पूर्व र अरुण पश्चिमका बासिन्दाहरुको नाममा जारी भएको यो रुक्कामा डिगा (मरेको गाई वा गोरु), भैंसी, बाघ, भालु, मृग तथा जरायोको छाला अनिवार्यरुपमा बुझाउनु र छाला बुझाउन नसके प्रत्येक घरले दुई आनाको दरले दाम बुझाउनु भन्ने आदेश जारी गरिएको छ ।

रुक्कामा लेखिएअनुसार यसरी दाम बुझाउनुपर्ने जातिमा भोटे, राई, मझिया, किराती, मुर्मी उल्लेख छ । तर, यहीँ रुक्कामा सार्की र कामी जातिका प्रत्येक घरले आठ आनाको दरले दाम बुझाउनुपर्ने उल्लेख छ । अर्थात् जोसँग सीप छ, जसले श्रम गर्छ उनै जातिको घरलाई नै अन्य जातिको तुलनामा चार गुना कर तिर्नुपर्ने बाध्यता थोपरिएको ऐतिहासिक प्रमाण हो, यो रुक्का ।

लिखित कानुन नभएको त्यो समयमा राजाबाट जारी हुने लालमोहर वा रुक्कामा उल्लेख गरिएको आदेश नै कानुन हुन्थ्यो । युगौँदेखि पानीबाहेक गरिएका यिनै समुदाय आर्थिक रुपमा पनि कति शोषित थिए भन्ने थाहा पाउन इतिहास अध्ययन गर्नै पर्छ।

मान्छे कुल्चने ढुङ्गा ढोग्ने समाज

अब गरौँ ढुङ्गाको, त्यो पनि पशुपतिनाथको मन्दिरभित्र रहेको ढुङ्गाको कुरा ।

राणा शासक चन्द्रशमशेरको समयमा उनको दरबारमा एक पटक विद्वानहरुबीच शास्त्रार्थ हुँदा त्यहाँ पशुपतिको यहीँ ढुङ्गाको विषयको विषयले पनि प्रवेश पाएको थियो । नेपालका त्यतिखेरका दरबारिया बडागुरुज्यू प्रयागराज पाण्डेको समूह एकातिर थियो भने उनीहरुसँग आर्यसमाजी माधवराज जोशी एक्लै भिडिरहेका थिए । माधवराजले मूर्तिपूजाको विरोधमा बोले । शास्त्रार्थमा तर्कले खण्डन गर्न कस्सिएका प्रयागराज माधवराजमाथि भौतिक आक्रमणमा पो ओर्लिए । उनले चन्द्रशमशेरसँग आज्ञा मागे,“महाराज, नेपालमा राजादेखिन् मानिआएको पशुपतिनाथलाई ढुङ्गा भन्नेलाई कुट्न पाऔँ ।”

त्यसपछि माधवराजमाथि प्रयागराजलयायतका पण्डितहरुले पिट्न थाले । लौराले पिट्दा उनको टाउको फुट्यो । सेतो बरखी बारेको लुगामा रहेका माधवराज रक्ताम्य भए । उनी मर्ने सम्भावना भएकोले बल्ल चन्द्रशमशेरले पिटाई रोक्ने हुकुम दिए (डा. राजेश गौतम, “नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजा–परिषदको भूमिका” भाग १–२०६२ः३०) ।

आफ्ना छोरा शुक्रराज शास्त्रीले वि.सं. १९९७ मा राणाहरुबाट मृत्यूदण्ड पाउँदा माधवराजले गौरव गरेका थिए । उनले आफ्ना छोरा शुक्रराजलाई झुण्ड्याइएको टेकु पचलीको खरीको बोटमा तीन पटक परिक्रमा गर्दै भनेका थिए, “स्यावास बेटा तुमने कमाल कर दिया । तुम धन्य हो । तुमले मां बापका नही नहीं देशका ही गौरव बढाया । बेटा होना तो ऐशा ही होना ” (गौतम, २०६२ः१७३) ।

मान्छेलाई कुल्चिएर ढुङ्गा ढोग्नेहरुको देशमा कसैले छोएको पानी चल्छ, कसैले छोएको पानी चल्दैन । आज पनि चन्द्रशमशेरको समयका प्रयागराजजस्ता पुरेतहरु लौरो उझ्याइरहेछन्, मानिसलाई पिटिरहेछन् ।

दलितहरुलाई अन्य जातिभन्दा चार गुना बढी कर असुल्न जारी गरिएको रुक्का

भनिसाध्यै छैन, लेखिसाध्यै छैन, यस्ता कथा ब्यथाहरु । एक छाक गर्जो टार्न नसकेर भोकभोकै रात काट्ने जनहरु छन् । पढ्न नपाएर अध्यारो भविष्यतिर लम्किरहेका बालबच्चाहरु छन् । तर सिंहदरबारमा गरीबको नाममा राजनीति चलिरहेकै छ । हुँदाहुँदा पशुपतिनाथमा रहेको त्यहीँ ढुङ्गालाई क्विन्टल सुनको जलहरि चढाउने कमाउनिस्ट जनैवादीहरु पनि हाम्रै देशमा देखा परे ।

मानवमर्यादा हराएको देशमा मनुस्मृतिका श्लोकहरु घोक्दै शासनसत्ताको सूत्र निर्माण गरिरहेका पुरेतहरुबाट शासित यो देशमा दलन र उत्पीडनको कथा भयावह छ । आफ्ना बाहुन बाले दमिनी आमा विहे गरेर आफ्नो जन्म भएपछि भोग्नु परेको पीडा गाउँदै हिड्नु परेको छ, एसकुमारहरुले, “नआऊ मेरो सामुन्ने तिमी मैले छोएको पानी चल्दैन…।”

पुरेतहरुले भगवान मानेर पुज्दै आएको ढुङ्गालाई ढोग्न पनि पाइरहेका छैनन्, यहाँका लाखौं लाख सिल्पी समुदायले । उनै सिल्पीहरु ढुङ्गालाई देवाकृतिमा ढालेर सुन्दर मूर्तिको सिर्जना गर्छन् । तर त्यहिँ मूर्तिलाई पूजा गर्न पाउँदैनन् उनीहरु ।

युगौंदेखि दलन र उत्पीडनको जाँतोले पिसिदै आएका उनीहरुले आफ्नो पहिचानलाई दलित र उत्पीडितका रुपमा प्रस्तुत गरेर मुक्तिको कोरस गाएको पनि धेरै भयो, तर पुरेतशास्त्रबाट निर्देशित यो देशका मन्दिरहरुमा पनि उनीहरुको प्रवेशलाई निषेध गरिएको छ ।

यसबारे इतिहास खोतल्न राजा राजेन्द्रविक्रम शाहको समयमा जारी गरिएको एउटा लालमोहरलाई अगाडि सारौं ।

राजा राजेन्द्रविक्रम शाहको समयमा वि.सं. १८८५ चैत वदी ६ रोज ५ मा जारी गरिएको लालमोहरमा पशुपतिनाथको मन्दिरमा कुन जाति पस्न हुन्छ, कुन जाति पस्न हुँदैन भन्ने किटान गरिएको छ ।

डा. गोविन्द टण्डनले आफ्नो कृति “पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन” (दुई भाग) अभिलेख खण्ड (२०५६ः ४६३) मा प्रकाशित गरेको लालमोहरमा “हीण्डुः जातका पानी चलने जातले र पाहाड्का तामां भोटेलेः चढी दर्शन गर्न हुन्छ । हीण्डु पानी नचलने जातमा कामकाजले जाहासम्म गै काम गर्नुपर्छ ताहाँसम्म कसाही कुसले जातसम्मले र थाक्स्या भोटेले बाहिरका ढोकाभित्र देवलबाहेक चोकसम्म जान हुन्छ सीढीमा चढ्न हुँदैन अरु पोडे च्यामखलक कामी सार्की दमाई भाड वादी र हिन्डु बाहेकका पानी नचलने जातले चोकका बाहिरी ढोकाबाट भित्र जान हुँदैन…” भन्ने उल्लेख छ ।

इतिहासको यस प्रसङ्गमा दलितहरुले पशुपतिनाथ प्रवेशका लागि पटक–पटक आन्दोलनमा उत्रनु परेको घटना स्मरणीय रहेको छ ।

विभेदलाई वैधानिक बनाउने थिति

छुवाछुतजन्य जातिभेद प्रथालाई संहितावद्ध बनाएर कानुनी मान्यता दिने देश हो, नेपाल । यसबारे थाहा पाउनै पर्छ, यसको इतिहास खोतल्नै पर्छ ।

जयस्थिति मल्लले १४ शताब्दिमा चार वर्ण र ३६ जातको ब्यवस्था गरी उनीहरुको काम कर्तब्य तथा दण्ड सजायको थिति बाँधिदिए ।

उनले बनाएको कैयौं थितिमध्ये ब्राह्मण महिला गैरब्राह्मणसँग गए के सजाय गर्ने भन्ने सन्दर्भलाई एउटा उदाहरणको रुपमा प्रस्तुत गर्दा पनि जातिभेदको ठूलो खाडल तयार पारिएको स्पष्ट हुन्छ । त्यहाँ “…पोइ हुन्या ब्राह्मणीसँग छेत्री गयो भन्या खोलापार लैजाई चाण्डालका हातले एकैचोटमा मन्र्यागरी हानी मार्नू…पोइ हुन्या ब्राह्मणीसँग वैश्य गयो भन्या लिंग काटी दिनु सुन सिंही रुपैया १२० दंड … पोइ हुन्या ब्राहृमणीसँग शुद्र गयो भन्या लिंग काटी खुवाई चाण्डलको हातले कटाउनू…” भन्ने उल्लेख छ (देवीप्रसाद लंसाल (सम्पा.), “भाषा वंशावली” भाग २–२०२३ः४५) ।

हुँदा हुँदा जङ्गबहादुर राणा खास शासक भएका बेला राजा सुरेन्द्रविक्रम शाहको समयमा लिखितरुपमै वर्णब्यवस्थालाई कानुनी मान्यता प्रदान गरियो ।

मूलुकी ऐन १९१० मा “उपल्ला जातदेषि पोढ्या तकको जुठो षानाले सबै जातभन्दा सानु च्याम्हा षलकको जात, अरुको जुठो षान्या च्हाम्हा षलकको हातको नषान्या हुनाले च्याम्हा षलक भंदा ठूलो पोढ्याको जात…पोढ्याभन्दा ठूलो वादिको जात, वादि भंदा ठूलो गाइन्याको जात, गाइन्या भंदा ठूलो दमाईको जात, दमाइ भंदा ठूलो कडाराको जात, कडाराभन्दा कामि सार्कीको ठूलो जात, कामि दमाइ सार्की भंदा ठूलो कडाराको जात” भनी स्पष्ट रुपमा वर्णब्यवस्थामा आधारित जातिभेदलाई कानूनी रुपमा संस्थागत गरियो (प्रा. डा. जगदिशचन्द्र रेग्मी, “नेपालको वैधानिक परम्परा”–२०७७ः११२–१३ ) ।

मूलुकी ऐन आउनुुअघि वि.सं. १९०१ मा पनि “श्री ५ महाराजाधिराजबाट तजवीज हुदा ठह¥याका आजकल पानी नचलन्या जातको तपसील्” भन्दै नेपालका २४ जातलाई यस्तो सूचीमा राख्दा तीमध्ये सबैभन्दा सानो च्यामाखलक् र सबैभन्दा ठूलो कसाहीको जात भनी उल्लेख गरिएको छ (महेशराज पन्त, “पूर्णिमा” पूर्णाङ्क ७९–फागुन २०४७ः४३–४४) ।

वि.सं. १९१० मा ल्याइएको मूलुकी ऐनमा जातीय विभेद र छुवाछुतले प्रोत्साहन पाएकोमा वि.सं. २०२० भदौ १ गते संशोधन गरी कानुनी रुपमा जातीय भेदभाव र छुवाछुतको अन्त्य भएको घोषणा गरिएको थियो । त्यसबेला सार्वजनिक स्थलमा छुवाछुत र भेदभाव गर्न पाइने छैन भन्ने उल्लेख थियो । त्यसैले कतिपय दलित उत्पीडित समुदायले भदौ १ गतेलाई मुक्ति दिवसमा रुपमा पनि सम्झने गरेका छन् ।

तर, त्यतिबेला पनि अदलको १० नम्बरमा सनातनदेखि चलिआएको परम्परा र रितिस्थितिलाई भेदभाव मानिने छैन भनेर लेखिएको थियो । त्यसैले पञ्चायतकालभरि छुवाछुत गरेको अपराधमा एकैजना ब्यक्ति पक्राउ परेनन् ।

यसरी मुक्तिको नाममा शासकले गजबको छारो हालिदिएको थियो ।

मनुस्मृति के भन्छ ?

पुरेतहरुले घोकाएको मनुस्मृतिअनुसार ब्रह्माले सृष्टि बढाउन (वा चलाउन) मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय र तिघ्राबाट वैश्यको अनि गोडाबाट शुद्रको जन्म गराएको रे !
मुख, हात, तिघ्रा र गोडाबाट पनि मानिसको जन्म हुन्छ ?

शुद्रहरुलाई सजाय गर्ने संहिता पनि मनुस्मृतिले निर्माण गरिदिएको छ । यसमा द्विज (ब्राह्मण, क्षत्रीय र वैश्य)लाई गाली गलौज गर्ने शुद्रको जिव्रो काट्नू । घमण्ड गरी द्विजको नाम, गोत्र आदि अपमानजनक तरिकाले बोल्ने शुद्रको अनुहारमा दाग बस्ने गरी दश अमल लामो तातो फलामको किलाले डामी दिनू, जसले गर्दा त्यो दाग अरुका लागि शिक्षाप्रद हुने गरोस भन्दै ब्राह्मणलाई धर्मसम्बन्धी उपदेश दिने शुद्रको मुख र कानमा राजाले तात्तातो तेल हालिदिनू भन्नेसम्मको उल्लेख मनुस्मृतिमा गरिएको छ ।

शिल्पी समुदायलाई मनुस्मृतिले हेप्न पनि कतिसम्म हेपेको छ भने उनीहरुलाई विद्या र बुद्धिबाट वञ्चित गर्नुपर्ने संहिता नै निर्माण गरिदिएको छ । यसमा शुद्रलाई कुनै प्रकारको सल्लाह, धर्मोपदेश, व्रत अनुष्ठान विधिका बारेमा उपदेश नदिनू, शुद्र नजिकै अस्पष्टसँग पनि वेद पाठ नगर्नू भन्ने उल्लेख छ ।

यस्ता काम नलाग्ने र कुनै पनि विज्ञानले पुष्टि गर्न नसक्ने मनुस्मृतिलाई जातिभेदविरोधी भारतीय नेता भीमराव आम्बेडकरले सन् १९२७ डिसेम्बर २५ (वि.सं. १९८४ पुस १० गते) जलाइदिएका थिए ।

मनुस्मृतिलाई वर्ण ब्यवस्थाविरोधीहरुले तारो बनाउँदै आएकोमा अम्बेडकर मनुस्मृतिको विरोधमा अग्रगण्य भएर निस्केका थिए । तर महात्मा गान्धीले आफू वर्ण ब्यवस्थाको विरोधी हुँदाहुँदै मनुस्मृतिमा लेखिएका सत्य र अहिंशासँग मिल्ने कुरा कायमै राख्नपर्छ र अरु चाहिँ अस्वीकार गर्नुपर्छ भन्ने दलील गरी अम्वेडकरले पुस्तक जलाएकोमा त्यसको घोर विरोध गरेका थिए (महेशराज पन्त, “हिमालखबर”– २०७९ जेठ २७) ।

यस्ता स्मृति, वेद र पुराणहरु घोकाउने पुरेतहरुलाई सोध्न मन लाग्छ, यदि सक्छौ भने बेद पढेर फलाम पगाली देखाऊ !

निहुरिएको हाम्रो शीर

आफ्नो श्रम र सीपले नेपाली माटोलाई छपक्क भिजाएर उन्नत बनाउन दमाईहरुले पसिना बगाएको युगौँ भयो । बिसे नगर्चीको चर्चा गरेर नथाक्नेहरुले उनै बिसेका सन्तानलाई परिणाममुखी न्याय दिने काममा भने सिन्को भाँचेको देखिँदैन । उनीहरुकै सिल्पी हातले सिलाएको लुगाले आफ्नो इज्जत मात्रै ढाकिँदैन, उनीहरुले सिलाएको टोपी लगाएर शान बढाउनेहरु उनै टोपी सिलाउनेहरुलाई आफ्नो पाउले दबाएर राख्छन् । उनीहरुको पाउले थिचिएर आज मानव मर्यादा निस्सासिएर बाँचेको छ, नेपालमा ।

विश्व मानचित्रमा सगरमाथाको देश भने गौरव गरेर के गर्नु ? जातिभेद र छुवाछुतका कारण नेपालका इज्जत रसातलमा पुगेको छ ।

सम्बन्धित खवर

युद्ध रोक्न इरानका तीन सर्त : दलदलबाट उत्रिएलान् ट्रम्प ?

युद्ध रोक्न इरानका तीन सर्त : दलदलबाट उत्रिएलान् ट्रम्प ?

काठमाडौँ । इरानको खनिज कब्जा, परमाणु कार्यक्रम स्थगन र इजरायलको क्षेत्रीय प्रभुत्व विस्तार गर्ने...

प्रधानमन्त्रीज्यू, सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

प्रधानमन्त्रीज्यू, सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

सम्माननीय प्रधानमन्त्रीज्यू, म आज पनि त्यो दिन सम्झन्छु, राज्यविहीनताको जटिल अवस्थाबाट देश गुज्रिरहेको बेला...

अमेरिका-इरान युद्ध : एक महिनाको टाइमलाइन

अमेरिका-इरान युद्ध : एक महिनाको टाइमलाइन

अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति अहिले नाजुक अवस्थामा छ। हरेक दिन नयाँ घटनाले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई...

नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता : ऐतिहासिक सन्दर्भ र चुनौती

नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता : ऐतिहासिक सन्दर्भ र चुनौती

काठमाडौँ । दशकौँ लामो वार्ता र छलफलपछि फागुनको पहिलो साता नेपाल र भारतबीच पारस्परिक...