बाँके । बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैंकिङ कसुरका १९, ठगीका १४, सहकारी रकम हिनामिना एक तथा नेपाल राष्ट्र बैंकअन्तर्गतका कसुरका दुई मुद्दा रहेका छन् ।यस्तै, अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ कुल १४४ मुद्दा दर्ता भएका छन् ।
तीमध्ये जघन्य तथा गम्भीर अपराधका नौ मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । उनका अनुसार सामान्य अपराधका ८४ तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी १५ मुद्दा दर्ता भएका छन् ।
प्रहरीले चालु मुद्दाका प्रतिवादीमध्ये १२६ जनालाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनतर्फ ८० जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ १०५ उजुरी परेकामा १०३ वटा फछ्र्योट भएका छन् ।
घरेलु हिंसातर्फ ६३ वटा मुद्दा दर्ता भएकामा ६१ वटा मिलापत्र गरिएको छ भने बाँकीलाई अदालत पठाइएको छ । प्रहरीका अनुसार एक महिनामा ८४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी तीन जनाको मृत्यु, २३ जना गम्भीर घाइते र ११९ जना सामान्य घाइते भएका छन् । राजस्व चुहावट तथा भन्सार छलीतर्फ रु २१ लाख १४ हजार ७०७ बराबरको रकम तथा दुई जना व्यक्ति र पाँच सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विपद् व्यवस्थापन, अवैध मदिरा नियन्त्रण, प्राकृतिक सम्पदा दोहन नियन्त्रण, अवैध पशु चोरी-पैठारी नियन्त्रण तथा अवैध वन पैदावार चोरी–निकासी नियन्त्रणतर्फ पनि विभिन्न उपलब्धि हासिल गरेको जनाएको छ ।

