शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो हुनेछ ।
गाउँबाट शहर आएका सबैजस्तै म एक कृषक परिवारको व्यक्ति हुँ । आजसम्मको आफ्नो जीवनकालमा मैले कैयौं चक्करहरु लगाएँ । गाउँकै विद्यालयबाट एसएलसी पास गरेपछि ती चक्करहरु सुरु भए ।
लेख पढ्दै जाँदा तपाईँहरुका चक्करहरु पनि सम्झिँदै गर्नुहोला । एसएलसी सकेपछि सुरुमा प्यूठानको गाउँकै एउटा निजी विद्यालयमा पढाउन थालें । पढाउने काम गर्ने व्यक्तिलाई शिक्षक भनिन्छ ।
त्यसपछि बुटवल आएर ल्याब एसिस्टेन्ट पढेँ र स्वास्थ्यकर्मी भएँ । काठमाडौंको कान्ति बाल अस्पतालमा तीन महिना ओजेटी र केही समय हिमाल अस्पतालमा प्रशिक्षार्थीका रुपमा काम गरेबाहेक धेरै समय बिताइनँ । अस्पतालका ल्याबमा काम गर्नेहरुलाई एसिस्टेन्ट वा टेक्निसियन शब्द प्रयोग गरिन्छ । स्नातक गरेका रहेछन् भने डाक्टर शब्द पनि प्रयोग गरिन्छ ।
अस्पतालमा काम गर्न छाडेर रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दापढ्दै मैले पत्रकारिता गर्न थालें र करिब ७/८ वर्ष सक्रियतापूर्वक पत्रकारिता गरें । पत्रकारिता गर्नेहरुलाई पत्रकार भनिन्छ ।
पत्रकारितासँगसँगै विद्यार्थी संगठनमा पनि काम गर्दथेँ । विद्यार्थी संगठनमा काम गरेपछि नेता वा कार्यकर्ताको रुपमा चिनिन्थ्यो । ती सबैका आफ्ना अर्थहरु छन् ।
विगत केही वर्षदेखि म एक वकील हुँ । वकीललाई नेपालको संवैधानिक र कानूनी भाषामा ‘कानून व्यवसायी’ भनिन्छ ।
‘कानून व्यवसायी’ शब्द ठीक छ कि बेठीक ? यो शब्द किन र कसरी प्रचलनमा ल्याइयो ? आज मैले यही ‘कानून व्यवसायी’ भन्ने शब्दको प्रयोगका बारेमा लेख्न गइरहेको छु । निष्कर्ष शीर्षकमै दिइएको भए पनि त्यसलाई पुष्टि गर्नका लागि कैयौं तथ्य, तर्क र उदाहरणहरु पेश गरेको छु ।

परिभाषा
वकील अर्थात् संवैधानिक शब्दमा ‘कानून व्यवसायी’ भनेको अदालतमा पक्षको तर्फबाट बहस पैरवी गर्ने व्यक्तिलाई चिनिन्छ । वकीलको भूमिका अदालतमा बहस, पैरवीमा मात्रै सीमित रहेको हुँदैन । वकीलले केवल अदालतमा बहस, पैरवी मात्रै गर्दैन कि समाजमा भएका अन्याय, अत्याचार, विभेदको अन्त्य गर्दै उन्नत र चेतनशील समाज निर्माणमा ठूलो भूमिका खेल्न सक्छ ।
राज्यका बदमासी र कमजोरीहरुलाई पत्ता लगाउँदै नागरिकको पक्षमा सार्वजनिक पैरवी गर्नु वकीलको काम हो । मानव समाजलाई अगाडि लैजानका लागि आवश्यक पर्ने कानून, न्याय, अधिकार, दायित्व, स्वतन्त्रता, सामानताको परिकल्पना गर्ने भएको हुनाले वकीललाई सामाजिक इञ्जिनियर पनि भन्ने गरिन्छ ।
यति ठूलो दायित्व, काम, कर्तव्य र अधिकार आदि काम गर्ने क्षेत्रको व्यक्तिलाई देशमा अचम्मको तरिकाले ‘कानून व्यवसायी’ भन्ने शब्द प्रचलनमा ल्याई काम, कर्तव्य, उद्देश्यलाई भ्रष्टीकरण गरिएको छ र असभ्य बनाइएको छ ।
सम्भवतः विश्वका केही देशहरुमा प्रचलनमा रहेको ‘लिगल प्रोफेसनल’ भन्ने शब्दलाई नेपाली रुपान्तरण गर्दा ‘कानून व्यावसायी’ भनिएको हुन सक्छ । लिगल प्रोफेसनल भन्ने अंग्रेजी शब्दलाई नेपाली रुपान्तरण गर्दा यसको कर्म, मर्म र भाव केही पनि मिलेको देखिँदैन ।
प्रोफेसनल भनेको बौद्धिक ज्ञान र नैतिक मूल्यमान्यतामा रहेर सेवा दिनु हो । यसको मुख्य उद्देश्य व्यवसायीले झैं विशुद्ध नाफा कमाउनु होइन । अदालत र कानूनजस्तो संवेदनशील क्षेत्रमा व्यावसायी भन्ने शब्द राख्दा यसले न्यायलाई किनबेचको वस्तु जस्तो देखाइरहेको छ ।
नेपालको अदालतमा बहस गर्दा सुरुआती दिनहरुमा वकीलहरुलाई एड्भोकेट, सिनियर एड्भोकेट र प्लीडर जस्ता शब्दहरु प्रयोग गरिने रहेछन् । वि.संं २०१५ सालदेखि २०२२ सालसम्मका कानून पत्रिका हेर्दा तिनै शब्दहरु प्रयोग गरिएको देखिन्छ ।
वि.संं २०२३ सालदेखि भने बरिष्ठ अधिवक्ता, अधिवक्ता प्रयोग भएको पाइन्छ । रोचक कुरा के छ भने २०५३ सालमा सरकारी वकीललाई सरकारी अधिवक्ता भन्ने शब्द प्रयोग भएको पाइन्छ ।
नेपालको २०१५ सालको संविधानको धारा ३ (६) मा थुनामा रहेका व्यक्तिले ‘कानून व्यवसायी’सँग सल्लाह लिने र पुर्पक्ष गर्ने अधिकार इन्कार गरिने छैन भन्ने व्यवस्था रहेको थियो । यसरी ‘कानून व्यवसायी’ भन्ने शब्द २०१५ सालमै प्रयोग भएको देखिन्छ । तर, संविधानमा प्रयोग भए पनि अदालती व्यवहारमा प्रयोग भएको देखिँदैन ।
नेपाल अधिराज्यको संविधान २०१९ धारा ११ (६) मा पनि अघिल्लो संविधानमा जस्तै सोही प्रयोजनमा कानून व्यवसायी भन्ने शब्द प्रयोग गरिएको छ ।
तर, सर्वाेच्च अदालतको न्यायाधीशको योग्यता निर्धारण गर्दा धारा ६९ (३) मा सरकारी वा गैरसरकारी अधिवक्ता भन्ने शब्द प्रयोग गरिएको छ ।
त्यस्तै २०४७ सालको संविधानको धारा १४ (५) मा कानून व्यवसायी शब्द प्रयोग गरिएको छ भने सर्वाेच्च अदालतको न्यायाधीशको योग्यता निर्धारण गरिएको धारा ८७ (३) मा अधिवक्ता शब्द प्रयोग गरिएको छ । नेपालको संविधान २०७२ मा पनि ठीक त्यसै गरिएको छ ।
संविधानको धारा २० (२) मा कानून व्यवसायी शब्द प्रयोग गरिएको छ भने सर्वाेच्च अदालतको न्यायाधीशको योग्यता निर्धारण गर्ने धारा १२९ (५) मा अघिल्ला संविधानमा जस्तै अधिवक्ता शब्द प्रयोग गरिएको छ ।
यसरी विभिन्न समयमा बनाइएका संविधानहरुमा कानून व्यवसायी र अधिवक्ता भन्ने फरक शब्द प्रयोग गरेको देखिंँदा संविधान निर्माणका क्रममा कुन शब्द प्रयोग गर्ने भन्ने स्पष्टता देखिँदैन । संवैधानिक रुपमै फरक शब्द प्रयोग गरेको देखिँदा संविधान र कानून निर्माण गर्दा कुन शब्द प्रयोग गर्दा उचित हुन्छ भन्ने बारेमा बहस, छलफल भएको थिएन भन्ने बुझिन्छ ।
नेपालमा वि.सं. २०२५ सालमा कानून व्यवसायी ऐन आएको देखिन्छ भने त्यसलाई प्रतिस्थापन गर्दै वि.सं. २०५० सालमा कानून व्यवसायी परिषद् ऐन आएको देखिन्छ । कानून व्यावसायी परिषद् ऐनको प्रस्तावनामा लेखिएको छ, ‘कानून व्यवसायीहरुको हकहितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्न नेपाल कानून व्यवसायी परिषदको स्थापना र व्यवस्था गर्न बाञ्छनीय भएकाले श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवको शासनकालको बाइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।’ ऐनको प्रस्तावना अपुरो, अधुरो र अलमल छ ।
व्यवसायी शब्द किन राखियो ?
कानून व्यवसायी भन्ने शब्द किन र कुन उद्देश्यका लागि राखियो भन्ने खोजी गर्नुपर्ने भएको छ । यो शब्द जानेर भन्दा पनि अरबी शब्दको नेपालीकरण गर्ने लहडबाट गरिएको जस्तो देखिन्छ । नेपालमा प्रयोग गरिने धेरै कानूनी शब्दहरु अरबी भाषाबाट आगन्तुक शब्दका रुपमा आएका देखिन्छन् ।

प्रकाश ए. राजले लेखेको ‘नेपाली भाषामा फारसी, अरबी र तुर्की भाषाको प्रभाव’ शीर्षकको लेखमा आगन्तुक शब्दहरुको प्रयोगका बारेमा उल्लेख गरिएको छ । अरबी भाषाबाट अदालत, इन्साफ (न्याय), कबुलियत (मञ्जुरी), तहसिल, फैसला (निर्णय), मुद्दा, सफाई, वकील, साविक, हक, हद आगन्तुक शब्दको रुपमा आएका छन् भने फारसी शब्दबाट आइन (ऐन), कानून, दरखास्त (आवेदन) जस्ता शब्द आएका छन् ।
अरबी भाषाबाट आएको वकील शब्दलाई प्रतिस्थापन गर्नका लागि ‘कानून व्यवसायी’ शब्द प्रयोग गरिएको हुन सक्छ । यो आफैमा उदेकलाग्दो विषय हो कि यदि अंग्रेजी भाषाको लिगल प्रोफेसनललाई नेपालीकरण गरिएको हो भने कानूनकर्मी किन भनिएन ? अरबी भाषाबाट आएको वकिल शब्दलाई ‘कानून व्यवसायी’ बनाएर राख्न के कुराले बाध्य बनायो ? यदि उत्पत्ति, अर्थ, भाव, सार्वभौमिकता आदि अर्थ दिने उपयुक्त अनुवाद शब्द छनौट गर्न सकिंदैन भने आगन्तुक शब्दलाई जस्ताको तस्तै राखिनुपर्दछ । जुनसुकै उद्देश्य राखिएको भए पनि वकिल शब्दलाई पूरै भ्रष्टीकरण र असभ्य बनाएर ‘कानून व्यवसायी’ बनाइएकोमा कुनै शंका छैन ।
व्यावसायी भन्नुको सीधा अर्थ व्यापार गर्नु, व्यावसाय गर्नु, नाफा कमाउने काम गर्नु हो । आम रुपमा भौतिक वस्तुहरुको व्यापार गर्ने व्यक्तिलाई व्यापारी, व्यवसायी भनेर चिनिन्छ । सेवा क्षेत्रले भौतिक वस्तुको उत्पादन र विक्री वितरण गर्दैन ।
तर, आफ्ना सेवाग्राहीलाई विभिन्न माध्यमबाट सेवा प्रदान गर्दछ र त्यसवापत शुल्क लिने गर्दछ । जस्तै कि बैंक, बीमा, ट्राभल एजेन्सी, इन्टरनेट, कुरियर, हवाइजहाज, बस, विद्यालय, विश्वविद्यालय, अस्पताल, इञ्जिनियरिङ, लेखापरीक्षण, कानूनी सहायता, सफ्टवेयर, डिजिटल आदि सेवाका क्षेत्रहरु हुन् । यसमध्ये वकीलहरुले कानूनी सहायता प्रदान गर्दछन् । उल्लेखित सेवा क्षेत्रका पेशामध्ये कानूनी सहायता उपलब्ध गराउने व्यक्तिलाई मात्रै व्यावसायी भन्ने गरिन्छ भने अन्य कुनै पनि पेशाका व्यक्तिलाई व्यावसायी भन्ने शब्दबाट चिन्ने, चिनाउने वा प्रयोग गर्ने गरिंएको छैन । तिनीहरुलाई नियमन, अनुगमन गर्ने कानूनहरुमा ती क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई व्यावसायी प्रयोग गरेको देखिंदैन ।
नैतिकताको कसी
कुनै पनि पेशाका लागि प्रयोग गरिएको शब्दले त्यसको अर्थ, महत्व, ऐतिहासिकता, सार्वभौमिकता, आत्मसम्मान र गरिमालाई बोक्नुपर्दछ । ती शब्दहरु जनताले बुझ्ने पनि हुनु पर्दछ । कृषि काम गर्नेहरुलाई किसान वा कृषक, उद्योगमा काम गर्नेहरुलाई मजदुर, पढाउनेलाई शिक्षक वा प्राध्यापक, नक्सा बनाउनेहरुलाई इञ्जिनियर, विरामी जाँच गर्नेहरुलाई चिकित्सक वा डाक्टर, समाचार लेख्नेहरुलाई पत्रकार, लेखरचना लेख्नेहरुलाई लेखक, कविता लेख्नेहरुलाई कवि आदि धेरै शब्दहरुले चिन्ने गरिन्छ । ती सबै पेशाको लागि एउटा मात्रै शब्दको प्रयोग गरेको पाइन्छ ।
नैतिक, कर्म र योगदानको दृष्टिले पनि ‘कानून व्यवसायी’ भन्ने शब्द अनैतिक, अकर्म र योगदानहीन देखिन्छ । कानूनको व्यवसाय गरिन्छ कि गरिँदैन ? यो गम्भीर सैद्धान्तिक र व्यवहारिक प्रश्न हो । ‘कानून व्यवसायी’ भन्ने शब्दले कानूनको व्यवसाय हुन्छ भन्ने अर्थ दिन्छ । वकिलहरुले अदालतमा वकालत गर्ने गर्दछन् ।
जस्तै कि फौजदारी मुद्दामा सरकारको तर्फबाट अदालतमा बहस गर्ने व्यक्तिहरुलाई बोलीचालीको भाषामा सरकारी वकील भन्ने गरिन्छ । कार्यालयको नाम नै जिल्ला सरकारी वकील कार्यालय, उच्च सरकारी वकीलको कार्यालय राखिएको हुन्छ । उनीहरुलाई संवैधानिक र कानूनी भाषामा ‘सरकारी कानून व्यवसायी’ भनिंदैन । व्यक्तिको तर्फबाट वकालत गर्ने व्यक्तिलाई ‘कानून व्यावसायी’ भनिन्छ । यी धेरै उदाहरणबाट स्पष्ट हुन्छ कि कानून व्यवसायी शब्द चयनको विषयमा ऐतिहासिकता, अर्थ, भाव, सार्वभौमिकता, नैतिकता, भाषा, संगति केही पनि मिलेको देखिँदैन ।

म्याग्नाकार्टा र अन्य पेशाहरुसँग तुलना
पढाउने व्यक्तिहरुलाई शिक्षा व्यावसायी भनिँदैन, उपचार गर्ने व्यक्तिहरुलाई डाक्टर व्यावसायी भनिँदैन । खेती गर्ने व्यक्तिहरुलाई कृषक व्यावसायी भनिँदैन । समाचार लेख्ने व्यक्तिहरुलाई समाचार व्यावसायी भनिँदैन तर तिनीहरुले समाचार लेखेरै आफ्नो तलब वा पारिश्रमिक लिने गर्दछन् ।
नक्सा बनाउने व्यक्तिलाई नक्सा व्यवसायी भनिँदैन, तिनीहरुले नक्सा बनाएर आफ्नो पारिश्रमिक वा शुल्क लिने गर्दछन् ।
उल्लेखित पेशाको अगाडि व्यवसायी शब्द नजोडिएको अवस्थामा वकालत गर्ने व्यक्ति किन र कसरी कानून व्यावसायी भयो ? यसको तात्पर्य के हो ? कानूनको बहस, पैरवी गर्ने व्यक्ति व्यावसायी कसरी भयो ? एउटा वकिल बौद्धिक कर्ममार्फत्, सचेत नागरिकको रुपमा समाजलाई निरन्तर योगदान गरिरहेको हुन्छ । सबै भूमिकालाई नजरअन्दाज गरेर व्यावसाय र नाफामुखी शब्द चयन गरिनुले पेशाको मर्यादा, गरिमा, सेवा, योगदानको कुनै अर्थ रहँदैन ।
मान्छेले जीविकोपार्जनका लागि गर्ने सबै कामहरु व्यवसाय हुन् भन्न सकिएला । कुनै पनि पेशाको नामाकरण गर्दा त्यसको अर्थ, कर्म, भावना र मर्मलाई स्पष्ट हुनुपर्दछ । कानूनको व्यवसाय हुन्छ कि हुँदैन ? यो गम्भीर प्रश्न हो । यदि कानूनको व्यवसाय हुन्छ भन्ने तर्क गर्ने हो भने न्याय किनबेचको विषय बन्दछ । यो न्यायका सिद्धान्तहरुको विपरीत मात्रै होइन कि कानूनको व्यवसाय भनेको समाज सम्पूर्ण रुपमा भ्रष्ट र पतन हुनु हो ।
सन् १२१५ मा घोषणा गरिएको म्याग्नाकार्टाले ‘हामी कसैलाई पनि न्याय बेच्ने छैनौं, कसैलाई पनि यसबाट बञ्चित गर्ने छैनौं र न्याय दिन ढिलाई गर्ने छैनौं’ भनिएको छ । कानूनको व्यवसाय हुने सामान्य परिकल्पना पनि गरिएको छैन । त्यसैले कानूनी कर्ममा व्यवसाय भन्ने शब्द जोड्नु पनि अनैतिकता, भ्रष्टीकरण र अपराध हो । म्याग्नाकार्टाको उल्लेखित घोषणालाई विश्वव्यापी रुपमै कानूनी शासनको जग मान्ने गरिन्छ ।
नेपालमा प्रयोग गरिएको ‘कानून व्यवसायी’ भन्ने शब्दले कानूनी शासनको जग हल्लाइदिएको छ । दार्शनिक र सैद्धान्तिक रुपमा न्यायको किनबेच हुन सक्ने परिकल्पना गर्न सकिँदैन । कानूनी सेवाको क्षेत्रमा कुनै पनि अर्थमा व्यवसायको रुपमा अर्थ्याउने काम गरिनु हुँदैन ।
निष्कर्ष
वकीलहरुले कानूनी विकास तथा सामाजिक क्षेत्रमा काम गर्नुका साथै कैयौं व्यक्तिहरुलाई निशुल्क कानूनी सहायता गरिरहेका हुन्छन् । वकील नै यस्तो शब्द हो, जुन जनजिब्रोमा झुण्डिएको छ । अरबी भाषाबाट आएको भए पनि यसले लामो इतिहास बोकेको छ । यो शब्दले अदालती कार्य, न्याय, अधिकार, बहस, पैरवी आदिको अर्थ दिन्छ ।
अन्तर्राष्ट्रिय रुपमा र नेपालमा पनि प्रोबोनो सेवा दिने प्रचलन बढिरहेको छ । कानूनी सहायता लिँदा शुल्क तिर्न नसक्ने व्यक्तिहरुलाई वकीलहरुले प्रोबोनो सेवा उपलब्ध गराएका हुन्छन् । यसले सामाजिक न्यायको क्षेत्रमा योगदान गरेको हुन्छ।
‘कानून व्यवसायी’ भन्ने शब्दको खतरनाक पक्ष के हो भने कानूनको व्यापार हुन्छ र यो क्षेत्र विशुद्ध व्यवसाय मात्रै हो भन्ने जनाउँछ । ‘कानून व्यवसायी’ शब्दले कानूनी, बौद्धिक, नैतिक, सामाजिक सेवा हो भन्ने बुझाउँदैन ।
कानूनी क्षेत्रलाई व्यापार र व्यवसाय मात्रै बुझाउने, नामबाटै बौद्धिकता र नैतिकताको बदनाम गर्ने, ‘कानून व्यवसायी’ जस्तो भ्रष्ट, असभ्य र खतरनाक शब्दलाई संविधान, आम प्रचलन र प्रयोगबाट मेटाउनै पर्दछ ।
कानूनशास्त्र समाजशास्त्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको छ । कानूनको माध्यमबाट समाजमा भएका अन्याय, अत्याचार, शोषण, विभेदको अन्त्य गर्दै उन्नत र चेतनशील समाज निर्माणमा वकीलहरुको ठूलो भूमिका रहन्छ । कानूनी र बोलीचालीको भाषामा वकिल र अधिवक्ता शब्दको मात्रै प्रयोग गरिनुपर्दछ । यसका लागि कानून निर्माता, न्यायाधीश, वकीलहरु, वकीलका संगठनहरु, बार काउन्सिल आदि सबै क्षेत्रबाट गम्भीरतपूर्वक पहल लिनुपर्दछ ।
(लेखक अधिवक्ता हुन् । प्रस्तुत विचारहरु लेखकका निजी हुन् )

