अब झोला बोकेर अदालतमा भिडभाड नगरौं

नहकुल सुवेदी, न्यायाधीश, सर्वोच्च अदालत

१२ कार्तिक २०८२

अब झोला बोकेर अदालतमा भिडभाड नगरौं

म र सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल श्रीमानले सर्वोच्च अदालतको सूचना प्रविधि विभागमा जिम्मेवारी पाएका छौं । मैले भन्ने गरेको छु, म विधिको मान्छे प्रविधिको कुरा गर्दा पूर्ण हुन सक्दैन । हामीले गर्ने टेक्नोलोजीको कुरा अपूर्ण नै हुन्छ तर हात उठाएर हिँडेर उपाय नै छैन । त्यसकारण हामीले गर्नुपर्छ है भनिराखेका हुन्छौं ।

सामान्यतया प्रविधिमा यति गरिसकियो अब पुग्यो भन्ने हुँदैन । विकासको कुनै सीमा हुँदैन । सफ्टवेयर पनि त्यही हो जस्तो लाग्छ । यति भयो, अब पुग्यो भन्ने हुँदैन । सुधारको सम्भावना सधैं हुन्छ । हामीले आज एउटा लञ्च गरेका छौं, भोलि अर्को यो फिचर्स पनि थप्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

हामी अदालतमा आईटीको प्रयोग किन गर्दैछौं ? योचाहिँ हामीले बुझ्नुपर्ने मुख्य कुरा हो । हामी यसो किन गर्दैछौं भने सुधारको सम्भावना सधैं हुन्छ । हामी सुधारका लागि यी कामहरु गर्दैछौं । टेक्नोलोजीको सुधारले पारदर्शितादेखि लिएर साधन स्रोतको वचत गर्नेसम्मका कुराहरुको सुनिश्चितता हुनुपर्दछ । त्यसकारण हामीले टेक्नोलोजीमा आधारित सुधारमा कुनै हीनतावोध गर्नुपर्दैन । यसका विभिन्न मोडालिटीहरु हुन सक्लान् तर सुधारको विकल्प छैन । सुधारको विकल्प भनेको अर्को उन्नत स्तरको सुधार हो ।

सर्वोच्च अदालतबाट प्रविधिमा आधारित सुधार गरौं भनेर हामी लागिराखेका छौं । हाम्रा आइटीका साथीहरु धेरै नै भिडेको देख्छु । परिणाम आउन त समय लाग्छ । गत आर्थिक वर्षमा हामीले यसमा केही सन्तोषजनक कामहरु गरेका छौं ।

मानव हस्तक्षेपरहित पेशी

हामीले पेशी अटोमेसन गर्‍याैं । अहिले अंग पुगेका सबै मुद्दाहरुमा अति कम मानवीय हस्तक्षेप हुने गरी कम्प्युटर जेनेरेटेड पेशी हुन्छ । हामीले कति छिटो, कति ढिलो र कति समयमा गर्ने भनेर समानुपातिक ढंगले निश्चित मापदण्ड बनाएर पेशीको वर्गीकरण गरेका छौं ।

पेशीमा अलिअलि गुनासो आएको थियो, त्यसलाई एक ढंगले सम्वोधन गरेका छौं । गत वर्षको भदौतिरबाट हामीले सुरु गरेको पेशी अटोमेसनमा धेरै राम्रो पृष्ठपोषण पाएका छौं । हामी बेञ्चमा बस्छौं, सधैं महान्यायाधिवक्ता कार्यालयबाट के आउँछ भने हामीले पेशीको सूचनै पाएका छैनौं । अथवा सूचना गएको छैन, बुझेको छैन, यस्ता कुराहरु बारम्बार आए ।

हामीले भन्यौं, किन कागजी सूचना आदान–प्रदान गर्ने ? सिस्टमबाटै लिंक गरेर अहिले हामी छुट्टै चिठी पठाउँदैनौं । हामीले यो सुरु गरेको ६/८ महिनामा एक लाख पाना भन्दा बढी कागज बचाएका रहेछौं । हामी कसरी कम कागज प्रयोग गर्दैछौं भन्ने कुराको यो एउटा उदाहरण हो ।

अनलाइनबाटै मुद्दा दर्ता र पेमेन्ट

हामीले अनलाइन रजिष्ट्रेसनको सफ्टवेयर बनाएका छौं । केही मुद्दा अनलाइन रजिष्ट्रेशन रिटका लागि आएको पनि छ । तर, हामी साह्रै उत्साहित चाहिँ छैनौं, जति लञ्च गर्दाखेरि साह्रै उत्साहित थियौं । हामी सुधार पनि गर्दै जान्छौं । हामी स्टेकहोल्डर बारसँग निरन्तर अन्तरक्रिया पनि गर्छौं ।

केही अनलाइनमार्फात काम भएको छ । तर, यसमा के असुविधा छ ? सुविधा नभएको भए त सबै मुद्दा अनलाइनमै आउँथे होला शायद । समस्या भन्नाले, जस्तो– पेमेन्टको समस्या भएछ । हामीले महालेखासँग धेरै समझदारी गर्‍याैं । अहिले अनलाइनबाटै पेमेन्ट हुने सिस्टम विकास गरेका छौं ।

अब सबै अदालतमा क्युआर कोडबाटै पेमेन्ट गर्न सक्ने खालको लगभग हामीले तयारी गरेका छौं । यसको प्रारम्भिक फाउन्डेसनको काम भएको छ । शायद आगामी वर्षभित्रबाट हामीले राजस्व दाखिला गर्नका लागि लाइन बस्नु पर्दैन । यो एउटा महत्वपूर्ण फड्को हुन्छ भन्ने लाग्छ ।

अनलाइन म्याद तामेली

अहिले हामीले अनलाइन म्याद तामेलीका लागि काम गरिराखेका छौं । हाम्रो अदालती काम कारवाहीमा ठूलो समस्या भनेर म्याद तामेली देखापर्‍याे । मुद्दा फैसला नै गरिसकेको छ, अर्को पक्षले म्याद तामेली च्यालेञ्ज गरेर आउँछ, उच्चमा जान्छ, सर्वोच्चसम्म आउँछ । हामीले सर्वोच्चमा हेरिराखेका हुन्छौं, जिल्लाको म्याद तामेली नै मिलेन भनेर हामीले फर्काइराखेका हुन्छौं ।

हामीलाई के लाग्यो भने चिठी डेलिभरी गर्नेहरुले त उत्तिखेरै हस्तान्तरण गरेको अनि बारकोड राखेर कहाँनेर छ मेरो म्याप भनेर ट्रयाक गरिराखेको हुन्छ, हामीले किन त्यसो गर्न सक्दैनौं ? यसमा रिसर्च गरौं भनेका छौं हामीले ।
विगत ६/८ महिनादेखि हाम्रा साथीहरु निरन्तर रिसर्चमा लाग्नुभयो । फाँटमा जानुभयो । कानून व्यवसायी साथीहरु र तामेलदारहरुसँग अन्तरक्रिया गर्नुभयो । हामी लञ्चका लागि तयार भएका छौं । सम्माननीयज्यूको समय मात्र लिइराखेका छौं ।

अब हामीले के भनेका छौं भने जहाँ म्याद तामेल गर्नुभयो, हातहातै तपाई अपलोड गरिदिनोस् । अहिले मेरो म्याद कहाँ छ भने मुद्दाको पक्षले हेर्न सकोस् । अदालतको कर्मचारीले हेर्न सकोस् । हामीले मुद्दाको तामेलीको स्थिति के छ भनेर कम्प्युटरबाटै ट्रयाक गर्न सकौं । फलो गर्न र पृष्ठपोषण लिन सकौं । यो चरणको हामीले काम गरिराखेका छौं । मलाई लाग्छ, एकाध हप्ताभित्र हामीले यसलाई लञ्च गर्छौं, जुन एउटा मुख्य फड्को हुन्छ भन्ने मलाई लाग्छ ।
अडियोमा एआईको प्रयोग

हामीले ‘अडियो टु टेस्क’ अहिले ट्रायलमा काम गरिराखेका छौं । जस्तो– हाम्रो धेरै समय वयान, बकपत्रमा लागिराखेको छ । वयान, बकपत्रमा मान्छेहरु खटिराखेका छन् । बहस गर्दा हात दुख्ने बेलासम्म टिपेको टिप्यै छौं । टेक्नोलोजी त धेरै एडभान्स भइसक्यो । हामीले अडियो टु टेस्क गर्न सक्यौं भने समयको धेरै वचत हुन्छ ।

सिंगापुरमा हामीले सन् २०१६ मै हेरेका थियौं । बहस गरिसकेपछि कानून व्यवसायीलाई ‘ल तपाईले गरेको बहस यो हो कि होइन’ भनेर भेरिफाई गरेर दिने गरिन्छ । बहस सक्ने बेलामा पेपरमा प्रिन्ट आएको छ । त्यहीँ उसले भेरिफाई गर्छ ।

हामी ‘अडियो टु टेक्स्ट’ किन गर्न सक्दैनौं ? त्यसमा प्रयास गरौं भनेर हामीले एआईको सहयोगमा त्यो गरिराखेका छौं । तर, अलिअलि समस्या केमा देखिइराखेको छ भने नेपाली भाषा त्यति राम्ररी चिन्न सकिराखेको छैन । अलि विस्तारै बोल्दा एआईले फलो गर्ने रहेछ, अलि छिटो बोलेको अथवा कुनै शब्दमा प्रष्ट उच्चारण गर्न सकेनौं भने म्याचिङ गर्दैन रहेछ । मैले धेरैपटक आफैं बोलेर प्रयास गरिराखेको छु । कहीँ न कहीँ फरक परेको छ, सुधार गर्न सकिने आशाको विन्दुमा छौं । ‘अडियो टु टेक्स्ट’ हामी गर्छौं । त्यसो गर्‍याैं भने वयान, बमपत्र लगायतका धेरै कुराहरुमा महत्वपूर्ण कोसेढुंगा हुन्छ भन्ने लाग्छ । सर्वोच्च अदालतले यसमा प्रतिवद्धता गरेर हामी काम गरिराखेका छौं ।

भिडियो कन्फरेन्स

दिपायलको अदालतमा अहिले पर्फेक्म्ट भिडियो कन्फरेन्स भइरहेको छ । हामी झापाको एउटा कार्यक्रममा जाँदा कानून व्यवसायी साथीहरुले इलाममा मुद्दा स्थगित हुने, के हुने, न्यायाधीश भएनन्, हामीले दुःख पायौं भन्नुभयो । किन यस्तो कुरा गर्ने ? भिडियो कन्फरेन्स गरौं न । हामीले के सहजीकरण गर्नुपर्छ, एक महिनाभित्र हामी शुरु गरिदिन्छौं भनेर मैले भनें ।

म आईटी कमिटीको सदस्य थिएँ, यहाँ आएर कमिटीमा कुरा राखें । हामीले एक महिनाभित्र भिडियो कन्फरेन्स शुरु गर्‍याैं, एकदमै राम्रो चालु भइराखेको छ । अहिले अन्यत्रका अदालतमा पनि धेरै ठाउँमा भिडियो कन्फरेन्सको प्रयोग भइराखेको छ । सर्वोच्च अदालतमा पनि प्रयोग भइराखेको छ । मात्र के हो भने स्टेक होल्डरहरुले भिडियो कन्फरेन्स प्रयोग गरिदिनुपर्‍याे  । सर्वोच्च अदालतका सबै बेञ्चहरुमा भिडियो कन्फरेन्सबाट काम गर्न सकिन्छ । हामीले सबै उच्च अदालत ।र जिल्ला अदालतमा पनि भिडियो कन्फरेन्सको कसरी प्रयोग गर्ने भनेर विस्तार गरिराखेका छौं ।

डाटा एकीकरणमा समस्या

रिसर्चमा हामीलाई समस्या छ । रिसर्चमा यो आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गर्न पाइयो भने सहज हुन्छ । तर, हामीलाई समस्या के छ भने खोजेका कानून नै पाउन सकिँदैन । खोजेका कानून पाउनलाई नै हाम्रो समय गइराखेको छ । यत्रो प्रविधिको विकास भइराखेको छ, तर हामीले त्यो गर्न सकिराखेका छैनौं । हामीले प्रयास पटक–पटक गर्‍याैं ।

साउनको १०/१५ गतेभित्र विशेष अदालतको डाटालाई एकीकृत गर्ने भनेर हाम्रो वार्षिक कार्यक्रममा राखेका पनि थियौं । उहाँहरुले काम गरि पनि राख्नुभएको छ । तर, पहिलेको डाटा माइग्रेसनको ठूलो समस्या हुने भएकाले यसलाई कसरी मिलाउने भनेर उहाँहरु ठ्याक्क अन्तिम विन्दुमा पुगिसक्नुभएको छैन ।

हामीले सबै अदालतहरु, न्यायाधीकरणहरु, विशेष अदालत, उपभोक्ता अदालत, बाल अदालत लगायत सबै अदालतहरुलाई एकीकृत सीएमएसमा ल्याउने काम गरिराखेका छौं । अभिलेखका मिसिलहरुलाई पूरै डिजिटाइज्ड गर्ने र चालु मिसिलहरुलाई डिजिटाइज्ड गर्ने र पेपर लेस अदालतको चरणमा जान सकिन्छ भनेर हामीले काम गरिराखेका छौं ।

मलाई लाग्छ, अहिले २५ वटा जति अदालतमा काम भएको छ । जुम्लाको अदालत या ओखलढुंगाकाृे अदालतमा नक्कल चाहिएमा काठमाडौंबाटै लिन सकिन्छ । हामीले चाहेको एक ठाउँको अदालतको नक्कल (कागज) अर्को ठाउँको अदालतले लिन सकोस् । हामीले चाहेका डकुमेन्टहरु यहीँबाट प्रतिलिपि निकाल्न सकौं, हामीले यसमा काम गरिराखेका छौं ।

आइटी पोलिसी अन्तिम चरणमा

यी सबै काममा लागि स्रोत साधन महत्वपूर्ण कुरा हो । हामीले सीमित स्रोतमा काम गरिराखेका छौं । यति हुँदाहुँदै पनि हामीले अघिल्लो वर्षको वार्षिक कार्यक्रममा सूचना प्रविधि नीति हुनुपर्छ, त्यो नीतिअनुसार हामी चल्छौं भनेर आईटी पोलिसी बनाउन एउटा कमिटी गठन भयो । माननीय न्यायाधीश बालकृष्ण ढकालज्यूले अध्यक्षता गरिरहनुभएको छ । हामी लगभग प्रतिवेदन बुझाउने अन्तिम चरणमा छौं ।

आईटी पोलिसी भनेको टेक्नोलोजीको प्रयोग मात्रै होइन, यो हामीले रुपान्तरण गर्ने पोलिसी हुनुपर्छ । हाम्रो कार्य संस्कार, हाम्रो कार्य संस्कृति र काम गर्ने प्याटर्न परिवर्तन गर्ने पोलिसी हुनुपर्छ । यो आइटी पोलिसीलाई हामीले रुपान्तरणको नीति भनेका छौं । किनभने, हाम्रो कानून पुनरावलोकन गर्नुपर्छ भने गरौं । हाम्रो काम गर्ने संस्कारमा पुनर्विचार गर्नुपर्छ भने गरौं ।

हाम्रो म्यानेजमेन्ट रिभ्यु गर्नुपर्छ भने गरौं । मात्र टेक्नोलोजी जोडेर मात्र हुँदोरहेनछ । प्रविधि भनेको गभर्नेन्स पनि हो । डिजिटल ट्रान्सफरमेसन भनेको इकुपमेन्ट (उपकरण) मात्र होइन । यो टेक्नोलोजी मात्र होइन, गभर्नेन्स हो । हामीले यो गभर्नेन्स रिफर्म गर्नका लागि यसलाई जोड्यौं भने न्यायपालिकालाई वास्तविक अर्थमा रुपान्तर गर्न सक्छौं ।

त्यो रुपान्तरण गर्न सक्ने हामीसँग दृष्टिकोण छ । हामीले एउटा रोडम्याप बनाएका छौं । हामीले नीति बनाएका छौं । त्यो नीतिले हामीलाई सही दिशामा लैजान्छ भन्ने हामीले अपेक्षा गरेका छौं । हामीले अघिल्लै वर्षदेखि योजना बनाएका छौं ।

वायोमेट्रिकको तयारी

अहिले एयरपोर्टमा विदेशतिर जाँदा क्यामेराको अगाडि उभिएपछि हाम्रो तीनपुस्ते त्यहीँ देखाइदिन्छ । पासपोर्ट नम्बर के हो, कसो हो रेटिना पढ्यो भने सबै देखाइदिन्छ । अथवा, वायोमेट्रिक हामी कहीँ गयौं भने सबै आउँछ । अब हामीले किन अदालतमा भिडभाड गर्ने ? अब अदालतमा हामी भौतिक उपस्थिति कम गरौं । वायोमेट्रिक प्रणालीबाट मान्छेको भौतिक उपस्थितिलाई कम गराऔं भन्ने हिसाबले हामी काम गरिराखेका छौं ।

अदालतमा उपस्थित नै नभई तारेख दिन सक्ने प्रणाली स्थापना गर्न सकिन्छ कि सकिँदैन भनेर गत वर्ष एउटा प्रारम्भिक रिसर्च गर्‍याैं । उहाँहरु (प्राविधिक) ले मोटोमोटी खर्च पनि निकाल्नुभयो । मलाई लाग्छ, १०/१५ करोड रुपैयाँ हामीसँग हुने हो भनेदेखि हामीले त्यो सिस्टम स्थापित गर्न सक्छौं भनेर उहाँहरुले बजेटिङ पनि देखाइरहनुभएको थियो । हामीले सरकारसँग कुरा गर्‍याैं । १० लाखले हुन्छ भने दिन्छौं भन्ने कुरा आयो । हामीले यो हालतमा, यो अवस्थामा काम गरिराखेका छौं ।

स्रोतले जति भ्याउँछ, त्यसबाट बायोमेट्रिक प्रणालीको तयारी पनि हामी गर्दैर्छौं । जस्तो– राष्ट्रिय परिचयपत्र विभाग वा अरु संस्थाहरुसँग डाटा सेयरिङ गर्न सक्यौं भने त्यसबाट केही सपोर्ट हुन्छ भन्ने लागेको छ । सर्वोच्च अदालतले यति काम गरेको छ । हामीले सत्प्रयास गरेका छौं । नतिजा आउन समय लाग्ला ।

अदालतको साध्य न्याय हो

यी सबै कुराको पृष्ठभूमिमा, डिजिटल ट्रान्सफरमेशनका लागि प्रविधिको क्षेत्रमा हामीले यति गर्दैगर्दा पनि अदालतका लागि सबैभन्दा ठूलो कुरो न्याय हो । हामीले यो काम किन गर्दैछौं भन्दाखेरि न्यायको सनिश्चितताका लागि गर्दैछौं ।
सहज न्याय होस्, मान्छेले सहज ढंगले न्याय प्राप्त गर्न सकुन् । हामीले आईटीलाई प्रयोगमा ल्याउन सक्यौं भने सबै कुराको सुनिश्चितता होस् । साध्य त न्याय नै हो । सूचना प्रविधिले न्यायलाई सघाउ पुर्‍याउँछ । र, न्यायमा सघाऊ पुगेको छ भन्ने मलाई लाग्छ ।

हामीले टेक्नोलोजीका लागि टेक्नोलोजी गरेको होइन, आइटीका लागि आइटी गरेको होइन । हामीले न्यायलाई सुनिश्चितता गराउनका लागि यी प्रयासहरु गरिराखेका छौं । संक्रमणकालमा यस्तै हुन्छ । कहिलेकाहिँ कस्तो भइराखेको छ भने विश्वस्त हुन नसकेर डिजिटल्ली पनि काम गरिराखेका छौं, अनि म्यानुअल्ली पनि गरिरखेका छौं । यसो गर्दा समय पनि बढी, स्रोत पनि बढी खर्च भइराखेको छ । किन यस्तो हुन्छ भने एउटा संक्रमणकालीन चरण हुँदोरहेछ । १०/१५ वर्षसम्म जहाँ पनि यस्तै हुँदोरहेछ । ढड्डा पनि बाँकी नै छ, कम्प्युटरमा पनि इन्ट्री भइराखेको छ । तर, यसलाई विस्तारै फेजआउट गर्दै गएर एउटा आइडियल अवस्थामा पुग्नुपर्छ । पूरै पेपर लेस त अदालतको स्वाभावले कसो होला, तर हामी कम कागजको प्रयोगसम्म पुग्न सक्छौं भन्ने मलाई लाग्छ ।

सेवाग्राहीसम्म सूचना पुग्नुपर्छ

हामीले गरेको कामलाई सेवाग्राहीले के भन्छन् भन्ने कुरा महत्वपूर्ण रहेछ । जस्तो– हामी एसएमएस पठाएका छौं, अथवा भिडियो कन्फरेन्सका लागि पठाएका छौं भन्छौं, तर हाम्रा सेवाग्राही त सप्तरीको भित्र, देहातका मान्छेहरु पनि छन् । अथवा हुम्ला, डोल्पा वा ताप्लेजुङ ओलाङचुङ गोलाका पनि छन् । उनीहरु सबैको पहुँचमा हामी कसरी यसलाई सुनिश्चित गर्न सक्छौं ? अर्थात न्यायको पहुँचसँग टेक्नोलोजीलाई कसरी जोड्ने ? यो हामीलाई चुनौती छ ।

जुडिसियल इकोसिस्टम आवश्यक

विद्वान कानून व्यवसायी मित्रहरुलाई के अनुरोध छ भने हामीसँग भएका कयौं सुविधाहरु एक त के छ भन्ने कुरा बाहिर पनि आएको छैन । के छ, के छैन भन्ने थाहा पनि छैन । अर्को, हाम्रो स्वाभाव कस्तो छ भने झोला बोकेर आउन हामीलाई गाह्रो लाग्दैन, त्यो च्याम्बर ( ल फर्म) मै बसेर बहस गर्न चाहिँ गाह्रो लाग्छ । किनभने, हामी यसैमा अभ्यस्त भैराखेका छौं । त्यसकारणले टेक्नोलोजीको प्रयोग गर्नलाई यहाँहरु (कानून व्यवसायी) ले प्रोत्साहन गरिदिनुपर्‍याे । आफूले पनि प्रयोग गर्न पर्‍याे । तबमात्र एउटा न्यायिक इकोसिस्टम बन्छ । हामीले चाहेको न्यायिक परिस्थितीय प्रणाली बन्छ ।

न्यायिक इकोसिस्टम भनेको कानून व्यवसायीमा पनि त्यत्तिकै ईच्छाशक्ति हुनुपर्‍यो । त्यत्तिकै तयार र प्रतिवद्ध हुनुपर्‍यो । सरकारी वकिलको पनि त्यस्तै भूमिका हुनुपर्‍यो । सरकारी सिस्टम पनि त्यस्तै हुनुपर्‍याे । यहाँ त कस्तो छ भने मालपोत कार्यालयले लालपूर्जाहरु डिजिटल फर्ममा वेबसाइटमै राखेको रहेछ, हामीलाई लालपूर्जा चाहियो भने कति चरणमा आदेश गरेर मान्छे दौडाएर मान्छे पछि लगाएर गर्छौं । हामीले सिस्टमको लिंकिङ गर्ने कुनै प्रणाली विकास गर्न सक्यौं भने यहीँबाट क्लिक गरेर पूर्जा भिडाउन सक्थ्यौं कि ? डाटा ट्रान्सफर लगायतका विषयमा हामीले वातावरण बनाउन र लिंक गर्न सक्यौं भने राम्रो हुन्छ ।

म अनुरोध गर्छु, आधारभूत रुपमा बारले लिडरसिप लिइदिनुपर्‍यो । र, मिडियाका साथीहरुले पनि हामीले गरेको कामको सूचना सेवाग्राहीसम्म पुर्‍याइदिन सक्नुभयो भने अदालतले चाहेको डिजिटल रुपान्तरणको विन्दुमा हामी पुग्न सक्छौं भन्ने मलाई लाग्छ ।

(बबरमहलस्थित विशेष अदालतमा भदौ ६ गते डिजिडल सेवाग्राही बडापत्रको शुभारम्भ गर्ने क्रममा सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

सर्वोच्च अदालत कसरी सुधार्ने ? पढ्नुहोस् २२ बुँदा

सर्वोच्च अदालत कसरी सुधार्ने ? पढ्नुहोस् २२ बुँदा

काठमाडौं । नेपालमा न्यायालय सुधारको प्रश्न अहम बन्दै आएको छ । अदालतमा भ्रष्टाचार, बेथिति...

महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतकाे आदेश

महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतकाे आदेश

काठमाडाैं । उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीको शर्तमा...

अदालत जल्दा सेवाग्राहीलाई सास्ती

अदालत जल्दा सेवाग्राहीलाई सास्ती

काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनमा सर्वोच्च अदालतसँगै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पनि...

सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी

सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी

काठमाडौं । यसलाई संयोग नै मान्नुपर्छ, जेनजी आन्दोलनमा सर्वोच्च अदालतको भवन जले पनि छेवैमा...