काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले क्याबिनेटका विवादित मन्त्रीहरूको मर्यादाक्रम घटाइदिएका छन् । प्रतिनिधि सभा निर्वाचनपछि नवगठित सरकारका मन्त्रीहरूको मर्यादाक्रम प्रधानमन्त्री शाहले ११ दिनमै फेरबदल गरिदिएका हुन् ।
चैत १३ मा मन्त्रिपरिषद् गठन हुँदा तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम फेरेर पाँचौँ स्थानमा कायम गरिएको छ । यसैगरी, यसअघि मर्यादाक्रमको १४औँ स्थानमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाह अन्तिममा पुगेका छन् । यसैगरी सातौँ मर्यादाक्रममा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल पनि १२औँ नम्बरमा पुगेका छन् ।
नयाँ मर्यादाक्रम अनुसार तेस्रो मर्यादाक्रममा परराष्ट्रमन्त्री शिशिर खनाललाई राखिएको छ । १२औँ नम्बरमा रहेकी कानूनमन्त्री सोबिता गौतम सातौँ नम्बरमा उक्लिएकी छिन् । श्रममन्त्री शाहको यसअघिको मर्यादाक्रम कृषिमन्त्री गीता चौधरीलाई दिइएको छ ।
यसैगरी मर्यादाक्रमको पाँचौँ स्थानमा रहेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई छैठौँ स्थानमा झारेर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई चौथो नम्बरमा राखिएको छ । यसअघि १५ नम्बरमा रहेकी सीता बादीलाई आठौँ नम्बरमा ल्याइएको छ ।
यसअघि आठौँ नम्बरमा रहेका शिक्षामन्त्री सस्मित पोखरेललाई ११ नम्बरमा पुर्याइएको छ । संघीय मामिलामन्त्री प्रतिभा रावललाई आठौँ नम्बरमा ल्याइएको छ ।


