काठमाडौं । उद्योगी शेखर गोल्छालाई हिरासतबाट छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चले गोल्छाकी श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै धरौटी वा जमानतमा रिहा गर्नुपर्ने, त्यसो हुन नसके मात्र थुनामा राख्न सकिने आदेश जारी गरेको हो ।
यस आदेशसँगै गोल्छालाई तत्कालै रिहा गर्ने कानुनी बाटो खुलेको छ । अदालतले अनुसन्धानका क्रममा आवश्यक परेमा धरौटी वा जमानतमार्फत उपस्थित गराउन सकिने स्पष्ट पारेको छ ।
गोल्छालाई यसअघि प्रहरीले धितोपत्र (सेयर) सम्बन्धी कारोबारको आरोपमा पक्राउ गरेको थियो ।
उक्त प्रकरणमा अनुसन्धान जारी रहे पनि अदालतले व्यक्तिगत स्वतन्त्रता र कानुनी प्रक्रिया बीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएको हाे ।

