काठमाडौं । अधिवक्ता अनु भट्टराई ‘रेप एण्ड लिभिङ टुगेदर इन काठमाडौं’ विषयमा एमफिलको थेसिस गरिरहेकी छन् । कानूनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेकी अनुले कानून व्यवसायी भएर काम गरेको करिब एक दशक भयो ।
नेपालमा ‘लिभिङ टुगेदर’लाई व्यवस्थित गर्नका लागि कानून बनाउनुपर्ने माग गर्दै आएकी अनु भन्छिन्, ‘म समाज र कानूनलाई जोड्छु भनेर लागिरहेकी छु ।’
‘अलि लामो समयसम्म एउटै कोठामा जोडी बनेर सँगै बस्छन् भने त्यो लिभिङ टुगेदर हो,’ अनु भन्छिन्,‘लिभिङमा कोही बसेका छन् भने उनीहरुलाई समाजले अपराधीको जस्तो व्यवहार गर्ने गरेको देखियो । ती जोडीहरुमा विभिन्न किसिमका समस्या आउन थाले । लिभिङसम्बन्धी कानून नभएका कारणले नै यस्ता समस्या आएको देखियो ।’
बिहे नै नगरी एउटै कोठामा बस्ने जोडीका सन्दर्भमा कानूनले स्पष्ट सम्वोधन नगरेको तर्क गर्दै आएकी अनुले यस विषयमा सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् । यसक्रममा उनले लिभिङ टुगेदरसम्बन्धी विभिन्न देशका कानून र नेपाली समाजमा बढ्दै गएको समस्याको समेत ‘केस स्टडी’ गरेकी छिन् । उनका अनुसार काठमाडौं लगायतका सहरमा लिभिङ टुगेदरमा बस्ने जोडीको संख्या बढेको छ । संख्या मात्र बढेको छैन, घरेलु हिंसाजन्य समस्या पनि बढेको छ ।
आखिर नेपाली समाजमा किन बढिरहेको छ लिभिङ टुगेदर ? अनि किन चाहियो लिभिङ टुगेदर सम्बन्धी कानून ? यसबारे जस नेपालले अधिवक्ता भट्टराईसँग गरेको कानूनी वार्ता –

लिभिङ टुगेदरसम्बन्धी कानूनको अभावले गर्दा नेपाली समाजमा समस्या सिर्जना भयो त्यसकारण यसलाई कानून बनाएर व्यवस्थित गर्नुपर्छ भनेर यहाँले लविइङ गर्दै आउनुभएको छ । यहाँलाई ‘लिभिङ टुगेदर’का बारेमा सोच्न केले प्रेरित गर्यो ?
नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा विश्वव्यापीकरणका कारणले लिभिङ टुगेदरको अवधारणा भित्रिएको देखियो । लिभिङ टुगेदर अर्थात् जोडी सँगसँगै बस्ने कल्चर नेपालमा पनि देखियो । तर, हाम्रो संस्कृति, हाम्रो प्रथा र परम्पराले यो किसिमको लिभिङ टुगेदरलाई एकदमै नकारात्मक रुपमा हेर्ने गरेको देखियो । लिभिङमा कोही बसेका छन् भने उनीहरुलाई समाजले अपराधीको जस्तो व्यवहार गर्ने गरेको देखियो । यति हुँदाहुँदै पनि नेपालमा विभिन्न कारणले गर्दा सँगसँगै जोडी बाँधेर बसेको देखियो ।
सँगसँगै जोडी बाँधेर बसिसकेपछि ती जोडीहरुमा विभिन्न किसिमका समस्या आउन थाले । घरेलु हिंसा, बलात्कारजस्ता समस्या आउन थाले । सहमतिको सम्बन्धलाई पनि बलात्कार भन्ने लगायतका कुराहरु आउन थाले । लिभिङसम्बन्धी कानून नभएका कारणले नै यी समस्या आएको देखियो । मैले समाजलाई अध्ययन गर्दै जाने क्रममा यी कुराहरु देखें । जहाँ समस्या हुन्छ, त्यहाँ समाधान हुनुपर्छ । यही समाधानको खोजीका क्रममा म यता लागेकी हुँ ।
लिभिङ टुगेदर नै भनेर कानून नबने पनि हाम्रो कानून लिभिङमा प्रवेश गरिसकेको छ । जस्तो– घरेलु हिंसासम्बन्धी २०६६ मा बनेको जुन कानून छ, त्यसले घरेलु सम्बन्ध के हो भनेर बुझाउने क्रममा सँगै बस्ने जोडीलाई पनि जनाइन्छ भनेको छ । यसको मतलब, लिभिङ टुगेदरलाई कानूनले चिनिसकेको अवस्था हो ।
यसरी कानूनले चिन्ने तर समाजमा समस्या आउने भएकाले यसलाई सम्वोधन गर्ने लिभिङ टुगेदरसम्बन्धी कानून हुनुपर्छ जस्तो लाग्यो मलाई । यसर्थ, मैले सर्वोच्च अदालतमा रिट दर्ता गरेको अवस्था छ ।
श्रीमान–श्रीमतीका रुपमा सँगै बसिसकेपछि नेपालको प्रचलित विवाहसम्बन्धी कानूनले यसलाई विवाह नै मान्छ हैन र ? सँगै बस्नेहरुलाई विद्यमान कानूनले नै समेट्दैन र ? किन चाहियो अर्को कानून ?
हामीले विवाहको परिभाषा हेर्यौं भने तीन–चारवटा आधारलाई लिइएको छ । जस्तै– पञ्चेबाजा बजाएर, जन्ती लगेर बेहुली ल्याउनेलाई मात्रै विवाह भनेर परिभाषित गरिएको छैन । अहिले विवाहसम्बन्धी आधुनिक संहिता आएको छ । कुनै पर्वबाट लिएर आइयो भने पनि त्यसलाई विवाहकै रुपमा स्वीकार गरेको अवस्था छ । केटा र केटीको सहमति भएर सँगै बसेको अवस्थामा पनि विवाह भएको मानिने भनेर सम्वोधन गरिएको अवस्था छ ।
तर, यति हुँदाहुँदै पनि केटा र केटीले हामी विवाहित हो भनेर खुलेर स्वीकार्न नसक्ने अवस्था एकातिर छ । हाम्रो संस्कृति, संस्कार, परम्परा र प्रथाका कारणले यस्तो भएको हो । अर्कोतिर, उनीहरु जुनसुकै कारणले भए पनि सँगै बसेको अवस्था छ । लुकीचोरी सँगै बसेको अवस्था छ । यो अवस्थामा उनीहरुले हामी विवाहित हो भने स्वीकार नगरेको अवस्थामा हामीले विवाहित जोडी हो भनिरहन उपयुक्त हुँदैन । विवाह नगरी सहमतिमा सँगै बसेको अवस्थालाई हामीले उनीहरु लिभिङभा थिए भन्न मिल्छ ।
बिहे नगरी सँगै बस्ने लिभिङ टुगेदर पश्चिमा संस्कृति हो, त्यसैले नेपाली समाजमा यसलाई मान्यता दिनुहुँदैन भन्ने परम्परागत विचार पनि छ नि नेपाली समाजमा ? लिभिङमा बस्नेहरुलाई कानून बनाउने कि कारवाही गर्ने ?
मैले अघि नै पनि भनें । नेपालमा कोही जोडी लिभिङमा बसेका छन् भने उनीहरुलाई समाजले एकदमै ठूलो अपराधी भनेर हेर्छ । आज पनि हाम्रो सामाजिक दृष्टिकोण त्यस्तो छ । तर, अचम्म के छ भने मैले अध्ययन गर्दै जाँदा जति पनि लिभिङमा बसेका जोडीहरु भेटें, उनीहरुका परिवारलाई आफ्ना सन्तान लिभिङमा छन् भन्ने थाहा छैन । लिभिङमा बस्ने जोडीले पनि थाहा दिन चाहँदैनन् । अर्कोतिर, तिनै अभिभावकहरुमा के देखियो भने नेपालमा आफ्ना छोराछोरीहरु लिभिङमा बसेको पाइएमा शीर झुकाउने अपराध गरेको ठान्नुहुन्छ तर, तिनै छोराछोरी विदेशमा गएर लिभिङमा बसे भने सहस्र स्वीकार गरेको अवस्था छ । यस्तो किन भयो भनेर हामी अनुमान लगाउन सक्छौं तर यो अचम्मलाग्दो कुरा हो ।
लिभिङ टुगेदरजस्तो समाजको परिवर्तनलाई हामीले रोकेर छेकेर बार लगाउन सक्दैनौं । उदाहरणका लागि चाउमिन खानु पनि नेपालको कल्चर होइन । छोरीलाई अंश दिने कुरालाई पनि हिजो अनावश्यक नै मानिन्थ्यो । वैवाहिक बलात्कारको कानून आउँदा झन् कत्रो हंगामा भएको थियो । त्यसैले यस्ता कुराहरु समाजमा परिवर्तनका लागि आवश्यक पर्छ । लिभिङ टुगेदर समाजमा नचाहिने कुरा हो जस्तो लाग्दैन ।
भनिन्छ, कानून अपवादका लागि बनाइँदैन । यो लिभिङ टुगेर अपवादका घटनाहरु हुन् या नेपाली समाजमा असाध्यै बढेको अवस्था हो ? तपाईले रिसर्चमा के पाउनुभयो ?
नेपाली समाजको पनि शहरी समाजमा व्यापक रुपमा बढेको अवस्था छ । यो अपवाद होइन । अपवाद भनेको त समाजमा एक–दुईवटा जोडी भेटियो भने मात्रै हुने हो । हामीले अध्ययन हेर्यौं भने योभन्दा अगाडि दुईजना डाक्टर साहेबहरुले यसमै पीएचडी पनि गरिसक्नुभएको छ । उहाँहरुको आर्टिकल हेर्यो भने कस्तो देखिन्छ भने अण्डर एज ( १८ वर्ष मुनि) का पनि लिभिङमा हुनुहुन्छ । विवाहितहरु पनि लिभिङमा हुनुहुन्छ, जुन गलत अभ्यास हो । यो गलत अभ्यासलाई रोक्नका लागि पनि कानूनको जरुरी छ । यसतर्फ कसैले ध्यान दिएको छैन । यो अपवाद होइन । यसले भोलि समाजमा ठूलो संकट लिएर आउन सक्छ । बेलैमा कानून बनाएर सम्वोधन नगर्ने हो भने ठूलो संकट आउन सक्छ ।
यहाँले कानून बनाएर लिभिङ टुगेदरलाई व्यवस्थित गरौं भनिरहनुभएको छ । कानून कस्तो बनाउने ? १८ वर्ष मुनिकाले लिभिङमा बस्ने पाउने कि नपाउने ? बिहे गरिसकेको जोडीले सुटुक्क लिभिङ टुगेरमा बस्ने पाउने या नपाउने ? लिभिङ टुगेदरको मापदण्ड के हुन्छ ? कस्तोखालको कानून आउनुपर्यो ?
पहिलो कुरा– मैले सर्वोच्च अदालतमा रिट दर्ता गरिरहँदाखेरि पनि यी कुराहरु उठाएकी छु । लिभिङ टुगेदरलाई बैधता दिने कानून बन्नुपर्यो भन्नेको मतलब जस्तोसुकै मान्छेलाई लिभिङमा बस्न दिनका लागि होइन । जति वर्षको पनि, जस्तो मान्छे पनि लिभिङमा बसिरहेको अवस्था हटाउनका लागि हामीलाई कानून चाहिएको हो ।
दोस्रो कुरा– लिभिङमा बसेर हुने हरेक किसिमका आपराधिक गतिविधिहरुबाट बच्नका लागि कानून चाहिएको हो ।
यिनै दुईवटा कुराका लागि हामीलाई कानून चाहिएको हो । जस्तै– अहिले १८ वर्षभन्दा मुनिका मानिसहरु पनि लिभिङमा बसिरहेका छन् । मसँग तथ्य पनि छ, ५१ वर्षको मान्छेसँग १७ वर्षको बच्चा लिभिङमा बसेको छ, जो पहिल्यै विवाहित पनि छ । विवाहित पुरुष र महिलाहरु लिभिङमा बसेको मसँग प्रशस्तै उदाहरणहरु छन्, जुन गलत अभ्यास हो ।
लिभिङमा बस्न कसलाई दिने ? लिभिङमा बसिरहेका बेला समस्या आयो भने कसरी यी समस्यालाई सम्वोधन गर्ने भन्ने कानून त हामीलाई आवश्यक पर्यो । कि त लिभिङमा बस्ने मान्छेहरु नै नभएको भए त्यो अलग कुरा हुन्थ्यो । तर, समाजमा लिभिङमा बस्ने मान्छेहरु छन् र यसमा समस्या आइसक्यो भनेपछि यसलाई फिल्टर गर्नका लागि पनि कानून चाहियो । तिमीहरु लिभिङमा बस्न पाउँछौ र तिमीहरु पाउँदैनौ भनेर फिल्टर गर्नका लागि पनि लिभिङ टुगेदरसम्बन्धी कानून आउनैपर्छ र यसले सबै समस्यालाई उचितरुपमा सम्वोधन गर्नुपर्छ जस्तो लाग्छ ।

लिभिङ टुगेदरका नाममा हुने गैरकानूनी सम्बन्धलाई रोक्ने गरी मापदण्ड बनाउनु पर्छ भन्ने यहाँले बताउनुभयो । तर, लिभिङ टुगेदर भनेको विवाह होइन । त्यसैले ‘पहिले लिभिङ टुगेदरमा बस्यो अनि मलाई छोड्यो’ भनेर शिकायत गर्नु कत्तिको जायज होला ? किनभने, लिभिङ टुगेदर भनेको त मन मिले बिहे गरौंला, मन नमिले बिहे नगरौंला भनेर गरिएको अस्थायी सहकार्य मात्र होइन र ? एउटा पक्ष असहमत भएपछि प्रेम सम्बन्धमा जस्तै लिभिङ टुगेदरमा पनि कट्टी भन्न किन मिल्दैन ?
नेपालको सन्दर्भमा लिभिङ टुगेदरमा कसरी बसेको पाइयो भने प्रत्येक छोरामान्छेले छोरी मान्छेलाई निश्चित समयपछि हामी बिहे गर्ने हो भनेपछि छोरी मान्छेहरु लिभिङमा बस्न राजी भएको भेटियो । प्रायः सबै नै यस्तै भेटियो । ठीक छ, यति वर्षपछि त हामी बिहे नै गर्ने हो नि त, त्यसैले अहिलेदेखि नै सँगै बस्दा के भयो र भन्ने किसिमले बसेको देखियो ।
यसरी बसिसकेपछि हाम्रो कानूनी भाषामा कुनै पनि काम तथ्यको भ्रममा गएर कसैलाई झुक्याएर गर्न हुँदैन भन्ने छ । यहाँ पुरुष पात्रले महिला पात्रलाई पछि बिहा गर्ने भन्ने सहमति भयो नि त ।
ठीक छ, कोही मान्छेहरु राजीखुशी बस्नुभएको छ, पछि बिहे भए पनि हुन्छ, नभए पनि केही छैन भनेर बस्नुभएको छ भने त्यो अलग कुरा भयो । तर, मेरो अनुसन्धानबाट मैले यो भेटिनँ । नेपालको कल्चरको कारणले पनि हुन सक्छ । सँगै बसेर बीचमा उहाँहरुको रिलेसनसीप जेसुकै कारणले सकिन्छ भने त त्यसको क्षतिपूर्ति पाउनुपर्यो नि त । एक रातको कुरा होइन, निश्चित समयसम्म सँगै बसेर जीवन व्यतीत गरिसकेपछि छोरी मान्छेलाई सम्पत्तिको हक पनि दिलाइदिनु पर्छ भन्ने मेरो मागदाबी छ ।
लिभिङमा बसुञ्जेल त सँगै जीवन कटाउँला भनेर दुबैले सोचेका हुन सक्छन् । तर, बेही समयपछि आनीबानी, विचार इत्यादि मिलेन भने छुट्नै नपाइने ? दायित्व बोक्नै पर्ने ? यो त बिहे गरेजस्तै भएन र ?
श्रीमान–श्रीमती सँगै बस्न नसकेर अलग हुँदा त्यहाँ केटा मान्छे वा केटीमान्छेले केही न केही जिम्मेवारी बहन गर्नैपर्छ । यस्तै, लिभिङ टुगेदर पनि एक किसिमको सम्बन्ध हो । सधैंभरि केटा मान्छेले नै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने होइन तर हाम्रो सामाजिक संरचनाअनुसार केटा मान्छे अलि बढी जिम्मेवार हुनुपर्ने देखिन्छ । यति हुँदाहुँदै पनि उनीहरुबीच कस्तो वाचा वा शर्त छ, त्योअनुसार सँगै बस्न नसक्ने अवस्था आयो भने अलग बस्दा हुन्छ ।
बिहे गरिसकेपछि त सम्बन्धविच्छेद हुन्छ भने लिभिङ टुगेदरमा अलग हुन त पाइयो । तर, कसैले म पीडित भएँ भनेर आवाज उठायो भने त्यसको त उपचार पाउनुपर्यो नि त । सहमतिमै सम्बन्ध टुंगियो भने विवादै रहेन तर कोही महिला या पुरुषले म लिभिङमा बसेर पीडित भएँ भन्छ भने कानूनी उपचार गर्न जाने ठाउँ पाउनुपर्छ । यो समस्यालाई सरकारले सम्वोधन गर्नुपर्छ ।
प्रेम सम्बन्धमा रहेका जोडीले ‘आई लभ यु’ पनि भनिराखेका हुन्छन्, कट्टी पनि भनिराखेका हुन्छन् । प्रेममा ‘ब्रेकअप’ नै भए पनि कुनै पक्षले दायित्व व्यहोर्नुपर्दैन । लिभिङ टुगेदर चाहिँ प्रेमभन्दा कसिलो, बिहेभन्दा खुकुलो सम्बन्ध हो ?
प्रेम सम्बन्ध र लिभिङ टुगेदरको सम्बन्ध धेरै अलग छ ।
के यसलाई सेमी म्यारिज (अर्ध विवाह) पनि भन्दा हुन्छ ?
यसलाई के नामाकरण गर्ने भन्नेमा म प्रष्ट छैन । आफ्नो बुझाइमा जसरी भन्दा पनि भयो । मेरो विचारमा अलि लामो समयसम्म एउटै कोठामा श्रीमान–श्रीमती वा जोडी सँगै बस्छन् भने त्यो लिभिङ टुगेदर भयो । यसअर्थमा ‘आई लभ यु’ भन्ने अलग पार्ट हो । प्रेम गरे पनि तिनीहरुले एउटै रुम (कोठा), एउटै रुफ (छानो) वा एउटै किचेन (भान्सा) प्रयोग गरेर बसिसकेका हुँदैनन् । श्रीमान–श्रीमतीका रुपमा बसेको अवस्था हुँदैन । भेट्ने, चिया खाने, गफ गर्ने मात्र भएका हुन्छन् । आपसमा प्रेम भएकै कारणले लिभिङमा बस्छन् तर प्रेम सम्बन्ध र लिभिङ टुगेदर अलग–अलग हो । ‘आई लभ यु’ भन्नु नै लिभिङ टुगेदरचाहिँ होइन ।
यहाँले रिसर्च गर्दा के पाउनुभयो कि विदेशमा लिभिङ टुगेदरलाई चिन्ने कानून कसरी बनाइएको रहेछ ?
धेरैवटा देशहरुमा लिभिङमा बस्नुभन्दा पहिले एग्रिमेन्ट गरेर बस्ने गरेको भेटियो । यदि त्यो एग्रिमेन्ट कुनै कारणले तोडियो वा ब्रेकअप भयो भने क्षतिपूर्ति तिर्नुपर्नेसम्मको अवस्था देखियो ।
लिभिङ टुगेदरको बेग्लै कानूनअनुसार सम्झौता हुँदोरहेछ कि करार कानूनअन्तर्गत नै हुँदोरहेछ ?
जसरी एग्रिमेन्ट(करार) गरेको छ, त्यो अनुसार पीडितले उपचार पाउने भए । धेरै देशमा छुट्टै अलग्गै कानून बनेको छैन तर एग्रिमेन्ट उल्लंघन भयो भने त्यो अनुसारको उपचार चाहिँ पाउने अवस्था भेटियो ।
भारतको सन्दर्भमा पनि लिभिङ टुगेदरको अलग्गै कानून नै बनेको देखिँदैन । तर, एकदमै ठूलो संख्यामा मानिसहरु र सेलिब्रेटीहरुसमेत लिभिङ टुगेदरमा बसिरहेको हामी मिडियाबाट सुन्छौं ।
इण्डियामा एउटा नजिर के पाइयो भने एउटा २० वर्षदेखि सँगै बसेको अविवाहित जोडी रहेछ । उनीहरुका सन्दर्भमा त्यहाँको अदालतले एकदमै राम्रो व्याख्या गरेको पाइयो । बिहे नगरे पनि लामो समयसम्म सँगै बसेको हुनाले उनीहरु जोडी नै हो भनेर पीडित(महिला)लाई सम्पत्तिको अधिकारसमेत दिलाइदिएको नजिर छ ।

नेपालमा लिभिङ टुगेदरमा बसिराखेका जोडीहरुलाई एकजना कानून व्यवसायी एवं अध्येताको हिसाबले यहाँले जस नेपालमार्फत दिने सुझाव के छन् ?
लिभिङ टुगेदर भनेको लामो समयसम्म सँगै बस्ने भएको हुनाले एक–अर्कालाई गरेका वाचाहरु नभुल्नोस् । हामीकहाँ कुनै एग्रिमेन्ट त छैन, त्यसैले त्यो वाचा महिला र पुरुष दुबैले पूरा गर्नुहोस् । एकले अर्कालाई विचार गरेर चिन्ने अवस्था भइसकेपछि मात्रै लिभिङमा बस्नुहोस् । सँगै बस्दा घरेलु हिंसा लगायत कुनै किसिमको समस्या आयो भने समयमै सम्बन्धित निकायमा कानूनी उपचार खोज्नोस् र अलग हुने अवस्था भयो भने अलग हुनोस् । तर, कुनै किसिमको अप्रिय घटनाचाहिँ नघटाउनोस् भन्न चाहन्छु ।
सकेसम्म लिभिङ टुगेदरको साटो बिहे नै गर्नुहोस् भन्न चाहनुहुन्न ?
म त्यो भन्न चाहन्नँ । विवाह र लिभिङ टुगेदर अलग हो । लिभिङ भनेको च्वाइस (छनोट) हो । कोही व्यक्तिको च्वाइसलाई म विवाहित हुँ, त्यसैले विवाह गरेको मन पर्छ त्यही भएर लिभिङमा नबस्नोस् बिहा गरेरै बस्नोस् भन्न सक्दिनँ । किनभने त्यो उहाँहरुको आफ्नो च्वाइस हो र समयको माग पनि हो ।
विवाहपछि मन मिलेन भने डिभोर्सको अवस्था आउँछ । मैले अदालतमा प्रमक्टिस गर्दा के देखें भने लिभिङबाट छुट्दा दुईवटा पार्टनरलाई मात्र असर गर्छ तर डिभोर्स हुँदा बच्चाको मानसिक स्थास्थ्य के हुन्छ ? यसको क्षतिपूर्ति नै कहीँ पनि पाउन सकिँदैन । श्रीमान–श्रीमती त छुट्नुहुन्छ, अलग हुनुहुन्छ र लाइफ पार्टनर अर्को पाउनुहुन्छ, केही समयपछि आफ्नो सहज बनाउन सक्नुहुन्छ । तर, बच्चाले सक्दैन ।
कस्तोसम्म देखिएको छ भने एकजना साढे २ वर्षको बच्चाको आमाले डिभोर्स गर्नुभयो । बुबा विदेशमा हुनुहुन्थ्यो । नेपाल आएको समय पारेर श्रीमतीले डिभोर्स दिनुभयो । बच्चाले आफ्नो बाबा चिनेको छैन, आमाले राख्नुहुन्न । त्यो साढे २ वर्षको बच्चालाई त्यो पुरुषले कसरी हुर्काउनुभयो होला ? जिम्मेवारी निभाउनुभयो तर आमा नहुँदा त्यो बच्चाको मानसिक स्वास्थ्य अवस्था के भयो होला ?
यो अवस्था आउनु भन्दा त पहिल्यै सँगै बस्न नसक्ने अवस्था छ भने छुटेकै राम्रै भयो नि । त्यसैले, भोलि बिहे गरेर बच्चा भएर छुट्नु भन्दा लिभिङबाटै छुट्नु चाहिँ सहज हो कि भन्ने लाग्छ ।
भिडियाेमा पनि हेर्नुहाेस् :
