‘अदालत जल्यो, तर चेत खुलेन’

जेनजी आन्दोलनपछि अरू ठाउँमा परिवर्तन भयो, न्यायपालिकामा परिवर्तन भएको छैन । यहाँ हिजोकै ह्यांगओभर छ । यहाँभित्रको जडतालाई उखेलेर फाल्न जरुरी छ । मलाई लाग्छ, जति चेत खुल्नुपर्ने थियो, अदालत जल्दा पनि त्यो चेत खुलेको देखिएन ।

३ फागुन २०८२

‘अदालत जल्यो, तर चेत खुलेन’

पोखरा । वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर पोखरा निवासी कानूनविद् हुन् । फौजदारी अपराधसम्बन्धी कानूनमा विशेष दक्षता र रुचि राख्ने उनी काठमाडौँका राष्ट्रिय मिडियामा समेत लेख रचना लेख्दै आएका पत्रकारिता बुझेका वरिष्ठ कानून व्यवसायी हुन् । पोखरामा रहेर उनले कास्की जिल्ला अदालत, पोखरा उच्च अदालत र सर्वोच्च अदालतमा समेत विभिन्न बहस पैरवी गर्दै आएका छन् ।

जेनजी आन्दोलनपछि काठमाडौँमा जस्तै पोखरामा पनि अदालतका संरचनाहरू जलाएर खरानी बनाइएका छन् । तर, न्यायालय जले पनि न्यायालय सुधारका लागि चेत खुल्न नसकेको उनको गुनासो छ ।

समाजमा पत्रकार, वकील र न्यायाधीशहरूको प्रतिष्ठा खस्केको बताउँदै वरिष्ठ अधिवक्ता थापाले चिन्ता व्यक्त गरे । नेपाल बार एशोसिएसन कास्कीका पूर्वउपाध्यक्ष समेत रहेका थापा मगर वकीलहरू तटस्थ भूमिकालाई बिर्सेर पार्टीको सदस्य बनेकोमा चिन्ता व्यक्त गर्छन् ।

जस नेपाल डटकमले वरिष्ठ अधिवक्ता थापासँग समसामयिक विषयमा छोटो कुराकानी गरेको छ ।

कास्की जिल्ला अदालत, पाेखरा

जेनजी आन्दोलनका क्रममा पोखरामा उच्च अदालत र जिल्ला अदालतमा के–कस्तो क्षति भयो ?

यहाँको जिल्ला अदालत जल्यो । उच्च अदालत पनि जल्यो । जिल्ला अदालतका अधिकांश फायलहरू नष्ट भए । उच्च अदालतका रिटहरू सबै जले पनि अरू कागजातहरू जोगिए ।

अहिले सर्वोच्च अदालत र देशका अन्य अदालतहरूमा जस्तै फाइलहरू प्राप्तिको क्रम पोखरामा पनि जारी छ कि ?

कतिपय फाइलहरू प्राप्त भएका छन् । तर, सबै फाइल प्राप्त भइसकेका छैनन् । सरकारवादी फौजदारी मुद्दाहरूमा फाइल प्रातिको प्रक्रिया ढिलो भएको छ । कतिपय फाइलहरू प्राप्त भएका छैनन् ।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत र देशभरिका अन्य अदालतहरूमा जुन किसिमको क्षति भयो, विगतका कुनै पनि आन्दोलनहरूमा यसरी न्यायालयमाथि आक्रमण भएको थिएन । एकजना कानूनविदको नजरले हेर्दा यो घटनालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

यसरी अदालतलाई तारो बनाउनु हुँदैनथ्यो । मान्छे हरेक ठाउँबाट प्रताडित भएपछि आउने अन्तिम रिसोर्ट भनेको अदालत नै हो । यो ठाउँमा पनि न्याय पाइएन भने व्यक्ति जाने अर्को ठाउँ छैन । अदालतमा पनि जान पाएन भने मान्छेले आत्महत्या गर्नुभन्दा अर्को उपाय रहँदैन । त्यसैले व्यक्तिको अन्तिम रिसोर्टलाई पनि जसरी जलाइयो नि, मलाई लाग्छ, यो अमानवीय र दर्दनाक स्थिति हो ।

यहाँले विगतमा राष्ट्रिय पत्रपत्रिकामा लेखहरू लेख्नुहुन्थ्यो, अचेल त्यति पढ्न पाइँदैन, किन होला ?

एकदमै कमर्सियल भइयो । यो कानूनी पेसामा लागेपछि फिराद, प्रत्यूत्तर र लिखित जवाफ लेख्दैमा अल्मिलिइयो ।

स्थानीय तहमा न्यायिक समितिहरू बनेपछि धेरै मुद्दाहरू स्थानीय तहमै समाधान हुने गरेका छन् । यसले गर्दा वकीहरूको पेसा धरापमा परेको छैन ? जिल्ला अदालतमा मुद्दाको चाप पनि घटेको होला ? वकीलहरूको मुद्दाको बिजनेस कस्तो छ कास्कीमा ?

मुद्दाको बिजनेश घटेको छैन । न्यायिक समितिले मेलमिलापको माध्यमबाट आफ्नै प्रकारका विवादहरूको समाधान गर्छ । तर, जटिल प्रकारका मुद्दाहरूको चाप अदालतमा घटेको छैन । न्यायिक समितिको दायरामा नपर्ने मुद्दाका चाप अदालतमा बढी नै छ ।

कास्की जिल्ला अदालत परिसरमा राखिएका जेनजी आन्दाेलनमा जलेका सवारीसाधन लगायत

पोखरामा वरिष्ठ अधिवक्ताहरू कति हुनुहुन्छ ?

हामी दुई दर्जन भन्दा बढी छौं । ५०० हाराहारीमा वकील छौँ ।

पोखरामा कानूनको अध्ययन कुन–कुन क्याम्पसमा हुन्छ ?

पीएन क्याम्पसमा कानूनको पढाइ हुने गरेको छ । गण्डकी विश्वविद्यालयमा पनि पढाइ हुन्छ । ११, १२ कक्षाको पनि पढाइ हुने गरेको छ ।

तपाईँको रुचि फौजदारी कानूनमा बढी छ । पछिल्लो समयमा हाम्रो समाजमा अपराधका प्रकृति फेरिएका हुन् ? पोखराको हकमा के–कस्ता अपराधहरू देखिन्छन् ? समाजमा अपराध घटेको छ या बढिरहेको छ ?

समाजको विकासका क्रममा अपराधका पनि नयाँ नयाँ आयामहरू देखिन्छन् । विशेष गरेर हाम्रो समाज अहिले विखण्डित बन्दै गइरहेको छ । प्रविधिको कारणले र वैदेशिक रोजगारीका कारणले विखण्डित भइरहेको छ । हामीले प्रत्येक दिन चलाउने सोसियल मिडियाले पनि विखण्डित बनायो ।

अहिलेको साइबर क्राइमसँग सम्बन्धित मुद्दाहरू बढी छन् । पारिवारिक विखण्डनका मुद्दाहरू बढी छन् । अन्य परम्परागत अपराधका मुद्दाहरू पनि बढिरहेकै छन् ।

अहिले समाजमा कतिपय मानिसहरू र दलका नेताले समेत पत्रकारहरूलाई ‘पत्रुकार‘, ‘१२ भाइ’ इत्यादि भनेर गाली गरेको सुनिन्छ, वकीलहरूको प्रतिष्ठामाथि पनि यस्ता खालका प्रहारहरू हुने गरेका छन् कि ?

प्रहार भइरहेको छ । समाजमा दुईवटा पेसागत संगठनहरूले आवाजविहीन मानिसहरूको आवाज बोल्ने गर्छन् भनिन्छ – एउटा नेपाल बार एशोसिएन र अर्को नेपाल पत्रकार महासंघ । अहिले यी दुबै संगठन पार्टीका भातृ संगठनजस्तै भएका छन् ।

वकीलको क्षेत्रमा पनि अहिले आफ्नो तटस्थता बचाउने, गरिमा बचाउने काममा हामी चुकेका छौँ । हामी पार्टीका वकील भएका छौँ । पत्रकारहरू पनि पार्टीका वकील भएका छौँ ।

अदालतले हामी वकीलहरूलाई विद्वान भन्ने पदावलीले विभूषित गर्छ । अर्को कुनै पनि पेसा छैन, जसलाई विद्वान भनेर विभूषित गरियोस् । यसरी विद्वान भनिएको वकीलको पेसा पनि के भयो भन्दाखेरि पार्टीको भक्तिगान गर्ने ।

एउटा झुण्डको भक्तिगान गरेपछि न्यायाधीश नियुक्ति हुन पाइएला भन्ने मनोदशाले ग्रसित भएको अवस्था छ । त्यसो भएको हुनाले वरिष्ठ अधिवक्ताहरूको गरिमा र प्रतिष्ठा घटेको अवस्था छ । हिजोसम्म न्यायाधीशहरूमा पनि वरिष्ठ अधिवक्ताले ईस्युमा बहस गर्छन् र अदालतलाई सहयोग पुग्छ भन्ने ठान्थे, अहिले त्यो स्थिति छैन ।

अर्कातिर न्यायाधीश पनि राजनीतिका आधारमा नियुक्ति हुन थालेपपछि बार र बेञ्च दुबैको गरिमा खिइँदै गएको छ ।

अब न्यायालयको शुद्धीकरण गरी गरिमा कसरी बढाउने ?

पहिलो कुरा त न्यायाधीश नियुक्तिमा पार्टीको भक्तिगान गरेकालाई होइन; क्षमता, योग्यता र इमान्दारितालाई हेरिनुपर्छ । अहिलेको न्यायाधीश नियुक्तिको प्रक्रिया नै गलत छ ।

न्यायापरिषदले पनि योग्यलाई भन्दा आफ्ना आसेपासेलाई हेर्ने गरेको गुनासो छ । न्यायाधीश नियुक्तिमा कुन पार्टीको भनेर नहेरिकन योग्यता–क्षमता हेरिनुपर्दछ ।

बेञ्च राम्रो भयो भने वकील राम्रो हुन्छ, वकील राम्रो भयो भने बेञ्च पनि राम्रो हुन्छ । हामीकहाँ दुबै खस्केको छ । यसमा शुद्धीकरण हुनुपर्छ ।

पूर्वप्र्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बनेको समितिले तयार पारेको प्रतिवेदनका केही कुरा लागू भएता पनि अधिकांश कुराहरू लागू भएको छैन । यो प्रतिवेदनको प्ूर्ण कार्यान्वयन हुन सक्यो भने पनि न्यायालयमा केही सुधार हुन्थ्यो ।

न्यायालयमा सुधारका लागि संविधानमा पनि केही सुधार आवश्यक छ कि ?

संविधानले चिनेको एउटा संस्था भनेको नेपाल बार एशोसिएसन हो । संविधानमा न्यायपरिषदको संरचनामा केही शुद्धीकरण गर्न आवश्यक देखिन्छ । हिजोसम्म मानिसहरू न्याय नपाए गोरखा जानु भन्थे । अहिले न्याय पाइन्छ कि भनेर अदालतमा आउँछन् । न्याय पाइन्छ भनेर ढुक्क भएर अदालत प्रवेश गर्ने कम देखिन्छ । त्यसैले अदालतप्रति जनविश्वास बढाउन न्यायपरिषदको संरचनामा आमूल परिवर्तन गर्नुपर्छ ।

जेनजी आन्दोलनपछि अरू ठाउँमा परिवर्तन भयो, न्यायपालिकामा परिवर्तन भएको छैन । यहाँ हिजोकै ह्याङओभर छ । यहाँभित्रको जडतालाई उखेलेर फाल्न जरुरी छ । मलाई लाग्छ : जति चेत खुल्नुपर्ने थियो, अदालत जल्दा पनि त्यो चेत खुलेको देखिएन ।

सम्बन्धित खवर

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

काठमाडौँ । फागुन २१ को निर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनसँगै...

राष्ट्रियसभाका पूर्वसचिवलाई प्रश्न– सांसदलाई तलबले खान पुग्छ ?

राष्ट्रियसभाका पूर्वसचिवलाई प्रश्न– सांसदलाई तलबले खान पुग्छ ?

काठमाडौँ । प्रतिनिधिसभामा नवनिर्वाचित २७५ जना सांसदहरु खुशीले भुईँमा खुट्टा राख्ने स्थितिमा छैनन् ।...

‘अब संविधान ट्रयाकमा आयो, अदालतमा सरकारको छायाँ पर्न सक्छ’

‘अब संविधान ट्रयाकमा आयो, अदालतमा सरकारको छायाँ पर्न सक्छ’

काठमाडौं । फागुन २१ को निर्वाचन सकिएको छ । तर, संविधान संशोधनको बहस सकिएको...

प्रधानन्यायाधीश भएँ, प्रधानमन्त्री भएँ, अब पुग्यो : सुशीला कार्की

प्रधानन्यायाधीश भएँ, प्रधानमन्त्री भएँ, अब पुग्यो : सुशीला कार्की

काठमाडौँ/रासस ।  मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा...