देशको राजधानी काठमाडौंमा सार्वजनिक बसभित्रै कस्तोसम्म घटना हुँदोरहेछ भन्ने थाहा पाउँदा तपाईको होस उड्न सक्छ । यो घटना ०७५ सालको हो, जहाँ बानेश्वरबाट रत्नपार्क जाने बस चढेका दुई बालिकालाई कीर्तिपुरमा पुर्याएर बन्धक बनाइएको थियो ।
समाजमा कस्ता–अपराध र विकृतिहरु हुन्छन् भन्ने तथ्य थाहा पाउन प्रहरी वा वकिलको माध्यमबाट अदालतसम्म आउने घटनाहरु हेर्दा स्पष्ट हुन्छ । शायद समाजको वास्तविकता बुझ्ने हो भने अदालतमा रहेका मिसिलहरु पल्टाउनुपर्ने हुन्छ।
सुरुमा सुनौं– एक १४ वर्षीया बालिका ‘कीर्तिपुर ङ’ को वयान–
म १४ वर्षकी भएँ । कक्षा ५ मा पढिरहेकी थिएँ । डेरामा दिदी भिनाजु र हजुरबासँगै बस्ने गरेका थियौं । ०७५ साल भदौ २० गतेका दिन म स्कुल गइनँ । स्कुल नगएको थाहा पाएपछि दिदीले कुट्नु भयो । मलाई दिदीसँग असाध्यै चित्त दुख्यो । त्यसपछि छिमेकी साथी कक्षा ८ मा पढ्ने छिमेकी साथी ‘कीर्तिपुर–छ’ लार्य मैले दिदीले कुटेको कुरा सुनाएँ । र, भोलिपल्ट साथी र म दुबै डेराबाट भाग्यौं ।
हामी बसको अन्तिम सिटमा बसेका थियौं । त्यहाँ एकजना पछि नाम थर थाहा भएका खत्री थरको मानिससँग भेट भयो । उनले हामीलाई ललाई–फकाई कीर्तिपुरमा विक्रम भन्ने व्यक्तिको डेरामा पुर्याए । र, त्यहाँ ज्यान मार्ने धम्की दिई प्रत्येक दिन जबरजस्ती करणी गरे ।
हामीलाई बन्धक बनाइएको चार दिनपछि ०७५ साल भदौ २४ गते दिउँसो अभिभावक र प्रहरी आएर मेरो उद्धार गरेको हो ।
प्रहरीमा गरिएको जाहेरी र वयानमा यस्तो बताएकी उनले काठमाडौं जिल्ला अदालतमा अर्र्कै वयान दिइन् ।
काठमाडौं जिल्ला अदालतमा कीर्तिपुर–ङ ले यस्तो भनिन्–
बस चढेर जाँदा नयाँ बानेश्वरमा खत्रीसँग भेट भयो । बसपार्कमा ओर्लँदा उनीसँग लभ पर्यो र उनीसँगै बिबाह गर्ने भनेर कीर्तिपुरको कोठामा गएकी हुँ । घर जाने कुरा गर्दा मैले बिहेपछि जाऔंला भनें । सहमतिमै सेक्स हुने गर्दथ्यो । म त्यही कोठामा चार दिनसम्म बसें । उहाँले ‘कीर्तिपुर–छ’ लाई घर जाने भनेकाले बल्खु पुर्याउनुभयो म कोठामा नै बसिराखें । त्यही अवस्थामा दिदीले प्रहरी लिएर आउनुभयो । म जान मानेकी थिइनँ, प्रहरीले कोठाबाट हप्काएर लगेको हो, खत्रीसँग सहमतिमै यौन सम्बन्ध राखेको हुँदा जबरजस्ती करणी र अपहरणमा उनीमाथि सजाय नहोस् ।
अब ‘कीर्तिपुर ङ’ लाई डेराबाट भाग्न साथ दिने ‘कीर्तिपुर– छ’ ले प्रहरीमा गरेको वयान सुनौं–
म कक्षा ८ मा पढिरहेकी थिएँ । कोठामा हामी आमाबुवा र दिदी बहिनी सँगै बस्थ्यौं । साथी ‘कीर्तिपुर– ङ’ ले दिदीबाट कुटाई खाएको रिसमा घरबाट निस्कने सल्लाह गरिन् । हामी बसको अन्तिम सिटमा बसेर जाँदै गर्दा बानेश्वरमा खत्रीसँग भेट भयो । चिनजान भयो । हामीलाई बाटोको राम्रो ज्ञान नभएको फाइदा उठाएर उनले कीर्तिपुरको कोठामा लगे ।
उनी बाहिर जाँदा कोठा बाहिरबाट ढोकाको चुकुल लगाएर हामलिाई भित्रै थुनेर जान्थे । उनी ‘कीर्तिपुर– ङ’सँगै सुतेको मैले देखेकी हुँ । भोलिपल्ट राति कोठामा विक्रम आए र हामीसँगै सुते । २३ गते राति १० मैले उनीहरुको मोबाइलबाट लुकेर आमालाई फोन गरेर सबैकुरा बताएपछि प्रहरी र आमा आएर मेरो उद्धार गरेर लगेका हुन् ।
त्यसो त अदालतमा पुगेपछि कीर्तिपुर–छ ले पनि आफ्नो वयानमा खत्री र कीर्तिपुर–ङ वीच सहमतिमै सम्बन्ध भएको र उनीहरुले बिहे गर्ने भनेको आफूले सुनेको बताएकी छिन् ।
खत्री के भन्छन् ?
अब अवोध बालिका एवं किशोरीलाई कीर्तिपुर पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोप लागेका कैलाली घर भई काठमाडौंमा डेरा गरी बस्ने खत्री के भन्छन् त ? उनको कुरो पनि सुनौं–
मेरो घर कैलालीको घोडाघोडीमा पर्छ । सुरुमा म काठमाडौंमा भाइको कोठामा बस्थें । भाइ रोजगारीका लागि भारततिर लागेपछि म कहिले को साथीकहाँ त कहिले को साथीको कोठामा आश्रय लिई बस्दै आएको थिएँ ।
घटना हुनुभन्दा अघिल्लो रात ०७५ भदौ २० गते म बानेश्वर सहयोगीनगरमा रहेको आन्टीको कोठामा सुतेको थिएँ । कहिलेकाहीँ कीर्तिपुरमा विक्रमको कोठामा पनि सुत्न जाने गरेको थिएँ ।
०७५ भदौ २१ गते साँझ ५ बजेतिर सार्वजनिक बसमा बानेश्वरमा दुबै केटीहरुसँग भेट भयो । कुराकानी गर्दै बागबजारसम्म पुगियो । उनीहरुले घरबाट भागेर हिँडेको बताए । मैले घर परिवारको फोन नम्बर माग्दा छैन भने । त्यसपछि मसँगै जान्छौ त ? भनेर सोध्दा जान राजी भएपछि हामी तीनैजना कीर्तिपुर जाने बसमा चढी पाागा दोबाटोमा झरेर साथी विक्रमको कोठामा पुग्यौं ।
विक्रमको कोठामा एउटा मात्रै सुत्ने ओछ्यान थियो । त्यहाँ तीन रात सुत्दा कीर्तिपुर ‘ङ’ सँग शारीरिक सम्पर्क भयो । तीन दिनपछि कीर्तिपुर–छ लाई बल्खु चोकमा छाडें । त्यसपछि कीर्तिपुर ङसँगै कोठामा बसिरहेको अवस्थामा प्रहरीले समातेको हो । कीर्तिपुर–छ लाई करणी गरेको छैन, कीर्तिपुर–ङ सँग राजीखुशीले करणी भएको हो । पीडितलाई संरक्षण दिई राजीशुखीले शारीरिक सम्पर्क राखेको हुँदा अपहरण गरेको वा जबर्जस्ती करणी गरेको होइन ।
अब डेरावाल विक्रमको कुरो सुनौं–
म त्यसबेला लर्डबुद्ध कलेज बानियाँटार टोखामा पढ्दै थिएा । कीर्तिपुरको काठामा रहेका सामानहरु गंगबुमा सारिसकेको हुँदा ताला लगाएको थिइँन । खाट र ओछ्यान चाहिँ सार्न बाकीँ थियो । सामान लिन भदौ २३ गते जाँदा भित्रबाट चुकुल लगाइएको रहेछ । कीर्तिपुर–ङ ले कोठा खोलिन् । खत्रीले २१ गते नै घर छाडेर हिँडेका केटीहरुलाई कोठामा ल्याएको छु भनेका थिए ।
मैले उनीहरुलाई चाउचाउ खान दिएँ । बुबा आमाको नम्बर माग्दा दिन मानेनन् । पछि खत्री पनि आइपुगे । उनले भोलि यिनीहरुलाई अभिभावककहाँ पुर्याइदिनुपर्नेछ भन्दै थिए ।
राति हामी चारैजना एउटै ओछ्यानमा सुत्यौं । रातिको कुरो मलार्य थाहा भएन । मैले कसैलाई केही गरिनँ । खत्रीले अभिभावकको मञ्जुरीविना कोटामा राखेर जबरजस्ती गरेको शंका लाग्छ ।
बिहान उठेर नुहाई धुवाई गरेपछि खत्रीले तिमीहरुलाई तिम्रो कोठामा पुर्याइदिन्छु, हिँड भन्दा कीर्तिपुर–छ जान तयार भए पनि कीर्तिपुर–ङ भने जान तयार भइनन् । त्यसपछि म गंगबु साथीकहाँ गएँ। भोलिपल्ट साँझ प्रहरीले केटीहरुलाई उद्धार गरी खत्रीलाई पक्राउ गरेको सुनें ।
काठमाडौं जिल्ला अदालतको ठहर
खत्री र कीर्तिपुर–ङ ले सहमतिमै सम्बन्ध राखेको भने पनि काठमाडौं जिल्ला अदालतले ०७५ माघ १५ गते खत्रीलाई कडा सजाय सुनायो ।
खत्रीले वालिकाहरुलाई अपहरण गरी शरीर बन्धक बनाएको हुँदा निजलाई ७ वर्ष कैद र ७० हजार जरिवाना हुने भन्यो । साथै बालिकाको हकमा कसूर गरेको पाइएको थप १० वर्ष कैद र एक लाख रुपैयाँसमेत जरिवाना हुने अदालतले भन्यो । साथै दुबै पीडित वालिकालाई जनही ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिनुपर्ने आदेश समेत काठमाडौं जिल्ला अदालतले सुनायो ।
खत्री गए उच्च अदालत
जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि खत्री उच्च अदालत पाटनमा पुनरावेदन लिएर गए । उच्च अदालतका तत्कालीन न्यायाधीश ठाकुरप्रसाद शर्मा र रामप्रसाद ओलीको इजलासले ०७६ साल साउन १३ गतेको फैसलामा स्पष्टसँग भनिदियो–
१८ वर्षमुनिकी नावालिकासँग सहमतिमै यौन सम्पर्क राखेको भए पनि त्यो जबरजस्ती करणी नै ठहर्छ । नावालकलाई अभिभावकको मञ्जुरीविना तीन दिनसम्म कोठामा राखिनु अपहरण वा शरीर बन्धक होइन भन्न सकिएन, काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखियो ।
खत्रीलाई अझै पनि जिल्ला र उच्च अदालतको फैसला चित्त बुझेन । आफूले जबरजस्ती करणी नगरेको र प्रेम सम्बन्धका आधारमा शारीरिक सम्बन्ध रहेको जिकिर गर्दै उनी सर्वोच्च अदालतको ढोकामा पुगे ।
