काठमाडौं । गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनले त्यहाँको दुई तिहाई बहुमतको सरकार ढाल्यो । बंगलादेशमा अहिले अन्तरिम सरकार बनेको छ र आगामी माघ २९ गते आम निर्वाचनको मिति घोषणा गरिएको छ ।
बंगलादेशको घटनापछि नेपालमा पनि त्यस्तै भयो । जेनजीहरुको आन्दोलनले झण्डै दुई तिहाई बहुमतमा रहेको कांग्रेस–एमालेको गठबन्धन सरकार ढल्यो र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । र, नेपालमा पनि फागुन २१ मा प्रतिनिधिसभाको चुनावको मिति तोकिएको छ ।
तर, बंगलादेशमा चुनावको तयारी भइरहेकै बेला विहीबार राति दोस्रोपटक हिंसा र आगजनी भड्किएको छ । यो हिंसाको निशानामा राष्ट्रिय पत्रपत्रिका, भारतीय कूटनीतिक कार्यालय र पूर्वसरकारका मन्त्रीका निवाससमेत परेका छन् । एकातिर यसले भारत र बंगलादेशबीचको सम्बन्धमा समेत यसले दरार ल्याएको छ । अर्कोतर्फ, आगामी निर्वाचनलाई समेत असफलतातर्फ धकेल्ने जोखिम बढेको छ ।
छिमेकी भारतले भने बंगलादेशको राजनीतिक अस्थिरताले आफ्नो देशलाई घाटा हुने भन्दै निर्वाचन सफल हुनुपर्नेमा जोड दिएको छ ।
बंगलादेशकै जस्तो संवैधानिक रिक्तता र राजनीतिक अस्थिरताको बाटोमा हिँडिरहेको नेपालका लागि त्यहाँको दोस्रो हिंसात्मक घटना एउटा ‘नकारात्मक पाठ’ बन्न सक्छ ।
आउनोस्, बंगलादेशको हिंसा भाग–२ बारे बीबीसीको सहयोगमा तयार पारिएको यो सामग्री पढौं–
विद्यार्थी नेताको हत्यापछि बंगलादेशमा फेरि भड्कियो हिंसा
गत वर्षको विद्यार्थी आन्दोलनमा संलग्न बंगलादेशका विद्यार्थी नेता शरीफ ओस्मान हादीको मृत्यु भएपछि बिहीबार राजधानी ढाकाका धेरै ठाउँमा हिंसा भड्किएको छ ।

बीबीसी बंगलाका अनुसार हादीको मृत्युको खबरले ढाकाका धनमन्डी र शाहबाग लगायत धेरै ठाउँमा विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ । बिहीबार राति ढाकाका धेरै स्थानहरूमा भिडले आक्रमण गरे, जसमा दुई प्रमुख बंगलादेशी पत्रिकाका कार्यालय पनि परेका छन् ।
उस्मान हादीको मृत्युको खबर फैलिने बित्तिकै प्रदर्शनकारीहरू सडकमा उत्रिए । प्रदर्शनकारीले ढाकास्थित प्रथम आलो र डेली स्टार पत्रिका, धानमण्डी ३२ स्थित शेख मुजिबुर रहमानको घर र छायानौत सांस्कृतिक भवनमा आक्रमण, तोडफोड र आगजनी गरेका छन् । यसबाहेक, चटगाउँ, राजशाही र अन्य धेरै क्षेत्रहरूमा पनि विभिन्न स्थानमा आक्रमण भएका छन् ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान, जमात–ए–इस्लामी र एनसीपी (नेशनल सिटिजन्स पार्टी) लगायत विभिन्न दलका नेताहरूले हादीको निधनमा शोक व्यक्त गरेका छन् ।
बिहीबार राति ११ बजेर २० मिनेट जाँदा राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जनतालाई धैर्य गर्न र कुनै पनि प्रकारको ‘प्रचार एवं अफवाह’ मा ध्यान नदिन र हतारमा निर्णय नगर्न अपील गरे ।
घाइते भएका हादीलाई गत डिसेम्बर १५ मा उपचारका लागि हेलिकोप्टरबाट सिंगापुर लगिएको थियो, जहाँ बिहीबार अस्पतालमै उनको मृत्यु भयो । सिंगापुरको विदेश मन्त्रालयको आधिकारिक विज्ञप्तिअनुसार ‘सिंगापुर जनरल अस्पताल र राष्ट्रिय स्नायु विज्ञान संस्थानका डाक्टरहरूको भरमग्दुर प्रयासका बाबजुद पनि, हादीको १८ डिसेम्बर २०२५ मा मृत्यु भयो ।’
सिंगापुर प्रशासनले हादीको शव ढाका पठाउन सिंगापुरस्थित बंगलादेश उच्चायोगलाई सहयोग गरिरहेको बीबीसीले जनाएको छ ।
ढाका प्रहरीले बीबीसी बंगलालाई बताएअनुसार धनमन्डी ३२ मा तोडफोडको घटना भएको छ। पहिले बंगलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको निवास र पछि संग्रहालयको रूपमा प्रयोग गरिएको यो भवन अगस्ट ५, २०२४ यता दुई पटक तोडफोड र आगजनी गरिएको छ । बिहीबार दिउँसो पनि त्यहाँ तोडफोड भएको थियो र जेसीबी मेसिन प्रयोग गरिएको देखियो ।
बिहीबार मध्यराततिर सयौं आक्रोशित मानिसहरूले दैनिक ‘प्रोथोम आलो’ र ‘द डेली स्टार’को कार्यालयमा आक्रमण, तोडफोड र आगजनी गरेका छन् । त्यसबेला दुवै पत्रिकाका धेरै पत्रकारहरु भवनभित्रै फसेका थिए । पछि सेना, प्रहरी र बिजीबीका सदस्यहरू घटनास्थलमा पुगेर भवनभित्र फसेका मानिसहरूलाई उद्धार गरे । शुक्रबारदेखि अखबारहरूले आफ्नो काम बन्द गरेका छन् । तिनीहरूको अनलाइन सेवाहरू पनि लगभग बन्द भएका छन् ।
सदरमुकाम ढाका र बाहिरका धेरै जिल्लामा उस्मान हादीका समर्थकहरू र विभिन्न राजनीतिक तथा विद्यार्थी संगठनका नेता–कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । चटगाउँका धेरै ठाउँहरुमा पनि विरोध प्रदर्शन भएका छन् ।
अपदस्थ अवामी लिग सरकारका पूर्वशिक्षामन्त्री मोहिबुल हसन चौधरी नौफेलको घरमा तोडफोड र आगजनी भयो ।
ढाकास्थित भारतीय सहायक उच्चायुक्तको निवास अगाडि ठूलो भीड जम्मा भएर उच्चायुक्त कार्यालयमाथि पनि ढुङ्गा प्रहार भयो ।
बिहीबार राति राष्ट्रलाई सन्देश दिँदै मुहम्मद युनुसले भने , ‘यस क्रूर हत्यामा संलग्न सबै अपराधीहरूलाई सकेसम्म चाँडो न्यायको कठघरामा ल्याइनेछ र अधिकतम सजाय दिइनेछ । यस मुद्दामा कुनै पनि उदारता हुनेछैन । हामी देशलाई अस्थिर बनाउन चाहनेहरूको पासोमा पर्नु हुँदैन, हामी सबै एकजुट भएर लोकतन्त्र, न्याय र जनताको अधिकार स्थापित गर्न ठोस कदम चालौं ।’
युनुसले भने, “म फेरि एकपटक स्पष्ट पार्न चाहन्छु कि उस्मान हादी पराजित शक्तिहरू, फासीवादी आतंककारीहरूका शत्रु थिए । उनको आवाजलाई दबाउने र क्रान्तिकारीहरूलाई धम्काउने प्रयासहरूलाई पूर्णरूपमा विफल पारिनेछ ।’
युनुसले मृतक हादीकी श्रीमती र एक मात्र सन्तानको जिम्मेवारी सरकारले लिने पनि बताएका छन् ।
को थिए हादी उस्मान ?

हादी उस्मान गत वर्ष अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको हिंसात्मक विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक थिए । उनी शेख हसिना विरोधी इन्कलाब मञ्चका सदस्य थिए । यो समूहलाई कट्टरपन्थी संगठन मान्ने गरिएको छ । शेख हसिनाको अवामी लिगलाई कमजोर पार्ने प्रयासमा यो संगठन अग्रपंक्तिमा रहेको थियो ।
मृतक हादी फेब्रुअरीको आसन्न चुनावका लागि सम्भावित उम्मेदवार पनि थिए । गत शुक्रबार अज्ञात नकावधारी समूहले गोली प्रहार गरेको समयमा उनी ढाका– ८ निर्वाचन क्षेत्रका लागि स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरिरहेका थिए ।
विद्यार्थी आन्दोलनमा यसको भूमिकाका बाबजुद पनि, युनुस सरकारले मञ्चलाई विघटन गरेर राष्ट्रिय चुनाव लड्नबाट प्रतिबन्ध लगायो ।
भारत र बंगलादेशको सम्बन्धमा दरार
इन्कलाब मञ्चका विद्यार्थी नेता उस्मान हादीको हत्यापछि भारत र बंगलादेशको सम्बन्धमा समेत तनाब उत्पन्न भएको छ । भारतीय उच्चायोग भएको ढुङ्गामुढाको घटना यसको एउटा प्रमाण हो ।
पछिल्ला घटनाक्रमले बंगलादेश र भारतबीचको सम्बन्धमा तनाव सिर्जना गरेको छ । केही बंगलादेशी नेताहरूले भारतविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको हो ।
गत बुधबार, बंगलादेशको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का दक्षिणी प्रमुख संयोजक हसनत अब्दुल्लाहले बंगलादेश अस्थिर भयो भने, भारतका सेभेन सिस्टर्स उत्तरपूर्वी राज्यहरू एक्लिने बताए । उनले भारतीय उच्चायुक्तलाई देश निकाला गर्नसमेत माग गरे ।
यसैबीच, भारत सरकारले दिल्लीस्थित बंगलादेशी राजदूतलाई बोलाएर भारतीय उच्चायोगको सुरक्षाप्रति चिन्ता व्यक्त व्यक्त गरेको छ ।
यससँगै दिल्ली र ढाकाबीचको सम्बन्धको परिदृश्य रातारात फेरिएको छ । दिल्लीस्थित बंगलादेशी उच्चायुक्तको निमन्त्रणामा मंगलबार साँझ दुई देशबीचको ऐतिहासिक मित्रताको उत्सवमा वर्तमान र पूर्वभारतीय कूटनीतिज्ञहरू, सैन्य अधिकारीहरू र थिंक ट्याङ्क सदस्यहरूले भाग लिएका थिए ।
तर, विहीबार रातिदेखि त्यो सम्बन्धमा एकाएक दरार आयो । भोलिपल्ट, बुधबार बिहानै दिल्लीले साउथ ब्लकमा बंगलादेशका उच्चायुक्तलाई बोलायो।
भारत सरकारले उच्चायुक्तलाई बोलाउनुको मुख्य कारण ढाकास्थित भारतीय उच्चायोग वरपर ‘केही अतिवादी समूहहरू’ द्वारा उत्पन्न सुरक्षा खतरा भएको बताए पनि मन्त्रालयका अधिकारीहरूले यसको पछाडिको अर्को कारण केही बंगलादेशी राजनीतिज्ञहरूले दिएका ‘उत्तेजक’ भारतविरोधी अभिव्यक्तितर्फ संकेत गरेका छन् ।

मंगलबार राति दिल्लीको चाणक्यपुरीस्थित बंगलादेश उच्चायोग परिसरमा आयोजित विजय दिवस समारोहमा बंगलादेश उच्चायुक्त रियाज हमिदुल्लाहले भारतसँग बंगलादेशको सम्बन्ध वास्तवमै धेरै गहिरो र बहुआयामिक रहेको र समृद्ध विगतको पृष्ठभूमिमा उनीहरूको अन्तरनिर्भरता बुझ्नु महत्त्वपूर्ण भएको बताउँदै थिए ।
उनले दुई देशबीचको सम्बन्धलाई ‘प्राकृतिक सम्बन्ध’का रूपमा वर्णन गरे र १९७१ को युद्धमा बंगलादेशको भूमिमा सर्वोच्च बलिदान दिने १ हजार ६६८ भारतीय सैनिकहरूलाई सम्झिए ।
तर रात पर्न लाग्दा नलाग्दै भारतीय विदेश मन्त्रालयले उच्चायुक्त रियाज हमिदुल्लाहलाई साउथ ब्लकमा बोलायो । भारत सरकारले उनलाई भन्यो कि बंगलादेशको सुरक्षा वातावरण द्रुत गतिमा बिग्रँदैछ र उनीहरू यस अवस्थाप्रति चिन्तित छन् ।
यसअघि आइतबार मात्रै बंगलादेशको विदेश मन्त्रालयले ढाकास्थित भारतीय उच्चायुक्त प्रणय वर्मालाई बोलाएर देशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको भारत बसाइप्रति चिन्ता व्यक्त गर्दै यसले ‘बंगलादेशमा आतंकवादी गतिविधिलाई उक्साउने र राष्ट्रिय चुनावलाई बाधा पुर्याउने प्रयासलाई बल प्रदान गर्ने बताएको थियो ।’
विगत डेढ वर्षयता बंगलादेशमा मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकार र भारतमा नरेन्द्र मोदी सरकारले उच्चायुक्तहरूलाई बोलाउने, आरोप–प्रत्यारोप लगाउने र विभिन्न मुद्दाहरूमा बयान जारी गर्ने असंख्य घटना भएका छन् । बुधबारको घटना यसैको सिलसिला हो ।
बंगलादेशमा, ‘जुलाई ओइक्या’ नामक संस्थाले बुधबार ढाकामा ‘भारतीय उच्चायोगतर्फ मार्च’ आह्वान गरेको थियो । उनीहरूको उद्देश्य उच्चायोग अगाडि ‘विरोध र्याली’ आयोजना गर्नु थियो ।
यद्यपि, सोही दिन स्थानीय समयअनुसार दिउँसो साढे तीन बजेतिर, बंगलादेशी प्रहरीले ब्यारिकेट खडा गरेर प्रदर्शनकारीहरूलाई बीचैमा रोक्यो ।
यसबाहेक, विजय दिवस (डिसेम्बर १६) मा, बंगलादेशको अन्तरिम सरकारले लगभग १५ वर्षअघि बीएसएफद्वारा मारिएकी बंगलादेशी किशोरी फेलानी खातुनको सम्झनामा ढाकाको एउटा महत्त्वपूर्ण सडकको नाम ‘फेलानी एभिन्यू’ राख्ने घोषणा गर्यो ।
‘बंगलादेशका जनता सीमा हत्याको अन्त्य चाहन्छन् । हाम्री चेली फेलानीले झुण्डिएर आत्महत्या गरिन् । भारतले गरेको यो अत्याचारको सम्झनालाई जीवित राख्न हामीले यो सडकको नाम फेलानी रोड राखेका छौं,’ बंगलादेशको ग्रामीण विकास तथा सहकारी मन्त्रालय एवं आवास तथा सार्वजनिक निर्माण मन्त्रालयका सल्लाहकार आदिलुर रहमान खानले भने ।
वरिष्ठ एनसीपी नेता हसनत अब्दुल्लाहले केही दिनअघि आरोप लगाएका थिए कि उस्मान हादीलाई गोली हान्ने बन्दुकधारीहरू भारततिर भागेका हुन सक्छन् । उनले भने ‘यदि भारतले बंगलादेशका शत्रुहरूलाई आफ्नो भूमिमा आश्रय दियो भने बंगलादेशले पनि भारतविरोधी शक्तिहरूलाई आश्रय दिनेछ र ‘सेभेन सिस्टर्स’ लाई भारतबाट अलग्याउने प्रयास गर्नेछ ।’
भारतले हसनत अब्दुल्लाहको टिप्पणीलाई ‘उत्तेजक’ मानेको छ । उत्तरपूर्व भारतको राष्ट्रिय सुरक्षाका लागि धेरै संवेदनशील क्षेत्र मानिन्छ । विशेष गरी पूर्वोत्तरका धेरै सशस्त्र पृथकतावादी समूहहरूले पहिले बंगलादेशमा शरण लिएको र केही पूर्वसरकारले उनीहरूलाई सुरक्षा दिएको भारतको बुझाइ रहँदै आएको छ । त्यसैले, दिल्लीका अधिकारीहरू हसनत अब्दुल्लाहको टिप्पणीलाई हल्कारूपमा लिनु हुँदैन भन्ने विश्वास गर्छन् ।
बंगलादेशका उच्चायुक्त रियाज हमिदुल्लाहलाई दिल्लीले फेरि एकपटक भनेको छ, भारत बंगलादेशमा शान्ति र स्थिरताका लागि निष्पक्ष, स्वतन्त्र, समावेशी र स्वीकार्य चुनाव चाहन्छ ।
स्रोत : बीबीसी हिन्दी
ताजा अपडेट
निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…
१७ फागुन २०८२
