निर्वाचन आचारसंहिता के हो ? कहिलेदेखि लागु हुन्छ ? के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

७ पुष २०८२

निर्वाचन आचारसंहिता के हो ? कहिलेदेखि लागु हुन्छ ? के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौं । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउने उद्देश्यले निर्वाचन आयोगले लागू गर्ने प्रमुख नियामक दस्तावेज नै निर्वाचन आचारसंहिता हो ।

निर्वाचनको अवधिमा राज्यका निकाय, राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सञ्चारमाध्यमदेखि मतदातासम्म सबैको आचरणलाई मर्यादित र निष्पक्ष बनाउने कानूनी आधार यही संहिता हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगलाई निर्वाचन आचारसंहिता निर्माण, लागू र कार्यान्वयन गर्ने अधिकार प्राप्त छ । सोही अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ३ बमोजिम आचारसंहिता क-कसलाई लागू हुन्छ त ? उक्त दफा अनुसार आचारसंहिता निम्न सबै व्यक्ति, निकाय र संस्थालाई लागू हुन्छ :

– नेपाल सरकार र नेपाल सरकारका मन्त्री
– प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री
– संवैधानिक निकाय र सो निकायका पदाधिकारी
– नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी
– स्थानीय कार्यपालिका र सोका सदस्य
– संघ, प्रदेश र स्थानीय तहका कर्मचारी
– सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी
– सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी
– राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ संगठन
– उम्मेदवार तथा सम्बन्धित व्यक्ति
– राजनीतिक दल तथा उम्मेदवारका मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि
– सार्वजनिक पद धारण गरेको व्यक्ति
– अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता
– पर्यवेक्षण संस्था तथा पर्यवेक्षक
– सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
– निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी
– विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी
– मतदाता
– विकास साझेदार संस्था
– सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी
– मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी
– निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यावसायिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार र,
– आयोगले तोकेको अन्य कुनै निकाय वा व्यक्ति

परिच्छेद २ : सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ मा विभिन्न निकाय र समूहका लागि पृथक–पृथक आचरण निर्धारण गरिएको छ ।

दफा ४ : सबैले पालना गर्नुपर्ने आचरण

निर्वाचनसँग सम्बन्धित सबै पक्षले निष्पक्षता, मर्यादा, कानूनी सीमा र सार्वजनिक हितको सम्मान गर्दै आचरण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दफा ५ : नेपाल सरकार,प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सो का पदाधिकारीले पालना गर्ने आचरण

नेपाल सरकार, प्रदेश सरकार, मन्त्री तथा स्थानीय कार्यपालिका र सोका पदाधिकारीले निर्वाचनको अवधिमा सरकारी साधन, स्रोत र अधिकारको दुरुपयोग गर्न नपाउने तथा नयाँ नीति, कार्यक्रम वा निर्णय नगर्ने व्यवस्था गरिएको छ ।

दफा ६ – संवैधानिक निकाय तथा सो का पदाधिकारीले पालना गर्नुपर्ने आचरण

संवैधानिक निकाय तथा तिनका पदाधिकारीले पूर्ण तटस्थता कायम गर्दै निर्वाचन प्रक्रियामा कुनै किसिमको प्रभाव पार्न नहुने व्यवस्था गरिएको छ ।

दफा ७ – नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्ध सरकारी तथा सार्वजनिक संस्था र सो मा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र तिनमा कार्यरत कर्मचारीले आचारसंहिता विपरीत कुनै गतिविधि गर्न नपाउने प्रावधान छ ।

दफा ८ – सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण

सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले राजनीतिक तटस्थता कायम गर्नुपर्ने र निर्वाचनमा निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दफा ९ – निर्वाचनको काममा संग्लग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण

निर्वाचनको काममा संलग्न कर्मचारीले निष्पक्ष, पारदर्शी र कानूनअनुसार काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दफा १० – विद्यालय, महाविद्यालय वा विश्वविध्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण

विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा त्यहाँ कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले निर्वाचन सम्बन्धी गतिविधिमा राजनीतिक पक्षपात गर्न नपाउने व्यवस्था गरिएको छ ।

दफा ११ – सरकारी वा अर्ध सरकारी निकायबाट संचालित परियोजना, विकास समिति तथा सो का कर्मचारीले पालना गर्नुपर्ने आचरण

सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले निर्वाचन प्रभावित हुने गरी कार्य गर्न नपाउने व्यवस्था छ ।

दफा १२ – गैर सरकारी संस्था, विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरण

गैरसरकारी संस्था, विकास साझेदार संस्था तथा सम्बद्ध पदाधिकारी र कर्मचारीले निर्वाचनमा तटस्थता कायम गर्नुपर्ने प्रावधान गरिएको छ ।

दफा १३ – जुलुस, आम सभा, कोण सभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण

जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा शान्ति, मर्यादा र कानूनको पालना गर्नुपर्ने व्यवस्था छ ।

दफा १४ – सवारीसाधन प्रयोग गर्दा पालन गर्नुपर्ने आचरण

सवारीसाधन प्रयोग गर्दा सरकारी वा सार्वजनिक साधनको दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

दफ १५ – सञ्चारमाध्यमको प्रयोग गर्दा पालन गर्नुपर्ने आचरण

सञ्चारमाध्यमको प्रयोग गर्दा निष्पक्ष, तथ्यपरक र मर्यादित सूचना प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दफा १६ – निर्वाचन खर्चसम्बन्धी आचरण

निर्वाचन खर्च कानूनले तोकेको सीमाभित्र गर्नुपर्ने व्यवस्था छ ।

दफा १७ – मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेल विशेष आचरण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दफा १८ – मतदानको दिन पालना गर्नुपर्ने आचरण

मतदानको दिन पूर्ण शान्ति, निष्पक्षता र कानूनी मर्यादा पालना गर्नुपर्ने प्रावधान छ ।

निर्वाचन आचारसंहिता कहिलेदेखि लागू हुन्छ ?

नेपालमा निर्वाचन आचारसंहिता निर्वाचन आयोगको निर्णयअनुसार लागू हुन्छ । सामान्यतयाः निर्वाचन घोषणा भएपछि आयोगको बैठकबाट निर्णय गरी राजपत्रमा प्रकाशित गरिएपछि आचारसंहिता प्रभावकारी हुन्छ । व्यवहारमा यो संहिता प्रायः निर्वाचनको ४० देखि ६० दिन अगाडिदेखि लागू हुँदै आएको छ र मतगणना तथा अन्तिम नतिजा घोषणासम्म कायम रहन्छ ।

अघिल्ला निर्वाचन अभ्यास हेर्दा स्थानीय तह निर्वाचन २०७९ मा आचारसंहिता चैत २५ देखि लागू गरिएको थियो भने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा असोज १२ देखि लागू गरिएको थियो । यसैगरी उपनिर्वाचन तथा राष्ट्रियसभा निर्वाचनमा पनि आयोगले निर्वाचन मितिभन्दा करिब एकदेखि दुई महिना अगाडिदेखि आचारसंहिता लागू गर्ने अभ्यास गर्दै आएको छ ।

अघिल्ला निर्वाचनहरूमा आचारसंहिताको कार्यान्वयन निर्वाचन व्यवस्थापनको अनिवार्य अभ्यासका रूपमा स्थापित भइसकेको छ । सरकार र मन्त्रीहरूले नयाँ योजना घोषणा नगर्ने, कर्मचारीलाई सरुवा-नियुक्ति नगर्ने, सुरक्षा निकायलाई तटस्थ राख्ने तथा दल र उम्मेदवारलाई खर्च र प्रचारमा सीमा तोक्ने अभ्यास निरन्तर देखिँदै आएको छ ।

आचारसंहिता उल्लङ्घन भएका घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने, चेतावनी दिने, जरिवाना गर्ने र गम्भीर अवस्थामा उम्मेदवारीसमेत रद्द गर्ने कारबाही गर्दै आएको तथ्यले यसको प्रभावकारिता देखाउँछ ।

निर्वाचन आचारसंहिता कानूनी दस्तावेज मात्र नभई लोकतन्त्रको मर्यादा र जनताको मताधिकारको सुरक्षा कवच हो । राज्य शक्ति, प्रशासनिक संयन्त्र र राजनीतिक प्रतिस्पर्धाबीच सन्तुलन कायम गर्न यसले निर्णायक भूमिका खेल्दछ ।

अघिल्ला निर्वाचनमा विकसित भएको अभ्यासले देखाएको छ कि आचारसंहिताको प्रभावकारी पालना बिना स्वच्छ र विश्वसनीय निर्वाचन सम्भव छैन । आगामी निर्वाचनहरूमा पनि यही स्थापित अभ्यासलाई निरन्तरता दिँदै आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्नु लोकतान्त्रिक दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

रवि लामिछाने चुनाव लड्न पाउँछन् ?

रवि लामिछाने चुनाव लड्न पाउँछन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी र बैंक जमानत राखेर जेलबाट...

नेपालको रिट प्रणाली : नागरिक अधिकारको ढाल

नेपालको रिट प्रणाली : नागरिक अधिकारको ढाल

काठमाडौं । कानून र अदालतका खबर पढ्दा हामीले सर्वोच्च अदालतबाट विभिन्न आदेश जारी भएको...

१६ वर्ष पुगेपछि नागरिकता, तर किन पाइँदैन सबै अधिकार ?

१६ वर्ष पुगेपछि नागरिकता, तर किन पाइँदैन सबै अधिकार ?

काठमाडौँ । नेपाल नागरिकता ऐन, २०६३ को दफा २ अनुसार; १६ वर्षभन्दा कम उमेरका...

जिल्ला अदालतको संरचना र न्यायिक प्रणाली

जिल्ला अदालतको संरचना र न्यायिक प्रणाली

काठमाडौं । नेपालको जिल्ला अदालत न्यायिक प्रणालीको आधारस्तम्भ हो, जहाँ नागरिकको न्यायमा पहिलो औपचारिक...