काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुनुपर्छ भन्ने जेनजीहरुको भावनाअनुसार सर्वोच्च अदालतले दुई दिनसम्म फूलकोर्ट बैठक बसेर आत्मसमीक्षा गरिसकेको बताएका छन् ।
‘जुन अहिले जेनजीहरुको कुरा छ, मुलुकमा भ्रष्टाचार हुनुहुँदैन र सुशासन हुनुपर्छ भन्ने जुन मान्यता छ, त्यो मान्यतालाई आत्मसाथ हामीले पहिलेदेखि नै नगरेको होइन’ सोमबार साँझ बार डेको उपलक्ष्यमा सम्वोधन गर्ने क्रममा प्रधान न्यायाधीश राउतले भने, ‘मैले अस्ति फूलकोर्ट नै राखेँ । हामी सबै न्यायाधीशहरु बसेर निर्मम भएर समीक्षा गरिसक्यौं ।’
नेपाल बारको कार्यक्रममा प्रमुख अतिथिका रुपमा करिब ४० मीनेट सम्वोधन गरेका प्रधान न्यायाधीश राउतले केही बरिष्ठ अधिवक्ताहरुको पनि खरो आलोचना गरे । विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवरलाई त प्रधान न्यायाधीश राउतले ‘पदमा बसेको मान्छेले विचार गरेर बोल्नुपर्छ’ सम्म भने ।
प्रधान न्यायाधीश राउतले बरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई जवाफ दिने क्रममा आफ्नो भारत भ्रमणका बेला भएको एमओयूका सम्बन्धमा समेत भित्री रहस्य खोले ।
न्याय क्षेत्रका लागि संग्रहणीय एवं सान्दर्भिक हुने ठानेर प्रधान न्यायाधीश राउतको सोमबार सम्बोधनलाई जस नेपालमा जस्ताको त्यस्तै प्रकाशित गरिएको छ ।
पदमा भएको मान्छेले विचार गरेर बोल्नुपर्छ
विशेष अदालत बारका अध्यक्ष टीकाबहादुर कुँवरले भन्दै हुनुहुन्थ्यो, मुद्दाको संख्याका आधारमा न्यायाधीशलाई उत्कृष्ट गरिएको छ । तपाई बारको अध्यक्ष मान्छे, कुरा नबुझिकन पब्लिक प्लेस (सार्वजनिक स्थल) मा तपाईहरुले डिनाउन्स गरिदिनुभयो भने मानिसहरुको मनोबल घट्छ । यो हेक्का राख्नुपर्छ । यो तपाईको आफ्नै विचार हो कि अरु कसैले तपाईलाई यो ‘ब्यागेज’ दिएको हो ? होइन भने तपाईले आएर श्रीमान्, कुरा के हो भनेको भए म भन्दिन्थेँ नि ।
भएको के थियो ? आज प्रधान न्यायाधीशले यो कुरा भन्नुपर्ने अवस्था पर्यो । त्यहाँ फैसलाका आधारमा उत्कृष्ट हुँदैन, त्यहाँ ‘इन्ट्रिगिटी’ (इमानदारिता) का आधारमा हुन्छ ।
अस्ति भर्खर ३ गते पुरस्कार पाउने मान्छे विपुल न्यौपाने उच्च अदालत इलाम इजलासका हुनुहुन्थ्यो । अर्को, अशोक कुमार बस्नेत हुनुहुन्थ्यो । देशभरिका वकीलले र देशभरिका न्यायाधीशले ठीक चयन भयो भन्नुभएको छ । अपवादमा तपाईले भन्नुभयो ।
तपाईले कुरा नबुझी भन्नुभयो या कसैले तपाईलाई कसैले यो कुरा भन्नुपर्छ भन्यो । तर, यो कुरा तपाईले यो ठाउँमा भन्ने हो कि मलाई आएर भन्ने हो ? किनभने पुरस्कार पाउने मान्छेले चार दिन अगाडि मात्रै पाएको, सबै मान्छे खुशी भएको, यो कुराको पनि विचार गर्नुपर्छ पदमा बसेको मान्छेले ।
अर्को कुरा, हाम्रो एकराजजीको कुरा पनि छ अलिकति । उहाँले प्रतिवेदनको कुरा गर्नुभएको छ, प्रतिवेदन कमसेकम पढ्नुभएको छ कि छैन, मलाई थाहा छैन । त्यो प्रतिवेदनको कति कुरा कार्यान्वयन भयो भन्ने कुरा मलाई आएर सोधेको भए म खरर भन्थेँ । वन्, टु, थ्री, फोर, फाइभ। सिक्स, सेभेन, एइट, नाइन, टेन भन्थेँ नि त । खै ? प्रतिवेदन तयार भएदेखि आजसम्म उहाँले प्रधान न्यायाधीशलाई आएर भेट्नु पनि भएको छैन, सोध्नु पनि भएको छैन ।
तपाईहरुलाई म भन्दिन्छु– त्यो गोलाप्रथा के हो ? आइटीबाट सबै पेशी तोकिन्छ, अनलाइन मुद्दा दर्ता हुन्छ । अनलाइन तारेख हुन्छ । कत्ति कुरा छ त्यसमा ? कति कुरा भए, भएनन् भनेर मसँग आएर सोध्नुपर्यो नि । जहिले पनि पुरानो राग अलापेर के हुन्छ ?
उहाँलाई अर्को पनि कुरा छ, कार्यान्वयन गरेन भन्ने । त्यहाँ प्रतिवेदनभित्र के छ ? त्यहाँ संवैधानिक परिषदको कुरा छ, त्यो प्रधान न्यायाधीशले चेञ्ज गर्न सक्छ सक्दैन ? त्यहाँ न्याय परिषदको संरचनाको कुरा छ । त्यहाँ संवैधानिक इजलासको कुरा छ । जहाँ संविधान संशोधन गर्नुपर्ने कुरा छ, प्रतिवेदन कार्यान्वयन भएन भन्या छ । यो कसको कुरा हो ? कुनबेला कुन कुरा कसरी सम्प्रेषण गर्ने भन्ने कुराको पनि हेक्का राख्नुपर्यो नि । त्यो पनि बरिष्ठज्यूहरुले ।
अब म रमणजी पट्टि जान्छु है त ।
रमणजीले ठीक एक वर्ष अगाडि पोहोर डिसेम्बरमा के भन्नुभएको थियो ? कि, म पोखरामा मानवअधिकार गोष्ठीमा जाँदा प्रधान न्यायाधीशलाई नमस्कार गरेको, कालो गाडीको सिसाले छोपेको रहेछ, देख्दै देख्नुभएन भन्नुभयो ।
उहाँले भनेपछि साँच्चिकै, म चढेपछि कसैले त्यसो भन्छ भन्ने मलाई थाहा पनि थिएन, त्यो गाडीमा लगाएको कालो पातो निकालिदिएँ । आज म सेतैमा छु । तर, म सेतैमा हुँदा पनि, छ्याङगै देख्ने ठाउँमा हुँदा पनि उहाँले के भन्नुभयो भनेदेखि प्रधान न्यायाधीश पनि इण्डिया जानुभो । उताको प्रधान न्यायाधीश पनि आउनुभयो भनेर संशय प्रकट गर्नु भो । रमणजी मेरो अनन्य मित्र हुनुहुन्छ । उहाँ चल्तीको वकीलको हुनुहुन्छ । उहाँको ह्याङकी फ्याङकी पनि छैन । निष्ठाको वकील पनि हुनुहुन्छ, म मान्दछु । तर, उहाँको कुरा ठीक ठाउँमा पर्यो कि परेन भनेर म केही तथ्यहरु राख्छु, तपाईहरु आफैं मूल्यांकन गर्नोस् है त ।
उहाँले भन्नुभयो प्रधान न्यायाधीश बनेपछि बंगलादेश र इण्डिया गएको, म त्यहाँ मात्रै होइन, म प्रधान न्यायाधीश भइसकेपछि प्रधान न्यायाधीशहरुको सम्मेलनमा म मलेसिया गएँ । त्यहाँ मजस्ता धेरै प्रधान न्यायाधीशहरु हुनुहुन्थ्यो । म बेलायत पनि गएँ ।

इण्डिया भ्रमण किन ?
इण्डियाको कुरा के थियो, यो तपाईलाई सुनाइदिन्छु । एक वर्ष पहिला त्यहाँ डी.वाई.चन्द्रचूड प्रधान न्यायाधीश हुनुहुन्थ्यो । उहाँ आउनुभयो । उहाँका पालामा केही कुरा छलफल भएको थियो । त्यसपछि भारतमा सञ्जीव खन्ना प्रधान न्यायाधीश बन्नुभयो । उहाँको डेढ महिनामात्रै बाँकी रहेछ, उहाँले मलाई के भन्नुभयो भने प्रधान न्यायाधीशज्यू आइदिनुपर्यो । त्यहाँ एउटा ऐतिहासिक डकुमेन्टमा हामीले सही गर्नु थियो । मेमोरेन्डम अफ अण्डस्ड्यान्डिङ (एमओयू) । धेरै महत्वपूर्ण कुरा त म कुनै दिन भनौंला । र, त्यसका लागि म यहाँबाट इण्डिया गएँ । मैले त्यो एमओयू गरेँ ।
एमओयू गर्दा म तपाईलाई सुनाइदिन्छु, जुन ठाउँमा मलाई राखिएको थियो, छेउमा इण्डियाका प्रधान न्यायाधीश हुनुहुन्थ्यो । अरु ३२ जना न्यायाधीशहरु त्यहाँ हुनुहुन्थ्यो । मपछि इण्डियाको कानूनमन्त्रीलाई राखिएको थियो । बार काउन्सिलको अध्यक्ष राखिएको थियो । त्यसपछि सुप्रिम कोर्ट बार एशोसिएसनको अध्यक्ष राखिएको थियो । अनि अर्को एकजना पनि राखिएको थियो । अर्को लाइनमा पनि सबै विशिष्ट मानिसहरु थिए । त्यो ठाउँमा हामीले एमओयूमा सही गरेको हो । त्यो डेढ घण्टाको कार्यक्रम थियो ।
‘रेसिप्रोकल’ के हुन्छ भने उहाँहरुले बोलाइरहने, हामीले नबोलाउँदा राम्रो हुँदैन । सञ्जीव खन्नाले के भन्नुभएको थियो भने म तपाईको कार्यकालभित्रमा त आउदिनँ जति एमओयूमा हुन्छ, त्यो म पूरा गर्छु ।
हुनेवाला प्रधान न्यायाधीश बी.आर. गावै हुनुहुन्थ्यो । उहाँले म सेप्टेम्बरको पहिलो हप्तामा आउँछु भन्नुभयो । उहाँ ४ देखि ७ सेप्टेम्बरमा (नेपाल) आउनुभयो । अर्थात् भदौको १९ गतेदेखि २२ गतेसम्म उहाँ नेपालमा हुनुहुन्थ्यो । २२ गते उहाँलाई उडाइसकेपछि २३ गते यहाँ जेनजी आन्दोलन भयो । ठीक एकदिन अगाडि उड्नुभयो ।
मैले त्यो एमओयू यहाँमात्रै गरेको छैन । बेलायतमा चिफ जस्टिसको निमन्त्रणामा गएँ । त्यहाँ त दुईवटा चिफ जस्टिस हुनुहुँदोरहेछ । सुप्रिम कोटमा सम्माननीय प्रधान न्यायाधीश, जसले संवैधानिक विवादहरु हेर्छ । अर्को हाईकोर्टको सम्मानीय चिफ जस्टिस महिला हुनुहुँदोरहेछ । मैले त्यो ठाउँमा पनि एमओयू गरेको छु ।
हाम्रो दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, हामी कहाँ छौं ? मैले त कहिलेकाहीँ कानून व्यवसायी साथीहरु देख्छु, म उहाँहरुलाई सम्मान पनि गर्छु । तर, कुरो ढंगले सम्प्रेषण नगरेर कता–कता अल्मलिएको होकि जस्तो पनि लाग्छ ।
सामाजिक सञ्जालको विकराल अवस्था
एकै ताल म जम्प गरेर म सामाजिक सञ्जालमा आइपुगेँ । यो कुरा मैले भन्न जरुरी छ । त्यो इण्डियाको एमओयूको कुरा पनि छ यहाँ । सामाजिक सञ्जालमा यो हप्ता सुन्नै नसकिने, पढ्दा पनि आपत्तिजनक हुने, जीउ नै सिरिङ्ग हुने अदालतको बारेमा मैले टिप्पणी देखें ।
अनि मैले भनेँ, आज म पोजिसन लिन्छु । देशको प्रधान न्यायाधीशले पोजिसन लिने हो, कुरै छैन । म यसमा टोलरेट नै गर्दिनँ । मैले माइन्ड सेट गरेँ । त्यसपछि मैले सीआईबीका सबै मान्छेहरुलाई तुरुन्तै यो पठाउनोस् र जोजो जहाँ छन्, तिनलाई समातेर कारवाही गर्नुपर्यो । यो त अति भयो । तपाईहरुलाई थाहा छ ? भयो के ?
तीन दिनपछि उहाँहरु दौडादौड गरेर मबहाँ आइपुग्नुभयो । श्रीमानहरुलाई जसले लाञ्छित गरेको छ, त्यो त सबै फेक रहेछ है भन्नुभयो । ल हेर्नोस् ।
आज त्यो समाजिक सञ्जालमा तपाईको कसैको चरित्र हत्या भयो भनेदेखि, नेपालको प्रधान न्यायाधीशकै कुरा किन नगर्नोस् या प्रधान न्यायाधीश भन्दा ठूला मानिसको कुरा कुरा किन नगर्नोस् त्यो हटाउनलाई सात दिन लाग्छ । बिहानदेखि बेलुकासम्म सयवटा आइसक्छन् न्युजहरु । त्यो विषयको ज्ञाता कानून व्यवसायी कहिले हुने ? त्यो विषयको अनुसन्धान हुने विज्ञ कहिले तयार गर्ने ? अनि त्यो विषयको अभियोजन गर्न सक्ने क्षमता भएका मानिसहरु र जनशक्ति कहिले तयार गर्ने ? यो आजको प्रश्न हैन ?
यही कुरा छ त्यो एमओयूमा । इण्डिया गएका बेला ५ वटा कुरा भनेको थियो । मैले त माग्ने कुरा केही पनि थिएन, दुई दिन बस्दा उहाँसँग धेरैचोटि भेट भयो । त्यहाँको प्रधान न्यायाधीशले भन्नुभयो, नेपालको अदालत जलेको रहेछ, मिसिलहरु जलेका रहेछन्, जनताको सम्पत्ति तलमाथि भएकोमा दुःख लाग्यो ।
मैले त उहाँहरुलाई कुरा केही भनिनँ, उहाँहरुले सोधेको जवाफ दिएँ । उहाँले भन्नुभयो, चिफ जस्टिस, तपाईले के कुरामा सुधार गर्न चाहनुभएको छ ? भैले भने, अहिलेको समसामयिक विषय हाम्रो एकदम चुनौतीपूर्ण रहेको छ, आर्टिफिसियल इन्टिलिजेन्स । साइबर क्राइम । आइटी । त्यसपछि ट्रेनिङ सेन्टरबाट पाउने टे«निङ । अनि यहाँका विद्वान कानून व्यवसायी, न्यायाधीश र अधिकृतहरुका लागि ई–लाइब्रेरीको एक्सेस । यति पाँचवटा कुरा गरेँ ।
उहाँले यी पाँचैवटा कुरा गराइदिन्छु भन्नुभयो उहाँले । तर, पैसा, अरु कुराहरु ? भन्दै हुनुहुन्थ्यो, मैले भनेँ अहँ । उहाँहरुको सिकाउने ठाउँ दुईठाउँमा रहेछन्, एउटा चण्डीगढमा अर्को भोपालमा ।
अहिले कानून व्यवसायीहरु त छाडिदिउँ, सरकारमा बसेका एक से एक साधन स्रोत भएका मान्छेलाई पनि एआईले, आइटीले र साइबर क्राइमले वाक्क दिक्क पारेको छ । कसैसँग त्यो समाधानको सूत्रै छैन । हरेक मान्छे प्रताडीत छ । समाज कस्तो परपीडक भइसक्यो, अर्कालाई पीडा पुर्याएर रमाउने अवस्था छ । यसले समाज कहीँ माथि उठ्छ ?
अब हामी के हुनुपर्यो ? ल, हिन्दुस्तानमा गएर हेर्नोस्, बेलायतमा गएर हेर्नोस्, त्यहाँका कानून व्यवसायीहरुले आइटीको कुरा, एआईको कुरा र साइबर क्रामइको कुरामा पोख्त नहुने हो भनेदेखि तपाईलाई वकालत गर्न हम्मे–हम्मे पर्छ । यही चिजका लागि एमओयू सुरु भएर दुई महिनापछि फेरि पनि जानुपर्ने अवस्था हुन सक्छ ।
यो पनि-
वकीलहरुको ठूलो स्वर हामीलाई थाहा हुन्छ
रमणजीको आशंका कहाँ छ ? बाफ रे बाफ ! त्यस्तो नठान्नोस् मित्र । प्रराब्धले को मान्छेलाई कहाँ पुर्याउँछ, तपाइर्ए र म त पहिला सँगसँगै वकालत पनि गरेका हौं । तपाईलाई पनि प्रश्न गर्ने मेरो थियो त्योबेलामा, तर मैले गरिनँ ।
तपाईले अघि भन्दै हुनहुन्थ्यो, यस्ता यस्ता कुराहरु भएका थिए । कुनैबेला तपाई पनि त महान्यायायाधिवक्ता हुनुहुन्थ्यो नि । त्यतिबेला तपाईले प्रधानमन्त्रीलाई यस्ता कुराहरु भन्न सक्नुभयो ?
मान्छे कहिले जिम्मेवारीमा हुन्छ, कहिले जिम्मेवारीमा हुँदैन, तर मान्छेले आफ्नो संयमता कहिल्यै छोड्नुहुँदैन । उसले सुझबुझ पनि छोड्नु हुँदैन । र, बुद्धिमत्तापूर्ण निर्णय गर्न पनि छाड्नु हुँदैन । र, सही कुरा सही समय आएपछि उजागर गरि पनि दिनुपर्छ ।
म जे भए पनि म देशको प्रधान न्यायाधीश, न्यायाधीश भइसकेको मान्छे हुँ, वकीलहरुले अलि ठूलो स्वरमा कुरा गरे पनि कसले कसको कुरा गरिराखेको छ भन्ने थाहा हुन्छ नि । भन्ने वकील को हो, भन्न सिकाउने वकील को हो, भनाउने वकील को हो, छ्याङ्ग हुन्छ नि त्यो त ।
तर, त्यो कुरा सब हामी भन्दैनौं । हामी के चाहन्छौं भने नेपाली समाजभित्र कुनै विकृति, विसंगति र बेथिति छ भने सबै मिलेर त्यसलाई समाधान गरौं न ।
कसरी गर्ने अदालतको जनआस्था वृद्धि ?
वारको जनआस्था बार आफैंले विचार गर्नुपर्ने कुरा होला । अदालतको जनआस्थाको कुरा र समग्रमा अदालतसँग जोडिएको बारको जनआस्थामा तपाईहरु प्रवुद्ध वर्गको ध्यान आकृष्ट गर्न चाहन्छु ।
अदालतको जनआस्था भनेको अदालतको मुटुको धमनी हो । अदालतको प्राण पनि हो । अदालतको जनआस्था त्यसै कायम हुन सक्दैन । त्यो कायम गर्नलाई विश्वास दिलाउनुपर्छ । विश्वास आर्जन गर्नुपर्छ ।
विश्वास दिलाउने, फल्ने–फुल्ने दुईवटा कुरा मात्र छन्– एउटा हो, त्यो सुकर्ममा रमाउँछ र त्यसलाई स्वच्छताले सिञ्चित गर्नुपर्दछ । अर्को हो, त्यो रिजल्टमा रमाउँछ । त्यो रिजल्ट त्यसै आउँदैन, तपाईको प्रष्ट प्रतिवद्धता चाहिन्छ । मेरिट तपाईले रोज्न सक्नुपर्छ । र, सँगसँगै रणनीति पनि चाहिन्छ । यदि काम हुन सकेन, क्षमता प्रदर्शन भएन, डेलिभर भएन र प्रतिवद्ध हुन सकिएन भने त्यो रिजल्ट इम्पोसिबल । परिणाम पाइँदैन । जब तपाई परिणाम दिनुहुन्न, फेरि विश्वास जन्मिँदैन । तपाईले विश्वास जन्माउनु छ भने परिणाम दिनैपर्छ ।
एएटा क्लाइन्टको मुद्दा मैले दुई वर्षमा सिध्याउँछु भनेर तपाईले विश्वास दिलाउनुभयो र १० वर्षमा पनि सिध्याउनुभएर र उसले तपाईमाथिको विश्वास उठायो भने के हुन्छ ? तपाईलाई कानून व्यवसायीका रुपमा उसले पत्याउन छोड्छ । त्यसैले जनआस्था भनेको विश्वास नै हो । विश्वास नै सबभन्दा ठूलो कुरा हो । विश्वासमै संसार चलेको छ ।
अहिले हाम्रो देशमा त्यो विश्वास लड्खडाएको, धर्मराएको र चर्मराएको तरल अवस्थामा छ । त्यो चर्मराएको विश्वासलाई बार र बेञ्च मिलेर फेरि कायम गर्नुपर्दछ र जीवन्त बनाउनुपर्दछ । त्यो जीवन्त पनि त्यसै हुँदैन । धेरै उपायहरु पनि छैनन् । थोरै मात्र उपाय छ त्यसको । पहिलो– जे बोलिन्छ, त्यो पुर्याउनुपर्छ । त्यो पुर्याउने कुरा पनि परिणाामबाटै देखिनुपर्दछ । र, त्यो विश्वास तपाईले इमान र निष्ठापूर्वक काम गर्दा मात्रै जन्मिन्छ । वकालतमा निष्ठा र इमानको प्रयोग विद्वत वर्गले कति गरेको छ, तपाईहरुलाई नै थाहा होला । आफूलाई त सब थाहा हुन्छ ।
त्यसकारण यो जनविश्वास बार र बेञ्च मिलेर एकचोटि अथक प्रयास गर्दाखेरि कायम हुन्छ भन्ने मेरो ठम्याइ छ ।

बारमाथि केही प्रश्न
बार डेको दिन यो प्रशंग मैले किन छेड्न पर्यो भने कानून व्यवसायीको पेसा मर्यादित हुन सकेको छ कि छैन ? यो प्रश्न म तपाईहरु सामु नै राख्छु । मलाई जवाफ पनि चाहिँदैन । मर्यादित भएको तपाईहरुलाई अनुभूति भएको छ भने त्यो अत्यन्त राम्रो हो । तर, यदि मर्यादित हुन गाह्रो भइरहेको लागेको हो भने फेरि बडो विचारणीय कुरा छ ।
पेसालाई कसरी मर्यादित बनाउन सकिन्छ ? त्यो उजागर गर्न जरुरी छ । मैले के गर्नुपर्छ, मलाई भन्नोस्, म तयार छु । तर, मलाई त के लाग्छ भने इमान्दारिता भन्ने कुरा जुनसुकै पेसामा पनि चाहिन्छ । तर, न्यायिक क्षेत्रमा अलि धेरै चाहिन्छ ।
तपाईहरु जतिसुकै जान्ने किन नहुनोस् । जतिसुकै विलक्षण किन नहुनोस् । बाहिरको उच्च डिग्री तपाईहरुसँग किन नहोस् । गोेल्ड मेडलिस्ट किन नहुनोस् । युनिभर्सिटी टप र कलेज टप किन नहुनोस् । निष्ठा डग्मगाए सबै स्वाहा ! केही काम लाग्दैन त्यो । त्यसैले, लिगल प्रोफेसनले सबभन्दा बढ्ता माग गर्ने कुरा नै निष्ठा हो ।
निष्ठा सुकर्मबाट मात्र आउँछ । असल अभ्यासबाट मात्रै आउँछ । तपाई हामीले अलिअलि वकालत गर्दाखेरि धन दौलत जम्मा गरेका छौं होला । गर्छौं पनि होला । त्यो धन दौलतबाट निष्ठा खरीद गर्न खोजियो भने कुनै बजार पाउनुहुन्न । त्यो पाइन्छ किन्न ? सापट खोज्नोस् न, कसैसँग प्रचूर निष्ठा होला । पाउँ भन्दा पाइन्छ ? त्यो के हो ? ‘डिजर्भ’ गर्ने चिज हो । यसमा तपाईहरुको अनुभव र अनुभूति कस्तो छ ?
हुन त अनुभव भन्दा अनुभूतिको स्पन्दन पावरफूल हुन्छ । मलाई यस्तै लाग्छ । यस्तो भाषा मैले भन्दा बारको अध्यक्ष विजयप्रसाद मिश्रले बोल्नु हुन्छ । मलाई बोल्न पनि गाह्रो लाग्छ । अनुभव अतीत र इतिहासको कुरा हो । इतिहासका जानकार भन्छन्, इतिहास सत्य र निर्मोही हुन्छ ।
न्यायिक सुशासनको प्रश्न
मैले उठाउनुपर्ने अर्को पनि कुरा छ, न्यायिक सुशासनको ।
न्यायिक सुशासन कसरी कायम हुन्छ ? न्यायिक सुशासन न्यायपालिकाको अमूक अस्त्र हो । न्यायपालिकाको सुरक्षा कवच पनि हो । न्यायिक सुशासन न्यायपालिकाको शीरमा रहेको क्राउनमा सजिने आभूषण पनि हो । जसले न्यायपालिकाको लाज राख्दछ, बचाउँछ ।
अनुभवले के देखियो ? न्यायिक सुशासन कायम गर्न सकिएन भने न्यायपालिकाको लाज बचाउन हम्मे–हम्मे पर्ने रहेछ ।
सबैबाट न्यायपालिकामाथि प्रहार हुने रहेछ । न्यायिक सुशासनको प्रत्याभूति पनि सजिलो छैन । तर सजिलो छैन भनेर हामी पन्छिन पनि पाउँदैनौं । किनभने न्यायिक सुशासन हाम्रो अस्मिता र अस्थित्वसँग जोडिएको छ । सेवा प्रवाहसँग जोडिएको छ । सेवा प्रवाहको प्रभावकारिता र स्वच्छतासँग जोडिएको छ । र, सेवाग्राहीको सन्तुष्टिसँग पनि जोडिएको छ ।
यो कुरालाई किञ्चत तल नपारी आज बार डेको दिनमा कानून व्यवसायलाई समृद्ध बनाउन सकिन्छ ? बार डेको दिन मैले यो कुरा भन्नैपर्ने जस्तो लाग्यो ।
अर्को कुरा पनि भन्छु् । यो नभन्दा पनि हुने हो । घुस र रिसवतको कुरा पनि छ ।
भ्रष्ट न्यायाधीशको आरोप लागेपछि जीवनभर दोष मेटिँदैन
रिसवत लिँदैन, घुस खाँदैन भन्ने छवि बन्यो भने न्यायाधीशकहाँ कसैले घुस दिन नै ल्याउँदैन । त्यो छवि त्यसै बन्दैन । घुस नखाएपछि मात्र त्यस्तो छवि बन्छ । घुस नलिने आरचणबाट मात्र त्यस्तो छवि निर्माण हुन्छ । घुस नलिने छविलाई पवित्रता र स्वच्छताले मलजल गरिरहेको हुन्छ ।
तपाईलाई सुनाइदिन्छु रोचक कुरा ।
म पनि त उबेला वकील थिएँ । ०३९/०४० सालताका त्यो बेलाका सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु चिन्थेँ । त्योबेला पनि फलाना–फलाना अधिवक्ताहरु यस्ता हुन्, फलाना न्यायाधीशहरु यस्ता हुन् भन्ने बाहिर खुब चर्चा हुन्थ्यो । आज पनि चर्चा छ । घुस खानेको एउटा र्युमर चल्छ । जतात्यतै हल्ला हुन्छ । तर, त्यसको प्रमाण जुटाउन बडा गाह्रो हुँदोरहेछ । तर, भ्रष्ट न्यायाधीश भनेर आरोप लागेपछि त्यो दोष जीवनभरि मेटिँदैन ।
ठीक यसलाई पल्टाएर हेर्नोस् । लिगल प्रोफेसनमा र वकालतीमा ब्रोकर हावी भयो भने के हुन्छ ? पेसा बदनाम हुन्छ । विद्वान कानून व्यवसायीहरु पनि बदनाम हुन पुग्ने अवस्था रहन्छ । अमूक वकील यस्तो काम गर्छ भनेर सबले भन्छन् तर प्रमाण पुग्दैन त्यहाँ पनि । थाहा पाए पनि थाहा नपाएजसरी बसेका हुन्छन् । मैले बार डेको दिन यो किन भनेको भन्दा तपाईहरुको साइडको कुरामा एकदमै आत्मचिन्तन गर्नुपर्छ ।
फूलकोर्ट बसेर समीक्षा गरिसक्यौं
मैले अस्ति जनकपुरमा पनि बोलेको छु । हामी आफैंभित्र निर्मम समीक्षा गर्छौं है भनेको छु ।
अस्ति मैले जनकपुरबाट आइसकेपछि पहिलो दिन म आफैंले कुरा राखें । दोस्रो र तेस्रो दिन एक बजेदेखि ५ बजेसम्म हामीले लगातार आत्मसमीक्षा गरिसक्यौं । त्यो ‘इनहाउस’ कुरा थियो, त्यो म आज यहाँ तपाईहरुलाई सेयर गर्न सक्दिनँ ।
त्यो केको लागि हो ? जुन अहिले जेनजीहरुको कुरा छ, मुलुकमा भ्रष्टाचार हुनुहुँदैन र सुशासन हुनुपर्छ भन्ने जुन मान्यता छ, त्यो मान्यतालाई आत्मसाथ हामीले पहिलेदेखि नै नगरेको होइन । तर, परिवेश कस्तो छ मुलुकको ?
अघि रमणजीले भ्रष्टाचार संस्थागत भइसक्यो भन्दै हुनुहुन्थ्यो । संस्थागत भएकोलाई चिरेर मेट्ने कि अझै संस्थागत हुन दिने ? प्रश्न यहाँनेर छ ।
त्यसैले मैले अस्ति फूलकोर्ट नै राखेँ । तीन दिनमध्ये दुई दिन फूलकोर्ट । आमी सबै न्यायाधीशहरु बसेर छलफल गर्यौं । कसैलाई भन्ने ठाउँ किन दिने ? हामीले निर्मम भएर समीक्षा गरिसक्यौं । बारले गर्यो, गरेन, यो तपाईहरुको कुरा हो ।
बारप्रति आभारी छु
बारले मलाई राम्रै सहयोग गरेको अनुभूति गरेको छु । तपाईहरुले २३ र २४ को घटनाबाट जलेका मिसिल कागजातको प्राप्तिमा बार र विद्वान कानून व्यवसायीहरुले निर्वाह गरेको भूमिकाको म उच्च प्रशंसा गर्न चाहन्छु ।
मिसिल नभइकन पेशी चढ्दैन । पेशी नचढिकन तपाईहरुको बहस हुँदैन । बहस नभइकन तपाईहरुको अनुहारमा उज्यालै आउँदैन । यति कुरा मलाई राम्रै थाहा छ ।
अहिलेसम्म कानून व्यवसायीहरुका तर्फबाट ६८१० वटा मिसिलहरु प्राप्त भएछन् । ७३५ वटा मिसिल सरकारी वकीलबाट प्राप्त भएका छन् । अहिले ७५३५ मिसिल हामीसँग छन् ।
सरकारी वकीलको चाहिँ अलि अप्ठ्यारो के रहेछ भने एउटै मिसिल एक डोको हुँदोरहेछ । डोका डोका क्या मिसिल पनि । त्यहाँबाट ४/५ हजार आउनेछ । ४ हजार हाम्रा पहिलेकै मिसिल बाँकी छन् । भनेपछि १६/१७ हजार मिसिल हुँदाखेरि अब हाम्रो अदालत पूर्णरुपमा चल्छ ।
अन्त्यमा, म एउटा कुरा गरेर तपाईहरुसँग विदा हुन चाहन्छु ।
यो पेसालाई व्यवसायिक कसरी बनाउने ? बार डेको दिन यो बडो विचार गर्नुपर्यो । पेसा मर्यादित हुने कुरा अर्कै हो । तर, पेसालाई व्यवसायिक बनाउने कुरा अर्कै छ । यसमा अदभूत क्षमता चाहिन्छ ।
इण्डियासँग कुरा मिल्यो भने हाम्रा कानून व्यवसायीहरुलाई पनि त्यहाँको टे«निङ सेन्टरमा पठाउने । उहाँहरुले हजार–दुई हजारसम्म मानिसहरु पठाउनोस् भनेका छन् । हामीले एमओयू गरेका छौं, एग्रिमेन्ट हुन मात्रै बाँकी छ ।
मैले आजै हेरेको थिएँ, एआईमा तीनवटा मान्छे उस्तै उस्तै बनाएर राखिदिएको छ, त्यही नै मान्छे भन्ने लाग्यो, तर होइनरहेछ । कस्तो अप्ठ्यारो । कुरा त कहाँबाट कहाँ पुगेको छ नि त ।
त्यसकारण, बारलाई व्यवसायिक गर्ने कुरा, पेसालाई मर्यादित बनाउने कुरा छन्, तपाईहरुले मलाई भन्नोस्, मैले सकेको अधिकतम् मद्दत गर्न चाहन्छु । यो मेरो अठोट हो ।
