संसद विघटन र अदालतका फैसलामाथि प्रश्न

८ पुष २०८२

संसद विघटन र अदालतका फैसलामाथि प्रश्न

रमनकुमार श्रेष्ठ, बरिष्ठ अधिवक्ता  तथा पूर्वमहान्यायाधिवक्ता 

हामी बार डे मनाउँदैछौं । यहाँहरुले शीर्षक याद गर्नुभएको होला । हामी जहिले पनि न्यायपालिकाको जनआस्था वृद्धि गर्न के गर्नुपर्छ भन्थ्यौं । तर, आज शीर्षकले भनेको छ, बारको पनि जनआस्था गिरेको रहेछ । यहाँहरुले कार्यक्रमको ब्यानर हेर्नुभए हुन्छ– न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि ! एउटा, यो अचम्म लाग्यो ।

अर्को, प्रधानन्यायाधीश र प्रधानमन्त्री छुट्याउन गाह्रो–गाह्रो हुने स्थिति आउन थालिसकेको छ । अहिले त मुलुक प्रधानन्यायाधीशमय बनेको छ । न्यायाधीशमय बनेको छ । धेरै मानिसहरु प्रधानमन्त्री हुनलाई लाइन लागेका छन् ।

अहिले सम्माननीयज्यू (प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत) लाई पनि प्रश्न उठेको थियो । त्यो भारतीय अदालतको प्रधानन्यायाधीशलाई किन बोलाउनुभएको होला नेपालमा ? अनि आफू किन जानुभएको होला ? शायद त्यो लाइन त होइन ? भनेर प्रश्न उठेको थियो । बंगलादेश पनि जानुभयो ।

अघि यहाँहरुले डान्स हेर्नुभयो । संविधान हातमा लिएर नृत्य गरियो । संविधान छ ? मुलुकमा संविधान छ कि छैन ? अथवा भनौं, संविधानले खडा गरेका संरचनाहरु चाहे त्यो कार्यपालिका भन्नोस्, न्याय पालिका भन्नुहोस् या व्यवस्थापिका भन्नुहोस्, त्यो छ कि छैन ? अथवा भनौं, त्यो संरचनाले मुलुकमा राम्रो काम गर्‍यो कि गरेन ? त्यो संरचनाले राम्रो काम गरेको भए जेनजी विद्रोह हुने थिएन ।

जेनजी विद्रोह किन भयो ? हो, हामीलाई दुःख लागेको छ, अदालत जल्यो । व्यवस्थापिका संसद भवन जल्यो । राष्ट्रपतिको कार्यालय जल्यो । सिंहदरबार जल्यो । जल्न हुँदैनथ्यो । तर, जल्यो किन ? कतै हाम्रै कारणले त जलेको होइन ? के त्यो जल्नमा हाम्रो भूमिका त छैन ?

यहाँ सम्माननीयज्यू हुनुहुन्छ, म राजनीति र अदालत कसरी जोडिन्छ, थोरै कुरा निवेदन गर्न चाहन्छु ।

यहाँहरुले अदालतका फैसलाहरुको इतिहास हेर्नुभयो भने संसदीय व्यवस्थालाई राम्ररी अदालतले कहिल्यै पनि चल्न दिएन । हेर्नुहोला त्यो । हामीले अंगीकार गर्‍यौं संसदीय व्यवस्था, त्यो व्यवस्थालाई राजनीतिक दल र दलका नेताहरुले त चल्न दिएनन्, दिएनन्, अदालतले पनि चल्न दिएन । फैसलाले चल्न दिएको छैन ।

हेर्नुहोस बाहिर (विदेशमा) संसदीय व्यवस्था भएको ठाउँमा के हुन्छ ? संसदीय व्यवस्था भएका ठाउँमा कुनै दलले बहुमत ल्यायो भने र त्यो दलको नेता असफल भयो भने उसले राजीनामा दिएर अर्को दलको नेता छान्दछ । तर, हाम्रो देशमा के हुन्छ भने दलको नेताले ‘हम भी जाय सनम, तुम भी जाय सनम’ भनेर संसद विघटन गर्दिन्छ । अदालतमा मुद्दा पर्छ । अनि अदालतले के गर्छ ? अदालतले पनि दलको जे ईच्छा छ, त्यही गर्दिन्छ ।

२०४७ सालमा संविधान बनिसकेपछि पहिलो संसदले ५ वर्ष कार्यकाल पूरा गर्न सकेन । नीति र कार्यक्रम असफल भइसकेपछि गिरिजाबाबुले संसदीय दलको नेताबाट राजीनामा दिएर अर्को नेता चयन गर्नुपर्दथ्यो, उहाँले गर्नुभएन । संसद नै विघटन गर्दिनुभयो । अदालतमा मुद्दा पर्‍यो, तिमीले गरेको संसद भंग ठीक हो भन्दियो ।

फेरि चुनाव (०५१ सालको मध्यावधि) भयो । ठूलो दल एमाले बन्यो । एमालेले के गर्‍यो ? अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि मनमोहनजीले पनि संसद विघटन गर्दिनुभो । अदालतमा मुद्दा प¥यो, त्यो विघटन गरेको बेठीक हो भनेर उल्ट्याइदियो ।

२०५६ सालको निर्वाचनपछि ०५८ सालमा मुलुकमा संकटकाल थियो । स्थानीय चुनाव हुन सकेको थिएन । संकटकाल लागेको थियो, शेरबहादुरजीले प्रतिनिधिसभाको चुनाव गर्छु भनेर संसद विघटन गर्दिनुभो, अदालतमा मुद्दा पर्‍यो, त्यो ठीक हो भनिदियो ।

म एउटा प्रश्न यहाँहरुलाई राख्न चाहन्छु– कहीँ राजतन्त्र पुनःस्थापित गर्नका लागि अथवा राजाको प्रत्यक्ष शासन शुरु गर्नका लागि अदालतको फैसला आधार त बनेन ? देउवाजीले धारा १२७ को प्रयोग गरेर चुनाव गर्न नसकेपछि राजाकहाँ पेश गर्नुभो । राजाले राम्रै गरी १२७ को प्रयोग गरिदिनुभयो । तिमी असक्षम, तिमीले चुनाव गर्न सकेनौ, मैले प्रत्यक्ष शासन सुरु गरें भन्दिनुभो ।

शायद देउवाजीले गरेको प्रतिनिधिसभा विघटन बेठीक हो भनिदिएको भए राजाको प्रत्यक्ष शासन सुरु हुँदैनथ्यो कि ? शायद गिरिजाबाबुले विघटन गरेको संसद पुनस्र्थापना गरिदिएको भए अर्को चुनाव हुँदैनथ्यो कि ? मनमोहनजीले गरेको विघटन ठीक भनिदिएको भए…। शायद त्यो सुरा सुन्दरी अनि दलबदल, के–के भएन ? ६० जनाको मन्त्रिमण्डल बन्ने कुरो, के भएन ? सप्पै भयो । त्यसमा अदालतको फैसला जिम्मेवार छ कि छैन ?

संसारको इतिहासमा संविधानसभाको चुनाव दुईचोटि हुँदैन । संविधानसभाले संविधान बनाउनैपर्छ । अदालतले भन्न सक्नुपर्दथ्यो, संविधानसभाले संविधान बनाउनैपर्छ । यति दिनभित्र बनाउनुपर्छ भन्नुपर्थ्यो । तर, संविधानसभा विघटन हुन्छ भन्दियो, विघटन भयो ।

अनि विघटन भइसकेपछि के भयो ? यहाँहरुलाई थाहा छ नि, प्रधानन्यायाधीश (खिलराज रेग्मी) मन्त्रिपरिषदको अध्यक्ष बन्नुभयो । अनि त्यसपछि अदालतको गरिमा रहन्छ ? अदालतको प्रधानन्यायाधीश, थाहा छैन उहाँलाई ? प्रधानमन्त्री बन्नु हुन्न भन्ने थाहा छैन ? प्रधानन्यायाधीश भैसकेपछि सरकारी सेवा कुनै लिन हुन्न भन्ने थाहा छ, तर प्रधानमन्त्री बन्दिनुभो । फेरि त्यो पनि कसले बनाए ? सबै दलले ।

नेपालका दल त कस्ता छन् भने आफ्नो स्वार्थका लागि सप्पै कुरो गर्न तयार छन् । सप्पै कुरो । खिलराजजीलाई मन्त्रिपरिषदको अध्यक्ष कसले बनायो ? सबै दलले बनाएको होइन ? बडो संविधानको कुरो गर्नुहुन्छ । यदि संविधानसभा अदालतको फैसलाले विघटन नगरेको हुन्थ्यो भने अर्कै संविधान बन्थ्यो । हरेक आन्दोलनले के गरेको हुन्छ भने यदि त्यो आन्दोलनको मागलाई सम्वोधन गरिएन भने त्यसले अर्को ठूलो आन्दोलनको सिर्जना गर्छ ।

त्यो बेला प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप जरुरी थियो । ०४७ सालको संविधानले परिकल्पना गरेको संसदीय व्यवस्था असफल भइसकेको थियो । त्यसैलाई हामीले दोस्रो संविधानसभाको चुनाव भइसकेपछि जसको बलबुँतामा संविधान बनाउने कुरा भएको थियो, त्यो शक्ति तेस्रो भयो । अनि ०७२ मा सम्झौताको संविधान बन्यो । अहिले कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन हुनुपर्छ भनेर फेरि कुरा उठेको छ ।

सम्माननीयज्यू यहाँ हुनुहुन्छ । अहिले पनि अदालतमा (संसद विघटनसम्बन्धी) मुद्दा छ । आइसक्यो संविधान कहाँ छ भनेर । म एउटा प्रश्न राख्न चाहन्छु– भदौ २३ गतेको जेनजी विद्रोहपछि २४ गते तत्कालीन प्रधानमन्त्रीज्यूले राजीनामा दिनुभयो । राष्ट्रपतिज्यूले के भन्नुभयो भने तपाई नै काम चलाऊ सरकार हो, काम गर्नुहोला ।

भदौ २४ गते २ बजे उहाँ (केपी ओली) ले राजीनामा दिनुभयो । अनि सबै दायित्व कसको थियो ? जेनजी विद्रोह भइसकेपछि त्यसलाई सम्वोधन गर्ने, प्रतिनिधिसभाको बैठक बोलाउने, जेनजीसँग छलफल गर्ने, दलहरुसँग छलफल गर्ने, शान्ति सुव्यवस्था कायम गर्ने दायित्व कसको थियो ? राष्ट्रपतिज्यूले के भन्नुभएको थियो ? तिमी नै हौ है कामचलाऊ सरकार ।

कामचलाऊ सरकारले के गर्‍यो ? ज्यानको माया धेरै लागेछ, हेलिकोप्टर चढेर भाग्नुभो । सबै भाग्नुभो । कहाँ थियो संविधान ? अहिले त बडो संविधानको कुरो गर्छौं हामी । संविधान कहाँ थियो ? संविधानले के भन्थ्यो ? संविधानले के भन्थ्यो भने राजीनामा दिए पनि त्यही मन्त्रिपरिषदले काम गर्नुपर्दथ्यो । तर, उहाँले गर्नुभएन । त्यसपछि, २७ गते अर्थात् अर्को मन्त्रिपरिषद नबनुञ्जेलसम्म संविधान कहाँ थियो ? संविधानले भनेको मान्छे कहाँ थियो ? अनि बडो अहिले संविधानको कुरो छ ।

आफूले अधिकार पाएका बेलामा, आफ्नो दायित्व भएका बेलामा, आफ्नो कर्तव्य भएका बेलामा आफूले संविधान अनुसारको काम नगर्ने । संविधान बचाउन काम नगर्ने । त्यसबेला प्रतिनिधिसभाको बैठक बोलाइदिएको भए के हुन्थ्यो ? सरकारले जेनजीसँग छलफल गरेको भए के हुन्थ्यो ? किन भाग्नुपरेको थियो ? ज्यानको त सप्पैलाई माया लाग्दोरहेछ । त्योबेलामा संविधान चाहिएन, संविधानभन्दा ज्यान ठूलो भो । भाग्नुभो । अब ज्यान बच्यो, फेरि संविधान चाहिएको छ । त्यसैले यो बडो गज्जपको कुरो छ । अब, यस्तो पृष्ठभूमिमा न्यायालयले के गर्छ ?

नेपाल बार कहाँ छ ?

अब बार कहाँ छ फेरि ? बार कहाँ छ ? हिजो ०६२/०६३ मा ऐतिहासिक भूमिका खेलेको बार, ०४६ को आन्दोलनमा ऐतिहासिक भूमिका खेलेको बार, बहुदलीय व्यवस्था स्थापनाका लागि झण्डा उठाएको बार, गणतन्त्रका लागि झण्डा उठाएको बार जेनजी विद्रोहमा कहाँ थियो ? आफ्नै भवन सुरक्षा गर्न सकेन ।

बारले सामाजिक अभियन्ताको हैसियतले जेनजीसँग छलफल गर्ने, सरकारसँग छलफल गर्ने, दलहरुसँग छलफल गर्ने, अदालतसँग छलफल गर्ने एउटा केन्द्रविन्दुको काम गर्न जरुरी थियो । बारको आफ्नै भवन जल्यो, त्यही पनि सुरक्षा गर्न सकेन । अनि यहाँ हामी बार डे मनाइराखेका छौं ।

बारको चुनावमा मैले भनेको थिएँ, सरकारले बार छोयो, ध्वस्त भयो । भष्मासुर हो सरकार भनेको । आज बार कहाँ छ ? के गरिरहेको छ ? के गरेर बसिराखेको छ ?

हुन त महासचिवज्यूले भन्नुभयो, हामी कुरो धेरै गर्दैनौं, काम गर्छौं । काम त गरिराख्नुभएको होला । कसको निर्देशनमा काम गर्नुभएको छ ?निर्देशन दिने ठाउँ होला । बार स्वतन्त्र भएन । बार स्वतन्त्र नभएको हुनाले अदालत पनि स्वतन्त्र भएन, अदालतलाई रक्षा पनि गर्न सकेन ।

त्यसैले, मलाई के लाग्छ भने सम्मानीयज्यू, बडो तरल छ अहिलेको अवस्था । धेरै पूर्वप्रधानन्यायाधीशहरु प्रधानमन्त्री हुन लाइन लागेका छन् । अझ मैले त सुनेको जेनजीसँग सम्झौता गरेको छ रे । पाँचवटा फूलमन्त्री र एउटा राज्यमन्त्री जेनजीलाई दिने सहमति भइसक्यो रे । अब गर्दागर्दै पूर्वले भएन, बहालवाला चाहियो भन्ने पनि प्रश्न उठ्न सक्छ । किनभने, त्यो पूर्वले चुनाव गर्न सक्दैन । स्थिति यस्तो छ । संविधान पनि छैन । राज्य कहाँबाट चलेको छ भन्ने प्रश्नै प्रश्न छन् ।

म त भन्छु, जेनजी विद्रोहका बेलामा सेना र राष्ट्रपतिले संविधान बचाउने ठूलो काम गर्नुभयो । होला, राजा नै स्थापना गर्न चाहने मान्छे पनि थिए होलान् । राष्ट्रपति रामचन्द्रजीलाई पनि राजीनामा देऊ भने होलान् । तर, रामचन्द्रजीले बरु मलाई मार, मैले राजीनामा दिन्नँ भन्नुभयो रे । तर, प्रधानमन्त्रीले त मार भन्नुभएन । खुरुक्क राजीनामा दिनुभयो । हेलीकोप्टर चढेर भाग्नुभयो ।

अदालतमा भ्रष्टाचार बढेको छ कि घटेको छ ?

अहिले अदालतमा बेञ्च खडा भइसकेपछि त्यो कांग्रेसको हो कि कम्युनिस्टको भनेर हेर्छन् मान्छेले । त्यस्तो भइसक्यो । फैसलामा स्थिरता छैन नै, झल्को आउँछ त्यहाँ । सबै नराम्रो गरेको छ भनेको पनि होइन तर नराम्रो गरेको कुराको पहिले छलफल हुन्छ, राम्रो कुराको छलफल हुँदैन ।
सम्माननीयज्यू क्लिन हुनुहुन्छ । भ्रष्टाचारको कुनै गन्ध उहाँमा आउँदैन ।

उहाँका दुईवटा प्रतिवेदन छन् । सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्ष हुँदा उहाँको प्रतिवेदन थियो, त्यसमा १७ प्रकारका विचौलिया छन् भनिएको थियो । हरिकृष्ण कार्की र उहाँ रहनुभएको समितिले २९ प्रकारका विचौलिया छन् भनेर ठम्याइ गर्‍यो । बहालवाला न्यायाधीशले बिचौलियाको काम गर्छ भनेर पनि त्यहाँ भनियो । विदेशमा पनि पैसा बुझ्ने काम हुन्छ पनि त्यहाँ भनियो । अब भ्रष्टाचार बढेको छ कि घटेको छ ? १७ बाट २९ पुगेपछि त्यो भ्रष्टाचार बढेको हो कि घटेको ? घटेको भनौं भने बिचौलिया किन बढे ? बिचौलियाको त कारोबारै भ्रष्टाचार गर्ने हो ।

सम्मानीयज्यू क्लिन हुनुहुन्छ तर संस्थागत भ्रष्टाचार भइसकेको छ सबै ठाउँमा । तलदेखि माथिसम्म भ्रष्टाचार छ । कुनै निकाय अछुतो छैन । गर्ने के ? अहिले त झन् त्यो रकमको मोलतोल बढेको छ । अलि गोप्यरुपले खानुपर्ने भएपछि झन् बढ्दोरहेछ ।

राज्यको अवस्था यस्तो छ । अहिलेको सरकारको राजीनामा माग्ने काम आजदेखि जेनजीले आन्दोलन थालिसक्यो । सबलाई लोभ लागेको छ प्रधानमन्त्री हुने, मन्त्री हुने । अहिलेको मन्त्रिमण्डलमा हेर्नोस् त कतिजना कानुन व्यवसायी र न्यायाधीश छन ? त्यसो भएको हुनाले मुलुक बडो अप्ठ्यारो अवस्थामा छ । यो बेलामा बारको भूमिका प्रभावकारी हुनुपर्थ्यो ।

म बारको कार्यक्रममा जनकपुर जान पाइनँ । म भएको समितिबाट राजीनामा दिएको थिएँ । राजीनामा किन दिएको थिएँ भन्ने म नेपाल बारकै फोरममा भन्छु ।

(सोमबार बार डेको अवसरमा आयोजित कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता एवं बरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठद्वारा गरिएको सम्वोधनको सम्पादित अंश)

सम्बन्धित खवर

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

काठमाडौँ । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन्...

प्रतिनिधिसभा : १ करोड ३७ लाख मतपत्र छापिए, ६६ लाख छाप्न बाँकी

प्रतिनिधिसभा : १ करोड ३७ लाख मतपत्र छापिए, ६६ लाख छाप्न बाँकी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७...

जाँचबुझ आयोगको प्रतिवेदन चुनावअघि नआउने, २५ दिन म्याद थपियो

जाँचबुझ आयोगको प्रतिवेदन चुनावअघि नआउने, २५ दिन म्याद थपियो

काठमाडाैँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ...

निर्वाचन आचारसंहिता सबैले मान्नुपर्छ भन्ने छैन : पूर्वन्यायाधीश

निर्वाचन आचारसंहिता सबैले मान्नुपर्छ भन्ने छैन : पूर्वन्यायाधीश

काठमाडौँ । केही दिनयता न्याय क्षेत्र र निर्वाचन आयोगसँग सम्बन्धित एउटा विषय बहसमा तानिएको...