काठमाडौँ । गत पुस ६ गते ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा एक व्यक्तिलाई फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार राजकुमार भन्ने रोशन कुमार शाहीको जाहेरीका आधारमा सुमन भन्ने विष्णु श्रेष्ठ ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पुस १९ गते राति करिब १० बजे ठमेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाएको छ ।
पक्राउ परेका ३४ वर्षे श्रेष्ठविरुद्ध यसअघि पनि अभद्र व्यवहार तथा चोरी कसुरका विभिन्न मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।

