काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर स्थायी घर भएका ३४ वर्षीय अमन महर्जनलाई भक्तपुर मध्यपुर थिमीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार महर्जनले युके रोजगारीको प्रलोभन देखाई लामो समयसम्म झुक्क्याएर तीन जनाबाट २८ लाख रुपैयाँ ठगी गरेका थिए। पीडितको जाहेरीपछि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीप्रति सचेत रहन र शंकास्पद व्यक्तिबाट ठगी भएको खण्डमा तुरुन्त प्रहरीमा उजुरी दिन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।


