के हो फेक रेस्क्यू ? कसरी लुटिए पर्यटक र बीमा कम्पनी ?

१२ माघ २०८२

के हो फेक रेस्क्यू ? कसरी लुटिए पर्यटक र बीमा कम्पनी ?

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै फेक रेस्क्यू (नक्कली उद्दार) मा संलग्न विभिन्न ट्राभल एजेन्सीका ६ सञ्चालकलाई पक्राउ गरिएको जानकारी दियो । पक्राउ परेकामाथि राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

फेक रेस्क्यूमा सङ्लग्नहरूले एउटै नियमित वा चार्टड उडानबाट पहाडी र हिमाली क्षेत्र पर्वतारोहण र पदयात्रामा रहेका पाँच जनासम्म पर्यटक ल्याई फरक–फरक रेस्क्यु गरेका बताई करोडौँको बीमा दावी गरेको देखिएको सीआईबीका प्रमुख एआईजी मनोज केसीले बताएका छन् ।

यतिमात्र होइन, एउटै स्थानबाट चार्टडमार्फत आएका धेरै पर्यटकलाई छुट्टाछुटै स्थानबाट फरक–फरक समयमा रेस्क्यू गरेको भन्दै फाइदा उठाएको पाइएको छ ।

किन भयो फेक रेस्क्यू ?

पर्वतारोहण र पदयात्रामा रहेका पर्यटकका नाममा बीमा गराई/गरी, पर्यटकहरूलाई बिरामी बनाएर उद्दार र उपचारका नाममा बीमा कम्पनीबाट रकम हत्याउन नक्कली उद्दार (फेक रेस्क्यू) हुने गरेको थियो ।

पर्यटकलाई सामान्य स्वास्थ्य समस्या (जस्तै : हल्का टाउको दुख्ने वा थकान) हुँदा वा कुनै समस्या नहुँदा पनि ‘अवस्था निकै गम्भीर छ’ भनी डराएर हेलिकोप्टर बोलाउन पर्यटकलाई बाध्य पारिन्थ्यो । यस्तो धन्दामा सङ्लग्नहरूले कतिपय अवस्थामा कुनै जानकारी नै नदिई पर्यटकको नाममा नक्कली उद्दारको कागजपत्र बनाएर बीमा दाबीसम्म गर्थे ।

फेक रेस्क्यू एक गम्भीर बीमा ठगी काण्डका रूपमा कुख्यात छ । आतिथ्यता र सेवा दिएर खुशी बनाई पठाउनुपर्ने पर्यटकहरूलाई अनावश्यक रूपमा हेलिकोप्टरबाट उद्दार ग वा गरेको नक्कली कागजात बनाई बीमा कम्पनीहरूसँग ठूलो रकम दाबी हुने गरेको थियो ।

फेक रेस्क्यूमा को को सङ्लग्न थिए ?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसारस फेक रेस्क्यू गर्न सञ्जाल नै सङ्गठित भएको देखिएको छ ।

यसमा मुख्य गरी तीन पक्षबीच सेटिङ (मिलिभगत) हुने गर्थ्यो । यो ठगीको आरम्भ ट्रेकिङ तथा रेस्क्यु एजेन्सीहरूले गर्ने गर्थे । विदेशबाट पर्यटक ल्याएर उद्दारको प्रपञ्च मिलाउने नै ट्रेकिङ तथा रेस्क्यु एजेन्सीहरू हुन्‌ ।

फेक रेस्क्यू प्रकरणमा पछिल्लोपटक पक्राउ परेकाहरू रेस्क्यू एजेन्सीकै सञ्चालक हुन्‌ । प्रहरीले माउन्टेन रेस्क्यु सर्भिस, नेपाल चार्टर सर्भिस, एभरेष्ट एक्सपिरियन्स एण्ड एसिट्यान्सका सञ्चालकलाई पक्राउ गरेको हो ।

फेक रेस्क्यूमा कम्तिमा पनि १०० जति संस्थाहरू प्रत्यक्ष सङ्लग्न भएको पर्यटन क्षेत्रमा सक्रिय व्यवसायीहरूले बताइरहेका छन्‌ । प्रहरीले पनि अनुसन्धान जारी रहेकाले सङ्लग्नता पुष्टि भएकाहरूलाई पक्राउ गरी मुद्दा चलाउने बताइसकेको छ ।

फेक रेस्क्यूका लागि तयार पारिएको सञ्जाल (ईकोसिस्टम) को प्रारम्भ बिन्दुमै ट्राभल एजेन्सी र रेस्क्यू एजेन्सीबीच साँठगाँठ हुने गरेको थियो । ट्राभल एजेन्सी सञ्चालकले रेस्क्यू एजेन्सी पनि चलाउने, आफ्नो रेस्क्यू या ट्राभल एजेन्सी नभए नजिकका आफन्त वा चिनेजानेका व्यक्तिको संस्थाबाट फेक रेस्क्यूको धन्दा चलाउने बाटो बनाउँथे ।

यसरी आफैँले पर्यटक ल्याउने, आफैँले पर्वतारोहण र पदयात्रामा पठाउने, आफैँले नक्कली या जानाजान बिरामी बनाउने र आफ्नै सङ्गठित सञ्जालबाट नक्कली उद्दार गरी, नक्कली कागजात बनाएर बीमा कम्पनीमा प्रतिपर्यटक नै लाखौँ रुपैयाँ बीमा दाबी गरिन्थ्यो ।

फेक रेस्क्यूको दोस्रो चरणमा हेलिकोप्टर कम्पनीहरूले सेटिङ गर्थे । बिरामी या नक्कली बिरामीलाई पदयात्रारपर्वतारोहण क्षेत्रबाट उडाएर फर्काउने काम हेलिकोप्टर कम्पनीकै हुन्थ्यो । यी कम्पनीहरूले कमिसनको लोभमा ट्राभल र रेस्क्यू कम्पनीले भने बमोजिम नै उद्दारको महँगो बिल बनाउँथे । बीमा कम्पनीबाट रकम भुक्तानी पाएपछि एजेन्सीहरूसँग कमिसन बाँड्थे ।

तेस्रो चरणमा निजी अस्पतालहरू फेक रेस्क्यूका अपरेटर बनेका थिए । ट्राभल एजेन्सी, रेस्क्यू कम्पनी र हेलिकोप्टर कम्पनीसँगको मिलेमतोमा पर्यटक बिरामी परेको भनी नक्कली मेडिकल रिपोर्ट र बढाइचढाइ गरिएको उपचार बिल बनाउने काममा यस्ता अस्पताल सक्रिय थिए ।

२०१८ को सरकारी प्रतिवेदनले १५ वटा ट्रेकिङ कम्पनी, ३ वटा हेलिकोप्टर कम्पनी र ४ वटा अस्पताललाई छानबिनको दायरामा राखेको थियो ।

फेक रेस्क्यू कसरी हुन्थ्यो ?

संगठित सञ्जालमार्फत गिरोह नै खडा गरी भएको फेक रेस्क्यूमा सबैभन्दा पहिले पर्यटकलाई बिरामी बनाइन्थ्यो ।

ट्राभल कम्पनीले खटाएका पथप्रदर्शक (गाइड) हरूले पर्यटक बिरामी बनाउन उनीहरूले खाने खानामा बेकिङ सोडा वा अन्य चिज मिसाउँथे । त्यस्तो खाना खाएपछि पर्यटकहरूमा पखाला लाग्ने र अन्य स्वास्थ्य समस्या देखिन थाल्थ्यो ।

हिमालको चिसोमा पखाला लागेपछि पर्यटक शख्त बिरामी पर्थे । उद्दारको बहाना बनाउन यसरी पर्यटकलाई हिमाली अनकण्टारमा बिरामी बनाउने काम हुने गर्थ्यो ।

फेक रेस्क्यूमा ट्राभल कम्पनी या गाइडले दिने अनावश्यक दबाब दोस्रो उपाय थियो । सामान्य लेक लागेका र बिरामी परेका पर्यटकलाई पनि ‘अब तिमी हिँड्न सक्दैनौ, हेलिकोप्टर नबोलाए ज्यान जान्छ’ भनी त्रसित पार्ने काम हुन्थ्यो । पर्यटक अत्याएर उद्दार निम्ति बाध्यतापूर्वक सहमति दिने अवस्था निम्त्याइन्थ्यो ।

यसरीस जानजान बिरामी बनाएर या सामान्य अवस्थामा पनि अत्याएर उद्दार निम्ति पर्यटकलाई सहमत गराएपछि ट्राभल र रेस्क्यू कम्पनीले हेलिकोप्टर पठाउँथे । एउटै हेलिकोप्टरमा पाँच जनासम्म पर्यटकलाई राखेर ल्याइन्थ्यो ।

तर बीमा कम्पनीहरूसँग भने प्रत्येक पर्यटकका लागि छुट्टाछुट्टै चार्टर उडान गरेको भन्दै पाँच हजारदेखि १० हजार अमेरिकी डलरसम्मको बिल पठाउने गरिन्थ्यो ।
फेक रेस्क्यू क्रममा एउटै पर्यटकका नाममा दोस्रो चरणमा पनि ठगी हुन्थ्यो । यस चरणमा अस्पतालसँगको मिलेमतोबाट बीमा ठगी हुन्थ्यो ।

उद्दार गरिएका पर्यटकलाई सिधै सेटिङ भएका निजी अस्पताल पुर्‍याइन्थ्यो, जहाँ अनावश्यक परीक्षण गरी लामो समय भर्ना गरेर महँगो मेडिकल बिल बनाइन्थ्यो ।

पर्यटक र बीमा कम्पनी कसरी ठगिए ?

उद्दारका नाममा बीमा कम्पनी ठग्न ट्राभल एजेन्सी, रेस्क्यू कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालहरूले नक्कली र अस्वाभाविक रकम उल्लेख भएका बिल पठाउने गर्थे । त्यस्तो बिल पठाएर बीमा कम्पनीहरूबाट एकैपटक करोडौँ रुपैयाँ दायित्व भुक्तानी गर्न लगाउने काम हुन्थ्यो ।

पछिल्लो अनुसन्धान क्रममा; फेक रेस्क्यूमार्फत संगठित गिरोहले कम्तिमा साढे दुई अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ । अर्कातर्फ पर्यटकलाई रकमको प्रलोभन देखाएर फेक रेस्क्यूमा सङ्लग्न गराएको रकमको आकार पनि निकै ठूलो रहेको अनुसन्धान अधिकारीहरूले बताइसकेका छन्‌ ।

परिणाम र असर

फेक रेस्क्यू प्रकरणका कारण अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूले नेपालमा पदयात्रा गर्दा लाग्ने प्रिमियम शुल्क बढाएका छन् । केही कम्पनीहरूले त नेपालका लागि बीमा गर्नै छोड्ने चेतावनी नै दिएका छन् । फेक रेस्क्यू प्रकरणले नेपालको साहसिक पर्यटनको छवि विश्वमा धमिल्याएको छ ।

कारबाहीको कानूनी आधार

सीआइबीले फेक रेस्क्यू प्रकरणमा कारबाही अघि बढाउने कानूनी आधार नै सार्वजनिक गरेको छ । यसमा सङ्लग्नहरूमाथि मुद्दा चलाउन आधा दर्जन कानूनी व्यवस्था रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले फेक रेस्क्यूमा कारबाहीको पहिलो कानूनी आधार संगठित अपराध निवारण ऐन, २०७० लाई बनाएको छ । ट्रेकिङ एजेन्सी, अस्पताल र हेलिकप्टर कम्पनीहरू मिलेर योजनाबद्ध रूपमा ठगी गरेको देखिएमा संगठित अपराधमा पनि अनुसन्धान हुन सक्ने सीआइबीले पत्रकारहरूलाई जानकारी दिएको हो ।

सम्बद्ध कसूरसँगै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिड) निवारण ऐन, २०६४ अनुसार अपराधबाट आर्जन गरेको सम्पत्तिको समेत अनुसन्धान हुने (प्यारलल इन्भेष्टिगेशन) जनाइएको छ ।

यसैगरी, मुलुकी अपराध संहिताबमोजिम प्रहरीले फेक रेस्क्यू प्रकरणमा दफा ५१ (राज्य विरुद्धको कसुर) मा पनि अनुसन्धान तहकीकात र मुद्दा चलाउँदैछ । यो दफामा कसैले राष्ट्र हित प्रतिकूल हुने कुनै काम गर्न वा गराउन नहुने उल्लेख छ । नेपालको अन्तर्राष्ट्रिय छबी उपर अपमान हुने, होच्याउने कुनै काम गरे वा गराएमा राष्ट्रहित प्रतिकूल काम गरेको मानिने लेखिएको छ ।

यही संहिताको दफा २४९ (ठगी गर्न नहुने) र दफा २५३ (आपराधिक लाभ लिन नहुने) तथा दफा २७६ (लिखतसम्बन्धी कसुर) बमोजिम पनि कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

फेक रेस्क्यूमा संलग्न कम्पनीहरूले सामान्यतया यी तीनवटै अपराधहरू एकैसाथ गर्ने गरेको देखिएको प्रहरीले उल्लेख गरेको छ ।

१. लिखत कीर्ते (दफा २७६) : रिपोर्ट र हेलिकप्टर बिल बनाउने,

२. ठगी (दफा २४९) : बीमा कम्पनीलाई नक्कली बिल पेश गरेर रकम लिने,

३. आपराधिक लाभ (दफा २५३) : पर्यटकलाई एक्यूट माउन्टेन सिकनेस (एएमसी) को डर देखाई हेलिएभ्याक/मेडिएभ्याक गरेको भनी बीमा दावी गर्ने र अन्तराष्ट्रिय छवि उपर अपमान हुने राज्य विरुद्धको कसूर ।

यी ऐनमात्र होइन, फेक रेस्क्यूमा सङ्लग्नमाथि कारबाही गर्न प्रहरीले नेपालको संविधानलाई नै आधार बनाउँदैछ । यो प्रकरणमा संविधानको धारा १७ र ४८ आकर्षित हुने अनुसन्धान अधिकारीहरूले उल्लेख गरेका छन् ।

नेपालको संविधानको धारा १७ (स्वतन्त्रताको हक) ले पेशा, रोजगार, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता भए तापनि ‘सार्वजनिक नैतिकता वा शिष्टाचारको विरुद्ध हुने कार्य’ गर्न संवैधानिक रोक लगाएको छ ।

यसैगरी धारा ४८ (क र ख) मा उल्लेखित प्रत्येक नागरिकको कर्तव्य अन्तर्गत ‘राष्ट्र प्रति निष्ठावान रहँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु’ र ‘संविधान र कानूनको पालना गर्न’ भन्ने व्यवस्था अनुसार राष्ट्रिय छवि, स्वाभिमान र प्रतिष्ठामा आँच आउने काम गर्नु संवैधानिक कर्तव्यको विपरितको कार्य भएको सीआइबीले जनाएको छ ।

सम्बन्धित खवर

धादिङमा भएको बस दुर्घटना छानबिन गर्न सरकारी कार्यदल गठन

धादिङमा भएको बस दुर्घटना छानबिन गर्न सरकारी कार्यदल गठन

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको भैँसीगौँडामा दुर्घटना...

एमालेको झण्डा जलाइएको विवाद : आरोप–प्रत्यारोपबीच कानूनी प्रश्न

एमालेको झण्डा जलाइएको विवाद : आरोप–प्रत्यारोपबीच कानूनी प्रश्न

काठमाडौँ । दाङको तुलसीपुर बजारमा बिहीबार राति भएको भनिएको एक घटनाले चुनावी माहोल तताएको...

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौँ । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ...

एमालेको घोषणापत्र : सुशासनका १६ शब्द, समृद्धिका २५ स्तम्भ

एमालेको घोषणापत्र : सुशासनका १६ शब्द, समृद्धिका २५ स्तम्भ

काठमाडौँ । सुशासनलाई प्रमुख मुद्दा बनाउँदै गत भदौ २३ र २४ गते भएको जेन-जी...