तामाङ थर लेख्न भीम शमशेरको इस्तिहार

२१ माघ २०८२

तामाङ थर लेख्न भीम शमशेरको इस्तिहार

भूगोल, जाति, भाषा र संस्कृतिको विविधताको दृष्टिले हाम्रो देश संसारमै समृद्ध छ । तर दुःखको कुरा, विविधतासँगै युगौँदेखि गाडिएको विभेद र अन्यायको लामो जरा पनि छ, हाम्रो देशमा । विभेदको जरा कतिसम्म गहिरो छ भने यसलाई उखेलेर फ्याँक्न कति समय लाग्ने हो, अहिले यसै भन्न सकिने अवस्था छैन ।

समाजको अन्धविश्वासले करार गरेको जातीय विभेदलाई राज्यले नै कानुन बनाएर विभेदलाई वैधानिक बनाएपछि राज्यबाट उत्पीडनमा परेकाहरु हरेक दृष्टिकोणले पछौटेपनको शिकार हुन पुगे । उनीहरु आर्थिक रुपमा वर्गीय र सामाजिकरुपमा जातीय विभेदको शिकार बने । यीमध्ये राजधानी सहर काठमाडौँ वरपर मूल आवादी भएर पनि युगौँ पछाडि धकेलिएका तामाङ समुदायलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ ।

जङ्गबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि त्यतैबाट प्रेरित भएर मूलुकी ऐन जारी गरे । उनले गरेका राम्रो कामहरुमध्येको एक थियो यो । राजा वा तत्कालीन मुख्तियारको आदेश नै कानुनसरह लागू हुने हाम्रो देशमा कम्तिमा जङ्गबहादुरले मूलुकको कानुनलाई लिखित रुपमा संहितावद्ध गरे ।

तर, मनुस्मृतिले निर्देशित गरेको जातीय र सामाजिक विभेदलाई नै मूलुकी ऐनले पनि आफ्नो मूल आधार बनाइदियो । छुत र अछुतका रुपमा समाजको विभाजनलाई कानुनीरुपमा वैधानिकता प्रदान गरिदियो । यहाँका आदिवासी जनजातिहरुलाई मासिने र नमासिने मतुवालीमा विभाजित गरेर एकापसमा फूट पैदा गरियो । जनै धारण गर्ने र नगर्नेबीच विभेदको खाडल खनियो । सोहीअनुसार एउटै अपराधमा पनि समुदाय हरेर फरक फरक दण्ड सजायको ब्यवस्था गरियो ।

अनि देशमा कताबाट कायम हुन्छ राष्ट्रिय एकता ?

हाम्रो देश सामाजिक रुपमा समतामूलक र आर्थिक रुपमा सम्पन्न हुन नसक्नुको मूल कारणमध्ये यो पनि एक हो ।

मूलुकी ऐन १९१० को “मासिन्या ज्यू अमालिले लिन्याको” महलमा “भोट्या चेपाङ माझि दनुवार हायु दरै कुमाल पहरि गैह« मासिन्या जात” भन्ने उल्लेख भएकोले यी जातिलाई मासिने जातिमा राखिएको स्पष्ट हुन्छ । त्यसबेला तामाङहरुलाई राज्यको सम्वोधनमा “मुर्मि” वा “भोट्या” लेखिने गरिन्थ्यो ।

मोहर छाप लागेको मूलुकी ऐन

मासिने मतुवाली भनेर करार गरिएका सबैजसो अहिले पनि अति सिमान्तकृत जातिका रुपमा कठिनतम जीवन यापन गरिरहेका छन् । उनीहरुको शैक्षिक र आर्थिक अवस्था नाजुक हालतमा रहेको छ । उनीहरुले आफ्नो थर तामाङ लेख्न पनि शासकबाट अनुमति लिनुपर्ने अवस्था आइपरेको थियो । यो लेखमा उनै तामाङहरुले वैधानिक रुपमा भोग्न परेको जातीय अपमान र पीडाका बारेमा चर्चा गरिएको छ ।

राज्यको भारी बोक्ने बाध्यता

पिपा गोश्वारामा भर्ती गरेर तामाङहरुलाई राज्यले लामै समय भारी बोकाएको इतिहास जगजाहेर छ । इतिहासशिरोमणि बाबुराम आचार्यले “प्राचीनकालको नेपाल” (२०६०ः३५) मा उल्लेख गरेअनुसार तामाङहरुलाई लिच्छवि तथा मल्लहरुले पनि सैनिक सेवाबाट वञ्चित गरेका थिए । तर सेनहरुको समयमा तिमालका तामाङहरुले सैन्य सेवा गरेका थिए भन्ने झल्को आउने ऐतिहासिक प्रमाण भने भेटिन्छ ।

इतिहासकार मोहनप्रसाद खनालले “पृथ्वीपत्र सङ्ग्रह भाग १” (२०२८ः१०–११)मा प्रकाशित गरेको पृथ्वीनारायण शाहले वि.सं. १८१९ भदौ सुदी १ रोज ६ मा लछिमन थापालाई लेखेको पत्रमा “वि¥या धामिको नेल काट्न लाईस् तेरै भर परि नेल काट्यां आज उ पारिको भोट्या उठाई चमक्या छ अरु कौनै तेरो विराउ छैन धर्म भागि पिछा पर्छस् त हाम्रा काजि साथै कविला पठा.तेरो जतिहो तति वकसुला. उप्रान्त तिमालको काज पु¥याऊ छु भनि विन्ती पारि पठाइछस् भलो हो. सकन्या भया आट. भदउका दिन नसकि जैसिले साइत दियानन् ततिन्जेलसंम भोट्यालाई संझाईबुझाई थामन्या कामगर” भन्ने परेको छ ।

यस पत्रमा “पारीका भोट्या उठाई चमक्या छ” लेखिएकाले त्यसबेला तामाङहरु युद्धमा सहभागी हुन तयार रहेका थिए भन्ने बुझ्न सकिन्छ । त्यसबेला मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले तिमालका शासक रिन्छिन दोर्जेलाई ताम्रपत्र दिएका थिए । तिमालका तामाङहरु सेन राज्य मकवानपुरप्रति बफादार थिए ।

पछिल्लो समय उनीहरुलाई युद्धका बेला पहाडका बाटाघाटा असजिला हुनाले भरियाको बन्दोबस्त मिलाउनका लागि राजा पृथ्वीनारायण शाहले पाखाबाली हुने जग्गा किपट दिई युद्धको काममा रसद, हतियार आदि बोक्ने काम ठेकिदिएका थिए । (बाबुराम आचार्य, “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी”–२०६१ः४१८)

तामाङहरुले झारा र पीपाका रुपमा राज्यको भारी बोक्ने काममा युगौँयुग त बिताए । तामाङ बस्तीलाई दरबारमा सुसारे आपूर्ति गरिने स्रोत बनाइयो ।

तामाङहरुमाथि भएको ऐतिहासिक अन्यायको चर्चा गर्दा वि.सं. १८५० मा नुवाकोटको लच्याङ र यस वरपर भएको तामाङहरुको सामुहिक हत्याको इतिहास उल्लेख गर्नैपर्ने हुन्छ । उनीहरुले त्यसबेला आफूहरुमा “बौद्ध अवतार भयो” भन्ने घोषणा गरेका थिए । उनीहरुको यो विद्रोह दवाउने क्रममा एक हजार जनालाई मारिएको थियो ।

इतिहासकार दिनेशराज पन्तले “पूर्णिमा”को पूर्णाङ्क ६४ (चैत २०४१ः१–३)मा राजा रणबहादुर शाहले नुवाकोट काजमा जाँदै गरेका कालु पाँडेलाई लेखेको पत्रमा उक्त विद्रोहका बारेमा उल्लेख छ ।
पत्रको ब्यहोरो यस्तो छ :

“उप्रांत लाग्दै जेठमा १।२ मुर्मि प्रजाले औतारि हौं भनि नालदुम पश्चीम वेत्रावति पूर्वका प्रजा वटुलि भारनागल्यामा भेला भएछन्. इन्सँग नमिलन्या सांगाचोकका लामालाई मा¥या भन्या षवर आयो र २ कम्पनि पठाउँदा केही काटिया. केही भाग्याका थिया. फेरि साउनका १० जादा सिकव्र्यासी तांवेसतार नर्जा कविलास भोंट्या भेला भै घर पोलि लुट ग¥यो भन्या खबर आयो. र फौज पठाई हजार मुर्मि साफ भया. गाउंल्याका कविला आफ्ना आफ्ना घरबारि राषि मिजार गौरुंका कवीला मासिया. देसको साहास पाईकन ग¥याको रहेनछ. ई प्रजाका जाना मिलो छ्यागियाका रह्याछन्. सोहिमाफिक तंवि गरिउं…।”

नेपालको इतिहासमा कालु पाँडे नामका तीनजना भारदार देखिन्छन् । कीर्तिपुरमा मारिएका काजी कालु पाँडे, पृथ्वीनारायण शाहकालीन ज्योतिष कालु पाँडे र रणबहादुर शाहकालीन कप्तान कालु पाँडे रहेका छन् । तामाङहरुको विद्रोहबारे उल्लेख भएको पत्रचाहिँ कप्तान कालु पाँडेलाई लेखिएको हो ।

तामाङहरु राजधानी वरपरका मूलबासी भए पनि उनीहरुमा पछौटेपन हुनुका पछाडि यस्ता ऐतिहासिक अन्याय र दमनको ठूलो भूमिका रहेको छ । अझ जङ्गबहादुरको समयमा बनेको मूलुकी ऐनले त तामाङहरुलाई “मासिन्या मतुवालि जाति” लेखेर अर्को वैधानिक अत्याचार गरियो । यसै ऐतिहासिक सेरोफेरोमा यो लेख तयार पारिएको छ ।

 

मूलुकी ऐनअघिको अवस्था

चौधौँ शताब्दिका राजा जयस्थिति मल्लकै समयदेखि एकै प्रकृतिको अपराधमा जातअनुसार फरक फरक दण्ड सजायको व्यवस्था हुँदै आएको थियो । लिखित संहितावद्ध ऐनका रुपमा नेपालमा वि.सं. १९१० मा मूलुकी ऐन ल्याइएपछि जातअनुसार फरकफरक दण्ड सजायको ब्यवस्थालाई वैधानिकता दिइयो । त्यहीँ घानमा तामाङहरु पनि परे । उनीहरुलाई “मासिन्या मतुवाली” जातिमा करार गरियो भने कतिपय “नमासिन्या मतुवाली” जातिलाई दण्ड सजाय दिँदा “जात पतित गरी भोट्या” बनाइदिने ब्यवस्था पनि गरियो । यो तामाङहरुमाथिको अपमान र अन्यायको पराकाष्ठा हो ।

मूलुकी ऐन आउनुअघि पनि तामाङ र अन्य (खस आर्य वा नमासिने मतुवाली) जातिको तुलनामा एउटै अपराधमा ठूलो सजायको ब्यवस्था गरिएको घटना पाइन्छ ।

उदाहरणका लागि राजा राजेन्द्रविक्रम शाहले वि.सं. १८९३ साल मिति असार सुदी ७ रोज ४ मा जारी गरेको “भाउजु विराउ” अर्थात् विधवा भाउजूसँग करणी वा विवाह गरेको अपराधमा कस्तो दण्ड सजाय हुने भन्ने स्थिति बाँध्न जारी गरेको रुक्का हेर्दा पनि यसबारे स्पष्ट हुन सकिन्छ ।

महेश सी. रेग्मीले “रेग्मी रिसर्च सेरिज”–वर्ष ३ अङ्क १ (सन् १९७१ डिसेम्बरः१–२)मा प्रकाशित गरेको एक रुक्कामा लिम्बू, किराती (खम्बु राई), जुम्ली र लेप्चाबाहेक जानी जानी भाउजु विराउ (करणी वा विहे) गरेको अपराधमा दिइने दण्ड सजायबारेमा उल्लेख छ ।

दण्ड सजायको प्रकृति पनि जातअनुसार बेग्लाबेग्लै किसिमको छ । यसअनुसार मगर, गुरुङ, नेवारलाई भाउजूसँग करणी वा विहे गरे उनीहरुको लिङ्ग काटिन्थ्यो । तर वलामी, माझी, दनुवार, सुनुवार, मुर्मी, भोटे, चेपाङ, पहरि, वाराही, कुम्हाल, वरामुलाई भने यस्तो अपराधमा ज्यान सजाय हुन्थ्यो ।

मूलुकी ऐन १९१० आउनुअघि पनि तामाङहरुलाई मासिने जातिका रुपमै ब्यवहार गर्ने गरिएको थियो भन्ने यसबाट स्पष्ट हुन आउँछ ।

वि.सं. १८९३ मा जारी भएको यस किसिमको आदेशमा केही सुधार र परिमार्जन गरी राजा राजेन्द्रले वि.सं. १९०३ जेठ बदी ११ रोज ६ मा अर्को रुक्का जारी गरे । वि.सं. १८९३ मा सुनुवारलाई ज्यान सजाय ब्यवस्था गरिएकोमा पछिल्लो रुक्कामा भने भाउजु विराउ गरे लिङ्ग काट्ने र नेवारलाई सर्वश्व लिई जात बाहेक मात्र गर्ने सजाय तोकियो (भगिराज इङ्नाम, “लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह”–२०७७ः२०४–५)

पछिल्लो ब्यवस्थाअनुसार कोइच (सुनुवार)हरुले मासिने जातिबाट मुक्ति पाएको देखिन्छ ।

“मासिन्या मतुवाली जाति”

जङ्गबहादुर राणाको सक्रियतामा मूलुकी ऐन आउनुअघि भाउजु विराउ गर्दा जुन जातिलाई ज्यानको सजाय दिइन्थ्यो, उनीहरुलाई नै मूलुकी ऐनमा “मासिन्या मतुवाली जाति”को महलमा राखियो ।

मूलुकी ऐन १९१० को “मासिन्या ज्यू अमालिले लिन्याको” महलमा “भोट्या चेपाङ माझि दनुवार हायु दरै कुमाल पहरि गैह्र मासिन्या जात” भन्ने उल्लेख भएकोले यी जातिलाई मासिने जातिमा राखिएको स्पष्ट हुन्छ । त्यसबेला तामाङहरुलाई सरकारी सम्वोधनमा “भोट्या” लेखिने गरिन्थ्यो । यीमध्ये सबै जसो अति सिमान्तकृत जातिका रुपमा रहेका छन् ।

मगर, गुरुङ, राई, लिम्बू, सुनुवार, लेप्चा आदि आदिवासीहरु चाहिँ “नमासिन्या मतुवाली जाति” का रुपमा राखियो ।

मूलुकी ऐन घोषणा गरिदा आफ्ना बाबु राजेन्द्रविक्रम शाह र छोरा त्रैलोक्यविक्रम शाहका साथ राजा सुरेन्द्रविक्रम शाहले अघिसरा देखिए पनि यसको सबै बन्दोवस्त गर्ने काम चाहिँ तत्कालिन प्रधानमन्त्री तथा कमाण्डर इन् चिफ जङ्गबहादुर राणा नै थिए ।

मूलुकी ऐन घोषणा गरिँदा “…आजसम्म मरमामिला गर्दा एकै विहोरामा कसैलाई कमि कसैलाइ बढता सजाय हुन जान्या हुदा तसर्थ अब उप्रान्त छोटा वडा प्रजा प्राणि सबैलाई षत जात माफिक एकै सजाय हवस् घटी बढी नपरोस् भन्ना निमित्त तपसिल बमाजिमका भारादारसमेत राषि कौसल गरि कौसल मा ठह¥या बमोजिम्का अ‍ैन् तयार गर्नु भनि श्री ३ महाराज जङ्ग बहादुर राणाजि सिवि प्राइम्मिनिष्टर याण्ड कम्याण्डर इनचिफलाइ हुकुम बक्सी बन्याको अ‍ैन हामि तिन् पुस्ताबाट पनि मंजुर गरि सम्वत् १९१० साल् मिति पौष सुदि ७ रोज ५ का दिन् लेषियाका…” भन्ने उल्लेख छ ।

तामाङहरुलाई मुर्मी भोट्या भनी लेखिएको रुक्का

त्यसबेला यो ऐनमा साक्षीका रुपमा जङ्गबहादुरलगायत तत्कालीन जनरलहरु, सैन्य अफिसर, राजगुरु, धर्माधिकार, निजामति आदि २०९ लाई राजी गराई साक्षी राखिएको थियो ।

मूलुकी ऐनले अन्य अति सिमान्तकृत आदिवासीहरुसँगै तामाङहरुलाई “मासिन्या मतुवाली जाति” को स्थानमा राख्यो नै, त्यसमा पनि उनीहरुलाई अतिरिक्त वैधानिक अत्याचार गर्ने काम पनि गरेको छ । त्यो के हो भने अन्य नमासिने जातिले अपराध गर्दा उनीहरुलाई जात पतित गरिँदा तामाङ बनाइदिनु ।

अरु जाति वा समुदायका ब्यक्तिले विराए वा दण्डित भए त्यसको तामाङहरुले त्यसको भार उठाइदिनुपर्ने गरी मूलुकी ऐन १९१० मा ब्यवस्था गरियो । यस प्रकारको पाँच प्रकृतिको अपराधमा दण्डित हुने ब्यक्तिलाई तामाङ समुदायमा मिलाइदिने ब्यवस्था गरिएको छ ।

“आफ्ना हाड नातामा करणी गर्न्या नमासिन्या मतुवाली जात गै¥हको तपसिलमा” यस्तो ब्यवस्था गरिएको छ ।

उदाहरणका लागि “…आफ्ना हाडमा ४ पुस्तासम्मका जन्माउन्या आमा आफ्ना एका बाबुबाट जन्म्याका दिदिवैन्हि आफुले जन्मायाका छोरि र भाउज्यू बाहेक् अ‍ैनले जान हान्न हुन्यासम्मका अरु सौतिन्या आमा वज्यू भाइ वुहारि छोरा वुहारी नातिन्या वुहारि दिदि वैन्हि छोरि नातिनी फुपु नाता पन्र्या सधवा भया पनि विधवा भया पनि कंन्या भया पनि एस्ताको करणि गन्र्या नमासिन्या मतुवाली जात गैह्र को अ‍ैन वमोजिम्को अंस सर्वस्व गरि मुडि कुकुरको मासु षुवाई जात पतित गरि सहर गौडा घुमाइ भात वाहेक गरि पुर्वको भया पश्चिम् र पश्चिम्को भया पुर्वतर्फ नदि कटाइ धपाइ दिनु एस्ताको हातको भात चल्दैन पतिया नदिनु एस्ता मासिन्या भोट्या जात हुंछन् पानि चल्छ पानिको मात्र पतिया दिनु…” भन्ने उल्लेख छ ।
यस्तै अर्को ब्यवस्थामा “…आफ्ना हाडका ४ पुस्तादेषि माथि आफुदेषि ७ पुस्तासम्मका ११ वर्ष नाघ्याका कंन्या विधवा स्वास्निको करणी गन्र्या नमासिन्या मतुवालि जात गैह« को अ‍ैन वमोजिम्को अंस सर्वस्व गरि जात पतित गरि भोट्या जातमा मिलाइ दिनु एस्ताको पानि चल्छ पानिको मात्र पतिया दिनु…” भन्ने उल्लेख छ ।

“तामाङ” लेख्न पाउने अनुमति

आफ्नी विवाहिता रानीको देहान्तपछि श्री ३ महाराज भीमशमशेरले खोटाङ, नारङ्गाकी दिलकुमारी ब्लोनलाई टङ्गाल दरबारमा भारदारहरुलाई दाम राख्न लगाई आफ्नी रानी घोषित गरी उनको नाम सीता बडामहारानी चलाए । उनै रानीलाई ससम्मान राख्न सीता भवन बनाइयो । नक्सालमा रहेको यही सीता भवनमा बालमन्दिर रहेको छ । एक जना सुसारेका रुपमा दरबार पसेकी दिलकुमारीसँग भीमशमशेर मोहित हुन पुगे । पछि उनले आफ्नी वैधानिक रानी नै घोषणा गरे ।

तामाङ थर लेख्न पाउने गरी श्री ३ भीमशमशेरले जारी गरेको इस्तिहार

दिलकुमारीलाई विवाह गरिसकेपछि र सरदार जङ्वीर तामाङको अगुवाईमा आफूहरुलाई मुर्मी भोट्या होइन, सरकारी ब्यवहारमै तामाङ सम्बोधन गरियोस् भन्ने माग आएपछि श्री ३ भीमशमशेरले वि.सं. १९८९ भदौ ६ गते आइतबार “…अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउने गर्नु जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका आगजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोट नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु” भन्ने व्यहोराको एक इस्तिहार नै जारी गरी दिए ।

यसअघि यो इस्तिहार वि.सं. १९८९ साउन ११ गते गोरखापत्रको पहिलो पृष्ठमा प्रकाशित गरी जनसाधारणलाई यसबारे सुचित गरिएको थियो । भीमशमशेरले इस्तिहार जारी गरेको भदौ ६ गतेलाई तामाङहरुले आफ्नो जातिको पहिचान दिवसका रुपमा केही वर्षयतादेखि सम्झना गर्न थालेका छन् ।

यसअघि मुर्मी र भोट्या लेखिएका लालमोहरहरु पाइएका छन् । मुर्मी भनेर सीमातिरको र भोट्या भनेर तिब्बती मूलका भनी तामाङहरुलाई अपहेलितरुपमा सम्बोधन गर्ने गरिन्थ्यो । यहाँका आदिवासी तामाङहरुले आफ्नो थर लेख्न पनि राजा महाराजाको आदेश कुर्नुपर्ने यो कस्तो देश हो ?

तामाङ लेख्न पाउने गरी जारी गरिएको भीमशमशेरको इस्तिहार छापिएको गोरखापत्रको पृष्ठ

 

 

सम्बन्धित खवर

२६७ नेपाली कैदीलाई आममाफी दिने यूएईकाे निर्णय

२६७ नेपाली कैदीलाई आममाफी दिने यूएईकाे निर्णय

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४औँ राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली...

‘ग्रे लिस्ट’भित्र गुम्सिएको नेपाल

‘ग्रे लिस्ट’भित्र गुम्सिएको नेपाल

काठमाडौँ । “समयमै सुधार नगरेपछि पछुतो मात्र बाँकी रहन्छ” भन्ने पुरानो उखानले आज नेपालको...

सुशासन र सामाजिक न्याय सुनिश्चित हुने गरी घोषणापत्र ल्याउन दलहरूलाई सुझाव

सुशासन र सामाजिक न्याय सुनिश्चित हुने गरी घोषणापत्र ल्याउन दलहरूलाई सुझाव

काठमाडौँ । गैरसरकारी संस्था महासंघ (एनजीओ फेडेरेशन), नेपालले राजनीतिक दलहरूलाई लोकतन्त्र, सुशासन, सामाजिक न्याय...

सहकारी डुबाउनेमाथि कडा कारवाही हुनुपर्छ : मन्त्री इङनाम

सहकारी डुबाउनेमाथि कडा कारवाही हुनुपर्छ : मन्त्री इङनाम

काठमाडौँ । समस्याग्रस्त सहकारीहरुको समस्या चाँडै छिनोफानो हुनुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...