काठमाडौँ । सुशासनलाई प्रमुख मुद्दा बनाउँदै गत भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहका कारण सत्ताच्युत नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
यही फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताको मत आफूतिर खिच्न एमालेले ‘एमालेले बनाउँछ !’ शीर्षकमा ८० पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा एमालेले सुशासन शब्द १६ पटक प्रयोग गरेको छ भने ‘समृद्धिका २५ स्तम्भ’ भन्दै आर्थिक-सामाजिक मामिलाको विषयसूची बनाएको छ ।
एमालेले ‘परिपूर्ण लोकतन्त्र, संविधान, कानूनको सर्वोच्चता र सुशासन’ ‘सहकारीमा सुशासन र पारदर्शिता’ तथा ‘डिजिटल पूर्वाधार – विकास र सुशासनको आधार’ गरी विषयसूचीका विभिन्न तीन शीर्षकमा सुशासन शब्द प्रयोग गरेको छ ।
‘एमालेका विगतका आफ्ना काममा अभिलेखहरू नै छन्, आन्दोलनमा मात्रै होइन, नीति सुशासन र विकास निर्माणमा समेत यसले आफूलाई नेता साबित गरेको छ’, घोषणापत्रको खण्ड क मा अध्यक्षको सन्देश शीर्षक राखेर एमालेले लेखेको छ, ‘…राजधानीमा सुरु गरिएको अनलाइन सवारी जरिवानाले सुशासनमा बल पुर्याएको छ ।’
सुशासन, विकास, समृद्धि र समानता एमालेको दृढ सङ्कल्प रहेको घोषणापत्रमा दाबी गरिएको छ । ‘देशमा शान्ति, सुव्यवस्था र सुशासन कायम गरी छाड्ने घोषणा गर्दछौँ’, घोषणापत्रमा लेखिएको छ, ‘सुशासनका प्रमुख स्तम्भ – शान्ति सुव्यवस्था कायम गर्ने, विधिको शासन सुनिश्चित गर्ने, विकास निर्माण गर्दै नागरिकहरूलाई निष्पक्ष, छिटोछरितो ढङ्गले गुणस्तरीय सेवारसुविधा उपलब्ध गराउने, सहज सार्वजनिक सेवा प्रवाह प्रणालीको ग्यारेन्टी गर्ने, अनियमितता, ढिलासुस्ती, विकृतिलगायत सबै प्रकारका भ्रष्टाचारहरू नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्ने घोषणा गर्दछौँ ।’
देश समृद्धिको युगतर्फ लागेको दाबी गर्दै एमालेले घोषणापत्रमा लेखेको छ, ‘…स्वच्छ र प्रभावकारी सुशासन अभ्यास गरिरहेको नेपाल, सबैको संरक्षण – सबैलाई अवसर-सबैको सम्मान-सबैको विकास र राष्ट्र निर्माणमा सहभागिता मात्रै होइन, स्वामित्व नै भएको नेपाल ।’
एमालेले तीन दशकमा विभिन्न विकास र सुविधा विस्तार भएको दाबी गर्दै नागरिकका अपेक्षा पूरा गर्न अझ धेरै प्रगति गर्नुपर्ने लेखेको छ । ‘अहिलेसम्मका उपलब्धिको जगमा अब आर्थिक-सामाजिक रूपान्तरण, दिगो विकास र समृद्धिको जग बसाउन राजनीतिक स्थायित्व, तीब्र विकास र सुशासनको प्रत्याभूतिको लागि हामी प्रतिबद्ध छौँ’, घोषणापत्रमा लेखिएको छ ।
चुनाव जितेमा एमालेले विकास र सुशासनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न उपयुक्त वातावरण विकास गर्ने एमालेको चुनावी आश्वासन छ । यसैगरीस शिक्षा, विज्ञान र प्रविधिमा नीति, पूर्वाधार, लगानी, सुशासन र नवप्रवर्तन केन्द्रित योजनाहरू कार्यान्वयन गर्दै शैक्षिक क्यालेण्डरको पालना, रोजगारमुखी प्राविधिक शिक्षा र ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रममार्फत उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति घटाउने चुनावी आश्वासन एमालेले बाँडेको छ ।
स्वास्थ्य क्षेत्रमा सही नीति, सुशासन र प्रभावकारी वित्तीय संयोजनमार्फत उपलब्ध स्रोतकै अधिकतम् उपयोग गरी सर्वव्यापी स्वास्थ्य सेवा सुनिश्चित गर्ने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।
युवा पुस्ताको प्रदर्शनमा दमन गर्दा सत्ता गुमाएको एमालेले युवाबारे लेखेको छ, ‘सृजनशील, जिम्मेवार, नवप्रवर्तनशील र राष्ट्रपति प्रतिबद्ध युवा पुस्तालाई सुशासन र समृद्ध नेपालको बलियो आधारका रूपमा स्थापित गर्नेछौँ ।’
यस्ता छन् एमालेको ‘समृद्धिका २५ स्तम्भ’
आम मतदाताका चाहना र विषय विज्ञका सल्लाहका आधारमा विकास र सुशासनको काम अघि बढाउने दाबी गर्दै एमालेले आफ्नो पार्टीको नेतृत्वमा सरकार निर्माण हुँदा गरिने केही कामलाई ‘समृद्धिका २५ स्तम्भ’ का रूपमा अघि सारेको जनाएको छ । जो यसप्रकार छन् :
१. हाम्रो अर्थः आधा दशकमा सय खर्ब – एक दशकमा २ सय खर्ब
२. मर्यादित श्रमः स्वदेशमै रोजगारी, स्वदेशमैं काम
३. सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास
४. गतिशील गाउँ, आधुनिक सहर– आर्थिक विकासको नयाँ लहर
५. सहरको स्वच्छता, पूर्वाधारको पूर्णता – समुन्नत सहर हाम्रो प्रतिबद्धता
६. स्वच्छ पानी, सफा आँगन – स्वस्थ नेपाली, हाम्रो अभियान
७. उद्योग क्षेत्रको विस्तार, उत्पादनमा वृद्धि – २० प्रतिशत योगदान, राष्ट्रको समृद्धि
८. आयात घटाउने, निर्यात बढाउने – भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने
९. आधुनिक खेती, उन्नत व्यवसाय – कृषिमै रोजगारी, पर्याप्त आय
१०. हरियो वन, समुदायको धन – संरक्षण, उपयोग, दिगो व्यवस्थापन
११. सहकारीमा सुशासन र पारदर्शिता – बचतकर्ताको हित, हाम्रो प्रतिबद्धता
१२. पर्यटकको बृद्धि, लामो बसाइ– गाउँ, सहरमा काम र कमाइ
१३. खेतीयोग्य जमिनमा कुलो र नहर– बाह्रै महिना सिँचाइ, खाद्यमा आत्मनिर्भर
१४. गुणस्तरीय शिक्षा, उन्नत प्रविधि – ज्ञानयुक्त नागरिक, देशका निधि
१५. स्वस्थ खाना, योगरव्यायाम – निरोगी नेपालको महाअभियान
१६. डिजिटल पूर्वाधार – विकास र सुशासनको आधार
१७. सुरक्षित यातायात, आधुनिक पूर्वाधार – दिगो विकास, समृद्धिको आधार
१८. स्वच्छ ऊर्जा, स्वदेशमा खपत – हरित विकास, विदेशमा निर्यात
१९. पुनर्निर्माण र नयाँ निर्माण
२०. सुदृढ वित्तीय प्रणाली – उत्पादनशील लगानी
२१. सिर्जनशीलता युवा, नवीन विचार – समाज रूपान्तरणको सुदृढ आधार
२२. ऊर्जावान् खेलाडी, देशको शान – खेलकुदको विकास, राष्ट्रको मान
२३. सफा हात, स्वच्छ प्रशासन – गुणस्तरीय सेवा, जनप्रिय शासन
२४. सबैसँग मित्रता, छैन कसैसँग शत्रुता
२५. नेपालका सद्भाव दूत, एनआरएनको सम्मान – मातृभूमिको विकासमा सार्थक योगदान
यस्तो छ एमालेको चुनावी घोषणापत्र :
ताजा अपडेट
बालेनको थर लेखाइमा विवाद : कानूनले के भन्छ ?
७ फागुन २०८२
