अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति अहिले नाजुक अवस्थामा छ। हरेक दिन नयाँ घटनाले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई झन् जटिल बनाइरहेको छ। विशेषगरी फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धले मध्यपूर्व मात्र होइन, विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र सुरक्षामा गहिरो प्रभाव पारेको छ।
होर्मुजमा अवरुद्ध हुनु, तेलको मूल्य तीव्र रूपमा बढ्नु, र निरन्तर मिसाइल आक्रमणहरूले यो द्वन्द्वलाई विश्वव्यापी संकटमा रूपान्तरण गरिसकेको छ ।
द्रुत रूपमा बदलिँदै गरेका घटनाक्रमलाई स्पष्ट रूपमा बुझ्नका लागि, यहाँ अमेरिका-इजरायल-इरान युद्धको एक महिनाभित्र भएका घटनाहरूको टाइमलाइन यस्तो छ-
मुख्य आक्रमण : कसले कहाँ के गर्यो ?
• फेब्रुअरी २७, २०२६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “Operation Epic Fury” सुरु गर्ने आदेश दिए| यो अमेरिका र इजरायलको संयुक्त अभियान थियो।
• फेब्रुअरी २८, २०२६ : प्रारम्भिक चरणमा अमेरिका र इजरायलले इरानमाथि हमला गरे, जसअन्तर्गत करिब १२ घण्टाभित्र झन्डै ९०० संयुक्त आक्रमण सञ्चालन गरियो। यी आक्रमणमा Tomahawk मिसाइल, B-2, B-1 र B-52 बमवर्षक विमान, लडाकु जेट तथा ड्रोनहरू प्रयोग गरिएका थिए। आक्रमणका मुख्य लक्ष्यहरूमा इरानका ब्यालिस्टिक मिसाइल केन्द्रहरू, वायु प्रतिरक्षा प्रणाली, रडार, कमाण्ड सेन्टरहरू तथा सरकारी र सैन्य नेतृत्वसँग सम्बन्धित संरचनाहरू रहेका थिए, जुन तेहरान, कुम, इस्फहान, केरमानशाह, कराज र बुशेहर लगायतका सहरहरूमा केन्द्रित थिए।

यसै क्रममा सञ्चालन गरिएको “decapitation strikes” अन्तर्गत इरानका सर्वोच्च नेता अली खामेनीसहित IRGC का शीर्ष कमाण्डरहरू, मन्त्रीहरू र अन्य उच्च अधिकारीहरू मारिएका थिए। क्षतिको रूपमा, बन्दर अब्बास नजिकैको मिनाब क्षेत्रमा अमेरिकी मिसाइल एक विद्यालयमा लाग्दा करिब १७० देखि १८० जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो बालिकाहरू रहेका थिए। त्यस्तै, लामेर्डमा रहेको एक खेलकुद हलमा गरिएको आक्रमणका कारण थप १८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए।
• फेब्रुअरी २८, २०२६ (इरानको प्रतिकार) : इरानको प्रतिकारस्वरूप IRGC ले करिब १७० ब्यालिस्टिक मिसाइल र हजारौं ड्रोन प्रहार गरेको थियो। यी आक्रमणका मुख्य लक्ष्यहरू इजरायलका तेल अवीव र हाइफा सहरहरूका साथै अमेरिका र खाडी क्षेत्रका सैन्य अड्डाहरू जस्तै: कतारको Al Udeid, कुवेत, यूएई, बहरेन र साउदी अरेबियामा रहेका आधारहरू रहेका थिए।
यस आक्रमणको प्रभावस्वरूप तेल अवीवमा एक महिलाको मृत्यु हुनुका साथै २७ जना घाइते भएका थिए। बहरेनस्थित अमेरिकी पाँचौं बेडाको मुख्यालयमा पनि असर परेको थियो भने दुबई, अबुधाबी, कुवेत र रियादका विमानस्थल तथा होटलहरूमा क्षति पुगेको थियो। साथै तेल पूर्वाधारमा समेत प्रभाव परेको थियो र अवरोधित मिसाइलका टुक्रा खस्दा विभिन्न स्थानमा थप क्षति र आगलागीका घटना भएका थिए। यसैबीच, होर्मुजमा ढुवानी आंशिक रूपमा अवरुद्ध हुन थालेको थियो।
• मार्च १, २०२६ : अमेरिका र इजरायलले तेहरान, सानान्दाज तथा विभिन्न मिसाइल केन्द्रहरूलाई लक्षित गर्दै थप हवाई आक्रमण जारी राखे। यसको प्रत्युत्तरमा इरानले पुनः मिसाइल र ड्रोन आक्रमण सुरु गर्यो, जसअन्तर्गत इजरायलको बेइत शेमेस क्षेत्रमा रहेको सभाघर र आवासीय घरहरूमा प्रहार हुँदा ९ जनाको मृत्यु भयो भने ६५ जना घाइते भएका थिए। यसका साथै जेरुसेलममा पनि भौतिक क्षति पुगेको थियो।
यी घटनाक्रमसँगै अन्य क्षेत्रमा पनि प्रभाव देखियो। खाडी क्षेत्रमा तथा होर्मुजमा रहेका जहाजहरूलाई लक्षित गरी आक्रमण हुँदा ट्यांकरहरूमा क्षति पुग्नुका साथै केही व्यक्तिहरू घाइते भए। बढ्दो असुरक्षाका कारण करिब १५० जहाजहरू रोकिएका थिए। यसैबीच, हिजबुल्लाहले लेबनानबाट सीमित स्तरका आक्रमणहरू सुरु गर्दै द्वन्द्वलाई थप विस्तार गर्यो।
• मार्च २–३, २०२६: अमेरिका र इजरायलले आक्रमणलाई थप विस्तार गर्दै तेहरानका अस्पताल र प्रसारण केन्द्रहरूमा क्षति पुर्याए भने नतांजस्थित परमाणु केन्द्रलाई पनि निशाना बनाए, यद्यपि त्यहाँ कुनै रेडिएसन चुहावट नभएको पुष्टि गरिएको थियो। साथै वायुसेना अड्डा र गुप्तचर केन्द्रहरूलाई पनि लक्षित गरियो। यसै क्रममा इजरायलद्वारा विशेष बल तथा मोसादमार्फत गोप्य अपरेशन सञ्चालन गरिएको रिपोर्टहरू सार्वजनिक भए।

यसको जवाफमा इरान र हिजबुल्लाहले विभिन्न आक्रमणहरू जारी राखे, जसअन्तर्गत बेर्शेबामा गरिएको मिसाइल प्रहारबाट केही व्यक्तिहरू घाइते भए भने अमेरिकी अड्डा र सम्पत्तिहरूलाई पनि निशाना बनाइयो। उता इजरायलले लेबनान, विशेषगरी बेरुत क्षेत्रमा, हिजबुल्लाहका ७० भन्दा बढी लक्ष्यहरूमा व्यापक बमबारी गर्दा उनका केही कमाण्डरहरू मारिएका थिए।
नौसैनिक क्षेत्रमा पनि झडप चर्कियो, जहाँ अमेरिकाले १७ वटा इरानी जहाजहरू पनडुब्बीसहित डुबाएको जनाएको छ। इरानी रेड क्रिसेन्टका अनुसार यी आक्रमणहरूमा सयौं मानिसको मृत्यु भएको छ। यसैबीच, इराक र सिरियामा सक्रिय प्रोक्सी समूहहरूले पनि अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेका थिए।
• मार्चको मध्यतिर निरन्तर तनाव जारी : यस अवधिमा इजरायलले तेहरानमा बारम्बार आक्रमण गर्दै दबाब बढायो भने अमेरिका र इजरायलले थप मिसाइल तथा इरानका नौसैनिक संरचनाहरूलाई लक्षित गरे। यससँगै इरानको आन्तरिक राजनीतिमा पनि ठूलो परिवर्तन आयो, जहाँ मोक्तबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त भए भने अस्थायी नेतृत्व सम्हालिरहेका अली लारिजानी मारिएका थिए।
द्वन्द्व क्रमशः क्षेत्रीय रूपमा विस्तार हुँदै गयो। हिजबुल्लाहले आक्रमण तीव्र बनाएपछि दक्षिण लेबनानमा इजरायलले स्थलगत सैन्य अपरेशन सुरु गर्यो, जसका कारण लाखौं मानिस विस्थापित भए। साथै इरानी मिसाइल र ड्रोनले साइप्रसस्थित बेलायती सैन्य अड्डा तथा खाडी क्षेत्रका तेल पूर्वाधारहरूलाई पनि निशाना बनाए।
अमेरिकी पक्षबाट कडा चेतावनी जारी गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टे अल्टिमेटम दिँदै होर्मुज जलडमरू पूर्ण रूपमा नखुलाए इरानका ऊर्जा केन्द्रहरू ध्वस्त पारिने बताएका छन्। यसको प्रतिक्रिया स्वरूप इरानले अमेरिकी ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएको छ।
यी सबै घटनाक्रमका बीच कुल मृतक संख्या २,००० नाघेको छ। युद्धको प्रभाव विश्वव्यापी रूपमा देखिन थालेको छ, जहाँ तेलको मूल्य तीव्र रूपमा बढेको छ, अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन्, र होर्मुज जलडमरूमध्य आंशिक रूपमा अवरुद्ध भएको छ।
• मार्च १७-२१, २०२६ (हालको अवस्था) : मार्च १७ देखि २१, २०२६ सम्मको हालको अवस्थामा अमेरिका र इजरायलले इरानमाथि निरन्तर हवाई आक्रमण जारी राखेका छन्, जसअन्तर्गत नतांज परमाणु केन्द्रलाई पुनः लक्षित गरिएको छ। यसको प्रत्युत्तरमा इरानले दक्षिण इजरायलका अराद र डिमोना जहाँ परमाणु अनुसन्धान केन्द्र रहेको छ क्षेत्रहरूमा मिसाइल प्रहार गर्दा दर्जनौं व्यक्ति घाइते भएका छन्। यसबीच हिजबुल्लाह र इजरायलबीचको झडप पनि निरन्तर जारी रहेको छ। अमेरिका र इजरायलले आफूले “हवाई प्रभुत्व” हासिल गरेको दाबी गरे तापनि इरानका आक्रमणहरू पूर्ण रूपमा रोकिएका भने छैनन्।

मार्च २२, २०२६ (आजको अवस्था) : यसै क्रममा इजरायलले तेहरानमा नयाँ आक्रमण सञ्चालन गर्यो भने इरानले पुनः दक्षिण इजरायलका क्षेत्रमा मिसाइल प्रहार गर्यो, जसका कारण अराद र डिमोनामा करिब १०० जना घाइते भएका छन्। यसबीच, अमेरिकी पक्षबाट कडा चेतावनी जारी गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टे अल्टिमेटम दिँदै होर्मुज जलडमरू पूर्ण रूपमा नखुलाए इरानका ऊर्जा केन्द्रहरू ध्वस्त पारिने बताएका छन्। यसको प्रतिक्रिया स्वरूप इरानले अमेरिकी ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएको छ।

