अहिले मुलुकमा दुई तिहाइको सरकार बन्न लागेको अवस्था छ। नेपाल बार एसोसिएसन नवनिर्मित सरकारलाई ‘बेनिफिट अफ डाउट’ दिन्छ। त्यसका सबै क्रियाकलापहरु संविधानवादअनुरुप होऊन्, कानुनको रुल अफ ल होऊन् भन्ने हामीले शुभेक्षा दिन्छौँ।
हाम्रो शुभेक्षा- यो सरकार ५ वर्ष टिकोस्, बीचमा कुनै पनि विघ्न बाधा नपरोस् भन्ने नै रहन्छ। तर संविधानवाद, कानुनको शासन सबैलाई चिर्न थाल्यो भने, त्यसपछि बारले पोजिसन लिन्छ। त्यो लिनु हाम्रो कर्तव्य पनि हो । हाम्र पूर्खाले लिईआएको पनि हो भन्ने कुरा म अनुरोध गर्न चाहन्छु।
यहाँ जब दुई तिहाइ सरकार आउँछ, तब न्यायपालिकालाई सबैभन्दा पहिला प्रहार गर्ने प्रचलन रहेको छ। २०१५ सालमा दुई तिहाइको प्रधानमन्त्री भइसकेपछि बीपी कोइरालाले अडान लिनुभएछ, ‘मैले ल्याएको मानिस (प्रधानन्यायाधीश) हरिप्रसाद प्रधानलाई हटाएर ल्याएको अनिरुद्रप्रसाद सिंहको हातबाट सपथ लिन्नँ, किनकि ती नन-ल ग्र्याजुएट हुन्। ल ग्र्याजुएटबाट सपथ खाने हो भने म खान्छु’ भनेर भगवतीप्रसाद सिंहलाई ल्याइएको रहेछ ।
दोस्रो, २०१७ सालमा कांग्रेसबाट नियुक्त हुने न्यायाधीश को-को हुन् भनेर छानेर स्वर्गीय मधुप्रसाद शर्मा, मोतिकाजी स्थापित सबैलाई जागिरबाट अवकाश गरेर कैदमा हालेर घर बिदा गरिएको रहेछ।
त्यति मात्रै कहाँ हो र । ०४८ सालमा कांग्रेसको बहुमत आउँदाखेरि न्यायाधीशको नियुक्ति गर्ने क्रममा शाखा अधिकृतमा फेल भएको मान्छे पुनरावेदनको न्यायाधीश र शाखा अधिकृत पास भएको मान्छे त्यही बेन्चको सहायक बनाएर न्यायपालिका सञ्चालन गरेको रहेछ।

त्यति मात्रैमा स्टोरी टुंगिएन। २०७४ सालको दुई तिहाइ बहुमतले हामीले बहस गर्दै आएको माननीय न्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा संसदीय सुनुवाइबाटै वञ्चित गरेर घर पठायो।
अब यस प्रकारका ताण्डव क्रियाकलाप न्यायपालिकामा नहोस् भन्ने कुरा हामीले सम्बन्धित सेक्टरलाई अनुरोध गरेका छौँ। न्यायपालिका आफ्नो ठाउँमा चल्छ। आफ्नो ठाउँमा चल्नका लागि आफ्नो ड्युटी भ्रष्टाचारविहीन भएर समयमै कुरा गर्नुपर्ने दायित्व, समयमै मुद्दा मामिला फर्छ्यौट गर्नुपर्ने दायित्व न्यायपालिकामा छ।
अहिले न्यायपालिकामा पुरानो दलको विश्वास टुटेको अवस्था छ। संसद विघटनको मुद्दा न्यायपालिकाले किन हेरेन? भनेर हामीलाई प्रश्न गर्छन्। समयमै मुद्दा नहेरिकन झ्यालबाट क्लाइमेट हेरेर संविधानवाद क्लाइमेट अनुकुल हुन्छ भनेर व्याख्या गरेर श्रीमानहरु बस्नुभयो भन्ने हामीलाई नेताहरुले यताकदा भेट्दा भन्नुहुन्छ।
अब नयाँ दलले चाहिँ ‘हामी मेरिटोक्रेसी लागु गर्छौँ’ भनेर भनेको अवस्था छ। यस स्थितिले गर्दा अहिले स्थिति एकदमै क्रिटिकल छ। यो क्रिटिकल अवस्थामा तपाईँ -हामी सबै सजग भएर मुलुकको न्यायपालिका जोगाउनु पर्ने स्थिति अवस्था छ। न्यायपालिका जोगिएन भने हामी पनि जोगिँदैनौँ।
नेपाल बार के गर्दैछ ?
जेन्जी आन्दोलनका क्रममा भोलिपल्ट भएको आन्दोलनको सिलसिलामा धेरै ल फर्महरु जलाइएका छन्। नेपाल बार एसोसिएसनमा ग्रिनेड, बम पड्काउने मेसिन फेला परेको छ। बारको भवनमा आगजनी गरिएको छ । गाडी जलाइएको छ। त्यो स्थितिबाट अहिले ६ महिनाको बीच हामी उठेका छौँ। बारको कार्यालय पुनः मर्मत भएको छ, रंगरोगन लगाइएको छ। केही दिनमा सञ्चालनमा आउने अवस्था स्थिति छ।
म त्यस क्रममा घाइते हुनुभएका, नोक्सानीमा पर्नुभएका सम्पूर्ण कानुन व्यवसायीहरुलाई नेपाल बार एसोसिएसन कानुन व्यवसायीहरुको उत्थानका लागि सदाझैँ लाग्छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु।
यो पनि-
आज ११ महिना भयो हामी नेपाल बारमा आएका । हामीले गत पुस १३ गते सम्पन्न सम्मेलनमा उठाएका आवाजहरु, हाम्रा पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेज्यूको मुद्दाको इस्यु टुंगिएको छ। न्यायपरिषद् नियमावलीको विवाद टुंगिएको छ। अनि बृहत पूर्ण इजलासबाट शून्य पिरियडसम्बन्धी सिद्धान्त कायम भएर फाइलहरु बुझाउने कुरा पनि व्यवस्थित भएको छ। नेपाल बार एसोसिएसनको नयाँ भवन बनाउनका लागि जग्गा प्राप्तिको कुरा पनि अन्तिम-अन्तिम चरणमा पुगेको छ।
आजै बिहान माननीय महान्यायाधिवक्ताज्यूको अध्यक्षतामा बसेको नोटरी काउन्सिलको बैठकले अब यो नन-फर्म्याटका लागि पहिला भइरहेको परीक्षालाई निरन्तरता दिने, फर्म्याटेड डकुमेन्टहरु जन्मदर्ता, नागरिकता जस्ता कुराहरुमा सबै वकीललाई परीक्षामा बस्न पाउने गरी बेग्लै परीक्षा सञ्चालन गरेर मेचीदेखि महाकालीसम्म ट्रान्सलेटर फर्म्याटेड डकुमेन्टको ट्रान्सलेसन गर्न पाउने हामीले केही निर्णय गरेका छौँ।
यो निर्णय आइसकेपछि कानुन व्यवसायीहरुको र जनताको घरदैलोमा सेवा पाउने, कानुन व्यवसायीहरुको ‘ब्रेड एण्ड बटर’को समस्याहरु समाधान केही हदसम्म होला भन्ने हामीले आशा गरेका छौँ।
बार काउन्सिलमा पनि केही सर्टटर्म ट्रेनिङहरुको व्यवस्था भइरहेको छ। मैले यी जति कुरा गरेता पनि, अहिले निष्कर्षमा के भन्न चाहन्छु भने महिला कानुन व्यवसायी, पुरुष कानुन व्यवसायीहरुको दैनिक प्राक्टिकल लाइफमा सकारात्मक असर पर्ने गरेर काम हामीले गर्न सकेनौँ भने हाम्रो कामको केही पनि अर्थ रहँदैन।

त्यसैले सिनियरले जुनियरलाई बहसमा लानुपर्ने कुरा पनि अनिवार्यरुपमा लागु गर्न परिपत्रहरु भएको कुरा यहाँहरुसमक्ष अवगत गराउन चाहन्छु। यो सम्मेलनमा जे जति प्रस्तावहरु पारित हुन्छन्, हाम्रा लागि मार्गनिर्देशक हुन्छ भन्ने कुरामा म विश्वास गर्दछु।
सुरु-सुरुमा प्रश्न के उठ्यो भने ‘महिलाको सम्मेलनमा पुरुष किन? मञ्चमा किन पुरुष राख्ने?’ भन्ने हुन्थ्यो। म यहाँ एउटा विगतको स्मरण पनि गराउँछु।
म नेपाल बारको महासचिव भएका बेलामा यहाँ यस्तै सम्मेलन भएको थियो। त्यो महिलाको सम्मेलनमा पुरुषले प्रतिवेदन पढ्ने किन भनेर फ्लोरबाट आवाज उठेको हुनाले, ल महिलाले नै पढ्नुस् भनेर हामीले दिएका थियौँ।
अब महिलाको सम्मेलनमा मञ्चमा महिलाहरु मात्रै बस्नुहुन्छ। यो नेपाल बार एसोसिएसनको विशेष निर्णय हो। यो निर्णयलाई निर्णयलाई कायम गर्नुहोला। हामी काम गर्न आएको हुनाले यहाँहरुको जे चाहना छ, जे माग छ, हामीले सम्भव हुने मागहरु बिल्कुलै हाम्रो तहबाट तुरुन्तै पूरा गर्छौँ। पहल गर्नुपर्ने कुराहरु पहल गरेर पूरा गर्दछौँ भन्ने कुरा निवेदन गर्न चाहन्छु।
अब धेरै समय नलिइकन अन्तिम-अन्तिममा म के निवेदन गर्न चाहन्छु भने यो व्यावसायिक दायरा बढाउने, अनि सिनियरले जुनियरलाई बहसमा सँगै लाने, महिला कानुन व्यवसायीहरु अध्ययनमा पोख्त हुने, न्यायिक नियुक्तिमा सक्षम र योग्य मानिसहरु आउने, न्यायाधीशको बेन्चमा बहस गर्दाखेरि ठ्याक्कै दत्तात्रेयको बेन्चमा बहस गरेको जस्तो भान हुने भन्ने अनुभव होस्।

अब दत्तात्रेयको स्त्री पात्र चाहिँ को हो त? भन्ने प्रश्न पनि आउला। दत्तात्रेयको स्त्री पात्र चाहिँ जयवागेश्वरी हुन्। महाकाली, महालक्ष्मी, महासरस्वती तीनवटै मिश्रित। बेन्चमा कि दत्तात्रेय बस्नपर्यो, कि जयवागेश्वरी बस्नपर्यो । बेन्चमा बस्दाखेरि एकदमै आनन्द । म यो देवस्थलमा बहस गर्दैछु, देवस्थलमा बहस गर्दा आज न्याय हुन्छ भन्ने कुराहरु हामीले महसुस गर्न पाऊँ।
यहाँ न्याय परिषद्का माननीय सदस्य पनि हुनुहुन्छ। न्याय परिषद र बारका सबैको भूमिकाहरु अत्यन्त प्रभावकारी हुनुपर्छ भन्ने आवाज छ।
अब बार एसोसिएसनलाई ०६२/६३ को स्वरुपमा हामी लान सक्दैनौँ। किनभने परिवेश नै बेग्लै छ। अहिले त्यो एजेन्डा छैन। ०६२/६३ को आन्दोलन किन गर्यौँ र के प्राप्त भयो भन्ने प्रश्न आएको अवस्थामा ०६२/६३ मा हामीले लान सक्ने स्थिति/अवस्था छैन।
बारको कार्यक्रममा पनि अलिकति नवीनता आओस्। सधैँ उही वक्ता, उही कुरा, परिवर्तन केही छैन। के गर्नुहुन्छ भनेर हामीलाई देशभरिबाट आवाज उठेको हुनाले हामीले जोखिम मोलेर यस प्रकारको कार्यक्रमको डिजाइन गरेका हौँ।

सपना श्रीमानलाई अनुरोध
अन्तिममा, म सपना श्रीमानलाई के अनुरोध गर्न चाहन्छु भने अबका दिनमा न्यायपालिकामा दीपककुमार कार्कीपछि प्रधानन्यायाधीश हुनुभो हरिकृष्ण कार्की, हरिकृष्ण कार्की पछि विश्वम्भर श्रीमान् । विश्वम्भर श्रीमानपछि प्रकाश राउत श्रीमान् हुनुभो। ओमप्रकाश मिश्र चोलेन्द्र श्रीमानभन्दा अगाडि हो ।
दीपककुमार कार्कीपछि न्यायपालिकामा हेर्नुपर्ने सारभूत भ्रष्टाचारको मुद्दामा नेपाल बार एसोसिएसनले ध्यान दिनु परेन। त्यसले अरु अध्ययन, तालिम, प्रतिवेदनमा ध्यान दिनपर्यो। भ्रष्टाचारको मामिलामा न्यायपालिकामा त्यति धेरै सारभूत समस्या रहेन।
कुनै मुद्दा हेर्दै नहेर्ने, पन्छाउने, मिसिल ठूलो छ, यो मुद्दा हेर्दाखेरि म विवादमा पर्छु कि भनेर मुद्दा पन्छाउने । कतिपय मुद्दा हेर्दै नहेर्ने । कतिपय मुद्दा म हेर्छु, यो किन नहेर्ने भनेर मुद्दामा आशक्ति जाने। मुद्दामा अनाशक्ति, आशक्ति, यो न्यायालयका लागि शोभनीय विषय होइन। काम गर्छ न्यायाधीशले, त्यसको आक्षेप आउँछ बारलाई ।
खुद्रा मसिना भ्रष्टाचारको समस्याचाहिँ सधैँ रहिआएकै हो, त्यसलाई एकैचोटि समाधान गर्न सकिँदैन। अबको दिनमा न्यायपालिकामा भ्रष्टाचारको मामलामा नेपाल बार एसोसिएसन ‘हाई अलर्ट’ हुनुपर्ने हामीलाई सन्देश धेरै ठाउँबाट आएको छ। त्यो हामी हुन्छौँ ।
कुनै मुद्दा हेर्दै नहेर्ने, पन्छाउने, मिसिल ठूलो छ, यो मुद्दा हेर्दाखेरि म विवादमा पर्छु कि भनेर मुद्दा पन्छाउने, हामी बहस गर्न जाने वकिलहरुलाई पनि आज यो मुद्दा आज होला र ? २४-२५ पल्ट नभाको मुद्दा आज होला र भन्ने । मुद्दा लिएर जान्छौँ, नभन्दै हुँदैन, फर्किन्छौँ। मान्छे थुनाको थुनामै । वा, मान्छेको सम्पत्ति रोक्काको रोक्कै । कतिपय मुद्दा हेर्दै नहेर्ने । कतिपय मुद्दा म हेर्छु, यो किन नहेर्ने भनेर मुद्दामा आशक्ति जाने। मुद्दामा अनाशक्ति, आशक्ति, यो न्यायालयका लागि शोभनीय विषय होइन। काम गर्छ न्यायाधीशले, त्यसको आक्षेप आउँछ बारलाई । अदालतलाई र समग्र प्रणालीलाई। त्यसैले हाम्रा माननीय न्यायाधीशज्यूहरु, हामी सबै यो कुरामा एकदमै सतर्क हुनुपर्छ।
(भक्तपुरमा शुक्रबार नेपाल बार एशोसिएसनले आयोजना गरेको कानून व्वयसायी महिलाहरुको ३२ औं राष्ट्रिय सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष मिश्रले गर्नुभएको सम्वोधनको सम्पादित अंश)
भिडियो-
यो पनि-

